मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मिलन पाण्डे काठमाडाैं
२०७८ जेठ २८ शुक्रबार ०९:२१:००
Read Time : > 10 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

उज्वल थापा : नेता जन्माउने नेता

समय-सापेक्ष

Read Time : > 10 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०७८ जेठ २८ शुक्रबार ०९:२१:००

२१ वर्षे युवतीलाई देशकै ठूलो सहरको मेयर बन्न अघि बढाउने, ३२ वर्षे युवालाई पार्टीको नेतृत्व सुम्पिने आँट र विश्वास भएका नेता थिए, उनी 

‘अब हामी माझ केहि शब्द राख्न आउँदै हुनुहुन्छ, मिलन पाण्डे’ २०७२ सालको भूकम्प गएको एक महिनापछि धरहरामा विवेकशील नेपालीले कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा बोल्न मलाई बोलाइयो। बोल्नुपर्छ की भन्ने त थियो तर म तयार थिइनँ। उज्वलदाइ बोल्ने कुरा थियो। माइक गएर समाएँ र छोटो केहि कुरा राखेँ। बोल्दै गर्दा मेरा नजर उज्वलदाइ कहाँ हुनुहुन्छ भनेर खोज्दै थिए। उहाँ भिडभन्दा अलि पर उभिएर हामीलाई सुन्दै हुनुहुन्थ्यो। मन्तव्य सकिएपछि, मैले गएर सोधेँ, 'दाइ, तपाईं बोलेको भए हुने नि। मैले तयारी नै गरेको थिइनँ।' दाइको छोटो उत्तर आयो 'सधैँ मैले बोल्यो भने तिम्रो पालो कहिले आउँछ ?'

साथी, नेता, गुरु 
दाइसँगको विगत आठ वर्षको यो सहयात्रा मेरा निम्ति अजम्मरी रहनेछ। आफैँमाथि विश्वास गर्न धरमराइरहेका युवामा पनि दाइले विश्वास गरेर 'तिमी सक्छौँ भाइ' भन्नुहुन्थ्यो। कलिलो उमेरमा मिलेको त्यो साथ र ढाडस एउटा युवाको लागी सबैभन्दा ठूलो ऊर्जा हुने गर्थ्यो। २१ वर्षको मान्छेलाई तिमी देशको सबैभन्दा ठूलो महानगरको मेयर बन्न सक्छौ भन्नु वा ३२ वर्षको मान्छेलाई तिमीले यो देश हाँक्न बन्दै गरेको पार्टीको नेतृत्व गर्न सक्छौँ भनेर पार्टीको नेतृत्व सुम्पिनु सानो आँट र विश्वास होइन। उज्वलदाइले सामान्य मानिसहरुमा असामान्य नेतृत्व देख्नुहुन्थ्यो, जसले नेपाली राजनीतिमा एउटा नयाँ ताजा पुस्ताको युगको सुरुवात गर्‍यो।

म खासै लेख्ने मानिस थिइनँ। पत्रिकामा लेखौँला भनेर त सोचेको पनि थिइनँ। २०७१ साल तिर फेसबुकमा एउटा स्ट्याटस लेखेको थिएँ। त्यति बेला म पार्टी सदस्य मात्र थिएँ। दाइले त्यो स्ट्याटस पार्टीको पेज र दाइको पेजबाट शेयर गरिदिनुभयो। त्यो स्ट्याटस सयौँ शेयर भयो। दाइले फोन गरेर लेख्न भन्नुहुन्थ्यो। मलाई लेख्ने प्रेरणा मिल्यो। म लेखको खेस्रा पठाउँथेँ, दाइ राती राती कम्प्युटरमा बसेर दुई तिन घण्टासम्म लेख सम्पादन गरिदिनुहुन्थ्यो। लेखको शीर्षक कसरी राख्ने, लेख कसरी सुरु गर्ने, अन्त्य कसरी गर्ने, दाइले बारम्बार सुझाव दिनुहुन्थ्यो। विस्तारै मेरो लेख पत्रिकामा छापिन थाल्यो। दाइको यस्ता सहयोग र  प्रेरणाले हामीलाई सधैँ केहि नयाँ गर्ने ऊर्जा मिल्थ्यो।

