१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २६ बुधबार
  • Wednesday, 02 July, 2025
मञ्जु टेलर काठमाडाैं
२o७८ जेठ २६ बुधबार o६:o५:oo
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

संक्रमण दर घट्न थाल्यो, नयाँ संक्रमितभन्दा निको हुने धेरै

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७८ जेठ २६ बुधबार o६:o५:oo

तर, काठमाडौैंबाहिरबाट सिकिस्त भएर बिरामी आउने क्रम जारी, गाउँ–गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ

देशभरका अस्पतालहरूमा कोभिड संक्रमितको चाप बिस्तारै घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्रमण दर आधाभन्दा कममा झरेको छ, संक्रमितभन्दा निको हुनेको संख्या बिस्तारै उकालो लाग्दै गएको छ ।

शुक्रबार ६ हजार ६ सय ५३ जना संक्रमित थपिँदा आठ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए भने शनिबार पनि पाँच हजार ४२ जना संक्रमित थपिँदा आठ हजार दुई सय ४३ जना निको भएका थिए । यस्तै आइतबार तीन हजार चार सय संक्रमित थपिँदा ६ हजार ६ सय ३६ जना निको भएका थिए भने सोमबार चार हजार चार सय ७२ नयाँ संक्रमित हुँदा ६ हजार नौ सय ५१ जना संक्रमणमुक्त भएका छन् । मंगलबार पनि पाँच हजार एक सय ५३ जनामा संक्रमण पुष्टि हुँदा संक्रमणमुक्त हुनेको संख्या ६ हजार पाँच सय ७० छ ।

सिकिस्त बिरामीको चाप उस्तै
संक्रमण दर घट्दै गए पनि अस्पतालहरूमा सिकिस्त बिरामीको चाप भने उस्तै रहेको छ । दुई महिनाको अन्तरालमा अधिकांश संक्रमित निको भइसके पनि गम्भीर प्रकारका बिरामीको भने उपचार जारी रहेको चिकित्सहरूको भनाइ छ । भेरी अस्पतालका कोभिड संयोजक डा. संकेतकुमार रिसाल भन्छन्, ‘अस्पतालहरूमा अझै संक्रमितहरू छन् । यद्यपि निको पनि भइरहेका छन् । नयाँ संक्रमणको दर अलिकति कम भएको पक्कै हो । यहीकारण सातामा नियन्त्रणमा आउँछ भन्ने आशा पलाएको छ । तर, दोस्रो लहर पिकमै भएकाले तत्काल सहज वातावरण भने भइसकेको छैन ।’

अस्पतालहरू बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थासम्म पुग्नु सुखद भएको चिकित्सकहरूको भनाइ छ । संक्रामक रोग विशेषज्ञ डा.अनुप बास्तोला भन्छन्, ‘अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको छ, यो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना छ । तर, अहिले काठमाडौैंबाहिरबाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँ–गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ । त्यसैले श्वासप्रश्वासमा समस्या भएका अस्पताल ल्याउन ढिलाइ नगरौँ ।’ सरकारी अस्पतालहरूमा इमर्जेन्सीमा रहेको चाप नियन्त्रणमा आएको छ भने वार्डका बेडहरू पनि बिस्तारै खाली हुँदै गएका छन् । 

तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने आकलन
स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै तेस्रो लहरमा बालबालिकाका लागि अस्पतालको २० प्रतिशत बेड छुट्याउन अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारोनाको तेस्रो तथा चौथो लहर आउन सक्ने भएकाले त्यसका लागि अहिलेदेखि नै रोकथाम र नियन्त्रणका लागि तयारी थाल्नुपर्ने जनाएको छ । मन्त्रालयले दोस्रो लहरजस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसवेला बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वीकृत बेडको कम्तीमा २० प्रतिशत कोभिड– १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको हो । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ भन्छन्, ‘हामीसँग उपलब्ध बाल अस्पतालहरूलाई विशेषगरी तयारी अवस्थामा राखेका छौँ । महामारीको समयमा उपलब्ध स्वास्थ्य सेवा कम हुने हुँदा नियन्त्रणमा राख्नका लागि अहिलेदेखि नै मन्त्रालयले तयारी थालेको हो ।’ 

