मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ जेठ २७ बिहीबार ०७:५४:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्टेरोइडको जथाभावी प्रयोगले  कोभिडका बिरामीमा ब्ल्याक फंगस संक्रमण

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ जेठ २७ बिहीबार ०७:५४:००

स्टेरोइड दुखाइ कम गर्न, एलर्जी बढ्न नदिन, भाइरसका कारण शरीरका अंगहरू सुन्निनबाट जोगाउन प्रयोग हुन्छ 

कोभिड– १९ का संक्रमितहरूको उपचारमा स्टेरोइडको प्रयोग भइरहेको छ । हाल स्टेरोइडको प्रयोगबारे विभिन्न भ्रमहरू देखिएका छन् भने गम्भीर बिरामीहरूमा मुख्य रूपमा प्रयोगमा आइरहेको स्टेरोइडको जथाभावी प्रयोगले ब्ल्याक फंगसजस्ता घातक रोगहरूसमेत निम्त्याइरहेको छ । संक्रमणले शरीरमा पार्ने असर नियन्त्रणमा ल्याउनका लागि चिकित्सकहरूले स्टेरोइडको प्रयोग गरिरहेका छन् । 

हालसम्म कोभिड संक्रमणविरुद्धका लागि मात्रै कुनै औषधि प्रमाणित भएका छैनन्, उत्पादन भइरहेका औषधिहरूसमेत अध्ययनको क्रममै छन् । हाल प्रयोगमा आइरहेका विभिन्न औषधिहरू सम्बन्धित लक्षण नियन्त्रणका लागि प्रयोगमा आइरहेका छन्, जुन चिकित्सकको सल्लाहविना प्रयोगमा नल्याउनसमेत चिकित्सकहरूले आग्रह गरिरहेका छन् ।  

चिकित्सकहरूका अनुसार, कुनै पनि संक्रमणविरुद्ध शरीरको इम्युन सिस्टमले विभिन्न रसायनहरू उत्पादन गरिरहेको हुन्छ । ती रसायनहरूले भाइरसबाहेक शरीरको अन्य अंगविरुद्ध पनि प्रतिक्रिया जनाउँछन् । अर्थात् इम्युन रेस्पोन्सले शरीरको अंगमा पार्ने असर नियन्त्रणमा ल्याउन स्टेरोइडहरू प्रयोगमा ल्याइन्छ । हाल नेपालमा कोभिडका बिरामीमा डेक्सामेथासोन, मिथाइल प्रिमिसोलेन, प्रिमिसोलेन प्रयोग भइरहेका छन् । यी स्टेरोइडहरूले संक्रमणका कारण फोक्सो वा अन्य अंगमा देखिने इन्फ्लामेसन अर्थात् सुजनलाई कम गर्छन् र तिनले शरीरको रोगप्रतिरोधी प्रणाली कोरोना भाइरससँग जुध्न अति सक्रिय अवस्थामा पुग्दा हुने  क्षतिलाई समेत रोक्ने गर्छन् ।

डा. असरफ हुसेन
स्वस्थ व्यक्तिमा ब्ल्याक फंगसले खासै असर गरेको पाइँदैन । तर, बिरामीहरूमा स्टेरोइडको प्रयोग गर्नुपर्ने हुन्छ, जसले शरीरको रोग प्रतिरोधक क्षमतामा पनि कमी आउँछ । योसँगै स्टरोइडले शरीरको सुगर लेभल पनि बढाइदिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सेप्टेम्बर २०२० मा विज्ञहरूको सल्लाहमा कोभिडका गम्भीर बिरामीमा स्टेरोइडहरूको प्रयोगका लागि अनुमति दिएको थियो । जसअनुसार स्टेरोइडमा डेक्सामेथासोन र अन्य कार्टिकोस्टेरोइडको प्रयोग गर्न सकिने जनाएको थियो । क्लिनिकल परीक्षणका आधारमा प्रयोगमा ल्याउन अनुमति दिइएको स्टेरोइड अर्थात् कार्टिकोस्टेरोइड्स मात्रा मिलाएर मात्र प्रयोगमा ल्याउन सिफारिस गरिएको थियो ।

संक्रमणका कारण गम्भीर बनेका बिरामीमा डेक्सामेथासोन, हाइड्रोकोर्टिसोन वा पेडनिसोनजस्ता स्टेरोइडहरू प्रयोगमा ल्याउन सकिन्छ । स्टेरोइड दुखाइ कम गर्न, एलर्जी बढ्न नदिन, भाइरसका कारण शरीरका अंगहरू सुन्निनबाट जोगाउन प्रयोग भइरहेका छन् । चिकित्सकीय भाषामा एन्टी इनफ्लामेटोरी अर्थात् सुन्निनबाट रोक्ने यी औषधिको प्रयोगले श्वास–प्रश्वासमा सहजता ल्याउन, प्रतिरोधी क्षमता कम गर्न, फोक्सो वा श्वासनलीलाई सुन्निनबाट बचाउन प्रयोग गरिन्छन् । तर, स्टेरोइडको प्रयोग संक्रमण देखिनेबित्तिकै भने गर्नुहुँदैन । 

