मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३ आइतबार
  • Sunday, 19 September, 2021
अर्जुन अधिकारी काठमाडाैं
२०७८ श्रावण ५ मंगलबार ०९:४६:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्वास्थ्य मन्त्रालयका चार सहसचिवलाई एक वर्षदेखि न जिम्मेवारी, न बस्ने कुर्सी

Read Time : > 3 मिनेट
२०७८ श्रावण ५ मंगलबार ०९:४६:००

तर, आइएनजिओका कर्मचारीलाई सुविधासम्पन्न कार्यकक्ष दिएर काममा लगाइएको छ

स्वास्थ्य मन्त्रालयमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ)का कार्यालय नै राखिएका छन्, दर्जनौँ कर्मचारी पनि छन् । तर, आफ्नै चार सहसचिवलाई भने मन्त्रालयले एक वर्षदेखि न बस्ने ठाउँ दिएको छ, न कुनै जिम्मेवारी । उनीहरू कार्यालय आउँछन् र हाजिरी गरेर फर्किन्छन् । 

सहसचिवहरू नारायण ढकाल, रिता भण्डारी जोशी, सुनिल शर्मा र डा. सुस्मिता भण्डारीलाई करिब एक वर्षदेखि कामविहीन बनाइएको छ । महामारीका वेला स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव भएको भन्दै केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरूले करारमा कर्मचारी राखेका छन् । तर, मन्त्रालयले चार सहसचिव मात्रै होइन, १० तहभन्दा मुनिका अन्य १५ जनाभन्दा बढी कर्मचारी पनि लामो समयदेखि फाजिलमा राखेको छ । ढकाल औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक हुन् ।

तर, मन्त्रालयमा अहिले तीनवटा आइएनजिओले कार्यालय नै राखेका छन् । नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रम (एनएचएसएसपी), फेमिली हेल्थ इन्टरनेसनल (एफएचआई) र निक साइमनका कर्मचारी मन्त्रालयमै बसेर काम गरिरहेका छन् । विभिन्न शाखाहरू ओगटेर बसेका उनीहरूले मन्त्रालयका कर्मचारीहरूले गर्नुपर्ने चिठीपत्र बनाउनेदेखि टिप्पणी उठाउनेसम्मका कामसमेत गर्ने गरेका छन् । जब कि यी संस्थाहरूको बाहिर कार्यालय छन् । त्यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का पनि करिब ४० कर्मचारी मन्त्रालयमा काम गरिरहेका छन् । एनएचएसएसपीले एउटा शौचालयमा समेत ताला लगाएर राखेको छ ।

औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक ढकाललाई दुई वर्षअघि मन्त्रालयमा तानिएको हो, तर अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन । ‘औषधि व्यवस्था विभागको महानिर्देशकबाट हटाएर मलाई जुनियरको अन्डरमा रहेको औषधि प्रयोगशाला पठाइएको थियो । तर, मेरो स्वाभिमानले मानेन, अस्वीकार गरेँ,’ उनले भने, ‘त्यसपछि कुनै जिम्मेवारी दिइएको छैन, न बस्ने ठाउँ छ ।’ सचिव लक्ष्मण अर्यालसँग कुरा गर्दा ‘पठाउने ठाउँ नै छैन’ भनेर टार्ने गरेको उनले बताए । 

त्यस्तै, गत वर्ष महामारीको वेला सुुदूरपश्चिममा खटिएकी सहसचिव रिता जोशी भण्डारीलाई पनि मन्त्रालयमा तानेर कामविहीन बनाइएको छ । ‘मेरो सेवा अवधि तीन वर्ष थियो । एक वर्ष कामविहीन भएर बित्यो, अब दुई वर्ष बाँकी छ । महामारीको समयमा केही परिवर्तन ल्याउन सकिन्छ कि भनेर बनाएको जोस–जाँगर पनि मरेर गएको छ,’ उनले भनिन्, ‘सचिव लक्ष्मण अर्याललाई पटक–पटक जिम्मेवारी दिन आग्रह गरेँ । तर, उहाँले मेरा आफ्नै मान्छे छन्, तपाईंलाई जिम्मेवारी दिन्नँ भन्नुभयो । किन यति पूर्वाग्रही बन्नुभयो थाहा भएन ।’

