१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिममा एमाले विवाद : खनाल-नेपाल समूहका १७ सांसदलाई स्पष्टीकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:३६:oo

पार्टीको निर्देशनविपरीत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गर्ने खनाल–नेपाल समूहका १७ सांसदलाई एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्रसिंह रावलले हस्ताक्षर गरेर पठाइएको स्पष्टीकरण पत्रको जवाफ २४ घन्टाभित्र दिन निर्देशन दिइएको छ ।

पार्टीको निर्देशन उल्लंघन गरेका सांसदलाई कारबाहीका लागि प्रक्रिया पूरा गर्न स्पष्टीकरण सोधिएको एमाले प्रदेश सचिव रावलले बताए । पार्टीको सदस्य र सांसद नरहने गरी हटाउने तथा समानुपातिक सांसदलाई फिर्ता बोलाउनेसम्मको कारबाही हुन सक्ने उनले बताए । ‘पार्टीको निर्णय र निर्देशन पटक–पटक उल्लंघन भएको छ । जवाफ पेस गर्न अन्तिम मौका दिएका हौँ,’ रावलले भने, ‘कारबाहीको प्रक्रियाका लागि स्पष्टीकरण सोधिएको हो ।’ केन्द्रको सल्लाहअनुसार स्पष्टीकरण सोधिएको र पार्टीसँगको सल्लाहमै कारबाहीका लागि सिफारिस गरिने उनले बताए । 

स्पष्टीकरण सोधिएका सांसदमा अमरबहादुर साउद, अर्चना गहतराज, कुलवीर चौधरी, कृष्णराज सुवेदी, चुनकुमारी चौधरी, तारा लामा तामाङ, दीर्घ सोडारी, दुर्गाकुमारी कामी, पूर्णा जोशी, प्रकाशबहादुर शाह, प्रकाश रावल, बलबहादुर सोडारी, मनाकुमारी साउद, माया भट्ट, लालबहादुर खड्का, सुशीला बुढाथोकी र हर्कबहादुर कुँवर छन् । स्पष्टीकरण सोधिएकामा संसदीय दलको नेता, प्रमुख सचेतक, चार मन्त्री र तीन राज्य मन्त्री छन् ।

प्रदेश सभामा एमालेका २४ सांसदमध्ये खनाल–नेपाल समूहका १७ जनाले मुख्यमन्त्री भट्टको विश्वासको मतको पक्षमा मत दिएका थिए । खनाल–नेपाल समूहका सांसदले साथ दिएपछि मुख्यमन्त्री भट्ट मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिन सफल भएका थिए । त्यसअघि एमाले प्रदेश कमिटीले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीनिकट सातजना सांसदले भने विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । एमाले स्थायी समितिको बैठकले गत १० जेठमा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । 

एमाले संसदीय दलले भने सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय १२ जेठमा गरेको थियो । संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । एमाले प्रदेश संसदीय दलमा खनाल–नेपाल समूहका नेता भीम रावलको बलियो पकड छ । रावलको पकड रहेकैले संसदीय दलबाट ओलीले चाहेअनुसार निर्णय गराउन सकेका छैनन् । प्रदेशमा एमाले २४ सांसद रहेकोमा दलको नेता र प्रमुख सचेतकसहित यो समूहका १७ सांसद छन् । सरकारको समर्थन कायम राख्नुपर्ने पक्षमा खनाल–नेपालनिकट सांसद एकढिक्का छन् । 

ad
ad