मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३ बिहीबार
  • Tuesday, 17 December, 2024
अजित अधिकारी काठमाडौं
२o७८ असार ३ बिहीबार २१:२९:oo
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

पेट्रोलियम मजदुर र व्यवसायीलाई खोप लगाइदिने भनेर झुक्याइएको त्यो बैठक, जसले हडताल गर्न व्यवसायीलाई उत्प्रेरित गर्‍यो

Read Time : > 4 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार ३ बिहीबार २१:२९:oo

नेपाल आयल निगमका कर्मचारीले पेट्रोलियम व्यवसायी र मजदुरलाई कोरोनाविरुद्धको खोप लगाउन पाँच सय ४० जनाको विवरण लिएर झुक्याएका छन् । निगमले सहमति गरेर खोप नदिएपछि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौंको थानकोट डिपोबाट इन्धन वितरण रोकिने गरी मजदुरले हडताल गरेका थिए । तर, पम्प व्यवसायीको हस्तक्षेपपछि तत्कालका लागि हडताल फिर्ता भएर तेल उठेको छ । यद्यपि, खोप नदिने सहमतिबाट निगम पछि हेटेको भन्दै व्यवसायीले हडतालको गृहकार्य अघि बढाएका छन् ।

स्रोतका अनुसार बुधबार बिहान निगमको वितरण विभाग प्रमुख दीपक बरालले पेट्रोलियम व्यवसायी र मजदुरका प्रतिनिधिलाई फोन गरेर कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सकिने भएको भन्दै विवरण संकलनका लागि दिउँसो बैठक राखिएको र त्यहाँ आउन भनेका थिए । कोरोना नियन्त्रणका लागि निषेधाज्ञा भइरहँदासमेत पम्प खोलेर सेवा दिइरहेका व्यवसायी र मजदुरले लामो समयदेखि खोपको माग गरिरहेका थिए ।

आफूहरूको मागअनुसार खोप पाउने थाहा पाएपछि पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान, महासचिव विश्व अर्याल, एसोसिएसनकै बागमती इकाइ अध्यक्ष अच्युत खड्का, पेट्रोलियम मजदुर संघका अध्यक्ष शिव पोख्रेललगायत बिहान ११ बजेतिर बैठकमा पुगेका थिए । त्यहाँ निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराई, वितरण विभाग प्रमुख बराल, निगमभित्रका दुवै ट्रेड युनियनका प्रतिनिधिलगायतको सहभागिता थियो ।

बैठकको सुरुमा काठमाडौंका पम्प व्यवसायी र मजदुरलाई पाँच सय डोज खोप उपलब्ध गराउन लागिएको वितरण विभाग प्रमुख बरालले जानकारी गराएका थिए । त्यसपछि व्यवसायीको तर्फबाट पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएनका अध्यक्ष प्रधानले ६६ प्रतिशत मजदुरलाई र ३४ प्रतिशत पम्पका सञ्चालकलाई लगाउने गरी व्यवस्थापन गर्न सुझाएका थिए ।

थानकोट डिपोबाट एक सय ७६ पम्पमा इन्धन वितरण भइरहेको छ । प्रधानको प्रस्तावअनुसार २० पम्प सञ्चालकलाई खोप नपुग्ने देखेपछि एसोसिएसनका महासचिव अर्यालले ४० खोप थप्न आग्रह गर्दै भनेका थिए, ‘थप ४० खोपको व्यवस्था गरौँ । यसबाट २० डोज सञ्चालकलाई र २० डोज मजदुरलाई दिऊँ । यसो गर्दा सबै पम्प सञ्चालकलाई खोप पुग्छ भने प्रत्येक पम्पका दुई–तीनजना मजदुरलाई पनि पु¥याउन सजिलो हुन्छ ।’

व्यवसायीको यस्तो प्रस्तावलाई मजदुरहरूले विरोध गरेका थिए । स्रोतका अनुसार बैठकमा सहभागी मजदुर संघका अध्यक्ष शिव पोख्रेलले पम्प सञ्चालकले आफ्ना आफन्तलाई खोप दिएर मजदुरलाई समेट्न नसक्ने भन्दै विरोध गरेका थिए । ‘यदि सबै पम्प सञ्चालकले खोप लगाउने मनसाय राखेको भए सबै मजदुरले पनि पाउनुपर्छ । यसका लागि अहिले नै कसले खोप लगाउने भनेर सूची तयार गरौँ र त्यसकै आधारमा पछि खोप लगाउनुपर्छ,’ बैठकमा पोख्रेलले राखेको धारणा सुनाउँदै स्रोतले भन्यो ।