उता, वीर अस्पतालमा दरबन्दी रहेका वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठलाई पनि लामो समयदेखि जिम्मेवारीविहीन बनाइएको छ । उनलाई ओपिडी सेवासमेत चलाउन दिइएको छैन । 

स्रोतका अनुसार सचिव अर्यालले संरक्षण गरेका कारण मन्त्रालयमा अड्डा जमाएका एनजिओ/आइएनजिओका कर्मचारीहरूले समेत वरिष्ठ कर्मचारीहरूलाई अपमानित गर्ने गरेका छन् । ‘बस्ने ठाउँसमेत दिइएको छैन । हिजो नमस्कार खाएका सहसचिव आज तिनै एनजिओ÷आइएनजिओका कर्मचारीलाई नमस्कार गर्दै हिँड्नुपरेको छ,’ एक कर्मचारीले भने । 

०७० सालतिर एनएचएसएसपी सातवटै क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा बसेको थियो । त्यहाँ कुनै काम नभएको भन्दै निर्देशनालयबाट हटाइएको थियो । अहिले त संघीय स्वास्थ्य मन्त्रालयमै बसेको छ । ‘देशभरबाट लखेटिएर आएको एनएचएसएसपीलाई मन्त्रालयमा सचिवले मजैले संरक्षण गरेर राख्नुभएको छ,’ एक अधिकारीले भने । 

उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा एनएचएसएसपीलाई मन्त्रालय छाड्न निर्देशन दिएका थिए । तर, सचिव अर्यालले संरक्षण गरेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । मन्त्रालयमा यसरी नै बसिरहेका जिआइजेड, आइपास, पिएसआई नामक संस्थाहरूलाई यसअगाडिका सचिवले निकालेका थिए । 

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले एनजिओ/आइएनजिओका कर्मचारीलाई यसरी राख्दा सरकारी सूचनाबाहिर जानुका साथै सरकारी कर्मचारीको मनोबल खस्किने बताए । ‘सरकारी कर्मचारीको भन्दा दोब्बर/तेब्बर तलब खाने यस्ता विकासे कर्मचारीले सरकारी कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर सेवा प्रभावित बनाउने गर्छन् । मन्त्रालयमा अड्डा जमाउने यस्ता एनजिओ/आइएनजिओको काम सूचना लिने मात्रै हो । यिनीहरूले हाम्रा महत्वपूर्ण सूचना बाहिर पुर्‍याएका छन्,’ उनले भने । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले एनजिओ/आइएनजिओका कर्मचारी कसको अनुमतिमा मन्त्रालयमा राखिएका हुन् भन्ने आफूलाई थाहा नभएको बताए । उनीहरूका कारण मन्त्रालयका कर्मचारीहरू मारमा परेको उनले स्विकारे । ‘मन्त्रालयभित्र एनजिओ/आइएनजिओका कर्मचारी बसेका छन् । तर, कसले कुन हिसाबले सहमति दिएर राखेको हो अथवा आफैँ बसेका हुन् भन्ने केही जानकारी छैन,’ उनले भने, ‘उनीहरूका कारण मन्त्रालयका थुप्रै कर्मचारी बेवारिसे हुनुपरेको तितो सत्य हो । हाम्रा कर्मचारी बेवारिसे बनाएर उनीहरूलाई बस्न दिनु न्यायोचित हुँदैहोइन । सबै तह–तप्काले यो प्रवृत्तिबारे आवाज उठाउनुपर्छ ।’ 

एनएचएसएसपीका प्रमुख कृष्णप्रसाद गौतमले मन्त्रालयको आग्रहमा आफूहरू बसेको बताए । ‘हामीलाई मन्त्रालयले नै बस्ने ठाउँको व्यवस्था गरेको हो । हाम्रो कार्यालय स्वास्थ्य मन्त्रालयबाहिर पनि छ । हामीलाई छाड्न आदेश भए एक मिनेट पनि बस्दैनौँ,’ उनले भने ।

