१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १८:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिममा कोरोना परीक्षण घट्यो, संक्रमण फैलने जोखिम कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:३२:oo

सुदूरपश्चिमका सातमध्ये तीनवटा प्रयोगशालामा मंगलबार कोरोना परीक्षण भएन । प्रदेशभर दैनिक साढे तीन हजार नमुनामा कोरोना परीक्षण सुविधा रहेकोमा मंगलबार एक सय ९९ नमुना मात्र जाँच गरिए । नमुना नभएपछि जिल्ला अस्पताल बैतडी, बझाङ र अछाममा मंगलबार परीक्षण भएन । 

परीक्षण गरिएका एक सय ९९ मध्ये ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालमा एक सय पाँचजनामा ३९ मा संक्रमण देखिएको छ । डडेल्धुरा अस्पतालमा ६ मध्ये दुईजनामा संक्रमण पुष्टि भएको छ । केही साताअघि संक्रमणको ‘हटस्पट’ बनेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा अहिले कुनै दिन परीक्षण शून्य हुने गरेको छ । 

कोरोना संक्रमण दर न्यून भएसँगै सुदूरपश्चिममा परीक्षण पनि सुस्ताएको हो । अस्पताल भर्ना भएका शंकास्पद बिरामीको बाहेक धेरैजसो प्रयोगशालामा कोरोनाको नियमित परीक्षण हुन छोडेको छ । कोरोना परीक्षणलाई सरकारका निकायले महत्व दिन छाडेका छन् । कोरोना परीक्षणका लागि सर्वसाधारणले पनि चासो दिएका छैनन् ।

प्रदेशमा संक्रमणको हटस्पट बनेका धनगढी, महेन्द्रनगरलगायत क्षेत्रमै परीक्षण गराउने घटेका छन् । धनगढी उपमहानगरपालिका कार्यालयपरिसरमा रहेको स्वाब संकलन केन्द्रमा स्वाब दिने आउन छोडेका छन् । केही दिनअघिसम्म स्वाब दिन दैनिक दुई–तीन सयको भिड हुने केन्द्रमा अहिले मुस्किलले ८–१० जना पुग्ने गरेको उपमहानगरले जनाएको छ । धनगढीमा परीक्षण गराउने घटे पनि संक्रमण दर भने अहिले पनि उच्च रहेको उपमहानगरका स्वास्थ्य संयोजक लक्ष्मीराज उपाध्यायले बताए ।

‘परीक्षण घटेको मात्र हो, अहिले पनि संक्रमण दर ३० प्रतिशतभन्दा माथि नै छ,’ उपाध्यायले भने, ‘कोरोना केही होइन भनेर मान्छेले परीक्षण गर्न छोडे, तर संक्रमण समुदायस्तरमा फैलने जोखिम अझै घटेको छैन ।’ संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरूले पनि अहिले परीक्षण गराउन छोडेका उपाध्यायले बताए ।

संक्रमण घटेपछि स्थानीय तहले पनि स्वाब कन्ट्याक्ट टे«सिङ, संकलनमा बेवास्ता गरेका छन् । गाउँघरमा गएर स्वाब संकलन हुन छोडेको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले कैलालीमा संक्रमण दर अहिले पनि २५ प्रतिशतको हाराहारीमा रहेको बताए । जिल्लाभरि अहिले एक सय ९६ सक्रिय संक्रमित रहेको उनले जानकारी दिए ।

‘परीक्षण कम हुँदा सक्रिय संक्रमितको संख्या कम देखिएको हो, तर संक्रमण दर २५ प्रतिशतको हाराहारी छ,’ उनले भने, ‘स्वास्थ्य संस्थामा गएर स्वाब दिने मान्छे अहिले घटेका छन् । मान्छेलाई कोरोना भन्ने केही होइन भन्ने लाग्न थालेको छ ।’ गाउँमा रहेका स्वास्थ्य संस्थाहरूमा स्वाब संकलनको सुविधा भने रहेको धामीले बताए ।

निषेधाज्ञा खुकुलो भएसँगै परीक्षण मात्र घटेको छैन, स्वास्थ्य सावधानीप्रति बेवास्ता पनि बढेको छ । संक्रमितको भौतिक सम्पर्कमा भएका र सामान्य लक्षण देखिए परीक्षण गराउन छोडेका छन् । ‘गम्भीर अवस्थाबाहेक लक्षण देखिए पनि परीक्षण नगर्ने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘संक्रमण दर पनि पहिलेभन्दा कम छ । त्यसैले पनि परीक्षण गराउने घटेका होलान् ।’

संक्रमण दर तुलनात्मक रूपमा घटे पनि अझै न्यून हुन नसकेकोले समुदायस्तरमा संक्रमण फैलने जोखिम कायम रहेको चिकित्सकहरू बताउँछन् । संक्रमितको उपचारमा खटिएका डा. शेरबहादुर कमरले स्वास्थ्य सावधानी नअपनाए संक्रमण जुनसुकै वेला पनि फैलन सक्ने बताए ।

‘नयाँ केसहरू केही कम देखिएका हुन्, तर अझै जोखिम घटेको भन्न मिल्दैन,’ उनले भने, ‘भिडभाड बढेको छ । भारतबाट आउने–जाने क्रम पनि चलिरहेको छ । त्यसैले संक्रमण जुनसुकै वेला फैलन सक्छ । स्वास्थ्य सावधानी पालना गर्नुपर्छ ।’ मान्छेहरू खेतीपातीमा व्यस्त हुँदा परीक्षण घटेकोले पनि नयाँ केसहरू कम देखिएको हुन सक्ने डा. कमरले बताए ।   

ad
ad