मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १३ बिहीबार
  • Sunday, 22 December, 2024
मञ्जु टेलर काठमाडौं
तिवारी यादव काठमाडौं
२o७८ जेठ १३ बिहीबार o३:o८:oo
Read Time : > 11 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१३ वर्षअघि मिर्गौला प्रत्यारोपण सुरु गरेको वीरमा डेढ वर्षदेखि सेवा अवरुद्ध, हाजिर गरेर फर्कन बाध्य चिकित्सक

आखिर किन ज्यान गुमाउँछन् आदर्श मिश्राका पिताहरू ?

Read Time : > 11 मिनेट
मञ्जु टेलर, काठमाडौं
तिवारी यादव, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ १३ बिहीबार o३:o८:oo

मिर्गौलासम्बन्धी समस्या भएका १५ हजार बिरामी डायलाइसिसको भरमा छन्, पाँच हजार आठ सयलाई सरकारले नै विपन्नको सूचीमा राखेको छ

तर, वीरमा डेढ वर्षदेखि प्रत्यारोपण अवरुद्ध छ, भक्तपुरको मानवअंग र शिक्षण अस्पतालमा पालो नपाउने बिरामी निजीमा जान बाध्य, विपन्न बिरामी मर्कामा

......

बिरामी तड्पिरहेका छन्, प्रत्यारोपणका लागि हामी चिकित्सक तयार छौँ, तर विडम्बना ! अनुमति मिलेन

डा. पुकारचन्द्र श्रेष्ठ, प्रत्यारोपण शल्य चिकित्सक, वीर अस्पताल 

नेपालको सबैभन्दा पुरानो र ठूलो अस्पताल वीर विपन्न नेपालीको सहारा हो । वीरले नै नेपालमा मिर्गौला प्रत्यारोपणको पहल सुरु गरेको हो । मेरो नेतृत्वमा ००८ देखि ०१२ सम्म निरन्तर प्रत्यारोपण भएको थियो । म भक्तपुर सरुवा भएपछि वीरमा नगण्य मात्रामा प्रत्यारोपण जारी थियो, अहिले ठप्प भएको छ । एक वर्षअघि मलाई फेरि यहाँ ल्याइयो । मैले भनेको छु– वीरमा प्रत्यारोपण भ­एमा विपन्न जनतालाई सुबिस्ता हुन्छ । तर, दुर्भाग्य, डेढ वर्षदेखि यहाँ प्रत्यारोपण सेवा अवरुद्ध छ । 

वीरमा नै डायलाइसिस गर्न बिरामी हरेक दिन आउँछन् । वीरमा अप्रेसन थिएटर पनि छ, प्रत्यारोपण गर्छौँ भन्ने हामी चिकित्सक पनि छौँ । तर, प्रत्यारोपणको अनुमति पाएका छैनौँ । हामी डाक्टरले काम पाएका छैनौँ, मिर्गाैलाका बिरामी प्रत्यारोपणका लागि विभिन्न अस्पताल धाउन बाध्य छन् । यो बडो विडम्बना छ । 

म कामविहीन भएको छु, हाजिर गरेर, चिया खाएर घर फर्कन बाध्य छु । उता बिरामीले दुःख पाए, लौन प्रत्यारोपण सुरु गरौँ भनेर हरेक साता अस्पतालको प्रशासनलाई अनुरोध गरेको छु । स्वास्थ्य मन्त्रालयमा पनि पटक–पटक छलफल भएको छ । तर, प्रत्यारोपणको अनुमति मिलेको छैन । सेवा सञ्चालन गर्न दिए सातामा चारवटा प्रत्यारोपण गर्न सकिन्छ । बिरामीलाई सरकारले दिने अनुदान प्रत्यारोपणबापत अस्पतालमा आइपुग्छ । यसरी मिर्गौला प्रत्यारोपणबापत वर्षमा चार करोड रुपैयाँ अस्पताललाई आम्दानी गराउन सकिन्छ । यो कार्ययोजना मैले अस्पताल र मन्त्रालयलाई पनि दिएको छु, तर सुनुवाइ भएको छैन ।

