
नेपालमा नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको इलामको सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कु’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् संघले जनाएको छ ।
चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेका थिए । सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो ।
चरा अवलोकन गर्ने क्रममा गुरुङका साथमा रहेका मलेसियन नागरिक अलेक्जेन्डर जोन एङ याङले आवाज पहिचान गरी चरालाई पहिल्याएका थिए । टोलीमा रहेका अर्का मलेसियन नागरिक रोगर रोबर्ट राजह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि सो भाले चरालाई अवलोकन गरेको संघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
टोलीका सदस्यहरूले चराको फोटो र भिडियो खिचेर प्रारम्भिक पहिचान गरेका थिए । चैत २८ गते सो चराको एकीन पुष्ट्याइँका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्यांक समितिमा पठाएका थिए । समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्हरूसँग पनि रायसुझाव संकलन गरी नयाँ चराको अभिलेख गरेको उक्त चराको नेपाली नाम बेजनी कोइली राखिएको छ ।
यो चरा भुटान, फिलिपिन्स, सिंगापुर, बंगलादेश, ब्रुनाई, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रूपमा पाइन्छ भने यसले भुटान, फिलिपिन्स, सिंगापुरमा प्रजनन गर्दछ । विश्वमा यस चराको दुई उपप्रजाति अभिलेख भएका छन् । योसँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको संख्या ८९९ पुगेको छ ।