व्यवसायी र मजदुरको कुरा सुनेपछि निगमका कर्मचारीले ४० खोप थपेर कुल पाँच सय ४० डोज दिने र बिहीबार दिउँसो थानकोट डिपोमा जम्मा हुन जानकारी गराए । निगम कर्मचारीले खोप लगाउने व्यवसायी र मजदुरको सूची बुधबार साँझसम्म दिन पनि निर्देशन दिए । यसरी करिब डेढ घन्टा बैठक बसेपछि मजदुर र पम्प व्यवसायी सूची तयार गर्नतिर लागे । दुवै समूहले साँझ ४ बजेतिर आयल निगममा पाँच सय ४० जनाको विवरण बुझाएका थिए ।

‘पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको लेटरप्याडमा मजदुर संघका अध्यक्ष पोख्रेल र एसोसिएसन मातहतकै बागमती इकाइ कमिटीका अध्यक्ष अच्युत खड्काले हस्ताक्षर गरेर निगमलाई खोप लगाउने सूची बुझााएका थिए,’ स्रोतले भन्यो । निगममा सूची बुझाएका मजदुर र पम्प व्यवसायीलाई बिहीबार दिउँसो थानकोट पुगेर खोप लगाउन फोन, एसएमएसलगायतका रातिसम्म खबर पुगेको थियो ।

खबरअनुसार व्यवसायी र मजदुर बिहीबार बिहान ११ बजेतिर थानकोट डिपोमा भेला भएका थिए । त्यहाँ चालक र सहचालकलाई परिचयपत्रका आधारमा खोप लगाउने काम भइरहेको थियो । चालकहरूले खोप नलगाई इन्धन ढुवानी नगर्ने अडान राखी तीन दिन हडताल गरेपछि बुधबारबाट खोप उपलब्ध गराइएको थियो । त्यहाँ खोप लगाउन पम्प सञ्चालक र मजदुर जाँदा जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले अस्वीकार गरेका थिए ।

स्वास्थ्यकर्मीले चालक र सहचालकलाई परिचयपत्रका आधार मात्रै खोप दिइएको र अरूलाई दिन नमिल्ने बताएका थिए । लगत्तै, खोप लगाउन नपाएको खबर निगम कर्मचारीलाई व्यवसायीलाई दिए । कर्मचारीले पनि जनस्वास्थ्य कार्यालय, काठमाडौंमा सम्पर्क गर्दा चालक र सहचालकबाहेक अरूलाई खोप दिन नसक्ने जवाफ दिएका थिए ।

खोप लगाउन नपाउने खबर पाएका पेट्रोल पम्पका मजदुरले आवेशमा आएर तत्कालै हडतालको आह्वान गरेका थिए । उनीहरूले ११ देखि १ बजेसम्म थानकोटबाट तेल उठ्न दिएका थिएनन् । थानकोटमा तेलको ‘डिमान्ड’ लिन गएका व्यवसायीको प्रतिनिधिको हातबाट भौचर, स्लिपलगायत समेत खोसेर तेल उठ्न नदिने घोषणा गरे । छिनभरमै थानकोटबाट तेल उठ्न नसक्ने वातावरण बनेको थियो ।

त्यसपछि निगम कर्मचारीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सम्पर्क गर्दा पहिलेको सहमतिअनुसार चालक र सहचालकलाई मात्रै खोप दिइएको र पम्प व्यवसायी तथा मजदुरलाई दिने भए अर्को प्रक्रिया अघि बढाउनुपर्ने जवाफ दिएका थिए । काठमाडौं प्रशासनको यस्तो जवाफपछि खोप नपाउने निश्चित भएको थियो ।

यही मौकामा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको बागमती इकाइ अध्यक्ष अच्युत खड्काले मजदुरहरूलाई हड्ताल गर्न उक्साएका थिए । उद्दण्ड स्वभावका खड्काले हडताल गरेर तेल आपूर्ति बन्द भएपछि मात्रै खोप पाइने भन्दै मजदुरलाई पछाडिबाट साथ दिने वचन दिएका थिए । यो खबर एसोसिएसनको केन्द्रीय कार्यालयमा पुग्नासाथ हस्तक्षेप भएको थियो ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधानले मजदुरलाई खोपको बहानामा हडताल नगर्न र पम्पमा नगए जागिरबाट निकालिने चितावनी दिएका थिए । त्यस्तै, बागमती इकाइ अध्यक्ष खड्कालाई पनि फोन गरेर हडताल नै गर्नुपर्ने अवस्था आए व्यवसायीले गर्ने, तर मजदुरलाई अगाडि लगाउन नहुने भनी सम्झाएका थिए । प्रधानको हस्तक्षेपछि दिउँसो १ बजेबाट थानकोटमा तेल उठ्न थालेको थियो ।