वीर अस्पतालमा नदिने भए ट्रमा सेन्टरको अपरेसन थिएटर मागेको थिएँ । ट्रमामा प्रत्यारोपण गर्नु झन् वैज्ञानिक हो, दुर्घटनामा परेर ब्रेनडेथ भएकाहरूको मिर्गाैला प्रत्यारोपण गर्ने प्रणाली विकास गर्न सकिन्छ । त्यो पनि मैले शनिबार मात्र मागेको हुँ । त्यो दिन ट्रमामा खाली हुन्छ भनेर, तर त्यो पनि सम्भव भएन । मानव अंग प्रत्यारोपणमा रहँदा वर्षमा दुई सयभन्दा बढी प्रत्यारोपण गर्दै आएको थिएँ, अहिले त्यहाँ डेढ वर्षसम्म जम्मा २५ वटा मात्रै प्रत्यारोपण भएका छन् । यही वेला वीरमा डेढ वर्षदेखि मिर्गौला प्रत्यारोपण सेवा बन्द छ । टिचिङमा पनि गति बढेको छैन । सरकारी अस्पतालहरूले प्रत्यारोपणको दर घटाउँदा विपन्न नागरिक मर्कामा छन् । अहिले आधाभन्दा धेरै बिरामी उपचारका लागि भारत गइरहेका छन्, विपन्न नागरिक निजीमा उपचार गर्न नसकेर मरिरहेका छन् । हरेक दिन बिरामी आउँछन्, बचाइदिनोस् डाक्टर साव भन्छन्, तर मेरा हात बाँधिएका छन् । 

......

वीर अस्पतालकी युरोलोजी विभाग प्रमुख डा. रजनी हाडाको अनौठो तर्क : वीर शैक्षिक संस्था हो, प्रत्यारोपण गर्ने अस्पताल होइन

मिर्गौला प्रत्यारोपण गर्ने विषय उठेको छ । तर, म चुप लागेर बसेकी छु । चिकित्सक पनि छैनन्, उपकरण पनि छैन, ठाउँ पनि छैन । आगामी पुसमा म रिटायर्ड हुँदै छु । योबीचमा सेवा सुरु हुने अवस्था छैन । बिरामी भएमा सातामा एउटा प्रत्यारोपण गर्दै आएका थियौँ । प्रत्यारोपण गर्ने बिरामी नपाएकाले वीरको सेवाले गति लिन नसकेको हो । महिनामा चारजनाको प्रत्यारोपण गर्ने क्षमता थियो । बिरामी नपाएर कति समय त्यसै बित्ने गथ्र्यो । अहिले वीरमा प्रत्यारोपण गर्न बिरामी पनि आएका छैनन्, हामीले पनि गराएका छैनौँ । वीर भनेको शैक्षिक संस्था हो, यहाँ नियमित प्रत्यारोपण उपयुक्त हुँदैन । फेरि प्रत्यारोपण भनेको मिर्गौला जोड्ने काम मात्र होइन । नेफ्रोलोजी चिकित्सक एकजना बिरामीको पछि डेढ महिनासम्म लाग्नुपर्छ, हामी अहिले त्यो गर्न सक्दैनौँ ।

......

डायलाइसिसको उचित प्रबन्ध नहुँदा कलाकार आदर्श मिश्राका बाबुको निधन भएको समाचारले देशकै ध्यान तानिएको छ । विनोदलाई बचाउन आदर्शको परिवारले गरेको अथक संघर्ष वियोगमा सकिएको छ । तर, देशको दुःखान्त अझै जारी छ । किनकि देशको स्वास्थ्य प्रणाली असंवेदनशील हुँदा १५ हजार परिवार मिर्गाैला प्रत्यारोपण र डायलाइसिसको पर्खाइमा पिल्सिएका छन् । 

देशमा मिर्गाैलाका करिब ८५ हजार बिरामी भएको सरकारी तथ्यांक छ । त्यसमध्ये १५ हजार नियमित डायलाइसिसमा छन् । त्यसमध्ये पनि पाँच हजार आठ सय ९६ जनालाई विपन्न भएको भनेर सरकारले नै सूचीकृत गरेको छ । तर, डायलाइसिसलाई व्यवस्थित गर्न र प्रत्यारोपणको गति बढाउन सरकारले पहल गरेको छैन । विपन्न बिरामीले उपचार पाउन सक्ने वीरमा त प्रत्यारोपण नै अवरुद्ध छ । 

