मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २१ सोमबार
  • Wednesday, 27 November, 2024
मञ्जु टेलर काठमाडाैं
अर्जुन अधिकारी काठमाडाैं
२o७८ असार २१ सोमबार o६:२o:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोनाको जोखिममा बालबालिका, छैन पूर्वतयारी

Read Time : > 5 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असार २१ सोमबार o६:२o:oo

कोरोनाको तेस्रो लहर सुरु भए सबैभन्दा धेरै बालबालिका प्रभावित हुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका छन् । देशमा ३५० को हाराहारीमा मात्रै बाल चिकित्सक छन् । त्यसमाथि बालबालिकाको उपचारमा प्रयोग हुने एनआइसियू, पिआइसियू र भेन्टिलेटर करिब ३४० छन् । यी उपकरण चलाउने दक्ष जनशक्ति झन् कम छ । तर पनि सम्भावित जोखिम टार्ने पूर्वतयारी छैन ।

कोरोना संक्रमणले बालबालिकालाई प्रभावित बनाउने क्रम बढिरहेको छ । तर, उनीहरूलाई संक्रमणबाट जोगाउने र क्षति कम गर्ने सम्बन्धमा सरकारको पूर्वतयारी भने सुस्त छ । कोरोनाको पहिलो लहरमा वृद्धवृद्धा र दोस्रो लहरमा युवाहरू बढी संक्रमित बनेका छन् । तेस्रो लहरको संक्रमण बालबालिकाकेन्द्रित हुने विज्ञहरूको भनाइ छ । संसारभर नै १८ वर्षमुनिका बालबालिकामा कोरोनाविरुद्धको खोप लगाइएको छैन । त्यसकारण पनि तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित बनाउने विज्ञहरूले बताएका छन् ।

नेपालमा त्यसै पनि बालरोग विशेषज्ञको संख्या अत्यन्त न्यून छ । त्यसमाथि अस्पतालहरूमा एनआइसियू, पिआइसियू र भेन्टिलेटरलगायतका उपकरण पनि पर्याप्त छैनन् । स्वास्थ्य मन्त्रालयसँग त बालरोग विशेषज्ञ र बालबालिकाको उपचारमा आवश्यक पर्ने एनआइसियू, पिआइसियू, भेन्टिलेटरलगायतका उपकरणहरू कति छन् भन्ने यकिन तथ्यांकसमेत छैन ।

१८ वर्षमाथि उमेर समूहले प्रयोग गर्ने आइसियू÷भेन्टिलेटर बालबालिकाका लागि प्रयोग गर्न मिल्दैन । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार देशभर एमबिबिएस गरेका २४ हजार आठ सय १४ चिकित्सक छन् । तीमध्ये विशेषज्ञता हासिल गरेका चिकित्सकको संख्या सात हजार ६ सय ९१ छन् । बालरोग विशेषज्ञको संख्या भने करिब साढे तीन सयको हाराहारीमा मात्रै छ । 

‘नेपाल पेडियाट्रिक सोसाइटीमा पुगनपुग तीन सय चिकित्सक दर्ता छन् । करिब ५० जनाको संख्या संस्थामा आबद्ध नभएका चिकित्सक होलान्,’ सोसाइटीका अध्यक्ष डा. गणेश राईले भने । सोसाइटीका अनुसार देशभरका अस्पतालमा करिब एक सय ४० एनआइसियू, एक सय ५० पिआइसियू र ५० वटाजति भेन्टिलेटर छन् । तर, उपचार गर्ने चिकित्सक बढीमा तीन सय ५० जना छन् । 

२५ भन्दा धेरै बेड भएको अस्पतालमा अनिवार्य बच्चाको डाक्टर हुनुपर्ने सरकारी व्यवस्था छ । देशभर २८ वटा यस्ता अस्पताल छन् । तर, अधिकांशमा बच्चाको डाक्टर छैनन् । विश्व स्वास्थ्य संगठनले १८ वर्षमुनिकालाई बालबालिकाको सूचीमा राख्ने गरेको छ । नेपालमा १८ वर्षमुनिका ८२ लाख ४३ हजार दुई ३७ बालबालिका छन् । 

