रसुवाको ग्रामीण भेगका महिला घरेलु हिंसाबारे खुल्न थालेका छन् । परिवार तथा समाजमा बेइजत हुने डरले हिंसा हुँदा पनि मनमै दबाएर राख्ने महिलाहरू अब भने आफ्नो समस्या निर्धक्क सुनाउन थालेका छन् । चेतनाको अभावमा महिलाले यसअघि हिंसा सहने गरेकामा अब भने त्यस्तो समस्या क्रमशः हट्दै गएको सरोकारवालाले बताएका छन् । यसमा स्थानीय सरकार, गैरसरकारी संघसंस्था र अधिकारकर्मीहरूले उल्लेख्य भूमिका खेलेका रसुवा महिला सञ्जालकी अध्यक्ष सुनीतामाया गुरुङ बताउँछिन् । विभिन्न निकायले सञ्चालन गर्ने अभियानको सकारात्मक प्रभाव ग्रामीण भेगसम्म देखिन थालेको छ ।
गोसाइँकुण्ड गाउँपालिका– १ थुम्मनकी पेम्बा याङ्जेन तामाङलाई अब छोराछोरीलाई शिक्षामा विभेद गर्नु हुँदैन भन्ने राम्रोसँग थाहा भइसकेको छ । उनले हिंसा गर्नु मात्र नभई हिंसा सहनु पनि अपराध रहेको समेत बुझेकी छिन् । विगतमा चुलो, चौको, मेलापातमा मात्र सीमित हुने महिलालाई सचेत गराउन गाउँघरमा सक्रिय महिला समूहले समेत भूमिका खेलेको उनको अनुभव छ । उनी भन्छिन्, पहिला त हामीजति नै अरूको दबाबमा रहे पनि कसैलाई भन्न सक्ने थिएनौ, धेरैजसो घरेलु हिंसा हुन्थ्यो, पीडामाथि पीडा थुपारेर बस्न बाध्य थियौँ, तर अब बोल्ने आँट आउँछ । उनका अनुसार संघसंस्था र सरकारी निकायले ग्रामीण भेगको घरदैलौमै पुगी चलाएका अभियानको सकारात्मक प्रभाव यहाँ देखिएको छ । महिलाका समस्या महिला समूहबाटै बढी उजागर हुने गरेका छन् । यसले पीडा सहनुहुँदैन भनेर महिलामा हौसला दिने गरेको छ । तामाङ भन्छिन्, महिला समूहको बैठक बसी के छ समस्या भन्नेबारे खुलेर कुरा गर्छौँ, र कसैलाई समस्या परेको छ भने त्यहीबारे के गर्ने भन्ने छलफल गछौँ ।
हिंसा भए पनि खुलेर कुरा गर्ने र समस्याको समाधान खोज्न पछि नहट्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुम्मनकै अर्की महिला चेङा डोल्मा तामाङले बताइन् । महिला हिंसा बारे हामीले खुलेर आवाज उठाउने गरेको उनको भनाइ छ । अहिले विगतमा जस्तै दिदीबहिनीले पीडा लुकाएर बस्ने जमाना नरहेको उनको भनाइ छ । उनले भनिन्, हिंसा लुकाएर होइन् फुकाएर समाधान गर्नुपर्छ भनेर एकले अर्कालाई भन्ने गरेका छौँ ।
विगतमा जति हिंसा भए पनि सहेरै बस्न बाध्य महिलाहरू अहिले भने हिंसाविरुद्ध आवाज उठाउन थालेका छन् । ग्रामीण क्षेत्रका महिला घरको कुरा प्रहरी कार्यालयसम्म पु¥याए समाजमा परिवारको इज्जत जाने भन्दै कुण्ठा पालेर बस्ने गर्थे । पछिल्लो समय शिक्षा र चेतनाको विकासले ग्रामीण महिलाहरू हिंसाविरुद्ध खुल्न थालेको सरोकारवालाको भनाइ छ ।
विभिन्न अभियानका प्रभावले महिलाहरू आफूमाथि भएका हिंसाविरुद्ध न्याय माग्दै प्रहरी र अदालतसम्म पुग्न सक्षम भएको रसुवाका महिला अधिकारकर्मी बताउँछन् । रसुवा महिला सञ्जालकी अध्यक्ष गुरुङका अनुसार अहिले हरेक दिनजसो महिलाहरू कुनै न कुनै समस्याबारे आपूmलाई खुलेर बताउँन आइपुग्छन् । पहिलाभन्दा अहिले सचेतना पाएसँगै महिलाहरू खुलेर आफ्ना समस्याहरू राख्नुहुन्छ, दैनिकजसो गुनासा तथा समस्या लिएर आउनुहुन्छ, उनले भनिन्, धेरैजसो घरेलु हिंसासम्बन्धी समस्या लिएर आउने धेरै छन् ।
नेपालमा कोरोना महामारी फैलिएसँगै कोरोना रोकथामका लागि जारी गरिएको लकडानमा पनि हिंसाका घटनाहरू बढेका छन् । लकडाउनमा मानसिक तथा शारीरिक हिंसा भएको भन्दै पीडितहरू अधिकारकर्मी तथा प्रहरीमा पुग्ने गरेका छन् । लकडाउनले आर्थिक रोजगारी गुमेपछि घरपरिवारमा झैँझगडा हुने गरेको पाइएको छ ।
