मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ असार ९ बुधबार १४:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तातोपानी नाकामा घिर्लिङ प्रयोग गरेर सामान आयात

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ असार ९ बुधबार १४:०२:००

तातोपानी नाकाको मुखैमा रहेको लिपिङ पुल जोखिमपूर्ण भएपछि केही दिनयता खासा–काठमाडौं आयात प्रभावित भएको छ । भूकम्पले बन्द भएर चार वर्षपछि १५ जेठ ०७६ मा खुलेको नाका भौगोलिक कठिनाइ र भौतिक संरचना दिनदिनै जीर्ण बन्दै गएकाले राम्ररी सञ्चालन हुन सकेको छैन ।  

लिपिङदेखि बाह्रबिसेसम्मको २६ किलोमिटर कोदारी सडकखण्ड भूकम्प र बाढीपहिरोले बिगारेर अनियमित छ । कामचलाउ अवस्थामा रहेको लिपिङ पुलबाट सामान बोकेका कन्टेनर आउजाउ गर्न नमिल्ने भएकोले पाँच दिनदेखि स्थानीय मजदुरले सामान बोकेर पल्टी गरिरहेका छन् । 

अविरल वर्षातले तातोपानी क्षेत्रमा सडक भासिएर सामान बोकेका मजदुर हिँडडुल गर्न नसक्ने भएपछि कोदारी स्वरोजगार युवा समाजले घिर्लिङ जडान गरेर सामान आयात गर्न थालेको छ । तातोपानी क्षेत्रका व्यापारी तथा स्वरोजगार युवा समाजका सल्लाहकार फुनु शेर्पाले आयातलाई निरन्तरता दिन घिर्लिङ प्रयोगमा ल्याइएको बताए । लिपिङ पुल र कोदारी बजार क्षेत्रमा घिर्लिङ स्थापना गर्ने काम भइरहेको उनले सुनाए । अहिले कोदारी इको रिसोर्ट क्षेत्रमा दुई सय मिटर लामो घिर्लिङ जडान गरिएको छ । फलामको एंगल, पोल र तुइनमा प्रयोग हुने तारबाट घिर्लिङ जडान गरिएको हो । 

लिपिङ पुलबाट मजदुरले बोकेर ल्याएको सामान घिर्लिङको प्रयोग गरेर तातोपानी ल्याउने गरिएको छ । दुई–दुई ठाउँमा सामान पल्टी गर्नुपर्ने बाध्यता भए पनि घिर्लिङको प्रयोगबाट धेरै सामान ओसार्न सकिने शेर्पाले जानकारी दिए । दिनहुँको वर्षातले लार्चादेखि लिपिङसम्म सडक बिगारेकोले सामान आयात गर्न कठिन भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

स्वास्थ्य सामग्री, स्याउ र जलविद्युतका सामान एक सय ५० कन्टेनर खासा र न्यालम क्षेत्रमा रोकिएको उनले जानकारी दिए । घिर्लिङको प्रयोगबाट दैनिक १५ कन्टेनर सामान पल्टी गर्न सकिन्छ । स्वरोजगार युवा समाजले घिर्लिङ चलाएबापत एक कन्टेनरको २५ हजार भाडा लिन्छन् । सडक भासिँदै गएकाले बर्खाभर आयात सञ्चालन गर्न वैकल्पिक उपाय घिर्लिङ (रोपवे) अपनाइएको हो ।