१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ श्रावण ८ शुक्रबार ०८:४७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

लोकतन्त्रको जगमाथि जासुसी हमला

देश/विदेश

Read Time : > 2 मिनेट
२०७८ श्रावण ८ शुक्रबार ०८:४७:००

भारतीय कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीले भनेझैँ पेगासस एपको जासुसी निःसन्देह लोकतन्त्रको जगमाथि गरिएको हमला नै हो

इजरायली खुफिया निगरानी कम्पनी एनएसओ समूहले गुप्त रूपमा मोबाइल फोनमा पहुँच बनाउने पेगासस सफ्टवेयरको निर्माण, विकास र बिक्री गर्‍यो । सो सफ्टवेयरले दैनिक रूपमा चलिआएका एपहरूको स्वाभाविक कमजोरीका कारण मोबाइलमा पहुँच पाउँछ र म्यासेज, तस्बिर र इमेलहरूको उत्खनन गर्न सफल हुन्छ । यति मात्रै होइन, यो सफ्टवेयरले अनधिकृत रूपमा फोनकलहरू रेकर्ड गर्छ एवं आवश्यकताअनुसार माइक्रोफोनको स्वचालन गराउँछ । यस सफ्टवेयरले खासमा हाम्रा नितान्त व्यक्तिगत कुरासम्म सीधा पहुँच पाउँछ । 

पेगाससजस्ता संवेदनशील र शक्तिशाली सफ्टवेयरहरूको प्रयोगसँगै यस्ता सफ्टवेयर निर्माणकर्ताले सफ्टवेयर सम्बन्धित विषयमा अत्यधिक जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । एनएसओ भने ‘आतंकवाद र गम्भीर अपराध’ रोक्न केही चुनिँदा सरकारलाई जासुसी सफ्टवेयर बिक्री गर्छु भन्छ, जुन दुर्भाग्यवश माथि भनिएझैँ गहन जिम्मेवारीहरूबाट पन्छिने काम मात्रै हो । एनएसओ मात्रै होइन, एनएसओजस्ता थुप्रै सफ्टवेयरहरू वैश्विक रूपमा अनियन्त्रित हिसाबले बढेका खुफिया उद्योगले उत्पादन गरिरहेका छन् । उनीहरूले यी सफ्टवेयरलाई सस्तो जासुसी अस्त्रका रूपमा उपलब्ध गराइरहेका छन् । कुनै समयमा यी सफ्टवेयरले राज्यका गम्भीर र महत्वपूर्ण खुफिया सेवाहरूको प्रवद्र्धन गर्थे । 

लोकतान्त्रिक शासन व्यवस्थामा जनतामाथि सोझै निगरानी गरी सत्ता टिकाइराख्न गाह्रो हुने भएकाले अनधिकृत निगरानी गरिन्छ, जसलाई पेगाससजस्ता एपले मद्दत पुर्‍याइरहेका छन् 

एनएसओ भने आफूले बिक्री गरेका जासुसी सफ्टवेयरहरूका ग्राहकको लक्षित मानिसका सूचनामा पहुँच छैन भनेर दाबी गर्छ । यो दाबी आफूअनुकूल तर्क हो र यसलाई व्यापारिक गोप्यतालाई पुष्टि गर्न मात्रै ल्याइएको हो । एनएसओको दाबी गार्जियन, एम्नेस्टी इन्टरनेसनल र पेरिस आधारित फ्रिडम स्टोरिजले सूचना चुहावटबारे संयुक्त रूपमा गरेको अध्ययनसँग मेल खाँदैन । यही साता हाम्रो अध्ययनले विभिन्न सर्वसत्तावादी राज्य र दक्षिणपन्थी लोकप्रियातावादी सरकारहरूले पत्रकार, मानवअधिकार अभियन्ता र विपक्षी दलका नेताहरू यस सफ्टवेयरको तारो बनेको देखाएको छ । 

के अब राजनीतिक मतभिन्नता आतंकवादको नयाँ स्वरूप हो ? के सामाजिक एवं राजनीतिक अभियन्ताहरूको सोचाइ पनि अपराध हो ? विडम्बना ! केही राज्यका लागि फरक मत अपराध हो । एकजना हत्या गरिएका पत्रकारको मोबाइल नम्बर मेक्सिकोको एनएसओ ग्राहकले लिएका थिए । अमेरिकी गुप्तचर संस्था सिआइएका अनुसार २०१८ अक्टोबरमा यो कम्पनीको जासुसी सफ्टवेयरले पत्रकार जमाल खसोग्गीको हत्या हुनुअगाडि र हत्या भएपछाडि दुवै समयमा सम्पर्कमा आउने सबैलाई साउदी सरकारले निगरानीमा राखेको थियो । भारतमा हिन्दू राष्ट्रवादी मोदी सरकारले आफ्ना सयौँ विपक्षीको मोबाइलमा निगरानी गरेको थियो । जासुसीको चपेटामा परेका कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीले यो कार्यलाई ‘भारतको लोकतन्त्रका जगहरूमाथि आक्रमण’ भनेर टिप्पणी गरेका थिए । उनको भनाइ निःसन्देह सही छ, किनभने यो जासुसी लोकतन्त्रको जगमाथि हमला नै हो । 