मलाई यो यात्रामा कहिल्यै पनि म त यो पार्टीको कार्यकर्ता हुँ र उहाँ अध्यक्ष हो भन्ने महसुस भएन। मलाई पहिलो दिन देखि नै यो पार्टी मेरो हो भन्ने महसुस हुन्थ्यो। एउटा साधारण सदस्यलाई पार्टीको अध्यक्षजस्तो अपनत्व महसुस गराउनु नै विवेकशीलको डिएनए थियो। त्यो नेतृत्वकला उज्वलदाइमा थियो। मलाई यो आठ वर्षमा कुनै अभियान गर्दा होस् वा केहि लेख्दा/बोल्दा होस्, गल्ती गर्नको लागी कहिल्यै डर लागेन। काम गर्दा केहि गल्ती गरे पनि उज्वलदाइले गाली गर्नुहुन्न र साथ दिनुहुन्छ भन्ने परिरह्यो। उहाँ सधैँ ‘परेरै सिक्ने हो भाइ’ भन्नुहुन्थ्यो। जसले गर्दा हामीले नयाँ कुरा, फरक कुरा आँट्न सक्यौँ। उज्वलदाइले युवालाई सधैँ पार्टीभन्दा माथि र चुनावभन्दा पर सोच्न सिकाउनुभयो। 

स्थापित कुनै दलका कुनै नेतालाई आफ्नो आइडल मान्न नसकिरहेको वेला उज्ज्वल थापा त्यो आइडल बनेर उदाउँदै हुनुहुन्थ्यो । बोल्ने होइन, गर्ने नेता हो भन्ने पर्दै थियो । उपदेश दिने नेता होइन, उदाहरण बनेर देखाउने नेताका रूपमा स्थापित हुँदै हुनुहुन्थ्यो ।

२०७० सालमा हामी एउटा छलफलमा थियौँ। एउटा प्रसङ्गमा उज्वलदाइले हामीलाई भन्नुभयो- ‘यदि कुनै दिन हामी सत्तामा पुग्यौँ र तिमीहरूले ट्राफिक नियम तोडेर वा केही गल्ती गरेर पुलिसले समात्यो भने मलाई कल नगर्नु, म छुटाउन आउँदिन।’ हाम्रो प्रशिक्षण कोरा सिद्धान्तमा भन्दा यस्तै मूल्यमान्यता र व्यवहारिक पाटोमा हुन्थ्यो। समस्या राजनीतिक संस्कारमा छ, त्यसैले राजनीतिक संस्कार नै बदल्नुपर्छ भनेर लागेका थियौं।

उज्वलदाइलाई चाप्लुसी मन पर्दैन थियो। दाइको स्वभाव अलि फरक थियो। नमस्कार नफर्काउने वा कहिले कहीँ हात दिँदा समेत हात नमिलाइदिने। व्यवहार अलि असामाजिक जस्तो देखिन्थ्यो। तर, काम गर्ने मानिस कोही छ भने उहाँ आफै १० चोटि फोन गर्नुहुन्थ्यो। भेट्न जानुहुन्थ्यो। दाइको बुझाइ थियो, नेपालमा पढेका मानिस धेरै भए, अब गर्ने मानिस चाहियो। हामी, ‘दाइ आज मेरो बर्थ डे’ भनेर दाइको नजिक जान्थ्यौँ, दाइको प्रश्न आउँथ्यो ‘अनि के भो त ’ सुरु सुरुमा यस्ता व्यवहार तितो लाग्थ्यो। केहि अपाच्य पनि लाग्थ्यो तर पछि उहाँको शैली नै रहेछ भन्ने पर्दै गयो। 

एकचोटी मैले केन्द्रीय कमिटीको बैठकपछि भनेँ, ‘दाइ अब म एक हप्ता विवेकशीलमा आउँदिन है।’ उहाँले ‘किन ?’ भनेर सोध्नुभयो। मैले उत्तर दिएँ, ‘मेरो परीक्षा छ।’ उहाँले फेरी सोध्नुभयो ‘अनि के भो त ?’ म ट्वाल्ल परेँ र उत्तर दिएँ ‘जाँच दिनुपर्‍यो, पास हुनुपर्‍यो’ उहाँको फेरी प्रश्न आयो ‘पास भएर के हुन्छ ?’ अब मसँग पनि उत्तर थिएन, तै पनि उत्तर दिएँ ‘सर्टिफिकेट आउँछ, भोलि काम लाग्छ’ एकछिनको मौनतापछि उत्तर आयो- ‘ओके’ दाइको प्रश्न गर्ने, प्रश्न उठाउने बानी थियो। यस्तो प्रश्न जसले सोच्न बाध्य पार्थ्यो। अनि, दाइसँगको अधिकांश संवाद ‘ओके’ मै अन्त्य हुन्थ्यो। उहाँ केहि कुरा पनि यसो गर उसो गर भनेर निर्णय थोपर्नुहुँदैन थियो।