बिरामीका लागि यो जीवन–मरणको विषय हो, तर सरकारका लागि खेलबाड । सरकार यो विषयमा संवेदनशील हुन्थ्यो भने वीरजस्तो विपन्नको सहारा अस्पतालमा मिर्गौला प्रत्यारोपण बन्द हुने थिएन । हो, अहिलेसम्म डेढ सय मिर्गौला प्रत्यारोपण गरेको वीरमा डेढ वर्षदेखि प्रत्यारोपण बन्द छ । 

१३ वर्षअघि २००८ डिसेम्बरदेखि वीरले नेपालमा पहिलोपटक मिर्गौैला प्रत्यारोपण सेवा सुचारु गरेको हो । डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सन् २०१२ सम्म आइपुग्दा ९९ वटा प्रत्यारोपण भइसकेका थिए । त्यही वेला भक्तपुरमा ‘मानव अंग प्रत्यारोपण केन्द्र’ स्थापना भएपछि डा. पुकारलाई सरुवा गरिएको थियो । त्यसपछि आठ वर्षमा वीरमा ५५ जनाको मात्र मिर्गौैला प्रत्यारोपण भयो । तर, सेवा बढाउनुपर्नेमा प्रत्यारोपण नै ठप्प गरिएको छ । 

वीरमा आठ वर्षमा ५५ प्रत्यारोपण भए भने त्यही अवधिमा भक्तपुरमा सात सयभन्दा बढी प्रत्यारोपण भएका थिए । डा. पुकारलाई सरकारले अघिल्लो वैशाखमा वीरमा ल्याएको हो । तर, एक वर्षसम्म प्रयास गर्दा पनि प्रत्यारोपणको जिम्मेवारी नपाएकोमा उनी दुःखी छन् । 

‘प्रत्यारोपणका लागि आवश्यक उपकरणहरू थन्किएका छन्, केही आवश्यक भए थप्न पनि सकिन्छ, हामी डाक्टर अस्पताल आउने, हाजिर गर्ने, चिया खाने र फर्कने काम मात्र छ, उता प्रत्यारोपणका लागि बिरामीहरू विभिन्न अस्पताल धाउन बाध्य छन् । यो विडम्बनापूर्ण अवस्था छ,’ उनी भन्छन् । 

वीरमा सन् २००८ मा दोस्रो प्रत्यारोपण गर्दा डा. पुकारको नेतृत्वमा, डा. विजयकुमार शर्मा, डा. दामोदर पोखरेल र भारतबाट सहयोगका लागि आएका सन्दीप गुलेरिया सहभागी थिए । त्यस्तै, नेफ्रोलोजिस्टको रूपमा डा. राजेन्द्र अग्रवाल र डा. रजनी हाडाले सहयोग गरेका थिए । हाडा अहिले वीर अस्पताल युरोलोजी विभागकी प्रमुख छिन् । 

डा. हाडा वीरमा प्रत्यारोपण फेरि सुरु गरेर दुःख पाउने पक्षमा आफू नरहेको बताउँछिन् । ‘मिर्गौला प्रत्यारोपण गर्ने विषय उठेको छ । तर, म चुप लागेर बसेकी छु । चिकित्सक पनि छैनन्, उपकरण पनि छैन, ठाउँ पनि छैन,’ उनले भनिन्, ‘आगामी पुसमा म रिटायर्ड हुँदै छु । योबीचमा सेवा सुरु हुने अवस्था छैन ।’

झापाका ३६ वर्षीय आशिष खनाल वीर अस्पतालमा डायलाइसिस गर्दै, तर प्रत्यारोपणका लागि भने उनी सात महिनादेखि शिक्षण अस्पतालको ‘क्यू’मा छन्

