मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दमक नगरपालिकाले खोला बीचमा बनाएको बाँध र खोला बगरमा बनाएको नमुना बस्ती। तस्बिर : चिरञ्जीवी घिमिरे
दीपक अधिकारी काठमाडाैं
२०७८ श्रावण ६ बुधबार ११:३१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झापामा बाँध निर्माणका कारण दुई स्थानीय तहबीच द्वन्द्व

Read Time : > 2 मिनेट
२०७८ श्रावण ६ बुधबार ११:३१:००

दमक नगरपालिकाले खोलाबीचमा बाँध निर्माण गर्दा दुई स्थानीय तहबीच द्वन्द्व निम्तिएको छ। कमल गाउँपालिका र दमक नगरपालिका छुट्याउने रतुवा नदीको खोला बग्ने भागको बीचमा बाँध निर्माण गर्दा द्वन्द्वको अवस्था निम्तिएको हो।

खोलाको बगरमा दमक नगरपालिकाले सुकुमबासीका लागि बनाएको एकीकृत बस्ती जोगाउन दमक– १ र दमक– ७ को सिमानामा रतुवा खोलाकाे बीचमै बाँध बनाएको छ। 

कमल गाउँपालिकाले बाँध निर्माणताका नै आपत्ति जनाए पनि दमकले बाँध निर्माण रोकेन। कमल गाउँपालिकाले जिल्ला समन्वय समिति र झापाका नदी तटबन्धनको काम गर्दै आएको जनताको तटठबन्धको कार्यालयका प्रतिनिधिलाई समेत जानकारी गराएको थियो। 

जिल्ला समन्वय समितिले स्थायी संरचना बनाउँदा दुई पालिकाबीच समन्वय गर्न पत्र पनि लेख्यो। दुई स्थानीय तह, समन्वय समिति र जनताको तटबन्धसहितको टोलीले छलफल गर्दा दमक नगरपालिकाले जबर्जस्ती गरेको निष्कर्ष निकालेको थियो। 

तर, निष्कर्षविपरीत दमक नगरपालिकाले अटेरी गर्दै बाँध निर्माण सम्पन्न गरेको कमल गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद सिवाकोटीले बताए। ‘हामीले दमक नगरपालिकासँग छलफल पनि गर्‍यौँ। जिल्ला समन्वय समितिले पनि पत्र लेख्यो। तर, दमकले अटेर गरेर निर्माण सम्पन्न गर्‍यो,’ उनले भने, ‘हाम्रो बैठकले दमकले जबर्जस्ती गरेको निर्णय गरेर भत्काउनका लागि फेरि समन्वय समितिलाई पत्र लेख्ने निर्णय गरेर त्यो पत्र समन्वयमा पठाएका छौँ।’

नगरपालिकाले दमक– १ र दमक– ७ सिमानास्थित रतुवा नदीको बगरमा सुकुमबासीका लागि एकीकृत बस्ती निर्माण गरेको छ। पूर्वप्रधानमन्त्री तथा झापा क्षेत्र नम्बर ७ का सांसद केपी शर्मा ओलीको स्थानीय विकास साझेदारी कार्यक्रम र दमक नगरपालिकाको संयुक्त लगानीमा सुकुमबासीका लागि गत वर्ष दमक–१ मा २३ वटा चारकोठे घर निर्माण भएको थियो। 

यस वर्ष भने गत वर्ष बनाएको बाँधभन्दा भित्र पर्ने गरी  तीनकोठे १५ वटा घर निर्माण गरिएको दमक नगरपालिकाले जनाएको छ। यस वर्ष बनाएका घरहरू खोलाभित्रै बनाएको कलम गाउँपालिका उपाध्यक्ष सिवाकोटीले बताए। ‘त्यो ठाउँमा खोला बग्थ्यो। हामीले आपत्ति जनाउँदा–जनाउँदै घर पनि बनाउनुभयो। अहिले खोला बीचमा बाँध पनि जबर्जस्ती निर्माण भयो,’ उनले भने, ‘बाँधले उहाँहरूको नमुनाबस्ती त बच्ला, तर यसका कारणले ठूलो पानी पर्दा कमल– ५ को पाडाजुँगीका सिंगो बस्ती नै डुबाउँछ। यो भत्काउनुपर्छ। नभए हामीलाई गाह्रो हुन्छ।’