मैले दाइलाई दाइकै अगाडी धेरै आलोचना गरेको छु। एउटा लेखमै पनि दाइको आलोचना गरेको छु। लेख प्रकाशित भएपछि मैले दाइलाई भेटेर, ‘दाइ, मैले आज तपाईँको बारेमा यस्तो लेखेको छु है’ भन्दा पनि दाइको प्रतिक्रिया हुने गर्थ्यो- ‘ए हो ? ठिक छ।’ उहाँको सुन्ने र सिक्ने गज्जबको बानी थियो। उहाँले ‘मलाई थाहा छैन’ भन्न कहिल्यै अनकनाउनु भएन।

उज्वलदाइ एक व्यक्तिले पार्टी बनाउँछ र देश बन्छ भन्ने पटक्कै विश्वास गर्नुहुन्न थियो। उहाँ पार्टी भित्र र बाहिर पनि टिम वर्कको पहल गर्नुहुन्थ्यो। उहाँको बुझाइ थियो, ‘नकारात्मक व्यक्तिहरुले नेपालमा ओभरटाइम दिँदै छन्, सकारात्मक व्यक्तिहरुसँग पार्टटाइम पनि छैन।’ हामी विवेकशीललाई पोजेटिभ भाइरस बनाएर सकारात्मक सोचको सिन्डिकेट बनाउन लागेका थियौँ। उहाँ आफ्नो परिचय दिँदा नै ‘नमस्कार, म उज्वल थापा, नेपालीको दिमाग घोच्ने काम गर्छु’ भन्नुहुन्थ्यो। साँच्चै उहाँले नेपालीहरूको दिमाग घोच्ने काम गर्न सफल हुनुभयो।

उज्वलदाइको नेतृत्वबारे आफ्नै बुझाई थियो- ‘नेता भनेको भाषण गर्ने होइन, काम गर्ने हो’, ‘नेता भनेको विष पिएर अमृत ओकल्ने हो।’ उहाँले यी बुझाइलाई व्यवहारमा पनि उतार्ने इमान्दार प्रयास गर्नुभएको थियो। उज्वलदाइको लागी नेतृत्व भनेकै ‘पूर्व तयारी’ थियो। उहाँ देशमा आउने समस्याको लागी पार्टी र नेतृत्वलाई तयार रहन सिकाउनुहुन्थ्यो। उज्वल दाइ सकारात्मक र रचनात्मकरुपमा नाराहरू लेख्न माहिर हुनुहुन्थ्यो। ‘हामीले नगरे कसले, अहिले नगरे कहिले ?’, ‘विकल्प कुर्दै बस्ने की आफै बन्ने ?’, ‘नेपाली भन्ने की नेपाली बन्ने ?’, ‘युवा अघि सर्छ, देश अघि बढ्छ’ जस्ता नाराहरूले युवाहरुको दिमाग घोचेकै हो। उज्वलदाइ समाजलाई पछाडी होइन, अगाडी डोर्‍याउने साहस राख्नुहुन्थ्यो। उहाँका भिजनहरु सरल र व्यावहारिक हुन्थे। उहाँले बुझाउन खोज्नुभएको उद्यमशील समाजको महत्त्व, काठमाडौँलाई सन् २०३० मा कस्तो बनाउने भन्ने सपना, २०२२ मा नेपालमा आउँदै गरेका सङ्कटको भविष्यवाणी, उत्तर-दक्षिण परराष्ट्र नीति, नेपाललाई गुरु राष्ट्र बनाउने संकल्प उहाँको राजनीतिक दुरादर्शीताका केहि उदाहरण मात्र हुन्।