वीरमा अहिले पनि हरेक दिन मिर्गौलाका करिब ७० बिरामी आउँछन् । तर, डा. हाडा नै बिरामी नभएकाले प्रत्यारोपण अघि बढाउन नसकिएको बताउँछिन् । ‘बिरामी भएमा सातामा एउटा प्रत्यारोपण गर्दै आएका थियौँ । प्रत्यारोपण गर्ने बिरामी नपाएकाले वीरको सेवाले गति लिन नसकेको हो । महिनामा चारजनाको प्रत्यारोपण गर्ने क्षमता थियो । बिरामी नपाएर कति समय त्यसै बित्ने गथ्र्यो । अहिले वीरमा प्रत्यारोपण गर्न बिरामी पनि आएका छैनन्, हामीले पनि गराएका छैनौँ,’ उनले भनिन् । 

संसारभरका मेडिकल कलेजले अनुसन्धान र उपचारमा नयाँ–नयाँ उदाहरण स्थापना गर्छन् । तर, डा. हाडाको भने अनौठो तर्क छ । ‘वीर भनेको शैक्षिक संस्था हो, यहाँ नियमित प्रत्यारोपण उपयुक्त हुँदैन । फेरि प्रत्यारोपण भनेको मिर्गौला जोड्ने काम मात्र होइन । नेफ्रोलोजी चिकित्सक एकजना बिरामीको पछि डेढ महिनासम्म लाग्नुपर्छ, हामी अहिले त्यो गर्न सक्दैनौँ,’ उनले भनिन् । 

उता डा. पुकार भने प्रशासनको अनुमति पाए आफूले तीन महिनामा नै वीरमा प्रत्यारोपण सुरु गर्न सक्ने बताउँछन् । ‘अस्पतालले डाक्टरलाई जागिर दिने, तलब दिने, तर काम गर्न नदिने ? मैले त ओपिडीका बिरामीसमेत हेर्न पाएको छैन,’ उनी भन्छन्, ‘विपन्न बिरामीमाथि ठूलो धोका भइरहेको छ । मलाई जिम्मेवारी दिए तीन महिनामा पूर्ण रूपमा प्रत्यारोपण सेवा चलाएर देखाउँछु । कृपया बिरामीको जीवन रक्षा गर्न पाऊँ भन्दा पनि पाएको छैन ।’

डा. पुकारले न्याम्सका उपकुलपति डा. डिएन साह र मन्त्रालयका अधिकारीहरूलाई पनि भेटेर गुनासो गरेको सुनाए । हरेक प्रत्यारोपणबापत सरकारले दिने करिब साढे पाँच लाख अनुदान बिरामी हुँदै अस्पताल आइपुग्छ । त्यो पैसाले बिरामीको ज्यान बच्ने र अस्पताललाई आर्थिक आम्दानी हुने उनको तर्क छ । ‘सेवा सञ्चालन गर्न दिए सातामा चारवटा प्रत्यारोपण गर्न सकिन्छ । मिर्गौला प्रत्यारोपणबापत वर्षमा चार करोड रुपैयाँ अस्पताललाई आम्दानी गराउन सकिन्छ,’ उनको यो प्रस्तावको सुनुवाइ भएको छैन । 

न्याम्सका उपकुलपति डा. डिएन साह भने प्रत्यारोपण सुरु गर्ने पक्षमा भए पनि अहिले पूर्वाधार अभाव भएको गुनासो गर्छन् । ‘मिर्गौला प्रत्यारोपण गर्न नदिने पक्षमा अस्पताल छैन । अझ डा. पुकारचन्द्र श्रेष्ठ त एक राम्रो प्रत्यारोपण शल्यचिकित्सक हो । उहाँ काज फिर्ता भएर वीरमा आउनुभएको लामो समय भयो, तर सेवा सञ्चालन हुन सकेको छैन । प्रत्यारोपणका लागि आवश्यक पर्ने पूर्वाधार व्यवस्थापन नभएका कारण ढिला भएको हो,’ उनी भन्छन् । वीरको नयाँ सर्जिकल भवन तयार भएपछि उहाँलाई सेवा सुरु गर्न दिने सोच भएको उनी बताउँछन् । जब कि उपचार नपाएर बिरामीले हरेक दिन र हरेक मिनेट कष्टपूर्ण रूपमा काटिरहेका छन् ।

