१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ६ बुधबार १९:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता अमरेशकुमार सिंहले किन दिए सांसद पदबाट राजीनामा ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ६ बुधबार १९:२६:००

कांग्रेस नेता अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिंहले बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा पुगेर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामापत्र बुझाएका हुन् । 
 
सांसद सिंहले पार्टीका कार्यकर्ताहरूको संरक्षण र तिनको स्वाभिमानको रक्षा गर्न नसक्ने नेतृत्वबाट राष्ट्रहितको बृहत्तर दायित्व पूरा हुनेमा आशंका उत्पन्न भएको बताएका छन् । ‘कार्यकर्ताहरूको संरक्षण र तिनको स्वाभिमानको रक्षा गर्न नसक्ने नेतृत्वबाट राष्ट्रहितको बृहत्तर दायित्व पूरा हुनेमा आशंका उत्पन्न हुनु स्वाभाविक हो । र, यो पाटोलाई मैले गम्भीर ढंगले आत्मसात् गरेको छु । त्यसैले प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएर एक जिम्मेवार नागरिकका रूपमा जनहितको संरक्षण गर्न सक्रिय हुनु मेरो मूल कर्तव्य बनेको छ,’ सिंहले आफ्नो राजीनामापत्रमा भनेका छन् । 

कांग्रेसको आसन्न महाधिवेशनलाई लिएर क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली भएको भन्दै अहिले कांग्रेसको केन्द्रीय कार्यालयमा सर्लाही, बारा र धनुषाका नेता–कार्यकर्ताले रातदिन धर्ना दिइरहेका छन् । धनुषाका नेता डा. चन्द्रमोहन यादवसहित तीनजना चार दिनदेखि आमरण अनशनमा बसेका छन् । यस्तै, सर्लाही क्षेत्र नं. ४ अर्थात् सांसद सिंहकै निर्वाचन क्षेत्रका रामगोविन्द रायले पनि बुधबारबाट आमरण अनशन थालेका छन् । 

सांसद सिंहले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले कांग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको बताएका छन् ।

खासगरी प्रदेश नं. २ मा क्रियाशील सदस्यतामा विवाद देखिएको भन्दै नेता सिंहले उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न भएको बताएका छन् । 

निधिका कारण प्रदेश २ मै कांग्रेसको स्थिति थप रक्षात्मक स्थितिमा पुग्ने खतरा रहेको उनको भनाइ छ । ‘पार्टीलाई आफ्नो काबुमा राख्ने निहित उद्देश्यबाट प्रेरित भई नेतृत्व तहकै जिम्मेवार नेताबाट गैरजिम्मेवार व्यवहार प्रस्तुत हुँदा आमनिष्ठावान कार्यकर्तामा निराशा बढेको छ,’ उनले भनेका छन् ।