१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २२ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ २२ शनिबार २o:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘रामेछापमा कोरोना संक्रमण बढे पनि रोकथामका प्रयास पर्याप्त भएन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ २२ शनिबार २o:३९:oo

रामेछापमा कोरोना संक्रमण बढे पनि रोकथाम तथा नियन्त्रणका लागि प्रयास पर्याप्त नभएको सरोकारवालाहरूले बताएका छन् । रामेछाप–काठमाडौं पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल कार्यक्रममा सहभागीले संक्रमण वडा तहसम्म पुगेको, तर रोकथामका लागि पर्याप्त प्रयास हुन नसकेको बताएका छन् । 

सहभागीहरूले जिल्लामा अझै पनि अक्सिजन प्लान्ट नरहेको, पिसिआर परीक्षण गर्न छिमेकी जिल्ला जानुपर्ने अवस्था रहेको, पिसिआर परीक्षण गराएका र संक्रमित भएकासमेत खुल्लमखुल्ला हिँडिरहेको बताए । आमनागरिकले स्वास्थ्य मापदण्ड पालना गरेको भन्दै जनचेतना फैलाउन आवश्यक रहेकोमा सहभागीले जोड दिएका छन् । रामेछापमा १५ सयभन्दा बढी संक्रमित भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ । 

कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य एवं पूर्वगृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले जिल्लामा अक्सिजन प्लान्ट राख्न पहल भइरहेको र पिसिआर मेसिनका लागि पनि आफूले पहल गरिरहेको बताए । उनले अर्थ मन्त्रालयबाट बजेट विनियोजन भइसकेको र फास्ट ट्र्याकमार्फत पिसिआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको बताए । 

उनले भने, ‘पोहोर नै बजेट छुट्याउन पाएको भए अहिले मेसिन आइसकेर पनि जिल्लामै सञ्चालन भइसकेको हुन्थ्यो, त्यतिवेला बजेट नछुट्याउनु कमजोरी भयो भन्ने लागेको छ ।’

प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूले जिल्लामा हाल कोरोनाका कारण डरलाग्दो अवस्था नरहेको बताउँदै प्राप्त सल्लाह, सुझाबका आधारमा अगाडि बढ्ने बताए । जारी निषेधाज्ञाले कोरोना नियन्त्रणमा सहयोग पुगेको उनको भनाइ छ । 

उनले जिल्लामा आवश्यकताअनुसार अक्सिजन र सिलिन्डर ल्याइरहेको बताउँदै स्थानीय तह, स्वास्थ्य कार्यालयलगायतसँग समन्वय गरेर कोरोना नियन्त्रणको प्रयास भइरहेको बताए । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज ढुंगानाले जनचेतना फैलाउने काममा प्रहरी लागेको बताए । उनले हाल जिल्लामा अक्सिजनको अभाव नरहेको बताए । 

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले सदरमुकाममा कोरोना महामारीको असर कम हुँदै गए पनि ग्रामीण भेगमा संक्रमण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले आमनागरिकमा अझै पनि कोरोना परीक्षणको पहुँच पुग्न नसकेको बताउँदै परीक्षण बढे संक्रमितको संख्या पनि बढ्ने बताए । 


नयाँघरेले ग्रामीण भेगमा कोरोना नियन्त्रणका लागि स्थानीय तह तथा वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू र सम्बन्धित निकायहरूबीच समान्वयको अभाव रहेको औँल्याए । 


नेपाल पत्रकार महासंघ रामेछापका पूर्वसभापति हिमाल ढुंगेलले कोरोना महामारीको दोस्रो लहर आइसक्दा र तेस्रो लहरसमेत आउने जोखिम बढिसकेको अवस्थामा पनि कोरोना नियन्त्रणका लागि आवश्यक पूर्वाधर निर्माण र तयारी नभएकोप्रति चिन्ता व्यक्त गरे । 


कार्यक्रममा सहभागी निरोज थापा, अमृत सुनुवार, हरिहर कार्की, सन्तोष पौडेललगायतले जिल्लामा जतिसक्दो चाँडो कोरोनाको महामारी नियन्त्रणका लागि पहलकदमी लिन सम्बद्ध पक्षहरूसँग आग्रह गरेका थिए । 

रामेछाप घर भई काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था रामेछाप काठमाडौं पत्रकार समाजले जिल्लाका विभिन्न विषयवस्तुहरूमाथि कार्यक्रम गर्दै आएको छ । आगामी शुक्रबार स्थानीय तहका प्रमुख र अध्यक्षसँग पालिकाको अवस्थाबारे छलफल हुने पत्रकार समाजले जनाएको छ ।
 

ad
ad
ad
ad