मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ असार २३ बुधबार ०५:१३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोना उपचारमा दोहोरो  शुल्क लिने अस्पताललाई बिरामीको रकम फिर्ता दिन स्वास्थ्यको निर्देशन

Read Time : > 2 मिनेट
२०७८ असार २३ बुधबार ०५:१३:००

किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, विराट अस्पताल र मेडिकेयर अस्पतालले दोहोरो रकम लिएको पुष्टि 

कोभिड– १९ का बिमारीबाट दोहोरो रकम असुल्ने निजी अस्पतालहरूलाई रकम फिर्ता गर्न सरकारले निर्देशन दिएको छ । अनुसन्धानमा दोहोरो (सरकार र बिरामीबाट) रकम लिएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले तत्काल बढी रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले निःशुल्क उपचार गराउन सरकारसँग सम्झौता गरेका, तर बिरामीसँग रकम असुलेका अस्पताललाई रकम फिर्ताको निर्देशन दिएको बताए । ‘निःशुल्क उपचार गराउन सरकारसँग सम्झौता गरेका अस्पतालले बिरामीसँग शुल्क उठाएको पाइएको छ । त्यस्ता अस्पताललाई रकम फिर्ता गर्न निर्देशन दिइएको छ,’ डा. अधिकारीले नयाँ पत्रिकासँग भने । 

निःशुल्क उपचारको सम्झौता गरेका अस्पतालले आइसोलेसनमा रहेकालाई दुई हजार, एचडियूकोे ३५ सय र आइसियू तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार सरकारबाट पाउँछन् । तर, बिरामीसँगसमेत रकम असुलेको भेटिएपछि मन्त्रालयले त्यस्तो रकम फिर्ता गर्न सम्झौता गरेका अस्पताललाई निर्देशन दिएको हो । 

किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, विराट अस्पताल र मेडिकेयर अस्पतालले दोहोरो रकम लिएको पुष्टि भएको छ । ३ जेठदेखि १ असारसम्म किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, कान्तिपुर जनरल तथा डेन्टल अस्पताल, विराट अस्पताल, सर्वांग स्वास्थ्य सदन कुपन्डोल र मेडिकेयर अस्पतालविरुद्ध उजुरी परेका थिए । कान्तिपुर जनरल तथा डेन्टल अस्पताल र सर्वांग स्वास्थ्य सदन कुपन्डोलबाहेक अरू अस्पतालले निःशुल्क उपचार गर्ने सम्झौता गरेका छन् । 

बिरामीकोे उजुरीको आधारमा मन्त्रालयले गरेको सुरुवाती छानबिनमा निजी अस्पतालले बिरामीलाई ठगी गरेको पाइएको थियो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले उजुरीमाथि छानबिन गर्दा ठगी गरेको पुष्टि भएको नयाँ पत्रिकालाई बताए । ‘निःशुल्क उपचार गराउने सम्झौता गरेका अस्पतालले बिरामीसँग पनि रकम उठाएको भेटियो,’ अधिकारीले भने । 

उपचार गराउँदा संक्रमित वा आफन्तसँग सशुल्क उपचार गराउँदै छु भन्ने सुनिश्चित मञ्जुरीनामा नलिएको उजुरीकर्ताको दाबी छानबिनमा पुष्टि भएको अधिकारीले जानकारी दिए । उनीहरू सबैलाई बढी लिएको रकम फिर्ता गर्न र निर्देशन पालना नभएसम्म शोधभर्ना नगर्न भनिएको छ ।

सरकारसँग सम्झौता गरेका अस्पतालले रगत परीक्षण सिरम युरिया, क्रियाटिन, सुगर, सिआरपी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर परीक्षण, छातीको एक्स रे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शय्याको शुल्क लिन पाउँदैनन् । त्यसैगरी, खाजा, खानासहित चार छाक, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क गरिएको छ ।

कान्तिपुर जनरल तथा डेन्टल अस्पताल र सर्वांग स्वास्थ्य सदन कुपन्डोलले तोकेको शुल्कभन्दा बढी लिएका छन् । मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएको भन्दै ती अस्पताललाई रकम फिर्ता गर्न निर्देशन दिएको छ । 

बिरामीलाई अस्पतालले ठगी गरेका उजुरीहरू परेपछि गएको ३० जेठमा मन्त्रालयले डा. समीर अधिकारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मेडिकल अधिकृत डा. नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य छन् ।

सम्झौताविपरीत शुल्क लिइएका केही घटना

कोभिड संक्रमण भएपछि ४२ वर्षकी जया पौडेल ३१ वैशाखमा काठमाडौंको चाबहिलमा रहेको मेडिकेयर अस्पतालमा भर्ना भइन् । उपचारको क्रममा उनको ५ जेठमा मृत्यु भयो । सरकारसँग निःशुल्क उपचार गर्ने सम्झौता गरेको अस्पतालले जयाको परिवारसँग एक लाख ८३ हजार ६ सय ५६ रुपैयाँ रकम असुल्यो । 

५२ वर्षीय शिवप्रसाद शाही काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा गत १० वैशाखमा भर्ना भए । उनको आइसोलेसनसहित आइसियूमा २२ दिन उपचार गरियो । स्वास्थ्यमा कुनै ठूलो समस्या नभएका शाहीलाई अस्पतालले चार लाख १७ हजार सात सय पाँच रुपैयाँ लिएको पाइएको छ । मनमोहनमै उपचार गराएका ५६ वर्षका गुरुप्रसाद घिमिरेले १७ दिन आइसोलेसन बसेर घर फर्कने समयमा चार लाख सात हजार दुई सय ४५ रुपैयाँ तिर्नुप¥यो । 

७४ वर्ष पुगेका माघवप्रसाद घिमिरेले नेपाल मेडिकल कलेजमा उपचार गराए । सरकारसमक्ष निःशुल्क उपचार गर्ने सम्झौता गरे पनि कलेजले २५ दिनमा उनीसँग एक लाख ४० हजार ६ सय १० रुपैयाँ लियो । 

विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालले ६५ वर्षीय रामजी महतोको उपचारबापत पाँच लाख ७२ हजार ६ सय ७० रुपैयाँ लिएको मन्त्रालयमा उजुरी प¥यो । मन्त्रालयले तयार पारेको प्रतिवेदनमा महतो वैशाख २१ गते अस्पताल भर्ना भएका थिए, जेठ ८ गते उनको निधन भएको थियो । 

५४ वर्षीया धनकुमारी घले १५ वैशाखमा अस्पताल भर्ना भइन् । उनको ९ जेठमा मृत्यु भयो । स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रतिवेदनमा १० लाख ८८ हजार एक सय ८५ रुपैयाँ बिरामीसँग लिएको उल्लेख छ ।