पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित साउन ०६७ मा सुरु गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट ११ वर्षपछि बल्ल विद्युत् उत्पादन सुरु हुने भएको छ । आयोजनाको पहिलो युनिटबाट सोमबारबाट ७६ मेगावाट विद्युत् उत्पादन सुरु हुँदै छ । करिब ३ महिनासम्म आयोजनाको निरन्तर परीक्षणपछि विद्युत् उत्पादनका लागि तयार भएको हो । ७६–७६ मेगावाटका ६ युनिट रहेको ४ सय ५६ मेगावाट जडित क्षमता रहेको आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्न लागिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
आयोजनाको काम असार ०७२ मै सम्पन्न हुनुपथ्र्यो । तर, त्यस अवधिमा आयोजनाको करिब ७५ प्रतिशत काम मात्रै सकिएको थियो । त्यही सालको १२ र २९ वैशाखमा गएको भूकम्प र नाकाबन्दीलाई कारण देखाउँदै आयोजनालाई थप ६ वर्ष लम्बाइयो । यसबीचमा विभिन्न बहानामा तामाकोसीको म्याद पटक–पटक सारियो ।
पछिल्लो समयमा कोभिडले पनि ठूला आयोजना प्रभावित भए । त्यसमध्ये पेनस्टक पाइप जडानमा भएको ढिलाइ पनि आयोजनालाई पछि धकेल्ने एउटा प्रमुख कारण हो । तोकिएको समयभन्दा ढिलो गरी माथिल्लो र तल्लो ठाडो सुरुङमा १ सय ३४ पेनस्टक पाइप जडानमा ढिलाइ हुँदा गत साल असारमै विद्युत् उत्पादन गर्ने लक्ष्य तुहिएको थियो ।
०७६ असारदेखि सुरु भएको ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने काम माघसम्म (८ महिना)मा सक्ने लक्ष्य थियो । तर, साढे ४ महिना ढिला पेनस्टक पाइप जडान सम्पन्न भएको थियो । ३ सय ५ मिटर लामो माथिल्लो सुरुङमा ६१ पेनस्टक पाइप जडान गर्ने काम १४ असारमा सम्पन्न भएको थियो । माथिल्लो ठाडो सुरुङ जडान कार्य लट २ को ठेक्का प्याकेजअन्तर्गत हाइड्रो मेकानिकल सामानको आपूर्ति तथा जडान कार्यको ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेलवे इन्जिनियरिङले गरेको हो ।
यसअघि ३ सय ६७ मिटर अग्लो तल्लो सुरुङमा पेनस्टकको अन्तिम पाइप जडान कार्य गत जेठमा सम्पन्न भएको थियो । तल्लो ठाडो सुरुङमा ७३ वटा पेनस्टक पाइप जडान गरिएका छन् । आयोजनाको ३ सय ७३ मिटर गहिराइको तल्लो ठाडो सुरुङमा पाइप जडान कार्य लट ३ अन्तर्गत पावरहाउस निर्माण कार्यका लागि छानिएको ठेकेदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले गरेको हो ।
त्यस्तै, दुवै सुरुङमा पेनस्टक पाइप आपूर्ति तथा जडान गर्ने ठेक्का पाएको टेक्सम्याकोले आपूर्ति र जडानमा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा एन्ड्रिजलाई दिइएको थियो । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २३ पुस ०७५ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो ।
आयोजना व्यवस्थापन पक्षले यसअघि ०७७ मंसिरसम्म कम्तीमा पहिलो युनिटबाट विद्युत् उत्पादन थालिने अघिल्लो वर्षको योजना थियो । तर, समयमा प्राविधिक काम नसकिँदा ढिलाइ भयो । त्यसपछि ०७७ वैशाखमा आयोजनाबाट विद्युत् उत्पादन थालिने लक्ष्य बनाइएको थियो ।
ढिलोमा पनि वैशााखको दोस्रो हप्तासम्ममा सुरुङ (टनेल)मा पानी हाल्ने काम थालिने र वैशाख मसान्तसम्ममा पहिलो युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादन सुरु हुने कार्ययोजना थियो । र, चैत मसान्तभित्रमा पाइप जडानको काममा नै समय बित्यो । महत्वपूर्ण परीक्षणमा देखिएका कमजोरी सल्टाउँदै, कोभिडको असरका कारण काम रोक्दै र गर्दै गर्दा बल्ल पूर्ण तयारी सकिएको हो ।