नेपालमा हरेक वर्ष करिब तीन हजारको मिर्गौला फेल हुने गरेको सरकारी अनुमान छ । सबैको नसके पनि ५० प्रतिशत अर्थात् १५ सयजनाको प्रत्यारोपण गर्न सके ठूलो उपलब्धि हुने उनको बुझाइ छ । तर, सरकारी अस्पतालमा अहिले भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र र शिक्षण अस्पतालमा मात्र प्रत्यारोपण हुन्छ । 

वीरमा छुट्टै सर्जिकल भवन भएकाले भक्तपुरमा भन्दा धेरै बिरामीको प्रत्यारोपण गर्न सकिने उनको भनाइ छ । ‘हरेक दिन बिरामी आउँछन्, बचाइदिनोस् डाक्टर साव भन्छन्, तर मेरा हात बाँधिएका छन्,’ डा. पुकार भन्छन् । 

वीर अस्पतालले अनुमति नदिएपछि श्रेष्ठले ट्रमा सेन्टरमा शनिबार दुईवटा प्रत्यारोपण गरिपाऊँ भनेर पनि अनुरोध गरेका थिए । ‘ट्रमा सेन्टरमा प्रत्यारोपण गर्नु झन् वैज्ञानिक हो, दुर्घटनामा परेर ब्रेनडेथ भएकाहरूको मिर्गाैला प्रत्यारोपण गर्ने प्रणाली विकास गर्न सकिन्छ । त्यो पनि मैले शनिबार मात्र मागेको हुँ,’ उनले भने । तर, ट्रमामा पनि उनले अनुमति पाएनन् । 

सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण भएमा विपन्न वर्गले उपचार पाउने, उपचारका लागि भारत जानु नपर्ने भन्दै चिकित्सकहरूले अस्पतालसँग सेवा सञ्चालनमा ल्याउन आग्रह गरे पनि सुरु हुन नसकेको बताउँछन्, डा. श्रेष्ठ । उनी भन्छन्, ‘मैले अस्पतालको सम्बन्धित पदाधिकारीहरूलाई कोरोनाबाहेक अन्यलाई जुनसुकै समयमा पनि प्रत्यारोपण सेवा दिन सक्छु भनेर प्रपोजल बुझाएको छु, तर म जिम्मेवारीविहीन भएकाले वीरको प्रत्यारोपणबारे अहिले के भइरहेको छ भन्ने जानकारी छैन ।’

यदि सरकारी अस्पतालले भएको उपकरण मात्रै प्रयोग गरेर मिर्गौला प्रत्यारोपण सुचारु गरेमा वार्षिक अर्र्बौँ रुपैयाँ बच्ने बताउँछन्, डा. श्रेष्ठ । भन्छन्, ‘अहिले आधाभन्दा धेरै बिरामी उपचारका लागि भारत गइरहेका छन्, विपन्न नागरिक निजीमा उपचार गर्न नसकेर मरिरहेका छन् । अहिलेको समयमा कोभिडका कारणले केही अप्ठ्यारो भइरहेको छ, तर अघिल्लो लकडाउनपछि मात्रै पनि वीरमा सेवा उपलब्ध भएको भएमा कम्तीमा सयजनालाई सेवा दिन सकिन्थ्यो ।’ 

वीरले सञ्चालनमा ल्याउन लागेको नयाँ सर्जिकल भवनमा मिर्गौला प्रत्यारोपणका लागि वार्ड बनाउने आश्वासन दिएको बताउँछन् चिकित्सक । अस्पतालमा रहेका पुराना उपकरण बिगे्रकाले नयाँ उपकरण उपलब्ध भएमा प्रत्यारोपण सेवा सुचारु गर्ने योजना रहेको अस्पतालले जनाएको छ । 

मिर्गौला प्रत्यारोपणका वरिष्ठ चिकित्सकलाई वीरमा सरुवा गरेपछि मानव अंग प्रत्यारोपणमा एक वर्षमा जम्मा २५ वटा मिर्गौला प्रत्यारोपण भएका छन्, जसमध्ये चारवटा प्रत्यारोपण फेल हुँदा दुईजनाको मृत्यु भएको छ । जुन भक्तपुरको मानव प्रत्यारोपण केन्द्र सञ्चालनमा आएपछि फेल हुनेको संख्या सबैभन्दा बढी प्रतिशत हो । 