स्टेरोइडको अत्यधिक प्रयोग घातक 
कोभिड संक्रमण नियन्त्रणमा प्रभावकारी देखिएको स्टेरोइडहरूको अत्यधिक वा जथाभावी प्रयोग अन्य समस्याको कारक बन्ने गरेको छ । जसको उदाहरण हो, ब्ल्याक फंगस । भारतमा कोभिड संक्रमितमा बढ्दै गएको ब्ल्याक फंगसको समस्या नेपालमा पनि देखिन थालेको छ ।

म्युकोमाइर्कोसिस (जाइगोमाइकोसिस) गम्भीर तर दुर्लभ फंगल संक्रमण हो जुन म्युकोर्मिसाइट्स भनिने मोल्डहरूको समूहले गर्दा हुने गर्छ । म्युकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी हो जुन माटो, धुलोका कण, हावा र शरीरका सतहमा पनि हुन्छ । यो एउटा स्पोरका रूपमा रहने गर्छ ।  चिकित्सकहरूका  अनुसार, ब्ल्याक फंगस मुख्यतया स्वास्थ्य समस्या भएका वा कीटाणु र रोगसँग लड्न शरीरको क्षमता कम गर्ने स्टेरोयडको कारणले हुने गर्छ । डा. असरफ हुसेन भन्छन्, ‘स्वस्थ व्यक्तिमा कालो ढुसीले खासै असर गरेको पाइँदैन ।

तर, बिरामीहरूमा स्टेरोइडको प्रयोग गर्नुपर्ने हुन्छ, जसले शरीरको रोग प्रतिरोधक क्षमतामा पनि कमी आउँछ । योसँगै स्टरोइडले शरीरको सुगर लेभल पनि बढाइदिन्छ ।’ उनका अनुसार मधुमेह, दम, बाथ र अन्य रोगका कारण पहिलेदेखि नै प्रतिरोधी क्षमता कम भएका व्यक्तिमा स्टेरोइडको प्रयोग गर्दा शरीरको इम्युन सिस्टम निकै कमजोर हुन जान्छ । जसले ब्याल्याक फंगसजस्ता संक्रमण सजिलै फैलिन्छन् । कोभिडका बिरामीमा स्टेरोइडको प्रयोग जति प्रभावकारी छ, सावधानीपूर्वक चलाउन नजान्दा त्यति नै हानि गर्ने बताउँछन् डा. हुसेन । उनी भन्छन्, ‘स्टेरोइड लामो समयसम्म प्रयोग गरिरहेका व्यक्तिमा सुगर लेभल नियमित नापिरहनुपर्छ । स्वस्थ व्यक्तिमा समेत स्टेरोइडले रगतमा सुगर लेभल बढाइरहेको हुन्छ ।’

यस्तै कोभिडका बिरामीमा ब्ल्याक फंगसको अर्को कारण फोहोर अक्सिजन सिलिन्डरको प्रयोगलाई समेत मानिएको छ । विभिन्न अध्ययनहरूका अनुसार संक्रमितको संख्या ह्वात्तै बढ्दा अक्सिजन आपूर्तिका लागि वर्षौंदेखि थन्काइएका वा विभिन्न उद्योगमा रहेका अक्सिजन सिलिन्डरहरूसमेत उपचारमा प्रयोग गरियो । सिलिन्डरहरू आवश्यक मात्रामा सरसफाइ वा फिल्टर नहुँदा वा पुराना सिलिन्डरहरू विनापरीक्षण सीधै प्रयोगमा ल्याउँदा ब्ल्याक फंगसको संक्रमण फैलिएको चिकित्सकहरूको भनाइ छ । डा. हुसेन भन्छन्, ‘इन्डिस्ट्रियल अक्सिजन, मेडिकल अक्सिजनजस्तो सीधै फोक्सोमा दिइँदैन । संक्रमण नियन्त्रणबाहिर जाँदा बिरामीले फिल्टर गरिएको अक्सिजन पाएनन्, साथै प्रतिरोधी क्षमता न्यून भएका कोभिडका बिरामीमा स्टेरोइड पनि थपियो, जसका कारण ब्ल्याक फंगस संक्रमणका बिरामीहरू धेरै देखिन थालेको अध्ययनहरूले देखाइरहेको छ ।’