पृथक दृष्टिकोण 

उज्वलदाइलाई आफ्नो सदस्यहरूको मनोबल महत्त्वपूर्ण थियो। त्यसैले उहाँ पाँच सातजना मात्र सदस्य भएको अभियानमा पनि गएर  उभिन गाह्रो मान्नुहुन्न थियो। उहाँलाई कसले के भन्छ भन्ने पनि खासै मतलब थिएन। बाँकी दुनियाँको पर्बाह उहाँ दुनियाँलाई नै छाडिदिनुहुन्थ्यो। उहाँ अभियानको वा पार्टीले गरेको कामको ‘क्रेडिट’ लिने कुरामा भने निकै सजग हुनुहुन्थ्यो। गोविन्द केसीको अभियानमा पुरै पार्टी महिनौँ लाग्थ्यो। पार्टीभित्र प्लेकार्डमा वा अभियानमा पार्टीको नाम आउनुपर्छ भनेर बहस हुन्थ्यो। उहाँले हामीलाई सधैँ रोक्नु हुन्थ्यो। उहाँ ‘क्रेडिट’ जसले लिए पनि केहि फरक नपर्ने बताउनुहुन्थ्यो। ढिलो चाँडो काम गर्नेले नै ‘क्रेडिट’ पाउने उहाँको बुझाई थियो।

उहाँ जिद्दी हुनुहुन्थ्यो। आफ्नो कन्भिक्सनमा अडिग रहनुहुन्थ्यो। पार्टीले पनि नागरिकको पक्षमा बोल्दा पार्टीलाई कति घाटा नाफा हुन्छ धेरै हिसाब किताब गर्दैन थियो। उहाँ ‘यो देश कोही चमत्कारी व्यक्ति आएर बनाउने होइन, तपाइँ अनि म जस्तै कमी कमजोरी सहितका मानिसले मिलेर बनाउने हो’ भन्नुहुन्थ्यो। पछिल्लो समय उहाँ ‘मैले मात्र देश बनाउने हो भन्ने अहमता त्याग्नुपर्छ, हामीले आफ्नो भागको जिम्मेवारी निभाउने हो’ भन्दै हुनुहुन्थ्यो। उज्वल थापाले कहिल्यै सेलिब्रेटी पार्टीमा भित्र्याएर पार्टी बनाउने सर्टकटको आशा गरेर बस्नुभएन। उहाँले पार्टीकै साथीहरूलाई सेलिब्रेटी बनाउन भूमिका निभाउनुभयो। आज फर्केर हेर्दा, आठ नौ वर्षअघि उहाँले बोलेका कुरा सुन्दा, लाग्छ उज्वलदाइ समयभन्दा अनि समाजभन्दा अलि अगाडी हुनुहुँदो रहेछ। उहाँका कतिपय कुरा सुरुमा सुन्दा अनावश्यक र असान्दर्भिक लाग्थ्यो तर त्यसको दीर्घकालीन महत्त्वबारे हामी पनि बल्ल बुझ्दै छौँ।

कहिले वाकिंग मिटिङ, कहिले बदाम मिटिङ त कहिले सेल्फ रिफ्लेक्सनस हाम्रो आफ्नै संसार थियो। उहाँ मिडियाबाजी गरेर नेता भइन्छ भन्नेमा विश्वास गर्नुहुँदैन थियो। उहाँले आफ्नो आलोचनाको बचाऊ गर्न साइबर सेना खटाउने भर्नुभएको थिएन। उहाँ बरु उल्टै हामीलाई सामाजिक सञ्जालमा कसरी विनम्र हुनुपर्छ भनेर सिकाउनुहुन्थ्यो। उहाँले नेताले ‘के’ भन्ने भन्दा पनि ‘कसरी’ भन्ने  महत्पूर्ण हुन्छ भन्नुहुन्थ्यो। नेतृत्वमा विनम्रता र समानुभूती चाहिन्छ भनेर उहाँ आफै पनि विनम्रता र समानुभूतीको अभ्यास गर्नुहुन्थ्यो। उहाँले यदि राम्रो नेता बन्यो भने दु:ख पर्दा सबैले सहयोग गर्छन् त्यहीँ भएर राजनीति गर्दा जोगी बने पनि हुन्छ भन्नुहुन्थ्यो। उज्वलदाइ व्यक्तिगत रूपमा नेताले र सङ्गठनले आफ्नो ‘ह्वाई ?’ अर्थात ‘किन ?’ पत्ता लगानुपर्छ भन्नुहुन्थ्यो। अर्थात, आफ्नो उद्देश्य प्रष्ट  हुनुपर्छ अनि मात्र सफलता मिल्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। 

