मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७८ जेठ २७ बिहीबार ०८:४१:००
Read Time : > 1 मिनेट
फिचर प्रिन्ट संस्करण

यी हुन् विश्वका बस्नलायक दश सहर

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ जेठ २७ बिहीबार ०८:४१:००

नयाँ सूचीअनुसार युरोपभन्दा एसियाका सहर बस्नलायक देखिएको छ, अकल्यान्डपछि अस्ट्रेलिया र जापानका सहर पनि बस्नलायक सूचीमा अगाडि देखिएका छन्

न्युजिल्यान्डको सहर अकल्यान्ड विश्वमै सबैभन्दा बस्नलायक सहर बनेको छ । यो कोरोना भाइरस (कोभिड– १९) महामारी पछि देखिएको परिवर्तन हो । द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू)ले गरेको गरेको अनुसन्धानले विश्वको एक सय ४० सहरमाथि गरेको अध्ययनबाट सन् २०२१ को बस्नलायक सहरको सूची सार्वजनिक गरेको हो । त्यसका लागि इआइयूले भौतिक संरचना, शीर्ष र स्वास्थ्य सेवामाथिको पहुँचलगायतलाई आधार मानेर सूची तयार पारेको हो ।

यसमध्ये सबैभन्दा महत्वपूर्ण आधार कोरोना भाइरसविरुद्धको सुरक्षालाई मानिएको अनुसन्धानकर्ताहरूले जनाएका छन् । नयाँ सूचीअनुसार युरोपभन्दा एसियाका सहर बस्नलायक देखिएको छ । अकल्यान्डपछि अस्ट्रेलिया र जापानका सहर पनि बस्नलायक सूचीमा अगाडि देखिएका छन् । यी आइल्यान्डका सहरहरूले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी रूपमा काम गरेको देखियो । उनीहरूले आफ्नो देशभित्र संक्रमण धेरै फैलन दिएनन् । अन्य देशको तुलनामा यी देश र तिनका सहरहरूमा अवस्था चाँडै सहज पनि बनेको थियो ।

युरोपका देशहरूमा भाइरस संक्रमण तीव्र देखियो । त्यसका रोकथामका लागि कडाभन्दा कडा लकडाउन लागू गरिए । यस्तै, ती देशहरूमा सर्वसाधारणलाई भ्याक्सिन लगाउने कार्यक्रम पनि सोचेजस्तो छिटो भएन । यही काम प्रभावकारी रूपमा गरेका सहरहरू यो वर्ष बस्नलायक सहरको सूचीमा अघि देखिएका हुन् । 

अकल्यान्डपछि विश्वमै बस्नलायक सहरको सूचीको दोस्रो स्थानमा जापानको ओसाका सहर रहेको छ । तेस्रो स्थानमा अस्ट्रेलियाको एडिलेड रहेको छ । न्युजिल्यान्डको वेलिङटन र जापानको राजधानी टोकियो त्यसपछि छन् । शीर्ष दशभित्र बेलायतको कुनै पनि सहर परेका छैनन् ।

‘कोभिड– १९ महामारीविरुद्ध प्रभावकारी कदम चालेको अकल्यान्ड विश्वमै बस्नलायक सहरको सूचीको शीर्ष स्थानमा उक्लिएको छ । विश्व नै संघर्ष गरिरहेको यो महामारीको समयमा पनि अकल्यान्डका बासिन्दाहरू खुला रहे । उनीहरू सँगै बस्न सफल भए,’ इआइयूले भनेको छ, ‘यो वर्ष युरोपियन सहरहरू निकै कमजोर देखिएका छन् । यो वर्ष युरोपियन सहरहरू यो सूचीमा निकै पछि रहे ।’

अस्ट्रियन सहर भियना पछिल्लो धेरै वर्षदेखि विश्वको बस्नलायक सहरको सूचीको शीर्ष स्थानमा रहेको थियो । कतिपटक अस्ट्रेलियन सहर मेलबर्नसँग संयुक्त रूपमा शीर्ष स्थानमा रहेको थियो । यो वर्ष भियना सूचीको १२औँ स्थानमा झरेको छ ।

जर्मनीको उत्तरी सहर हामबर्ग पनि यो वर्ष नाटकीय रूपमा सूचीमा तल झरेको छ । हामबर्ग ३४औँ स्थानबाट ४७औँ स्थानमा झरेको छ । अध्ययनकर्ताहरूले स्वास्थ्य सेवाहरूमा देखिएको चापका कारण युरोपका धेरै सहर यो सूचीमा पछि परेको जनाएका छन् । कोरोना भाइरस संक्रमण बढिरहेको अवस्थामा जर्मनी र फ्रान्सका अस्पतालहरूमा धेरै भार बढेको थियो । लामो समय लकडाउन लगाउँदा पनि यी सहरका सर्वसाधारणमा समस्या देखिएको अध्ययनकर्ताले जनाएका छन् । 

‘पछिल्लो समय विश्वका धेरै सहर बस्नका लागि समस्याग्रस्त देखिँदै गएका छन् । कोरोना भइरस महामारी सुरु हुनुभन्दा पहिले आकर्षक देखिएको धेरै सहर अहिले बस्न असुरक्षित देखिन थालेका छन्,’ अध्ययनमा भनिएको छ, ‘यो सन्दर्भमा युरोपलाई धेरै प्रभाव पारेको देखिएको छ ।’

विश्वको सबैभन्दा बस्नलायक सहरको सूचीको शीर्ष स्थानमा धेरै परिवर्तन हुँदा पुछारमा पनि खासै परिवर्तन देखिएको छैन । दमास्कस बस्नका लागि विश्वकै कठिन सहर रहेको पाइएको छ ।