मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ७ बिहीबार
  • Thursday, 23 September, 2021
हत्या गरिएकी पत्नी गीताका साथ रञ्जन । फाइल फोटो
नवराज मैनाली काठमाडाैं
२०७८ श्रावण ६ बुधबार ११:०२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौंमा पत्नीको हत्या गरेर मकवानपुरको जंगलमा जलाएका थिए रञ्जनले

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७८ श्रावण ६ बुधबार ११:०२:००

अनुसन्धान फाइल

- २७ पुस ०६८ मा पत्नी गीता ढकाललाई काठमाडौंस्थित घरमा घाँटी थिचेर हत्या गरेपछि सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइरालाले शव प्लास्टिकमा बेरेर आफ्नै गाडीमा मकवानपुरको टिस्टुङ जंगलमा पुर्‍याए । र, कसैले थाहा नपाउन् भनेर आगो लगाएर फर्किए । 

- कोइराला सबै प्रमाण नष्ट गर्न चाहन्थे, त्यसैले १० दिनपछि ८ माघ ०६८ मा फेरि टिस्टुङ पुगेर लासका अवशेष खोज्दै गर्दा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए । तर, ‘सशस्त्रको डिआइजी हुँ’ भन्दै उनी छुटे । फर्कँदै गर्दा नागढुंगाबाट प्रहरीले पुनः पक्राउ गर्‍यो ।

- एकवर्षे तालिमका लागि ६ महिनादेखि चीनमा रहेका कोइरालाले बिदामा घर फर्केका वेला पत्नीको हत्या गरेका थिए, यो अपराधमा नमुछिएको भए उनी सशस्त्रको आइजिपी हुने लाइनमा थिए । 

- सुरुमा जिल्ला अदालत काठमाडौं र पछि उच्च अदालत पाटनले कोइरालालाई कर्तव्य ज्यानको कसुरमा दोषी करार गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर, हत्या स्विकार्दासमेत सर्वोच्चले भवितव्य भएको भन्दै आठ वर्ष ६ महिना कैद सजाय कायम गरेको थियो । घटना योजनाबद्ध भएको प्रशस्त प्रमाण हुँदाहुँदै पनि सर्वाेच्चले जन्मकैद सजाय ‘चर्काे पर्न जाने’ भन्दै सजाय घटाएको थियो । 

...                                  ...

सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइराला एकवर्षे तालिमका लागि ०६८ मा चीनमा थिए । घरमा पत्नी गीता ढकालसँग उनको राम्रो सम्बन्ध थिएन । ०५० सालमा बिहे गरेका रञ्जन र गीता ०५८ देखि अलगअलग बस्दै आएका थिए, छोडपत्रका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको थियो । ६ महिनादेखि चीनमा रहेका रञ्जनले बिदामा घर फर्केका वेला २७ पुस ०६८ मा पत्नी गीताको घाँटी थिचेर हत्या गरे । 

रञ्जनले गीताको शव प्लास्टिकमा बेरेर आफ्नै गाडीमा मकवानपुरको टिस्टुङ जंगलमा पुर्‍याए । र, कसैले थाहा नपाउन् भनेर आगो लगाएर फर्किए । उनी सबै प्रमाण नष्ट गर्न चाहन्थे, त्यसैले १० दिनपछि ८ माघ ०६८ मा फेरि टिस्टुङ पुगेर लासका अवशेष खोज्दै गर्दा उनी स्थानीय जनता र प्रहरीको फन्दामा परे । यसबाट उनको प्रतिष्ठा खरानी भयो । यो अपराधमा नमुछिएको भए उनी सशस्त्र प्रहरीको आइजिपी हुने ‘लाइन’मा थिए । 

लासका टुक्रा जलाएर फर्किने क्रममा रञ्जनलाई स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका थिए । तर, ‘बहालवाला डिआइजी हुँ’ भन्दै उनी छुटे । काठमाडौं फर्किने क्रममा त्यही दिन उनलाई नागढुंगा प्रहरीले पुनः पक्राउ गर्‍यो । सोधपुछका क्रममा उनले हत्या गरेको स्वीकार गरेका थिए । 

