मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २४ सोमबार ०७:४९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ढलान गरेर सडक बनाउँदा ५ अर्बको बिटुमिन आयात रोकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २४ सोमबार ०७:४९:००

नेपालमा सडक कालोपत्रे गर्नका लागि प्रयोग हुने बिटुमिन आयात गर्न मात्रै वार्षिक ५ अर्ब रुपैयाँ बिदेसिने गरेको छ । तर, बिटुमिनको विकल्पमा स्वदेशमै उत्पादित सिमेन्ट प्रयोग गरी सडक ढलान गर्दा व्यापार घाटा घट्नुका साथै बलियो सडक निर्माण हुने विज्ञहरूको राय छ ।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसहसचिव राजेन्द्रराज शर्माका अनुसार अहिले देशमा ८० हजार मेट्रिकटन बिटुमिन खपत हुने गरेको छ । त्यसमध्ये १६ हजार मेट्रिकटन सडक मर्मतका लागि उपयोग हुने गरेको छ । सडक विभागको अध्ययनअनुसार एक वर्ग मिटर क्षेत्रफल ढलान गर्न ५ किलोग्राम बिटुमिन आवश्यक पर्छ ।

आइतबार भर्चुअल माध्यममा आयोजित सिमेन्टेड ढलान सडकको सम्भावना र चुनौतीबारे आयोजित कार्यक्रममा बिटुमिन (आस्फाल्ट) कालोपत्रे सडकको तुलनामा  सिमेन्ट (ढलान) सडकको आयु लामो हुने, पानीले नबिग्रिने, इन्धन खपत न्यून हुनेजस्ता फाइदा रहेको पूर्वसचिव शर्माले जानकारी दिए । तर, निर्माण भइसकेपछि फुटाएर नयाँ ढल वा पाइपजस्ता ‘युटिलिटी’ भने हाल्न नसकिने समस्या यसमा छ । ‘यसका लागि पूर्वयोजना बनाएर मात्र ढलान सडक निर्माण गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

दीर्घकालीन किफायती तत्कालीन खर्चिलो
बिटुमिन प्रयोग गरेका सडकको आयु १० देखि २० वर्षसम्म हुन्छ । तर, नेपालमा ढलान गर्दा तापक्रम र अन्य अवस्था फरक पर्दा ५ वर्ष टिक्ने सडकलाई पनि राम्रो गुणस्तरको मान्ने चलन छ । ‘नेपालमा ५ वर्ष सञ्चालन भयो भने पनि ठूलो उपलब्धि मान्ने अवस्था छ,’ पूर्वसहसचिव शर्माले भने । तर, यसको विपरीत सिमेन्ट ढलान सडक ३० देखि ४० वर्षसम्म टिकाउ हुने इन्जिनियरहरूको भनाइ छ । अर्कोतर्फ सिमेन्ट ढलान सडकलाई मर्मत गरिरहनुपर्दैन भने बिटुमिनले निर्माण गरेको सडकलाई आवधिक मर्मत आवश्यक पर्छ । यति मात्र होइन, इन्धन बचतसमेत १४ प्रतिशत हुने गरेको अन्तर्राष्ट्रिय अनुभव रहेको उनको भनाइ छ ।

यसका साथै बिटुमिन र पानीबीच शत्रुतापूर्ण सम्बन्ध हुन्छ । बिटुमिन प्रयोग गरिएको सडकमा पानी पर्नेवित्तिकै खाल्डो पर्ने वा उप्किने गर्छ । जबकि सिमेन्ट कंक्रिटमा केही फरक नपर्ने अध्ययनले देखाएको छ । बिटुमिनलाई कालोपत्रेका लागि तयार गर्न तताउनुपर्छ । त्यसले वायु प्रदूषण हुने गरेको छ । तर, सिमेन्ट वातावरणमैत्री रहेको छ । बिटुमिनमा गुणस्तर नियन्त्रण गर्न तापक्रमलगायतका विषय हेर्नुपर्छ । त्यो सिमेन्ट ढलानमा आवश्यक पर्दैन । 

बेफाइदा पनि छन् सिमेन्ट ढलानका
सिमेन्ट देशभित्र नै उत्पादन भए पनि सडक ढलान गर्न सुरुमा धेरै खर्चिलो हुन्छ । विज्ञहरूका अनुसार बिटुमिनको सट्टामा झन्डै दोब्बर लागत आवश्यक पर्छ । तर, दीर्घकालीन रूपमा पनि नियमित मर्मत गर्नुनपर्ने भएकाले बिटुमिनभन्दा सस्तो हुन्छ । अर्कोतर्फ सिमेन्ट ढलान सडकमा एक–अर्कोमा जोडाइका कारण आवाज आउने हुन्छ । त्यसले स्थानीयको स्वास्थ्य वा तनाव सिर्जना गर्न सक्छ । त्यस्तै, सिमेन्ट ढलाइ मर्मत गर्न  गाह्रो छ । अर्कोतर्फ ढलान गरेको न्यूनतम २८ दिनसम्म प्रयोगमा ल्याउन सकिँदैन । जबकि बिटुमिनमा १ दुई दिनमै प्रयोगमा ल्याउन सकिन्छ ।