आशिष खनाल, वर्ष ३६ । पसिना बगाउन र धन कमाउन भन्दै दुबई गएका थिए । तर, दुवै मिर्गौला फेल भएपछि फर्कन बाध्य भए । प्रत्यारोपणका लागि निजी अस्पतालमा जान उनीसँग पर्याप्त पैसा छैन । सरकारी अस्पतालको झमेलाले उनलाई निराश बनाएको छ । 

उनी एक वर्षदेखि वीर अस्पतालमा डायलाइसिस गराइरहेका छन् । तर, प्रत्यारोपणका लागि हारगुहार गर्न शिक्षण अस्पताल जानुपर्छ । ‘वीरमा पहिले प्रत्यारोपण सुविधा थियो, तर अहिले बन्द गरिएको रहेछ । प्रत्यारोपण गर्ने डाक्टर पनि छन्, तर सरकारले प्रबन्ध नगरेकाले अप्रेसन सुरु भएको छैन,’ आशिषले भने, ‘देशको सबैभन्दा पुरानो र ठूलो अस्पतालमा प्रत्यारोपण बन्द गर्नुको स्वार्थ के होला ? सकेसम्म निजीमा जाऊन् भन्ने होला, तर हामीसँग त्यत्रो पैसा छैन ।’

आशिषले गत वर्ष असोजदेखि मिर्गाैला प्रत्यारोपण गर्न प्रयास गरिरहेका छन्, तर पालो नपाएपछि उनको डायलाइसिस लम्बिँदै गएको मात्र छैन, स्वास्थ्य पनि प्रतिकूल बन्दै गएको छ । ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले मैले छिटोभन्दा छिटो प्रत्यारोपण गरिदिन शिक्षण अस्पतालमा बिन्ती गरेको थिएँ, तर सात महिनापछिको मात्र पालो पाएँ,’ उनले भने, ‘वैशाखमा प्रत्यारोपण हुने भनिएको थियो, त्यतिवेला निषेधाज्ञा भइदियो ।’ सरकारले प्रत्यारोपण सेवालाई अझ फराकिलो बनाएको भए आफूजस्ता बिरामीले यस्तो प्रतीक्षा गर्नुपर्ने थिएन भन्ने उनलाई लाग्छ । 

आशिषलाई सातामा तीनपटक डायलाइसिस गर्नुपर्छ । दाजुको जीवन बचाउन बहिनी अघि सरेकी छिन् । ‘मलाई मिर्गौला दिन बहिनी तयार छिन्, जसोतसो पैसा जम्मा गरेर राखेको छु । वीर अस्पतालमै पनि डा. पुकार श्रेष्ठजस्ता विशेषज्ञहरू छन्, उहाँले अनुमति पाए अप्रेसन गर्छु भन्नुभएको छ,’ उनी भन्छन्, ‘तर, अस्पतालले प्रत्यारोपण सेवा डेढ वर्षदेखि बन्द गरेको छ । टिचिङमा लगातार सात महिनासम्म आग्रह गर्दा पनि भएन, निजीमा जान मसँग आर्थिक हैसियत छैन ।’ 

आशिषले अहिले दोस्रोपटक प्रत्यारोपणका लागि प्रयास गरेका हुन् । आठ वर्षअघि मानव अंग प्रत्यारोपण केन्द्रमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । ‘प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या भयो, डाक्टरले छिटो प्रत्यारोपण गर्नुपर्छ भन्छन्, तर अस्पतालमा पालो पाइएन,’ उनको दुःखेसो छ । 

वीर अस्पतालले डायलाइसिस निःशुल्क गरिरहेको छ । ‘तर, आवश्यक औषधि र रगतका लागि दिइने सुईका लागि महिनामा १० देखि १५ हजार रुपैयाँ खर्च हुन्छ । यो पैसा नियमित कसरी जुटाउने ? काठमाडौंमा नियमित कसरी बस्ने छ ?’ झापा स्थायी घर भएका उनको प्रश्न छ । ‘म पनि प्रधानमन्त्री ओलीको भोटर हुँ, सरकारी अस्पतालमा सकेको पैसा तिर्छु, मिर्गाैला प्रत्यारोपण गरिदिनुस् भन्दा पनि पाएको छैन । साताको तीन दिन डायलाइसिस गरेर कति दिनसम्म बाँच्छु, ? यो प्रश्नमा उहाँले सोचिदिए मजस्ता धेरैको जीवन रक्षा हुने थियो ।’