उज्वलदाइ सनकी हुनुहुन्थ्यो तर कोमल हृदयको हुनुहुन्थ्यो। पार्टीमा समयमा काम गरेन भने उज्वलदाइले मार्नुहुन्छ भन्ने एउटा डर भने छाउने गर्थ्यो। त्यो डर थियो वा उहाँको विवेकशीलप्रति रहेको निष्ठा र निस्वार्थीपन प्रतिको हाम्रो आदर ? थाहा छैन। कति साथीहरु त जिम्मेवारी पूरा गर्न नसक्दा उज्वल दाइकै डरले महिनौँ गायब हुन्थे। उहाँ ठूलो  क्रान्ति पनि एउटा प्रतिबद्ध सानो टिमले सफल पार्न सक्छ भन्ने कुरामा विश्वास गर्नुहुन्थ्यो। हाम्रो स्कुलिङ पनि पुरानोसँग लड्नेभन्दा पनि आफ्नो ऊर्जा अब नयाँ प्रतिबद्ध टिम बनाउन लगाउनुपर्छ भन्नेमा नै थियो। उज्वलदाइ राजनीतिमा समस्या देखाउने होइन, समाधान दिने नेता हुनुहुन्थ्यो। उहाँ बाँकी भिडभन्दा फरक हुनुहुन्थ्यो। उज्वलदाइले साम, दाम, दण्ड भेदको राजनीति कहिल्यै गर्नुभएन, जान्दा पनि जान्नुभएन। उहाँले आफ्नो विचार अरू माथि थोपर्ने काम पनि कहिल्यै गर्नुभएन। उहाँले राजनीतिक यात्रालाई १०० मिटरको दौडभन्दा पनि म्याराथनका रूपमा हेर्नुभएको थियो। उहाँ हामीले मात्र देश बनाउन नसक्ने हुँदा अन्य पार्टी पनि ‘विवेकशील’ बन्नुपर्ने कुरामा जोड दिनुहुन्थ्यो। अन्धभक्तहरु आईदिउन् र आफूलाई नेता मानिदिउन् भन्नेजस्तो व्यवहार उहाँले कहिल्यै देखाउनुभएन।

उहाँ पार्टी कार्यालयलाई ‘पोलिटिकल इनोभेसन सेन्टर’ बनाउन चाहनुहुन्थ्यो। उज्वलदाइ आफ्ना पार्टीका नेतालाई सामान्य नेता मात्र नभएर ‘पोलिटिकल साइन्सटिस’ बनाउन चाहनुहुन्थ्यो जो नवीनता, सृजनशीलता र सकारात्मकताले भरिएको होस्। उहाँ राजनीतिमा पनि नयाँ नयाँ एक्सपेरिमेन्ट गर्न रुचाउनुहुन्थ्यो। डराउनुहुन्नथ्यो। उहाँ राजनीति बोरिङ र बोझिलो भयो भनेर राजनीतिलाई रमाइलो बनाउन चाहनुहुन्थ्यो। एकचोटी हामीले अलि रमाइलो प्रयोग गर्न पार्टीको नाच ‘हाक्का डान्स’ बनाउन सुरु पनि गरेका थियौं। उहाँ अध्यक्ष हुँदा पनि अभियानहरूमा पनि औपचारिक पहिरनका सट्टा हाफ पाइन्ट लगाएर जानुहुन्थ्यो। उहाँ बाहिरबाट कस्तो देखिनुहुन्थ्यो थाहा छैन, तर भित्र उहाँ रमाइलो हुनुहुन्थ्यो। उहाँका कट्टु आन्दोलन र केरा आन्दोलन गर्ने योजना अधुरै रहे।

उज्वलदाइले हामीलाई सिकाउनुभएको अर्को कुरा चाही उहाँले सदस्य बनाउँदा पार्टीले के फाइदा लिने नीति बनाउने होइन। पार्टीले कुनै पनि सदस्यलाई र नागरिकलाई के दिन सक्छ भनेर सोच्न सिकाउनु हुन्थ्यो। २१ औँ शताब्दीको नेता बनाउने उद्देश्य सहित बनेको नेतृत्व विकास प्रतिष्ठान र युवालाई स्वरोजगार गर्न प्रेरित गर्ने उद्यमशील विकास प्रतिष्ठानजस्ता संस्थाहरू विवेकशील नेपालीले त्यही सोच उपज सुरु गरेको थियो। नेपाली युवाहरू रोल मोडेल खोजिरहेका थिए। अहिलेका कुनै पनि दलका कुनै पनि नेतालाई आफ्नो आइडल मान्न नसकिरहेको बेलामा उज्वल थापा नेपाली युवाबीच त्यो आइडल बनेर उदाउँदै हुनुहुन्थ्यो। जसको परिचय बोल्ने होइन गर्ने नेता हो भन्ने पर्दै थियो। उहाँ उपदेश दिने नेता होइन, उदाहरण बनेर देखाउने नेताको रुपमा स्थापित हुँदै हुनुहुन्थ्यो।