बेरोजगारी, कमजोर आर्थिक अवस्थाका कारणसमेत घरमा झगडाका घटना बढी हुने गरेका छन् । लकडाउनपछि दैनिकजसो महिलाहरूले हिंसामा परेको भन्दै फोन गर्ने गरेको महिला अधिकारकर्मी गुरुङले बताइन् । उनका अनुसार श्रीमान्ले कुटपिट गरेकोदेखि घरमा हुने अपमानसम्मका घटनामा महिला खुल्न थालेका छन् । यसरी आउने गुनासामध्ये सामान्य घटनामा सम्झाइ–बुझाइ गर्ने र जटिल प्रकारका घटनामा कानुनी उपचारमा जान सल्लाह दिने गरिएको छ । उनका अनुसार परामर्शको अभावले समेत कहिलेकाहीँ घरझगडा हुने गरेको छ । सामान्य झैझगडालाई दुवै पक्षसँगै राखी मिल्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार अहिले परिवारमा झँैझगडाका उजुरीसमेत प्रहरीमा आउन थालेका छन् । यस्तो अवस्थामा समेत प्रहरीले दुवै पक्षलाई सम्झाइ–बुझाइ गर्नेगर्छ । कतिपय त सम्झाइ–बुझाइ गर्दा मिलेर जानुभएको छ, उनले भने, केही भइहालेमा प्रहरीले लगेर थुनिदिएहुन्थ्यो, बोलाइदिएहुन्थ्यो भन्ने किसिमको छ, नागरिकहरूले सचेतना पाएसँगै अहिले समाज सुसूचित भएको पाइन्छ ।
स्थानीय तहमा हुने कार्यक्रममा बढ्दो सहभागिता
रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका उपाध्यक्ष नवीना लामाका अनुसार महिला दिवस वा केही महिला विशेष कार्यक्रममा अहिले महिलाको सहभागिता उल्लेख्य हुनेगरेको छ । पहिला–पहिला आमा, दिदीबहिनी नआउने गरेकोमा अब त्यो समस्या नरहेको उनले बताइन् । समस्या पर्दा पनि सहेर बस्नेलाई ल्याएर महिलाको हक–अधिकारबारे जानकारी गराउने गरिएकाले हिंसा सहने बानी क्रमशः हट्दै गएको उनले बताइन् । उनका अनुसार गाउँपालिकामार्फत पनि महिला सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिएका छन् । उनी भन्छिन्, पहिला आफ्नो परिचय भन्नसमेत डराउने आमा, दिदीबहिनी अहिले खुलेर बोल्नुहुन्छ । रसुवामा घरेलु हिंसा, बहुविवाह, बालविवाह, बलात्कार प्रयासका लगायतका घटना भएको पाइन्छ ।
कतिपय घटनाहरू मिलापत्रबाट समाधान भएको पाइन्छ भने कतिपय कानुनी कारबाहीमा गएकोसमेत पाइएको छ । दुई वर्षको तथ्यांक हेर्ने हो भने खासै मुद्दा दर्ता भने भएको पाइएको छैन ।
जिल्ला अदालत रसुवामा आर्थिक वर्ष ०७६/७७ मा घरेलु हिंसासम्बन्धी एउटा मुद्दा दर्ता भएको छ भने बहुविवाहसम्बन्धी चारवटा मुद्दा दर्ता भएको छ । त्यसैगरी आर्थिक वर्ष ०७७/७८ मा बहुविवाहसम्बन्धी दुईवटा मुद्दा दर्ता भएको छ भने घरेलु हिंसासम्बन्धी एउटा मात्र मुद्दा दर्ता भएको जिल्ला अदालत रसुवाले जनाएको छ । घरेलु हिंसासम्बन्धी दर्ता भएको मुद्दामा दुव्र्यवहार, हेला, डर, त्रास रहेको पाइएको छ ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय रसुवामा महिलासम्बन्धी मुद्दाको त्रिवर्षीय तथ्यांक हेर्ने हो भने महिलाको मुद्दादर्ता संख्या कम रहेको पाइन्छ ।
०७५/७६ मा तीनवटा, ०७६/७७ मा दुईवटा र ०७७/७८ मा एउटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । त्यसैगरी, सार्वजनिक हितसमेत विरुद्धको कसुरमा आर्थिका वर्ष ०७५/७६ मा तीनवटा, ०७६/७७ मा एउटा र ०७७/७८ मा दुईवटा मुद्दा दर्ता भएका छन् । त्यसैगरी बहुविवाहमा ०७५/७६ मा चारवटा र ०७७/७८ मा पाँचवटा मुद्दा दर्ता भएका छन् । त्यसैगरी जबर्जस्ती करणी उद्योगमा ०७५/७६ मा एउटा, ०७६/७७ मा तीनवटा र ०७७/७८ मा दुईवटा मुद्दा दर्ता भएका छन् ।