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार बालबालिकाको उपचारमा प्रयोग हुने आइसियू दुई किसिमका हुन्छन्, पिआइसियू र एनआइसियू । एनआइसियूमा २८ दिनमुनिको शिशुको उपचार गरिन्छ । २८ दिनभन्दा माथिका बालबालिकाको उपचार गर्न पिआइसियूको प्रयोग गरिन्छ । त्यस्तै, बालबालिकाको शल्यक्रिया गरिएपछि एसआइसियूमा राखिन्छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार मेची, कोसी, राजविराज, वीरगन्ज, चितवन, भीम अस्पताल, बुटवल, नेपालगन्ज, सुर्खेत, दाङ, डडेल्धुरा, सेती र महाकाली अस्पतालमा पेडियाट्रिक वार्ड छन् । तर, पिआइसियू, एनआइसियू र एचडियू छैनन् । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवनका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा थोरै संख्यामा एनआइसियू बेड छन् । बाल मृत्युदर घटाउन धेरै ठाउँमा एनआइसियू राखियो, तर २८ दिनभन्दा माथिको बच्चाका लागि पिआइसियू राखिएको छैन । 

त्यस्ता उपकरण चलाउन सक्ने विज्ञ स्वास्थ्यकर्मीको अभावका कारण पनि उपचारमा समस्या हुने चिकित्सकहरूको भनाइ छ । ‘अहिले बालबालिकाका अस्पतालबाहेकका अस्पतालमा चलिरहेका आइसियू÷भेन्टिलेटर बच्चाका लागि मिल्दैनन् । बालबालिकाकै लागि प्रयोग हुने उपकरण अधिकांश चिकित्सकले चलाउन सक्दैनन् । त्यसका लागि छुट्टै तालिमप्राप्त जनशक्ति आवश्यक पर्छ,’ डा.  बिच्छाले भने । सरकारले चाहेमा तालिम दिएर त्यस्तो जनशक्ति तयार गर्न कान्तिले योगदान गर्ने उनले बताए । बालबालिकामा कोरोनाविरद्धको खोप नलगाइएको र शरीरमा प्रतिरोधी क्षमता पनि कमजोर हुने हुदाँ तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने उनले बताए ।

डा. राईले पनि पिआइसियू र एनआइसियूमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई तत्काल क्रिटिकल केयरसम्बन्धी तालिमको आवश्यकता रहेको बताए । ‘प्रत्येक अञ्चल अस्पतालमा चिकित्सकको अवस्था हेरेर पेडियाट्रिक वार्ड र पिआइसियू बेड हाल्नुपर्छ, तालिम दिएर आवश्यक जनशक्ति पनि तत्काल तयार गर्नुपर्छ,’ उनले भने । 

चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिशचन्द्र न्यौपानेले बालबालिका जोखिममा पर्ने देखेर १७ शय्याको पिआइसियू तयार गरिएको बताए । ‘पिआइसियू तयार गरी चिकित्सक, नर्सहरूलाई तालिम दिने काम पनि थालिएको छ,’ उनले भने, ‘निजी तथा सरकारी सबै अस्पतालमा एनआइसियू र पिआइसियू शय्या तत्काल बढाउनुपर्छ ।’ डा. बिच्छाका अनुसार कान्तिमा एनआइसियू २२, पिआइसियू २० र एसआइसियू आठ बेड छन् । २५ बेडको एचडियू हालै मात्र सञ्चालनमा ल्याइएको उनले बताए । 

स्वास्थ्य मन्त्रालयले जेठ तेस्रो साता सरकारी र निजी सबै अस्पताललाई २० प्रतिशत बेड कोरोना संक्रमित बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो । तर, अहिलेसम्म कति अस्पतालले छुट्याए, कतिले छुट्याएनन् भन्ने ‘फलोअप’ मन्त्रालयले गरेको छैन । ‘कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै अस्पताललाई बालबालिकाका लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिइएको हो,’ मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए । 

