मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३ आइतबार
  • Wednesday, 18 December, 2024
काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमा थुप्रिएको फोहोर । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडौं
२o७८ श्रावण ३ आइतबार o९:४१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लगातारको वर्षाले उठ्न छाड्यो काठमाडौंको फोहोर

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३ आइतबार o९:४१:oo

१६ वर्षसम्म पनि बन्चरेडाँडा ल्यान्डफिल साइट नबन्दा काठमाडौं उपत्यकामा दैनिक संकलन हुने १२ सय टन फोहोर व्यवस्थापनमा सधैँ सास्ती

नेपालमा मनसुन सुरु भएको एक महिना पुगेको छ । मनसुन सक्रिय भएकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि वर्षा हुने क्रम रोकिएको छैन । निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाका सडकमा फेरि फोहोर थुप्रिएको  छ । अविरल वर्षाका कारण सिसडोलस्थित ल्यान्डफिल साइट जाने सडकमा समस्या देखिन थालेकाले दैनिक रूपमा उपत्यकाको फोहोर उठ्न सक्ने अवस्था नरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । केही समयअघि पनि काठमाडौंको फोहोर एक हप्तासम्म उठेको थिएन ।

‘सिसडोलसम्म पुग्ने तीन सय मिटरजति सडक राम्रो छैन । अविरल वर्षा भइरहेमा फेरि पनि फोहोर लैजान सकिँदैन,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने । यो वर्ष पनि वर्षा सुरु भएसँगै असार पहिलो साता र तेस्रो साता गरी दुईपटक फोहोर उठाउन समस्या भइसकेको छ । महानगरपालिकाका अनुसार सिसडोल पुग्ने तीन सय मिटर सडक पक्की नभएकाले समस्या आएको हो । ‘असार महिनाको सुरुवातमा पनि काठमाडौंको फोहोर उठाउन सकिएन । दुई–तीन दिन लगातार पानी परेका कारण फेरि फोहोर उठाउन सकिएन,’ महानगरअन्तर्गत वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘सिसडोल पुग्ने तीन सय मिटर बाटो पक्की नभएकाले वर्षा लाग्नेबित्तिकै यस्तो समस्या आउने गर्छ ।’

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि वैकल्पिक ठाउँ नखोजिएकाले समस्या आएको उनको भनाइ छ । ‘सिसडोलस्थित ल्यान्डफिल साइट भरिसक्यो । फोहोरको डंगुरमाथि गाडी गुड्नुपर्छ । सरकारले तीन वर्षका लागि भनेर निर्माण गरेको ल्यान्डफिल साइटको विकल्प १६ वर्षसम्म पनि नखोज्दा यो समस्या आएको हो । यसको विकल्प नखोज्ने हो भने यो समस्या आइरहन्छ नै,’ श्रेष्ठले भने । 

गत २८ जेठदेखि मनसुन सुरु भएपछि सिसडोल क्षेत्रमा केही दिन लगातार वर्षा भएको महानगरले जनाएको छ । फोहोरको रासमाथि माटो छापेर बनाइएको सडक पानीले गल्यो । कतिपय ठाउँमा पहिरो खस्यो । सडक नै अवरुद्ध भएपछि काठमाडौंबाट फोहोर बोकेर आएका ट्रक सडकमै अड्किएका छन् । सरकारले तीन वर्षका लागि भनेर पाइलट प्रोजेक्टका रूपमा २०६२ देखि सिसडोलमा फोहोर फाल्न थालेको थियो । तर, १६ वर्ष हुँदा पनि विकल्प तयार भएको छैन । 

महानगरका अनुसार काठमाडौंमा दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहोर उत्पादन हुने गरेको छ । वर्गीकरण नगरी एकै ठाउँमा फोहोर हाल्दा यो परिमाण अझै बढ्न सक्छ । उपत्यकाको काठमाडौं, ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । यी सबै फोहोर निजी र महानगरका गरी दैनिक दुई सय बढी टिपर–ट्रकबाट नुवाकोटको ककनी गाउँपालिका–२ को सिसडाल लैजाने गरिएको छ । दैनिक २५ ट्रकको दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजारभन्दा बढी टन फोहोर फालिरहेका छन् । 

तीन वर्षको बञ्चरे डाँडा ल्यान्डफिल साइट योजना १६ वर्षमा पनि बनेन
तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर उठाउन समस्या आएको हो । महानगरका अनुसार ल्यान्डफिल साइट चाँडै निर्माण भएमा फोहोर नउठ्ने समस्या हुँदैन । ‘बन्चरेडाँडा ल्यान्डफिल साइटको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । फोहोर र लिच्चड दुवै अट्ने पोखरी बनाउँदा समय लागेको हो । अब छिट्टै सञ्चालनमा आउँछ,’ वातावरण विभागका प्रमुख श्रेष्ठले भने । 

उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले २०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । त्यसका लागि एक हजार सात सय ९० रोपनी जग्गा अधिग्रहण गरेर करिब ६१ करोड मुआब्जा पनि बाँडियो । तर, १६ वर्ष बित्दा पनि ल्यान्डफिल साइट सम्पन्न हुन सकेको छैन । बञ्चरेडाँडामा सामान्य अवस्थामा फोहोर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्यान्डफिल गर्दा कम्तीमा ५० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने सरकारको भनाइ छ । 

जापान सहयोग नियोग (जाइका)को दुई अर्ब १० करोड सहयोगमा ल्यान्डफिल साइट बनाउने निर्णय भएको थियो । जाइकाले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि बनाएको थियो । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्ने वेलामा स्थानीय विकास मन्त्रालय र वन मन्त्रालयबीच विवाद भयो । तीन वर्षमा सक्ने भनिएको आयोजनाको इआइए गर्न नै चार वर्ष लाग्यो । त्यसपछि दातृ निकाय जाइकाले हात झिक्यो, उसले सहयोग गरेको दुई अर्ब १० करोड पनि फ्रिज भएर गयो । खासमा त्यतिवेलैदेखि आयोजना अलपत्र परेको हो । 

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थल भन्दै सरकारले २०५२ मै बन्चरेडाँडाको पहिचान गरेको थियो । त्यहीअनुसार सडक निर्माणका लागि २०५७ देखि नै ट्र्याक खोल्ने काम पनि थालेको थियो । तर, सडक निर्माण कार्य अझै सकिएको छैन । 

०६२ अघि काठमाडौंको फोहोर गोकर्णस्थित ल्यान्डफिल साइटमा डम्पिङ गरिँदै आइएको थियो । त्यसका लागि करिब दुई सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । यो साइट भरिएपछि काठमाडौंमा फोहोर उठ्न छाड्यो । त्यसपछि सरकारले बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको हो । यसका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत परिचालन केन्द्रले जाइकासँग समन्वय गरेको थियो । बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्न तीन वर्ष लाग्ने भएपछि त्यतिन्जेल उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन गर्न थालियो । त्यसका लागि सिसडोलमा चार सय २० रोपनी जग्गा अधिग्रहण गरियो । २२ जेठ ०६२ देखि फोहोर त्यहीँ फाल्न सुरु गरिएको थियो ।