उदयपुरको चौदण्डी–५ को सिवाई र बेलही गाउँलाई जोड्न त्रियुगा नदीको निर्माणाधीन पुल भत्किएको छ । दुई दिनदेखिको अविरल वर्षाले सिवाई पुलको दक्षिणतर्फको पिलर भासिएर दुईवटा स्ल्याब भासिएको हो ।
१२ वटा पिलर र ११ वटा स्ल्याब रहेको पुलको सिवाई खण्डको दुईवटा स्ल्याब बाढीले बगाएको स्थानीय भास्कर चौधरीले बताए । ११ कडोर २६ लाख लागतमा दुई वर्षमा सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६७–०६८ मा निर्माण सुरु भएको पक्की पुल हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । पटक–पटक म्याद थप्दासमेत पुल निर्माण कार्य अझै अधुरै रहेको थियो ।
११ वर्षअघि निर्माण सुरु गरिएको पुल सञ्चालनमा नआई भत्किँदा उदयपुरको व्यापारिक केन्द्र बेल्टार बजार र आसपासका बासिन्दाहरू चिन्तित बनेका छन् । पुल निर्माणको ठेक्का महालक्ष्मी लोकप्रिय जेभीले लिएको छ । सम्झौताअनुसार ०७०–७१ मै पुल निर्माण सकिनुपर्ने थियो ।
पुल निर्माण रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक आयोजनाले निर्माण कार्य ८३ प्रतिशत पूरा भएको मूल्यांकन गरि भुक्तानीसमेत गरेको योजना प्रमुख गोपाल खकुरेलले बताए । विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले पुल निर्माणमा ढिलाइ गरेको र सोबापतको जरिवानासमेत आयोजनालाई तिरेर काम गरिरहेको योजना प्रमुख खकुरेलको भनाइ छ । निर्माणाधीन अवस्थामानै पुल भाचिएकाले अब निर्माण कम्पनीले नै बनाउनुपर्ने समेत योजना प्रमुख खकुरेलले बताए ।