केदार पुडासैनीले साढे दुई वर्षदेखि नियमित डायलाइसिस गराउँदै आएका छन् । मिर्गौला प्रत्यारोपणका लागि उनको प्रयास पनि अहिलेसम्म सफल भएको छैन । सातामा तीन दिन अस्पताल जानुपर्ने बाध्यता छ, तर निषेधाज्ञाले उनलाई झन् पीडित बनाएको छ । 

सरकारी अस्पतालले नियमित डायलाइसिस सेवा दिइरहे पनि औषधि र बसाइ खर्चले हामी पिरोलिएका छौँ । ‘टिचिङ र मानव प्रत्यारोपण अस्पतालमा हामीले पालै पाउँदैनौँ, वीरले जनशक्ति हुँदाहँुदै पनि सेवा दिइरहेको छैन । हामीले पटक–पटक आवाज उठाएका छौँ, तर न अस्पताल प्रशासनले सुन्छ, न स्वास्थ्य मन्त्रालयले,’ उनी भन्छन् । 

राजु तुलाधार त २५ वर्षदेखि नियमित डायलाइसिसमा छन् । कानुन र स्वास्थ्य अवस्था मिल्ने ‘डोनर’ नभेटिएकाले २५ वर्षदेखि उनी नियमित डायलाइसिसमा छन् । 

मिर्गौलाको उपचार गर्दागर्दै घर गुमाएका असनका रैथाने उनी अहिले परिवारसहित भाडामा बस्न थालेका छन् । अहिले महामारीले उनलाई समस्या थपिदिएको छ । ‘हामी कोभिडको उच्च जोखिममा छौँ, नियमित अस्पताल जाँदा पनि संक्रमणको डर छ । चार घन्टा डायलाइसिस गराएपछि जम्मा दुई दिन बाँचिन्छ, फेरि तेस्रो दिन त डायलाइसिस गर्नैप¥यो,’ उनी आफूजस्तै सबैको कथा सुनाउँछन् । 

विपन्न नागरिकका लागि नेपालभरि ६२ अस्पतालमा निःशुल्क डायलाइसिस सेवा उपलब्ध छ । तर, बिरामीले औषधि र सुई गरेर महिनामा १५ हजार खर्च गर्नुपर्छ । गाउँका बिरामी सहरमा बस्नुपरे आर्थिक बोझ झन् धेरै हुन्छ । तर, यही परिवेशमा पाँच हजार आठ सय ९६ विपन्न बिरामीले सेवा लिइरहेका छन् । 

निषेधाज्ञापछि देशैभर मिर्गौला प्रत्यारोपण सेवा पनि बन्द भएकाले प्रत्यारोपणका लागि कुरिरहेका बिरामी डायलाइसिसको भरमा छन् । वरिष्ठ मिर्गाैलारोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गौलाका बिरामी कोभिडले सिकिस्त भएमा जीवन रक्षा गर्न गाह्रो हुन्छ । ‘कोभिडका बिरामीले नियमित डायलाइसिस सेवा पाउन मुस्किल भइरहेको छ, कतिले पाएकै छैैनन् । योसँगै प्रत्यारोपण पनि बन्द भएकाले मिर्गौलाका बिरामी झन् मारमा परेका छन्,’ डा. श्रेष्ठ भन्छन् । 

निषेधाज्ञामा प्रत्यारोपण सेवा बन्द हुनु, कोभिड संक्रमितले डायलाइसिस सेवा सहज रूपमा नपाउनु, कोभिड संक्रमणका कारण मिर्गौलामा समेत जटिल समस्या देखिनुले समस्या थपिएको उनको भनाइ छ । भन्छन्, ‘मानव अंग प्रत्यारोपणमा रहँदा वर्षमा दुई सयभन्दा बढी प्रत्यारोपण गर्दै आएको थिएँ, अहिले त्यहाँ डेढ वर्षसम्म जम्मा २५ वटा मात्रै प्रत्यारोपण भएका छन् । यही वेला वीरमा डेढ वर्षदेखि मिर्गौला प्रत्यारोपण सेवा बन्द छ । टिचिङमा पनि गति बढेको छैन । सरकारी अस्पतालहरूले प्रत्यारोपणको दर घटाउँदा विपन्न नागरिक मर्कामा छन् ।’

......

