मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार ९ बुधबार ०५:५६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वर्तमान सरकार चितवनमा विकास भएको देख्न सक्दैन : प्रचण्ड

Read Time : > 1 मिनेट
२०७८ असार ९ बुधबार ०५:५६:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले चितवनलाई उपेक्षा गरेको आरोप लगाएका छन् । उनले चितवनको विकासप्रति केपी ओली नेतृत्वको सरकार सकारात्मक नभएको आरोप लगाए । प्रचण्डको गृहजिल्ला भएकाले पनि चितवनको विकासमा सरकारले बजेट नछुट्याई बेवास्ता गरेको उनको भनाइ छ ।

‘प्रधानमन्त्री भएकै कार्यक्रममा पनि भनेको छु, सबै स्मार्ट सिटीमा बजेट हुने तर स्मार्ट सिटी भरतपुरलाई बजेट विनियोजन नगर्नुको कारण के ? यो त एक उदाहरण मात्र हो, पटकपटक जिल्लाका विभिन्न समस्याका बारेमा छलफल र जानकारी भए पनि चितवनमा विकासका काम भएमा त्यसको फाइदा प्रचण्डलाई हुन्छ भनेर सरकार चितवनमा विकास भएको देख्न सक्दैन,’ मंगलबार उनले भने, ‘चितवनको समस्या हल गर्न र विकास निर्माणको कामलाई सकारात्मक बनाउन अहिलेको सरकारलाई मैले सकिनँ ।’

चितवनमा पनि जनता छन् भन्ने कुरा सरकारले भुलेको प्रचण्डले बताए । ‘पार्टी एकता गर्दा र वामपन्थीहरूको बहुमतको सरकार बनाउँदा एउटा ठूलो उत्साह र उमंग हामी सबैमा थियो । तर, पछि विविध कारणले अन्तरविरोध भयो । चितवन भनेको प्रचण्डको हो, यहाँ विकास भयो, सुरक्षा राम्रो भयो भने प्रचण्डले फाइदा उठाउँछ भन्ने सोच देखापरेको छ,’ उनले भने ।

अहिलेको जस्तो अवस्था र प्रधानमन्त्री केपी ओली सत्तामा लामो समय नरहने प्रचण्डको भनाइ थियो । ‘सधैँ रात रहिरहन्न, उज्यालो पनि आउँछ,’ उनले भने । प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत् जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन ओली नेतृत्वको सरकार लागिपरेको आरोप लगाए । ओली सरकारको यस्तो कार्यलाई जसरी भए पनि रोकेर संविधानको मर्मअनुसार देशलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 

प्रचण्डले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका थिए । उनले भरतपुर महानगरपालिका–२६ को सिसई क्षेत्रको अनुगमन गरे । नारायणीको व्यवस्थापनका लागि डिपिआर तयार भए पनि सरकारको नीति र बजेटको प्राथमिकतामा नारायणी नदी नपरेको उनको भनाइ थियो ।

राष्ट्रिय निकुञ्जसँग जोडिएको केही नीतिले समेत नदी कटान रोक्न समस्या भएको भन्दै उनले निकुञ्जका नीतिनियम र ऐन परिमार्जनको आवश्यकता रहेको बताए । नारायणीको कटान चितवनको मेघौली र जिल्लावरिपरिका जनताको मात्र समस्या नभएको भन्दै उनले यो राष्ट्रिय समस्या रूपमा रहेको बताए । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा सुरु गरेको जनता तटबन्धन कार्यक्रमले केही सकारात्मक प्रभाव पारेको पनि बताए ।