२० कर्मचारी अटाउने हल एनएचएसएसपीको कब्जामा
स्वास्थ्य मन्त्रालयको तेस्रो तलामा आर्थिक प्रशासन महाशाखा छ । त्यसको उत्तरपट्टिको करिब २० जना अट्ने ठूलो हलमा नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रम (एनएचएसएसपी)ले कब्जा जमाएर बसेको छ । त्यहाँ एनएचएसएसपीका कति कर्मचारीले काम गर्छन् मन्त्रालयलाई समेत जानकारी छैन । एनएचएसएसपीले मन्त्रालयको ट्वाइलेटसम्ममा चाबी लगाएको छ । एनएचएसएसपीको मुख्य काम स्वास्थ्य मन्त्रालयले गर्ने कार्यक्रमका लागि हल व्यवस्थापन, कार्यक्रमका लागि आर्थिक सहयोग, कर्मचारीहरू विदेश भ्रमणमा जाँदा टिकटलगायतमा र छपाइमा सहयोग गर्ने हो । वार्षिक बजेट करोडौँमा छ, तर उसले गर्ने अधिकांश कार्यक्रम स्वास्थ्य मन्त्रालयसँग मिल्दाजुल्दा छन् ।

निक साइमन र एफएचआईका कर्मचारी टिप्पणीसमेत उठाउँछन्
मन्त्रालयको दोस्रो तलामा गुणस्तर नियमन तथा अनुगमन महाशाखा छ । यहाँ निक साइमन र फेमिली हेल्थ इन्टरनेसनल (एफएचआई)का दुई–दुई कर्मचारी राखिएका छन् । उनीहरूले मन्त्रालयका कर्मचारीहरूले गर्नुपर्ने चिठीपत्र बनाउनेदेखि टिप्पणी उठाउनेसम्मका कामसमेत गर्ने गरेका छन् । ‘आफ्ना कर्मचारी हुँदाहुँदै निक साइमनका कर्मचारीलाई मन्त्रालयको कामको जिम्मासमेत दिइएको छ,’ एक अधिकारीले भने, ‘चिठीपत्र बनाउने मात्रै होइन, आइएनजिओका मानिसले वेलावेलामा टिप्पणी उठाउने कामसमेत गर्ने गरेका छन् ।’ निक साइमनले दुर्गमका स्वास्थ्य संस्थामा चिकित्सक लगेर प्रसूति सेवा दिने गरेको छ । तर, त्यसको फाइदा उठाउँदै मन्त्रालयमा अड्डा जमाएको छ । त्यस्तै, एफएचआईले पनि एचआइभी/एड्सका क्षेत्रमा काम गर्दै आएको छ । तर, मन्त्रालयमा बसेर यसका कर्मचारीले कुनै काम गरेका छैनन् ।

मन्त्रालयमा डब्लुएचओका करिब ४० कर्मचारी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का कर्मचारी त मन्त्रालयका तीनवटा शाखामा छन् । तीनवटै ठाउँमा गरेर करिब ४० जनाजति कर्मचारी छन् । मन्त्रालयको आँगनमा प्रिफ्याबको भवनमा रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र महामारीका वेला सबैभन्दा व्यस्त र नीतिगत निर्णय हुने ठाउँ हो । तर, अहिले केन्द्रका प्रमुख डा. समीर अधिकारी र शाखा अधिकृत प्रेम रसाइली मात्रै छन्, बाँकी करिब ३० जना डब्लुएचओका कर्मचारी बस्छन् । उनीहरूले अस्पतालमा फोन गरेर कोरोनाको तथ्यांक लिने, उजुरीको रेकर्ड राख्ने, निर्णयको पत्र बनाउने र पठाउनेसम्मका काम गरिरहेका छन् । त्यस्तै, तेस्रो तलाको उत्तरपट्टिको अर्को ठूलो हलमा हुरिक शाखा थियो ।

यो शाखाले स्वास्थ्य सेवाअन्तर्गत रहेका कर्मचारीको विवरण अद्यावधिक गर्ने गरेको थियो । तर, पछिल्लो समय यहाँ डब्लुएचओका करिब १० जना कर्मचारी बस्ने गरेका छन् । मन्त्रालयका कर्मचारीलाई त्यहाँ काम गर्न निषेध छ । डब्लुएचओले स्वास्थ्यका सबै क्षेत्रमा सहयोग गर्दै आएको छ । अहिले कोरोना महामारीमा केन्द्रित छ । त्यस्तै, दोस्रो तलाको भर्‍याङछेउको एउटा कोठामा पनि डब्लुएचओ बसेको छ । पहिलो तलामा रहेको प्रदेश तथा स्थानीय स्वास्थ्य समन्वय शाखामा पनि एकजना डब्लुएचओको कर्मचारी राखिएको छ ।