विशेष गरी भारतीय ठेकेदार कम्पनीले समयमा डिजाइनअनुसारको एक्सपान्सन ज्वाइन्ट पाइप उपलब्ध गराउन नसक्दा आयोजना ढिला भएको हो । आयोजनाको लट २ को ठेकेदार कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ कम्पनीले एक्सपान्सन ज्वाइन्ट पाइप बनाउन ढिलाइ गरेको थियो । उसले माघसम्ममा पाइप जडान गर्नुपर्ने समयसीमा तोकिएको थियो ।
त्यसलाई पर्खिने हो भने थप ६ महिना ढिला हुने भएपछि डिजाइन नै परिवर्तन गरिएको थियो । विज्ञ, परामर्शदाता र ‘प्यानल अफ एक्सपर्ट’को राय–सुझाबअनुसार एक्सपान्सन ज्वाइन्ट पाइप राख्ने ठाउँमा वैकल्पिक पाइप राखेर उत्पादन थाल्ने निर्णय गरेको थियो ।
ब्याजसहित आयोजनाको लागत ८५ अर्ब
आयोजनाको लागत ८४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यो चालू आवको तेस्रो चौमासिकसम्मको अनुमानित खर्च होे । त्यसमा ५३ अर्ब साँवा र बाँकी ब्याज रहेको आयोजना प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । यथार्थ खर्च विवरण आउन भने अझ केही दिन लाग्ने उनले जानकारी दिए ।
आयोजना थालनी हुँदा ब्याजबाहेक ३५ अर्ब लागत अनुमान गरिएको थियो । ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ५१ करोड प्रक्षेपण गरिएको थियो, तर अहिले ब्याज र अमेरिकी डलरको अधिमूल्यनबाहेक नै ५३ अर्ब रुपैयाँ लागत पुगेको छ ।
आयोजनाको वित्तीय व्यवस्थापन हुँदा १ अमेरिकी डलरको मूल्य ७२ रुपैयाँ रहेको र आयोजना सम्पन्न भइसक्दा अधिकतम ८० रुपैयाँ पुग्ने प्रक्षेपण थियो । तर, अहिले त्यसमा धेरै ठूलो परिवर्तन आउँदा पनि लागत बढेको, तर अन्य आयोजनासँग तुलना गर्दा अत्यधिक नभएको आयोजना व्यवस्थापन पक्षको भनाइ छ ।
प्रधानमन्त्रीले बालुवाटारबाट उद्घाटन गर्ने
आयोजनाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले सोमबार अपराह्न ४ बजे गर्दै छन् । प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार प्रधानमन्त्रीले प्रधानमन्त्रीनिवास बालुवाटारबाटै भर्चुअल माध्यममार्फत आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्रीले ‘स्विच अन’ गरी पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन सुरु भएको घोषणा गर्नेछन् । शनिबार र आइतबार २ सय ३० केभी प्रसारण लाइनअन्तर्गत गौंगर–खिम्ती र खिम्ती–ढल्केबर क्षेत्रको सफल परीक्षण पनि भइसकेको उनले बताए । सोमबारदेखि तामाकोसीको ७६ मेगावाट बिजुली पहाडी क्षेत्रमा उत्पादन भए पनि तराई घुम्दै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत् उत्पादन गरिने कार्यतालिका छ । कार्यतालिकाअनुसार पहिलो युनिट चार्ज भएको २ हप्तामा अर्को युनिट चार्ज गरिनेछ । भदौभित्र सबै ६ युनिटबाट विद्युत् उत्पादन गर्ने आयोजनाको तयारी छ । आयोजना पूर्ण रूपले सञ्चालनमा आएपछि वार्षिक २ हजार २ सय ८१ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । आयोजना सुरुङ परीक्षणदेखि ड्याम (बाँध)मा पानी राखेर बालुवा थिग्र्याउनेलगायतका प्राविधिक परीक्षणहरू सफल भइसकेका छन् ।