मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगन्ज सडक । फाइल तस्बिर/नयाँ पत्रिका
जीवन बस्नेत काठमाडौं
२०७८ जेठ ३० आइतबार १२:२०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

मनसुनमा राजमार्ग सुचारु राख्न देशभर २०५ हेभी इक्विप्मेन्ट तयारी अवस्थामा

Read Time : > 2 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७८ जेठ ३० आइतबार १२:२०:००

३० मिनेटभित्र समस्या आएको ठाउँमा पुग्ने गरी तयारी ल तराई क्षेत्रमा बाढीका लागि डाइभर्सन र बेली ब्रिज

मनसुन सक्रिय भएसँगै सरकारले अत्यावश्यक सेवालाई सुचारु राख्न पहिरो जाने तथा सडक अवरुद्ध हुन सक्ने राजमार्ग अवरोध हुन नदिन पूर्वतयारी थालेको छ । बर्सातमा राष्ट्रिय राजमार्र्ग तथा सहायक राजमार्गलाई अवरोधरहित बनाउन देशभर २ सय ५ हेभी इक्विप्मेन्ट तयारी अवस्थामा राखिएको सडक विभाग यान्त्रिक महाशाखाका उपमहानिर्देशक भुवन अधिकारीले जानकारी दिए । 

महाशाखाका अनुसार ८७ वटा हेभी इक्विप्मेन्ट विभिन्न राजमार्गछेउमै राख्ने काम भइरहेको छ । १ सय १८ वटालाई भने हेभी इक्विप्मेन्ट डिभिजन र यान्त्रिक कार्यालयमा राखिनेछ । अघिल्लो वर्ष सडक विभागले देशभर १ सय ९८ वटा हेभी इक्विप्मेन्ट परिचालन गरेको थियो । यो वर्ष भने २ वटा लोडर थपेको छ भने अन्य ५ वटालाई मर्मत गरी तयारी गरिएको छ । ‘विभागले गरेको अध्ययन, अघिल्ला वर्षहरूमा भएका सडक अवरोध तथा पहिरोका घटना र सम्भाव्य ठाउँहरूको पहिचान गरेर लोडर, ब्याक हो लोडर, एक्जाभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेन ट्रक, ट्रकलगायतका साधनलाई ठाउँ–ठाउँमा पुर्‍याउने काम भइरहेको छ,’ उनले भने ।  

विभागले सबैभन्दा धेरै पहिरो जान सक्ने सम्भावना भएका र ढुवानीका लागि महत्वपूर्ण देखिएका राजमार्गलाई उच्च प्राथमिकता दिएको छ । अरनिको राजमार्ग, त्रिशूली–बेत्रावती–रसुवागढी, डुम्रे–बेँसीसहर–चामे, मुग्लिङ–नारायणगढ, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, कान्ति, महाकाली, मेची राजमार्गका लागि छुट्याइसकिएको छ । त्यस्तै, पूर्व–पश्चिम राजमार्गको पनि विभिन्न सम्भावित क्षेत्रमा मेसिन राखिएको विभागले जानकारी दिएको छ ।

अवरुद्ध सडक ३० मिनेटभित्र खुलाउने प्रयास थालिने
सडक विभागका अनुसार सबैभन्दा चाँडै खोल्नुपर्ने आपत्कालीन सडकलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय राजमार्गमा पहिरो गएर अवरुद्ध भएको ३० मिनेटभित्र मेसिन सम्बन्धित ठाउँमा पुग्ने गरी तयारी गरिएको छ । मेसिन चलाउन अपरेटर र सहयोगी ‘स्ट्यान्ड बाई’ राखिएको छ भने आवश्यकताअनुसार प्राविधिक खटाउने काम हुनेछ । पहिरो गइहालेमा सबैभन्दा पहिलो काम जसरी पनि बाटो खोल्ने हुनेछ । दोस्रोमा त्यसलाई मर्मत गरेर दिगो बनाउने काम गरिन्छ र तेस्रोमा भने पुरानो अवस्थामा फर्काउने काम गरिनेछ । 

बुधबार सम्पन्न भएको समीक्षा गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पनि यो वर्ष मनसुन चाँडो हुने भएकाले त्यसबाट राजमार्गहरूमा आउन सक्ने अवरोधको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएका छन् । मनसुनका कारण राजमार्गहरू अवरुद्ध हुने र समयमै व्यवस्थापन गर्न नसक्ने अवस्थामा जनजीवन प्रभावित हुने उनको भनाइ छ । ‘यसबाट नागरिकलाई कष्ट हुन्छ,’ उनले भने । 

अवरोध हुन सक्ने देशैभरका सम्भावित स्थानहरूमा इक्विप्मेन्टहरू तैनाथ अपुग भए भाडामा लिएर भए पनि व्यवस्थापन गर्न मन्त्रालय र विभागलाई निर्देशन दिएका छन् । त्यस्तै, नयाँ आयोजना निर्माणका साथै राजमार्ग मर्मत–सम्भारलाई समेत विशेष ध्यान दिनुपर्ने भन्दै राजमार्गहरू खाल्डारहित बनाउनुपर्नेमा जोड दिए । 

देशका ८ हेभी इक्विप्मेन्ट डिभिजनमार्फत मेसिन परिचालन
देशभर रहेका ८ वटा हेभी इक्विप्मेन्ट डिभिजनमार्फत आवश्यकताका आधारमा चाहिएको ठाउँमा हेभी मेसिन पठाउन व्यवस्था गरिएको छ । विभागबाट प्राप्त विवरणअनुसार सबैभन्दा धेरै हेभी इक्विप्मेन्ट डिभिजन मीनभवन काठमाडौंका लागि छुट्याएको छ । यस डिभिजनलाई करिब ४० वटा हेभी मेसिन तयारी अवस्थामा राखिएको छ । डिभिजनलाई छुट्याएका मध्ये केही ‘ब्याक अप’का रूपमा कार्यालयमा रहन्छन् भने अधिकांश मेसिन पहिरो जाने, माटो बग्नेजस्ता प्रकोप हुने ठाउँ पहिचान गरेर सम्बन्धित ठाउँमा पठाउने गरिएको यान्त्रिक महाशाखा प्रमुख भुवन अधिकारीले जानकारी दिए । विभागले सबैभन्दा थोरै हेभी इक्विप्मेन्ट जनकपुर डिभिजनका लागि छुट्याएको छ । त्यस क्षेत्रमा पहिरो जान सक्ने सम्भावना न्यून भएकाले पनि थोरै मेसिन छुट्याएको हो । मनसुनको थालनी डिभिजनमा रहेका मेसिनहरू सम्भावित पहिरो जान सक्ने ठाउँनजिकै पुर्‍याउने काम भइरहेको विभागले जनाएको छ । 

तराई क्षेत्रमा बाढीका लागि डाइभर्सन र बेली ब्रिज  
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तराई क्षेत्रमा बाढी आउन सक्ने भएकाले सडकलाई अवरुद्ध हुनबाट जोगाउन डाइभर्सन र बेली ब्रिजको आवश्यक तयारी थालेको छ । त्यसका लागि आवश्यकताअनुसार ग्याबिन लगाउने काम भइरहेको छ । तराई क्षेत्रमा विशेष गरी सडक–पुल पुराना भएका कारण भत्किने समस्या छ । बाढीको समयमा तत्काल समाधान गर्न डाइभर्सन निर्माण गरी सडक खोल्ने र भत्किएका पुलमा तत्काल बेली  ब्रिज हाल्ने तयारी भइरहेको उपमहानिर्देशक भुवन अधिकारीले जानकरी दिए ।