नेतृत्व हस्तान्तरण गर्ने हिम्मत यदि नेपालमा कुनै नेताले गरेर देखाएको छ भने त्यो उज्वलदाइले मात्र हो। उहाँले कठिन अवस्थामा पनि आफ्नो पार्टीको साथीहरू र भाइबहिनीहरूमा विश्वास गर्नुभयो। यो सानो आँट थिएन। होइन। त्यो सँगठन जसलाई उहाँले आफ्नो सबै जीवन समर्पण गर्नुभएको थियो, त्यसको चाबी उहाँ सुम्पिँदै हुनुहुन्थ्यो। २०७६ साल कार्तिक १ गते जनकपुर सम्मेलन मार्फत उहाँले नेतृत्व सुम्पेर दुई वर्ष फरक तरिकाले आफूलाई आर्थिक अनि आध्यात्मिक रूपले बलियो बनाउन लागिपर्नुभएको थियो। पछिल्लो समय उहाँ बिरामी पर्नु अघि उज्वलदाइ, हरीशप्रसाद भट्ट र म उहाँकै घरमा भेटेका थियौँ। उहाँ ‘युवालाई लामो समय राजनीतिमा कसरी टिकाउन सकिन्छ भनेर केहि नयाँ कुरा सोच्दै छु’ भन्नुहुन्थ्यो। 

उहाँको परम्परागत राजनीति र शैलीमा त्यति रुचि थिएन। उहाँको आफ्नो बाटो थियो, समाज बिलकुल उल्टो बाटोमा थियो। उज्वलदाइका दसौं कमजोरी थिए तर उहाँका केहि यस्ता गुण थिए जसले नेपालको राजनीतिमा नयाँ आशा छरिदियो। उहाँलाई ठूलो ठूलो गफ हानिने बैठकहरूमा खासै चाँसो लाग्दैन थियो। उहाँ बैठकमा नचाहिने कुरा हुन थाल्यो भने मिटिङमै कार्टुन बनाएर बस्नुहुन्थ्यो। म प्रवक्ता हुँदा पनि उहाँको र मेरो अब प्रेस रिलिज शब्दमा निकाल्ने भन्दा पनि चित्र, कार्टुन मार्फत निकाल्ने कुरा हुन्थ्यो। हामीले पार्टीका केही नीति र विचार त चित्र मार्फत निकालेका पनि थियौँ। हामीले एउटा पर्चा त चित्र नै मात्र बनाएर बाँडेका थियौँ। 

रातभर ढिलोसम्म काम गर्ने र बिहान ढीलोसम्म सुत्ने दाइको बानी थियो। बिहानका कति बैठकहरूमा दाइ यही कारणले उपस्थित समेत हुनुहुन्न थियो। उहाँ आफ्नो मर्जीको मालिक हुनुहुन्थ्यो। आफ्नो केहि स्वभावमा उहाँले राजनीतिमा आएपछि पनि कम्प्रोमाइज गर्नुभएन। उज्वलदाइले पार्टीमा तीन कुरा दरोसँग स्थापित गर्न नेतृत्व लिनुभएको थियो। युवालाई पार्टीमा स्पेस बनाउने, महिलालाई पार्टी नेत्तृत्वमा स्थापित गर्ने र उद्यमशीलताको विकास। उहाँकै अगुवाइमा हरेक बुधवार उद्यमशीलताबारे पार्टीमा तालिम नै हुन्थ्यो। पार्टी आशाको किरण छर्दै थियो। 

राजनीतिमा बिरलै यस्ता मानिस उदाउँछन्, जो सांसद, मन्त्री, प्रधानमन्त्री बनेका हुँदैनन्, तर उनीहरूले दिएको योगदानको इतिहाससँग कुनै सांसद, मन्त्री भएकैहरूले पनि बराबरी गर्न सक्दैनन् 