एकातर्फ मात्र बाँध बाँधेर नमुना बस्ती बचाउँदा कमल गाउँपालिका– ५ पाँडाजुँगी क्षेत्रका अधिकांश बस्ती नै डुबानमा पर्ने जोखिम रहेको उपाध्यक्ष सिवाकोटी बताउँछन्। बर्खामा उर्लेर आउने रतुवा नदीले यसअघि पनि दमक क्षेत्रमा आफूखुसी बाँध निर्माण गर्दा कमलका केही भाग कटान गर्दै आएको छ।

झापाका नदीमा तटबन्धनको काम गर्दै आएको जनताको तठबन्ध कार्यक्रमले पनि दमक नगरपालिकाले जबर्जस्ती गरेको निष्कर्ष निकालेको छ। जनताको तटबन्ध कार्यक्रमा इन्जिनियर जितेन्द्र चौधरीले दमक नगरपालिकाले नमुना बस्ती र बाँध खोला मिचरेर बनाएको बताए। 

‘झापाका विभिन्न खोलाको तठबन्धनको जिम्मेवारी हामीकहाँ छ। तर, तठबन्धन निर्माण गर्दा हामीसँग समन्वय भएको छैन। यो हाम्रो मापदण्डअनुसार काम भएको छैन। बस्ती बनाउँदा पनि खोलामा बनाइएको छ। त्यो खेलामा बनाउन नहुने हो। बाँध र नमुना बस्ती खोला मिचेर बनाइएको छ,’ उनले भने, ‘यो ठाउँमा बाँध निर्माणका लागि एडिबीको योजना परेको छ। हामीले उहाँहरूलाई भन्दा अस्थायी हो भत्काउँछौँ भन्नुभएको छ। उहाँहरूले त्यो भत्काउनुभएन भने हामी त्यहाँ काम गर्दैनौँ।’

जिल्ला समन्वय प्रमुख सोमनाथ पोर्तेलले दमक नगरपालिकाले जनताको तठबन्धसँग समन्वय नगरी बनाउँदा समस्या आएको बताए। उनले यसका लागि दमक नगरपालिकासँग छलफल गरिएको जानकारी दिए।

कमल गाउँपालिकाले समन्वय समितिलाई पत्र लेखेर आपत्ति जनाए पनि दमक नगरपालिकाले भने त्यहाँ तटबन्धनको काम सम्पन्न गरेको छ। नगरपालिकाले अस्थायी रूपमा बाँसको बनाइएको बताए पनि त्यहाँ ढुंगासहितको तारजाीको पनि प्रयोग गरिएको छ।  

दमक नगरपालिकाले भने नगरपालिकाको जग्गामै बाँध निर्माण गरिएको दाबी गरेको छ। नगर प्रमुख रोमनाथ ओलीले कमल गाउँपालिकाको जग्गामा निर्माण नगरिएको दाबी गरे। ‘हामीले हाम्रा ठाउँमा बनाएका हौँ। उहाँहरूले खोलामा भन्नुहुन्छ। बरु उहाँहरूले चाहिँ खोलाभित्रै बाँध बनाउनुभएको छ। बाटै खोलेर रतुवापुलमुनि बाँध बनाउनुभएको छ,’ उनले भने, ‘हामीले त खोलालाई आवश्यक पर्ने ठाउँ छाडेरै बनाएका छौँ।’ 

दमक नगरपालिकाले पुरानो बगरमा रहेको नमुनाबस्ती जोगाउन पुरानो बाँधदेखि करिब दुई सय मिटर खोलातर्फ बाँध बनाएको छ। यो बाँध तत्काललाई बस्ती जोगाउन मात्र बाँध बाँधिएको मेयर ओलीले बताए।