सरकारले देशभरका अस्पतालमा दुई सय ७५ पिआइसियू र एचडियू थप्ने योजना बनाएको छ । ‘उपत्यकामा शिक्षण अस्पताल, पाटन र कान्ति बाल अस्पतालमा पिआइसियू छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेलले भने, ‘काठमाडौंबाहिरका अस्पतालमा पनि पिआइसियू र एचडियू गरेर अहिले सरकारले दुई सय ७५ बेड थप गर्ने तयारी गरेको छ ।’ साना अस्पतालमा पाँच बेड र ठूला अस्पतालमा २० बेडसम्म थप गर्ने योजना रहेको उनले बताए । सरकारले रकम उपलब्ध गराउने र सम्बन्धित अस्पतालले आवश्यकताअनुसार पिआइसियू र एचडियू व्यवस्थापन गर्नेछन् । यसका लागि ३३ करोडभन्दा बढी रकम आवश्यक पर्ने पौडेलले बताए ।

सरकारले मेची, धौलागिरि र भीम अस्पतालमा पाँच–पाँचवटा तथा कोसी, जनकपुर, नारायणी, गजेन्द्रनारायण अस्पताल, भरतपुर, लुम्बिनी, भेरी, सेती, महाकाली, राप्ती प्रतिष्ठान, डडेल्धुरा, सुर्खेत अस्पताल र जुम्ला मेडिकल कलेजमा १०–१० वटा पिआइसियू र एचडियू बेड व्यवस्थापन गर्ने योजना बनाएको छ । त्यस्तै, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १५–१५ तथा कान्ति बाल अस्पताल, शिक्षण, पाटन र धुलिखेल अस्पतालमा २५–२५ वटा पिआइसियू र एचडियू खरिद गरिनेछन् । 

के भन्छन् चिकित्सक ?

उपकरण चलाउन तालिम दिनुपर्छ भनेर लागेका छौँ
डा. युवनिधि बसौला, 
भरतपुर अस्पताल चितवन 

चितवनमा दुईवटा मेडिकल कलेज र भरतपुर अस्पतालमा मात्रै एनआइसियू छ । अन्य निजी अस्पतालमा छैन । चितवन मेडिकल कलेजले केही समयअघि मात्रै १७ वटा पिआइसियू थप गरेको हो । चितवनमा करिब ३५ जना पेडियाट्रिक चिकित्सक छन् । अहिलेसम्म भरतपुर अस्पतालमा बच्चाको उपचारका लागि ब्याकअप निकै राम्रो छ । ११औँ तहका चिकित्सक नै तीनजना कार्यरत छन् । कोरोनाको तेस्रो छाल आउने कुरा उठिरहेका वेला हामीले तालिम दिलाउनुपर्छ भनेर लागेका छौँ । 

केही अस्पतालको पिआइसियू र एनआइसियू बाल आइसियू अवस्था

कान्तिमा बाल अस्पताल    ५०
शिक्षण अस्पताल    २५
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान    १० 
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान    ५
मणिपाल मेडिकल कलेज    १२ 
चितवन मेडिकल कलेज    २९ 
कलेज अफ मेडिकल साइन्सेस    ५
भरतपुर अस्पतालमा    १२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान    ५ 
नेपालगन्ज मेडिकल कलेज    ५ 

स्वास्थ्य मन्त्रालयले कहाँ–कहाँ पठाउँदै छ बाल आइसियू बेड
मेची अस्पताल ५
धौलागिरि अस्पताल             ५
भीम अस्पताल                ५
कोसी अस्पताल १०
गजेन्द्रनारायण अस्पताल        १०
जनकपुर अस्पताल            १०
नारायणी अस्पताल            १०
भरतपुर अस्पताल            २०
लुम्बिनी अस्पताल            १०
राप्ती प्रतिष्ठान                १०
भेरी अस्पताल                १०
सेती अस्पताल                १०
महाकाली अस्पताल             १०
डडेल्धुरा अस्पताल            १०
सुर्खेत अस्पताल                १०
जुम्ला मेडिकल कलेज         १०
बिपी कोइराला            १५
पोखरा स्वा.वि. प्र.             १५
कान्ति बाल अस्पताल            २५
पाटन अस्पताल                २५
शिक्षण अस्पताल             २५
धुलिखेल अस्पताल            २५