२७ पुसमा गीता घरबाट बेपत्ता भएपछि उनका माइती हारगुहार गर्न प्रहरीमा पुगेका थिए । तर, २ माघमा चीन जाने तयारीमा रहेका रञ्जनलाई भने यो विषयले खासै छोएको थिएन । करिब ६ महिनादेखि चीनमा तालिम लिइरहेका उनी छोटो नेपाल बसाइपछि उतै फर्कने तयारीमा थिए ।

तर, गीताका बाबु हरेराम ढकालले ज्वाइँ रञ्जनले नै अपहरण गरेको आरोप लगाउँदै प्रहरीमा जाहेर दिन खोजेपछि घटनामा नयाँ मोड आएको थियो । ०५० मा बिहे गरेका रञ्जन र गीता ०५८ देखि अलग–अलग बस्दै आएका थिए । उनीहरूको सम्बन्धविच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको थियो । श्रीमान्–श्रीमतीको झगडा भन्दै प्रहरीले जाहेरी दर्ता गरेको थिएन । तर, अनुसन्धान र माइती पक्षसँग छलफलका लागि भनेर उनको चीन यात्रा भने रोकिएको थियो । 

घटनाको चर्चा र रञ्जनप्रति शंका बढेपछि डिआइजी रञ्जन आफूलाई बढी सुरक्षित बनाउने कोसिसमा लागे । उनी ८ माघ ०६८ मा फेरि टिस्टुङ पुगे जहाँ उनले श्रीमती गीताको शव टुक्राटुक्रा पारेर फालेका थिए । शव भेटिए फन्दामा परिएला भनेर पूरै जलाउने योजनासहित उनी त्यहाँ पुगेका थिए । कार ‘साइड’ लगाएर उनी शव फालेको जंगलभित्र पसे, तर त्यसअघि नै स्थानीय जनताले शवका टुक्रा देखेका थिए, उनीहरूकै सहयोगमा स्थानीय प्रहरीले शव बरामद गरेको थियो । तर, त्यो पत्तो नपाएका रञ्जन आफैँले फालेको ठाउँमा शवका टुक्रा खोजिरहेका थिए । हातमा पेट्रोलको बोतल र सलाई बोकेर भौँतारिरहेका वेला उनलाई स्थानीय जनताले समाते, तुरुन्तै प्रहरीलाई बुझाए । 

प्रहरीका ‘जुनियर अफिसर’लाई डिआइजी रञ्जनले आफ्नो ‘पोज’ देखाए । आफू चीनमा तालिमरत डिआइजी भएको र घुम्नका लागि टिस्टुङ आएको बताएर उनी त्यहाँबाट उम्किन सफल भए । उनी कारमा चढेर काठमाडौं फर्कंदै थिए, तर स्थानीय प्रहरीले दिएको खबरका आधारमा काठमाडौं प्रहरीले नागढुंगाबाटै गिरफ्तार गर्‍यो । छोटो केरकारपछि नै उनले श्रीमतीको हत्या गरेको साबिती बयान दिएका थिए । 

डिआइजी रञ्जनले श्रीमतीलाई घाँटी थिचेर हत्या गरी गत २७ पुसको राति ११ बजे मकवानपुरको टिस्टुङको नेत्राङ भन्ने ठाउँमा लगेर फालेको अनुसन्धानबाट खुलेको थियो । बस्तीबाट १५ मिनेटको दूरीमा रहेको जंगलमा शवलाई काटेर उनले जलाइदिएका थिए । 

त्यसरी शवलाई जलाएपछि दुईपटक हुनमानढोका गएका रञ्जनले श्रीमती बेपत्ता बनाएको झुटो आरोप आफूमाथि लगाइएको दाबी गर्दै आएका थिए । तर, प्रहरीले शव फेला पारेको बताएपछि उनले हत्या स्विकारेका थिए । 

२७ पुसमा बिहानै कान्छो छोरालाई लिएर रञ्जन श्रीमती बस्दै आएको बुढानीलकण्ठस्थित घरमा गएका थिए । सोही रात बेलुका उनले सेतो रङको कारमा गएर श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । 

छोरी बेपत्ता भएपछि बुबा हरेराम ढकालले ३० पुस ०६८ मा महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए । आरोपकै भरमा दर्ता गर्न नमिल्ने भन्दै प्रहरीले जाहेरी दर्ता गरेको थिएन । रञ्जनले अभियोग स्वीकार गरेपछि मात्र प्रहरीले जाहेरी दर्ता गरेको थियो ।