तत्काल हडतालबाट हटेका मजदुरहरू व्यवसायीसँग छलफल गर्न दिउँसो २ बजे पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा जम्मा भएका थिए । त्यस बैठकले खोपका लागि हडताल आवश्यक रहेको निष्कर्ष निकालेको छ । एसोसिएसन र मजदुर संघले फ्रन्टलाइनमा बसेर निषेधाज्ञामा समेत सेवा दिँदासमेत खोपका लागि प्राथमिकतामा नपरेको भन्दै चालक, सहचालकको जस्तै हड्ताल गर्न केन्द्रीय नेतृत्वलाई सुझाब दिएको छ ।

एसोसिएसनको बागमती इकाइ अध्यक्ष खड्काले हडताल गर्नेले खोप पाउने, वार्ता र छलफलबाट समाधान खोज्ने ठगिएको बताए । ‘आयल निगमका कर्मचारीले बैठकमा बोलाएर खोप दिन्छौँ भने । त्यसपछि सबै नाम दिएर खोप लगाउन जाँदा पाइँदैन भनियो,’ खड्काले भने, ‘यसरी त झुक्याउन पाइँदैन नि । हामी आइतबार बिहान बैठक बसेर थप निर्णय लिन्छौँ ।’ उनले सकेसम्म हडतालको पक्षमा नरहेको, तर खोपका लागि प्राथमिकतामा राख्न ढिलाइ भए जुनसुकै कदम चाल्न पनि तयार भएर बस्नुपर्ने अवस्था रहेको बताए ।

त्यस्तै, पेट्रोलियम मजदुर संघका अध्यक्ष पोख्रेलले विभिन्न ठाउँबाट पम्पको काम छोडेर खोप लगाउन जाँदा नपाएपछि आक्रोशित भई हडताल भएको बताए । ‘हामीले हडताल ग¥यौँ, पछि व्यवसायीले अरू कुनै विकल्पबाट खोपको पहल गर्नुपर्छ भनेपछि तत्काललाई रोकेका हौँ,’ उनले भने, ‘शुक्रबार बिहानै हामी बैठक बसेर एउटा निर्णयमा पुग्छौँ ।’

आयल निगमले के चाहेको थियो ?
गत आइतबार खोपको माग राखी इन्धन ढुवानी गर्ने ट्यांकरचालकहरूले एक्कासि हडताल गरेका थिए । तीन दिनसम्म हडतालका कारण तेल नउठ्दा बजारमा इन्धन आपूर्ति असहज भएको थियो । त्यसैले चालकहरूलाई बुधबारबाट खोप दिन सुरु भएको थियो ।

निगम कर्मचारीलाई एक हजार पाँच सय डोज खोप उपलब्ध हुने विश्वास थियो । त्यसमध्ये चालक, सहचालकलाई करिब एक हजार खोपले पुग्ने देखेपछि बाँकी रहेको पाँच सय खोप पेट्रोलपम्प सञ्चालक र त्यहाँ काम गर्ने मजदुरलाई दिन सकिने अपेक्षा गरेर व्यवसायी र मजदुरको सूची निगमले लिएको थियो । ‘पम्प सञ्चालक र मजदुरलाई खोप लगाउने विषयमा अरू कुनै निकायसँग समन्वय भएको थिएन,’ निगमका एक कर्मचारीले भने, ‘१५ सय निगमको नाममा आउँछ । त्यसबाटै पाँच सय झिकेर व्यवसायी र मजदुरलाई खोप दिऊँला भन्दा परिस्थिति झन्डै असहज स्थितिमा पुगेको थियो ।’

हडताल गरेरै चालक र सहचालकले खोप पाएकाले पेट्रोलपम्पका मजदुर र सञ्चालक लामो समय खोपका लागि धैर्य गर्न नसक्ने अवस्थामा पुगेको ती कर्मचारीको भनाइ छ ।