२५ भन्दा धेरै बेड भएका अस्पताल

मेची अस्पताल 
कोसी अस्पताल 
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
रामराजाप्रसाद सिंह राजविराज
जनकपुर प्रादेशिक अस्पताल
नारायणी अस्पताल वीरगन्ज 
भरतपुर अस्पताल चितवन 
हेटौँडा अस्पताल
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल 
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
बाग्लुङ अस्पताल 
भेरी अस्पताल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
धनगढी प्रादेशिक अस्पताल
महेन्द्रनगर प्रादेशिक अस्पताल
सुर्खेत प्रादेशिक अस्पताल 
कान्ति बाल अस्पताल
शिक्षण अस्पताल
पाटन अस्पताल
भक्तपुर अस्पताल
टेकु अस्पताल
त्रिशूली अस्पताल नुवाकोट
गौर जिल्ला अस्पताल
जलेश्वर जिल्ला अस्पताल
गाईघाट जिल्ला अस्पताल 
भीम अस्पताल भैरहवा 
डडेल्धुरा प्रादेशिक अस्पताल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
सिन्धुली अस्पताल

पहिलो लहरको १२ महिनामाभन्दा दोस्रो लहरको अढाई  महिनामै धेरै बालबालिका प्रभावित

कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा कम समयमै धेरै बालबालिका संक्रमणबाट प्रभावित भएका छन् । पहिलो लहरको १२ महिनामा २१ हजार पाँच सय २३ बालबालिकामा संक्रमण देखिएको थियो । तर, दोस्रो लहरको झन्डै तीन महिनामै २७ हजार ६ सय ७३ बालबालिकामा संक्रमण देखिएको छ । 

संक्रमणबाट मृत्यु हुने बालबालिकाको दर पनि पहिलोभन्दा दोस्रो लहरमा धेरै छ । ०७७ वैशाखदेखि चैतसम्म संक्रमणबाट ३८ बालबालिकाले ज्यान गुमाएका थिए । तर, ०७८ वैशाखदेखि आइतबारसम्म ३५ बालबालिकाले ज्यान गुमाइसकेका छन् । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पाँच वर्षमुनिका बालबालिका अझ बढी प्रभावित भएका छन् । कुल बालबालिकाको संक्रमण दरको लगभग २८ प्रतिशतभन्दा बढी पाँच वर्षमुनिका बालबालिका छन् । 

दोस्रो लहर उत्कर्षमा रहेका वेला गत ८ वैशाखदेखि ७ जेठसम्म सबैभन्दा धेरै बालबालिका प्रभावित बनेको मन्त्रालयको तथ्यांक छ । यो एक महिनाको अवधिमा मात्र १९ हजार एक सय ४३ बालबालिकामा संक्रमण देखिएको थियो । 
०७७ वैशाखमा ३६ बालबालिकामा संक्रमण देखिएको थियो । त्यस्तै, जेठमा ६ सय ५६, असारमा एक हजार पाँच सय ३२, साउनमा एक हजार चार सय ६५, भदौमा एक हजार आठ सय ३१ र असोजमा तीन हजार दुई सय ९९ बालबालिका संक्रमित भएका थिए । 

पहिलो लहरमा सबैभन्दा धेरै कात्तिकमा ६ हजार तीन सय ५० बालबालिका संक्रमित भएका थिए । मंसिरमा तीन हजार सात सय तीन, पुसमा एक हजार पाँच सय ४३, माघमा ६ सय १४, फागुनमा दुई सय तीन र चैतमा दुई सय ९१ बालबालिकामा संक्रमणबाट प्रभावित भएका थिए । 

दोस्रो लहरसँगै बालबालिकामा संक्रमण देखिने क्रम पनि उकालो लागेको थियो । ०७८ वैशाखमा तीन हजार आठ सय ६५ र जेठमा १९ हजार एक सय ४३ बालबालिकामा संक्रमण देखिएको थियो । असारमा अहिलेसम्म चार हजार ६ सय ६५ जना संक्रमित भइसकेका छन् ।