१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २५ मंगलबार २०:५४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एसजी ग्रुपले चीनबाट अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री भित्र्यायो, बिक्री र निःशुल्क वितरण सँगसँगै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २५ मंगलबार २०:५४:००

उद्योगी शिवप्रसाद घिमिरेमाहतहको एसजी ग्रुपले चीनबाट अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, अक्सिजन ब्याग, अक्सिन मास्क, अक्सिमिटर, अक्सिजन रेगुलेटरलगायतका स्वास्थ्य सामग्री भित्र्याएको छ ।

काठमाडौंको चाल्नाखेलमा एभरेस्ट अक्सिजन उद्योग सञ्चालन गरिरहेका उद्योगी घिमिरेले कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर अक्सिजनजन्य स्वास्थ्य सामग्रीको माग बढेपछि आयात गरेको बताए । ‘उद्योगबाट नियमित रूपले करिब चार हजार सिलिन्डरमा अक्सिजन भर्ने काम भइरहेको थियो, तर माग बढेर धान्नै नसक्ने स्थिति भएपछि चीनबाट सिलिन्डरसहित थप स्वास्थ्य सामग्री ल्याएका हौँ’ उनले भने ।

उनका अनुसार सात हजार एक सय थान अक्सिजन सिलिन्डर आयात भएको छ । त्यसमध्ये चार हजार नौ सय थान ४० लिटर र दुई हजार दुई सय थान १० लिटर क्षमताको सिलिन्डर हुन् । १० लिटर क्षमताको सिलिन्डरको आठ हजार पाँच सय र ४० लिटर क्षमताको सिलिन्डरको १६ हजार रुपैयाँ बिक्री मूल्य तोकिएको छ ।

त्यस्तै, अक्सिजन ब्याग पाँच हजार थान ल्याइएको छ । हातमै बोकेर हिँड्न मिल्ने यस्तो ब्याग आपत्कालीन समयका लागि उपयोगी हुने उनले बताए । ‘यो ब्याग हामीले नेपालमै पहिलोपटक भित्र्याएका हौँ’ उनले भने, ‘मानिसहरूले आइसियू, भेन्टिलेटर तथा अक्सिजन बेड नपाएका वेला आपत्कालीन अवस्थामा यस्तो ब्याग प्रयोग गर्न सक्छन्’ उनले भने ।

ब्याग प्रतिघन्टा दुई लिटर अक्सिजन प्रयोग गर्नुपर्ने बिरामीका लागि उपयोगी हुने र एउटा ब्यागले दुई घन्टासम्म धान्ने उनले बताए । ब्याग खाली भएपछि सिलिन्डरबाटै भर्नसमेत मिल्नेछ । ‘ब्यागमा कसरी अक्सिजन भर्ने भनेर त्यहीँ लेखिएको हुन्छ । त्यो हेरेर सर्वसाधारण मानिसले पनि ब्याग भरेर अक्सिजन प्रयोग गर्न सक्छन्’ घिमिरेले भने । यसको मूल्य प्रतिगोटा आठ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, उनले अक्सिजन कन्सन्ट्रेटर २५ थान, अक्सिजन मास्क पाँच हजार थान, अक्सिमिटर र अक्सिजन रेगुलेटर तीन–तीन हजार थान ल्याएको बताए । ‘धेरै अक्सिजन सिलिन्डरको रेगुलेटर बिग्रेर काम गर्न नसकेको सुन्यौैँ । त्यसपछि रेगुलेटर पनि ल्याएका छौँ’ उनले भने ।

घिमिरेले स्वास्थ्य सामग्री आवश्यक पर्ने स्वास्थ्य संस्था र व्यक्तिले सानेपास्थित कालंगा कम्लेक्समा रहेको एसजी ग्रुपको कर्पोरेट कार्यालयमा सम्पर्क गर्न सक्ने बताए । अहिले ल्याएको स्वास्थ्य सामग्रीको बिक्रीसँगै विभिन्न संघ–संस्थालाई निःशुल्क वितरणसमेत गरेको उनले बताए । ‘बझाङदेखि सुनसरी, मोरङका विभिन्न २० संघ–संस्थालाई स्वास्थ्य सामग्री निःशुल्क वितरण पनि गरेका छौँ’ घिमिरेले भने ।