१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १९:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विघटित प्रतिनिधिसभा सदस्य आचार्यद्वारा दुई अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री प्रदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:o७:oo

विघटित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवाका दुई अस्पताललाई व्यक्तिगत रूपमा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । पछिल्लो समय कोरोनाका जटिल प्रकृतिका बिरामी बढेसँगै नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै रसुवा अस्पताल धुन्चे र जिबजिबे ग्रामीण अस्पताललाई आचार्यले व्यक्तिगत रूपमा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । 

आचार्यले आफनो व्यक्तिगत खर्चमा करिब १६ लाख मूल्यबराबरको मिनि भेन्टिलेटर चारवटा, अक्सिमिटर ३० वटा, बेड पाँचवटा र सर्जिकल मास्क तीन हजार थान उपलब्ध गराएका छन् । जिल्लाका दुई अस्पतालमा प्रयोग हुने गरी बिहीबार जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरी जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाललाई सामग्री हस्तान्तरण गरेका हुन् । 

सामग्री हस्तान्तरण गर्दै आचार्यले कोरोना संक्रमण बढेसँगै जटिल प्रकृतिका बिरामीहरू देखिन थालेको र उपचारका लागि बाहिरी जिल्ला लैजानुपर्ने समस्यालाई मध्यनजर राख्दै व्यक्तिगत रूपमा उक्त सामग्री खरिद गरी जिल्लालाई उपलब्ध गराएको बताए । ‘कोरोना संक्रमण बढेको छ, विशेषगरी श्वास–प्रश्वास र अक्सिजनको आवश्यकतालगायतका समस्याबाट प्रताडित भएको अवस्था छ, यसलाई मध्यनजर राख्दै यो सामग्री व्यक्तिगत रूपमा उपलब्ध गराएको हुँ, नयाँ पत्रिकासँग उनले भने, कोरोनाको कतिवटा लहर आउँछ भन्ने थाहै छैन, आउने दिनहरूमा पनि योसँग लड्नलाई, जुध्नलाई, तयार रहनलाई म जनप्रतिनिधिको हैसियतले व्यक्तिगत रूपमा सहयोग गरेको हुँ, । 

सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले आवश्यकताका आधारमा जिल्लाका अस्पतालहरूमा प्रयोग गरिने बताए । ‘जिल्लाका पाँचवटा गाउँपालिकाका प्रमुखसँग समन्वय गरेर यसको वितरण गर्नेछु, जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठक राखेर यसबारे निर्णय लिनेछु,’ उनले भने ।

आचार्यले बिहीबार नै त्रिशूली अस्पताल नुवाकोटलाई पनि मिनी भेन्टिलेटर दुईवटा, एबिजी ( आइसियूमा प्रयोग हुने सामान) एउटा हस्तान्तरण गरेका छन् । 

गत वर्ष देखिएको कोरोनाको पहिलो लहरमा पनि आचार्यले व्यक्तिगत रूपमा जिल्लामा स्वास्थ्य सामग्री प्रदान गर्नुका साथै जिल्लामा अग्रपंतिमा रहेका पाँच सय आठजनालाई निःशुल्क कोरोना बिमा, विपन्नलाई राहत वितरणलगायतका सहयोग गरेका थिए । 

भेन्टिलेटरलगायतका अत्यावश्यक सुविधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको छ । रेफर भएकाहरूमा फोक्सोका निमोनिया, अक्सिजनको मात्रा कमलगायतका समस्या देखिएको छ । 

अहिले जिल्लामा लक्षणसहितका कोरोनाका बिरामी देखिएका छन् । गाउँगाउँमा रुघा, खोकी, ज्वरो, शरीर दुख्नेलगायतका समस्याका बिरामी बढेका छन् । यस्ता समस्याको जटिल अवस्था आएमा बिरामीको व्यवस्थापनमा समस्या रहेको छ । जिल्लाका अस्पतालमा पूर्ण प्रविधिसहितको व्यवस्थापन छैन । जिल्लाका अधिकांश बिरामी रसुवा अस्पताल धुन्चे र जिबजिबे ग्रामीण अस्पतालमा जाने गरेका छन् । कोरोनाको संक्रमण दर बढेसँगै जिल्लामा कोरोनाका जटिल प्रकृतिका बिरामी देखिएका छन् । जिल्लामा पूर्ण प्रविधि नहुँदा कोरोनाका जटिल प्रकृतिका बिरामी नुवाकोट तथा काठमाडौं रेफर हुनुपर्ने बाध्यता रहेको छ । अब जिल्लामै भेन्टिलेटर उपलब्ध भएसँगै जटिल प्रकृतिका बिरामीलाई तत्काल उपचारमा केही सहज हुने बताइएको छ । 

ad
ad