मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २७ आइतबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २७ आइतबार १३:३८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्रियाशील सदस्यमा धाँधली गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा पूर्वसांसदसहित नेता–कार्यकर्ताको धर्ना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २७ आइतबार १३:३८:oo

क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै बाराका चारवटै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरूले कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका छन् । बारा कांग्रेसका पूर्वसांसदद्वय लालबाबु सिंह र रामअयोध्याप्रसाद यादवसहितका नेता–कार्यकर्ताले विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत मापदण्ड उल्लंघन गरेर वडा कार्यसमितिको निर्णयविना, पालिका, प्रदेश र क्षेत्रको बैठक नै नबसी किर्ते जालसाजी षड्यन्त्र गरी पार्टी कब्जा गर्ने नियतले नयाँ क्रियाशील सदस्यता वितरण भएको भन्दै त्यस्तो नामावली खारेज गरी विधिअनुसार नयाँ क्रियाशील सदस्यता वितरणको माग गर्दै धर्ना सुरु गरेका हुन् । 

राजनीतिक पूर्वाग्रह राखी धेरै नेता र कार्यकर्ताको राजनीतिक हत्या गर्ने नियतले नवीकरणको फारम बुझाएर पैसा तिरे पनि नवीकरण रोकिएका क्रियाशील सदस्यको अविलम्ब नवीकरण गर्नुपर्ने, केन्द्रीय छानबिन समितिबाट रोकिएका १३औँ महाधिवेशनको छुटको नामको एक सय ६६ जनाको नामावली र सोबराबरको नयाँ क्रियाशील सदस्यता अविलम्ब खारेज गर्नुपर्ने, क्रियाशील छानबिन समितिमा दिइएको निवेदनउपर अविलम्ब कारबाही हुनुपर्ने, वडा कार्यसमितिको सिफारिसविनाको क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, केन्द्रीय मापदण्डअनुरूप वडा कार्यसमितिले सिफारिस गरेको, तर जालसाझी गरी रोकिएका व्यक्तिहरूलाई तत्काल नयाँ क्रियाशील सदस्यता प्रदान गर्नुपर्नेलगायत माग राखेर धर्ना सुरु गरेका हुन् । 

बारा क्षेत्र नं. २ मा क्षेत्रीय सभापति रामप्रवेश यादवले क्रियाशील फारम नै नदिई जाली हस्ताक्षर गरेर वडाको निर्णय र सिफारिसविना नै केन्द्रीय कार्यालयमा क्रियाशीलको विवरण सूचीकृत गराएको बारा कांग्रेसका नेता एवं नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारले बताए । उनका अनुसार क्षेत्रीय सभापतिले पचरौता नगरपालिकाका वडा नं. १, ६, ७, ८ र ९, महागढीमाई नगरपालिकाका वडा नं. १, २, ४, ६ र ७, सुवर्ण गाउँपालिका वडा नं. ४, करैयामाई गाउँपालिकाका वडा नं. २ र ५ गरी १३ वडामा क्रियाशील सदस्यताको फारम नै पुगेको छैन । ती वडालाई क्रियाशील सदस्यताको फारम नै नपठाई क्षेत्रीय सभापतिले आफूअनुकूलका व्यक्तिहरूको नाम भरेर पठाएका छन् । 

अन्य पाँचवटा वडामा पदाधिकारी र कार्यसमितिको सहमतिविनै सिफारिस गरिएको उनीहरूको आरोप छ । क्षेत्र नं. १ मा पनि क्षेत्रीय सभापतिले वडाबाट सिफारिस गरिएकोभन्दा धेरैजनाको नाम थप गरेर पठाएको पाइएको उनले बताए । ‘वडाबाट ३० जनाको पठाइएको छ, तर क्षेत्रीय सभापतिले त्यहाँ आफूअनुकूल हुने गरी थप गरेर पठाएको पाइएको छ, जो विधिविधानविपरीत छ,’ उनले भने । 

पूर्वसांसद लालबाबु सिंह, पूर्वजिविस सभापति राजेन्द्र यादव, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, शिक्षक संघका पूर्वजिल्ला अध्यक्ष रामविलास यादवसहित करिब तीन सयजना नेता–कार्यकर्ताको सदस्यता नवीकरण फारम भराए पनि त्यसको विवरण केन्द्रमा नपठाएको पाइएको उनीहरूको आरोप छ । 

१३औँ महाधिवेशनको क्रियाशील सदस्यता छुटको नाममा निजगढ नगरपालिकामा एक सय ६६ जनाको किर्ते नामावली राखिएको उनीहरूको आरोप छ ।