मुलुकमा कोरोनाभाइरसको दोस्रो लहर पिकमै रहे पनि स्वास्थ्य विशेषज्ञहरूले भाइरसको तेस्रो लहरका लागि व्यापक तयारीका लागि आग्रह गरिरहेका छन् । नेपालमा मात्र नभई विश्वभरि नै कोरोनाको तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुने जोखिम रहेको भन्दै पूर्वतयारी थालेका छन् । 

हालसम्म कोरोना भाइरसविरुद्धका भ्याक्सिनहरू १८ वर्षभन्दा माथि उमेर समूहमा मात्र प्रयोगमा आइरहेका छन् । नेपालमा पनि सबैमा कोरोनाविरुद्धको खोपका लागि सरकारले खोप ल्याइरहेको छ । अपेक्षाअनुसार खोप ल्याउन सकेमा कोरोनाको दोस्रो लहर सकिने समयसम्म अधिकांश युवा र वृद्धवृद्धामा खोपको पहुँच हुनेछ । तर, स्वरूप परिवर्तन हुँदै गएका भाइरसहरूले क्रमशः वृद्धवृद्धा, वयस्क र युवामा संक्रमण फैलाएको र नयाँ भेरियन्ट जटिल खालको आएमा बालबालिकाहरू जोखिममा पर्ने चिकित्सकहरू बताउँछन् । वरिष्ठ भाइरोलोजिस्ट डा. शेरबहादुर पुन भन्छन्, ‘भाइरसको प्रकृतिअनुसार प्रतिरोधी क्षमता कम भएकाहरूमा संक्रमण छिटो वा सजिलै हुने गर्छ । अपेक्षाअनुसार खोप लगाउन सकिएमा वा एकपटक संक्रमित भइसकेकाहरूमा लगत्तै पुन संक्रमण हुने जोखिम कम भएका युवा तथा वृद्धवृद्धामा संक्रमणको जोखिम कम हुन्छ । यसको अर्थ खोप नलगाएको कारण बालबालिका जोखिममा पर्ने हुँदा तेस्रो लहरमा अन्यको तुलनामा उनीहरू बढी प्रभावित हुने अनुमान गरिएको हो ।’

बालबालिका लागि कोरोनाविरुद्धको भ्याक्सिनहरूमा विभिन्न अध्ययनहरू भइरहेका छन् । चीनमा उत्पादन भइरहेका सिनोफर्म र सिनोभ्याकले विभिन्न ट्रायल अध्ययनका अनुसार भ्याक्सिन ३ देखि १७ वर्षसम्मका बालबालिकाहरूका लागि प्रभावकारी हुने दाबी गर्दे आएका छन् ।

यस्तै भारतमा पनि भारत बायोटेक कोभ्याक्सिनले बालबालिकाका लागि ट्रायल अध्ययन सुरु गरेको जनाएको छ भने मोर्डना र फाइजरजस्ता कम्पनीहरूले पनि अध्ययन गरिरहेका छन् । तर, हालसम्म बालबालिकामा प्रयोग ल्याउनका लागि कुनै पनि भ्याक्सिनहरू स्वीकृत भने भइसकेका छैनन् । डा. पुन भन्छन्, ‘अहिले संक्रमण नियन्त्रणका लागि पहिलो विकल्प भ्याक्सिन हो । तेस्रो वेभ कहिले आउँछ भन्न सकिन्न । अध्ययन भइरहेका भ्याक्सिनहरू तत्काल प्रयोगमा ल्याउन सकिँदैन । यस्तोमा केही गरी नयाँ भेरियन्ट योभन्दा कडा प्रकृतिको देखापर्‍यो भने बालबालिका जोखिममा रहन्छन् । भविष्यमा आउने संकटका लागि अहिलेदेखि नै तयारी गर्नु स्वागतयोग्य छ ।’