अनधिकृत पहुँचहरूको पर्दाफास हुँदाका बखत मोबाइल फोनको गोप्यताको महत्व घटेको देखिन्छ । खुफिया निकायले केही प्रावधानभित्र बसेर गोपनीयताको हकलाई गम्भीर रूपमा अतिक्रमण गर्दा अन्तर्राष्ट्रिय कानुनले सुरक्षा दिएकै छ । गोपनीयता कुनै हल्का वा संकुचित दायरामा बहस हुने विषय होइन । वाक स्वतन्त्रता, संगठन बनाउने स्वतन्त्रता, विचारको स्वतन्त्रताजस्ता लोकतान्त्रिक मूल्यमान्यताको अभावले अन्ततः अत्याचारी व्यवस्था नै निम्त्याउने हो । प्रसिद्ध उपन्यासकार जर्ज अर्वेलको अत्याचारी व्यवस्था इंगित गर्ने चर्चित नाइन्टिन एट्टिफोर उपन्यासको ओसिनिया राज्यले सत्ता टिकाइराख्न कुनै छलकपट नगरी जनतालाई निगरानीमा राखेको थियो । अहिलेको लोकतान्त्रिक समयमा ओसिनियामा झैँ सोझै निगरानी गरी सत्ता टिकाइराख्न गाह्रो हुने भएकाले जनतामाथि अनधिकृत निगरानी गरिन्छ । अमेरिकी सुरक्षा निकाय नेसनल सेक्युरिटी एजेन्सीका पूर्वठेकेदार एडवार्ड स्नोडेन, जसले एजेन्सीको अनधिकृत खुफियागिरीको पर्दाफास गरेका थिए, उनी एनएसओलाई ‘रोगको कारक’का रूपमा व्याख्या गर्छन् । जुन संस्थाले ‘विभिन्न उपकरणहरू, जहाँ कमजोर प्रतिरोधी क्षमताका छिद्र छन्, त्यहाँ रोग कसरी लगाउने’ भनेर व्यापार गर्छ । यो मामिलामा जासुसी सफ्टवेयरको निर्यात र कम्पनीको प्रक्रियाहरूमा इजरायलको अधिकार हुन्छ भनेर पन्छिने दलिल नै एनएसओको प्रतिरक्षाको अस्त्र हो । 

२०१९ मा गार्जियनमा वाक् स्वतन्त्रताका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत डेभिड केईले जासुसी सफ्टवेयरमा अन्तर्राष्ट्रिय नियमन नहुन्जेल कानुनी स्थगनको माग गरेका थिए । उनले मानवअधिकार हनन गर्ने अपराधीहरूसँग सौदा गर्ने हाई–टेक कम्पनीमाथि सरकारहरूले कडा प्रतिबन्ध लगाउनुपर्छ भनेका थिए । प्राध्यापक काएले यस्तो कानुनी ढाँचाको पैरवी गरेका थिए, जहाँ जासुसी सफ्टवेयरका पीडितले सरकारलाई जिम्मेवार र अपराधमा हिस्सेदारहरूलाई आफूमाथि भएको दुव्र्यवहार र आफूलाई गरिएको दुरुपयोगका लागि जवाफदेही ठह¥याउन सकोस् । प्राध्यापक केईका उपाय निशंकोच सबैभन्दा उपयोगी छन् । यो मुद्दालाई गम्भीर रूपमा नहेरी हेलचेक्र्याइँ गर्ने कदमले निरंकुश व्यवस्थामा हुने गम्भीर मानवअधिकार उल्लंघनमा नियन्त्रण, व्यक्तिगत स्वतन्त्रताको प्रत्याभूति वा अनधिकृत प्रवेश खोज्ने जासुसी कम्पनीलाई नियन्त्रण गर्ने दाबी गर्नु अविवेकी काम मात्र हुनेछ । 

(द गार्जियनको ४ जुलाई २०२१ को सम्पादकीय)