लुटतन्त्रका विरुद्ध 'पागल' लेखिएको कालो पट्टि बाँधेर आन्दोलन गर्ने लडाकु हुनुहुन्थ्यो उज्वलदाइ। शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भनेर गोविन्द केसीको पहिलो अनशनदेखि नै पार्श्वबाट साथ दिने व्यक्ति हुनुहुन्थ्यो, उज्वलदाइ। जिम्मेवार नागरिक र जवाफदेही नेतृत्वले मात्र समृद्धि हासिल गर्न सक्ने गहिरो विश्वास सहित माइतीघरमा उभिने ‘माइतीघरे’ हुनुहुन्थ्यो, उज्वलदाइ। हामीलाई ‘माइतीघरे’ भनेर गिज्याइयो तर माइतीघर यस्तो पथ बन्यो जसको अनुसरण कालान्तरमा सबैले गर्नुपर्‍यो। राजनीतिक आन्दोलनको पर्यायवाची बन्यो माइतीघर। माइतीघरको पर्यायवाची बन्यो, विवेकशील। नेता हुनलाई सडकमा गएर चर्को भाषण र टाउको फोड्नु नपर्ने रहेछ। केवल जनताको मनमा आशा जगाइदिए पुग्ने रहेछ भन्ने उदाहरण बन्नुभयो उज्वलदाइ। अहिंसात्मक राजनीति, निष्ठाको राजनीति र सुसंस्कृत राजनीतिको पृथक् बाटो अङ्गाल्नु भएको उज्वलदाइले नेपाल खुल्ला छ, ज्याला पूरा लियौँ - अब संविधान देऊ, भूकम्पमा राहत र उद्धार, मेयरमा २१ वर्षीया महिलालाई अघि बढाएर र नेतृत्व हस्तान्तरणको अभ्यास गरेर नेपाली राजनीतिलाई फरक कोण र ताजगी दिँदै हुनुहुन्थ्यो।

राजनीतिमा नवीनता 
हामीले परम्परागत राजनीति धेरै बुझेका थिएनौँ। हामी फरक ढंगबाट समाजलाई हेर्थ्यौँ। हामी राजनीतिमा राजनीति बढी भयो भनेर राजनीतिसँगै अब आर्थिक मुद्दाहरू र सामाजिक मुद्दाहरू पनि राजनीतिको केन्द्रमा आउनुपर्छ भनेर लागि परेका थियौँ। परिवर्तन संस्कारमै आवश्यक छ र सानो सानो कुरामै परिवर्तन आवश्यक छ भन्दै हामीले पार्टी भित्र राम्रो काम गरिरहेका मानिसहरूलाई सम्मान गर्न र गल्ती गर्दा माफी माग्न ‘थ्यांकयु र सरी’ क्लब नै बनाएका थियौँ। हामी राजनीतिक संस्कारमै परिवर्तन खोज्दै थियौं।

विवेकशीलको प्रमुख राजनैतिक मुद्दा भनेको मूल्य मान्यतामा आधारित राजनीति हो। पद्धति, पारदर्शिता, उत्कृष्टता, समानुभूती, साहस, विनम्रता, निष्ठाको अभावमा आजको राजनीति दूषित भयो र अब राजनीतिलाई सङ्लो बनाउन हामीले यी मूल्यमान्यता अङ्गाल्दै पृथक् शक्ति बनाउनुपर्छ भनेर हामी कस्सिएका थियौँ। उज्वलदाइ जसरी पनि सत्तामा पुगेर परिवर्तन गर्ने कुरामा विश्वास गर्नुहुँदैन थियो। शक्ति र सत्ताको लागी आधारभूत मूल्यमान्यतामा कम्प्रोमाइज गरेर राजनीति सफल हुँदैन भन्नेमा उहाँ स्पष्ट हुनुहुन्थ्यो। अहिले लोकतन्त्र नै खतरामा परेको छ र अब लोकतन्त्रलाई मजबुत गर्न लोकतन्त्रमा पद्धति, अपार पारदर्शिता र सादगी चाहिन्छ भन्ने हाम्रो बुझाइ थियो।

