Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ जेठ १३ बिहीबार ०६:०३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रपति भण्डारी र  सीबीच टेलिफोन वार्ता : चीनले थप १० लाख डोज खोप दिने

Read Time : > 2 मिनेट
२०७८ जेठ १३ बिहीबार ०६:०३:००

सरकारी संयन्त्रबाट भएका प्रयास परिणाममुखी नदेखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी भारत र चीनको शीर्ष तहमा खोप खरिद तथा सहायताका लागि पहल थालेकी छिन् । उनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेकी छिन् भने भारतीय समकक्षी रामनाथ कोबिन्दलाई मंगलबार चिठी पठाएर खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी छिन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सँगै राखेर राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग पौने घन्टा कुराकानी गरेकी हुन् । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको समन्वयमा भएको संवादका क्रममा राष्ट्रपति सीले कोरोनाविरुद्धको लडाइँमा नेपाललाई सक्दो सहयोग गर्ने भन्दै तत्काल १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् । चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले अहिले खोप दिने घोषणा तथा यसअघि खोपलगायतका स्वास्थ्य सामग्री र उपकरणमा गरेको सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिएकी छिन् । कोरोनाविरुद्धको खोप विश्वका सबै मानिसको पहुँचमा पुग्नुपर्ने राष्ट्रपति सीको सार्वजनिक अभिव्यक्तिको पनि उनले प्रशंसा गरेकी छिन् । राष्ट्रपति भण्डारीले खोप खरिदका लागि चीन सरकारका तर्फबाट सहजीकरण गरिदिन पनि अनुरोध गरेकी थिइन् ।

जवाफमा राष्ट्रपति सीले कोरोनाको दोस्रो लहरको महामारीबाट नेपालले सामना गरिरहेको चुनौती र अप्ठ्यारोसँग जुध्न पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् । उनले खोप सहयोग तथा सहकार्यका लागि नेपाल चीनको प्राथमिकतामा रहेको पनि बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले भने, ‘नेपाललाई कोरोना महामारीविरुद्ध सकेजति मद्दत गर्न चीन प्रतिबद्ध छ । हामी विश्वास गर्छौँ कि नेपालले यो महामारी चाँडै नै परास्त गर्नेछ ।’ 

यसअघि चीन सरकारले उपलब्ध गराएको आठ लाख भेरोसेल खोप नेपालले जहाज पठाएर बेइजिङबाट ल्याएको थियो । राष्ट्रपति सीले घोषणा गरेको १० लाख डोज खोप आपूर्तिको मोडालिटीबारे कूटनीतिक च्यानलमार्फत तय हुने परराष्ट्रका अधिकारीहरूले बताएका छन् । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई राष्ट्रपतिको टेलिफोन संवादपछि ट्विटरमा लेखेकी छिन्, ‘नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँग फोन संवादका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई अनुदान सहयोगमा १० लाख डोज कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गर्नुभयो ।’ चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले बुधबार नै नेपालका शीर्ष नेता एवं स्वास्थ्य सरोकारवाला निकायका प्रतिनिधिसँग भर्चुअल संवाद पनि गरेको छ ।

यसअघि नेपालले कूटनीतिक माध्यमबाट भेरोसेल उत्पादक चिनियाँ कम्पनी साइनोफार्म बायोटेक्नोलोजीसँग खोप खरिदका लागि छलफल गरेको थियो । साइनोफार्मका अधिकारीहरूले नेपाललाई खोप बिक्री गर्न तयार रहेको र क्रमशः खोप दिन सकिने बताएका थिए । तर, स्वास्थ्य मन्त्रालयले औपचारिक प्रक्रियाका लागि पत्राचार नगर्दा खोप खरिद प्रक्रिया अलमलमा परेको थियो । 

नेपालले चीनबाट २० लाख डोज खोप किन्न चाहेको छ । राष्ट्रपति भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दा चिनियाँ समकक्षीले सरकार तयार रहेको जवाफ दिएका छन् । एकजना कूटनीतिक अधिकारीले भने, ‘अब खोप खरिदका लागि प्रक्रिया प्रारम्भ गर्ने बाटो खुलेको छ । तत्कालै प्रयास थालियो भने तीन हप्ताभित्र ठूलो परिमाणमा चीनबाट खोप ल्याउन सकिन्छ ।’

यसैबीच, राष्ट्रपति भण्डारीले भारतीय समकक्षी कोबिन्दलाई चिठी पठाउँदै भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट तत्काल १० लाख खोप उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरेकी छिन् । राष्ट्रपति कोबिन्दमार्फत उनले भारत सरकारलाई यो आग्रह गरेकी हुन् । 

नेपालले सेरमसँग खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख अझै उपलब्ध भएको छैन । त्यसको आपूर्तिमा सहजीकरण गरिदिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि भारतीय समकक्षी डा. एस जयशंकरलाई टेलिफोनमा आग्रह गरिसकेका छन् । परराष्ट्र मन्त्रालयले दुईपटक कूटनीतिक नोट नै पठाइसकेको छ । 

भारतले नेपाललाई १० लाख डोज र भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज डोज खोप अनुदानमा उपलब्ध गराएको छ । त्यस्तै, कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार डोज खोप प्राप्त भएको छ । यही साता नेपालले बेलायत र अमेरिकाबाट ५०–५० लाख डोज खोप खरिदका लागि पनि पत्राचार गरेको छ । रुससँग पनि खोप खरिदका लागि प्रयास जारी रहेको सरकारले जनाएको छ ।