धेरै विचारहरू पार्टीको सामूहिक पहलबाटै जन्म हुन्थ्यो। समाज चरम अतिवादमा फस्दै छ। त्यसलाई रोक्न पार्टीले ‘गतिशील मध्यमार्ग’को बाटो रोजेको थियो। हामीले मुद्दा केन्द्रित, नागरिक केन्द्रित राजनीति अङ्गालेका थियौँ। विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार र हितकारी/कल्याणकारी राज्य यी चारखम्बे नीति अंगालेर परिवर्तन नागरिककै तहबाट गर्नुपर्छ भन्ने हाम्रो बुझाइ थियो। हामी सैद्धान्तिक रुपमा स्पष्ट थियौं तर नागरिकलाई बुझाउन सकिरहेका थिएनौं। नागरिकले नबुझ्दा हामी कहिलेकाहीँ कन्फिडेन्स भने गुमाउँथ्यौं।

धन्यवाद उज्वलदाइ
उज्वलदाइले राजनीतिको गन्ध आउने बित्तिकै चार कोस पर भाग्ने युवा जमातलाई राजनीतिमा ल्याएर प्रश्न गर्न सिकाउनुभएको छ। अहिंसात्मक रुपमा आन्दोलन गर्न सिकाउनुभएको छ। एउटा पुस्तालाई नै राजनीतिमा लाग्न प्रेरित गर्नुभएको छ। बेथिति र सुशासनको लागी लड्न सिकाउनुभएको छ। अस्पतालको आइसीयुमै हुँदा पनि उज्वलदाइले भाउजुलाई भन्नुभएको रहेछ, ‘मेडिकल शिक्षाको लागि त धेरै लडियो, तर सबैभन्दा बढी काम गर्ने तर  उचित पारिश्रमिक नपाउने यी नर्सहरुको पक्षमा अस्पतालबाट फर्केपछि क्याम्पेन गर्छु।’

उज्वलदाइका धेरै युद्धहरू बाँकी छन्। अब ती लडाई हामीले लड्नुपर्छ। उज्वलदाइका साथीहरूले, शुभेच्छुकहरूले र विवेकशीलका भाइबहिनीहरूले अब उज्वलदाइका अधुरा अपूरा सपना साकार गर्नुपर्छ। केही योजना अनि सपना भने अब कहिल्यै साकार हुनेछैनन्। हाम्रो खप्तड घुम्न जाने योजना बनेको थियो। त्यो अधुरै रह्यो। दाइ र म मिलेर शिक्षाको बारेमा धेरै लेखहरु लेख्ने सोच थियो, त्यो पनि अधुरै रह्यो। काठमाडौँ महानगरपालिका जितेर काठमाडौँलाई सुन्दरमाण्डू बनाउने हाम्रो सामूहिक सपना थियो, त्यो दाइ रहँदै पूरा भएन। यी कुरा चाँही जीवनभर खड्किने छन्। राजनीतिमा बिरलै यस्ता मानिस उदाउँछन् जो सांसद, मन्त्री, प्रधानमन्त्री बनेका हुँदैनन् तर उनीहरुले दिएको योगदानको इतिहाससँग कुनै सांसद, मन्त्री भएकैहरुले पनि बराबरी गर्न सक्दैनन्। 

उज्वलदाइले ‘क्याटलिस्ट’ बनेर जुन सुसंस्कृत राजनीति सुरु गर्नुभयो अब त्यसलाई स्थापित गरेर नागरिकको जीवनमा परिवर्तन ल्याउने राजनीति गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। यात्राको दौरान केहि समस्या आए अब उज्वलदाइ हामीसँग प्रत्यक्ष त हुनुहुनेछैन तर उज्वलदाइ भएको भए के गर्नुहुन्थ्यो भनेर, सोचेर निर्णय लिने बाटो भने हामीसँग सधैँ खुला नै रहनेछ। उज्वलदाइलाई हामी भगवान् बनाउने छैनौँ। हामी दस्ताबेजमा उज्वलपथ भनेर लेख्ने छैनौँ तर हामी उज्वलदाइले कोरेको पथमा भने सधैँ हिँड्ने छौँ। उज्वल थापा आफैमा एउटा विचार हो, क्रान्ति हो, विवेकशील आफैँमा एउटा अभियान हो, सुसंस्कृत राजनीतिको आन्दोलन हो। यो जारी रहने छ र उज्वलदाइ यसैमा जिवित रहनुहुनेछ।

लेखक विवेकशील साझा पार्टीका संयोजक हुन्