स्ट्यान्डअप कमेडियनको आँसुमा झल्किन्छ देशको स्वास्थ्य प्रणाली

वीरगन्ज महानगरपालिका– ३२ विद्यानगरका ५० वर्षीय मिर्गाैला बिरामी विनोद मिश्रा चार वर्षदेखि साताको दुई दिन नेसनल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी)मा डायलाइसिस गर्दै आएका थिए । तर, केही साताअघि उनमा कोरोना संक्रमण देखियो । त्यसपछि भने अस्पतालले डायलाइसिस मानेन, नारायणी अस्पतालमा लग्न भन्यो । 

छोरा आदर्श मिश्राका अनुसार त्यसपछि नारायणी अस्पतालमा डायलाइसिस गर्न थालियो । तर, अस्पतालको लापरबाहीका कारण बिरामीको स्वास्थ्यमा समस्या आएपछि केही दिनअघि उनलाई भरतपुर अस्पताल पु¥याइयो । त्यहाँ उपचारकै क्रममा मंगलबार बिहान विनोदको मृत्यु भयो । 

‘डायलाइसिस गराउँदै आएका बिरामीलाई गैरजिम्मेवार ढंगले सेवा दिन छाड्यो । एनएमसीले मेरो बाबाको ज्यान लियो,’ छोरा आदर्श मिश्राले नयाँ पत्रिकासँग भने । उनका अनुसार दुई हप्ताअघि डायलाइसिस गर्न जाँदा ‘एचपिओ टू’  छ भन्दै अस्पतालले सेवा दिन मानेन । ‘जब कि चार वर्ष बाबाले यही अस्पतालमा डायलाइसिस गराउँदै आउनुभएको थियो । अहिले मैले बाबा गुमाउनुमा एनएमसी र नारायणी अस्पताल जिम्मेवार छन् ।’

डायलाइसिस गर्दा पनि अस्पतालले लापरबाही गर्ने गरेको आदर्शको आरोप छ । एउटै डाइलोजरले पटक–पटक डायलाइसिस गर्ने गरेको उनले बताए । ‘कमिसनका लागि एउटा डाइलोजरले मेरो बाबाको १२ वटासम्म डायलाइसिस गरेका छन् । आठ–नौवटा गर्ने त कति हो कति । मसँग सबै लिस्ट छ,’ उनले भने । गत वर्ष नारायणी अस्पतालमा कोरोना वार्ड बनाउँदा त्यहाँका बिरामीलाई एनएमसीमा सिफ्ट गरेको थियो । लापरबाहीकै कारण त्यहाँ एक महिनामा पाँच बिरामीले ज्यान गुमाएको आदर्शले बताए । 

रौतहटको गुजरा नगरपालिका– ४ कनकपुरकी १७ वर्षीया मिर्गौला विरामी किशोरीको पनि सोमबार राति उपचार नपाएर ज्यान गएको छ । वीरगन्जका अस्पतालहरू घुमाउँदा–घुमाउँदै एम्बुलेन्समा नै उनको मृत्यु भएको हो । 

परिवारका सदस्यहरूका अनुसार किशोरीलाई सुरुमा गण्डकस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा लगिएको थियो । आधा घन्टा अनुनय गर्दा पनि अस्पतालले भर्ना नलिएपछि बसपार्कनजिकैको भवानी हस्पिटलमा पु¥याइयो । तर, भवानी हस्पिटलले पनि भर्ना नगरी पठाइदियो । त्यसपछि नारायणी अस्पतालमा लगियो । नारायणीले नेसनल मेडिकल कलेजमा पठायो । 

नेसनलका चिकित्सकले बाटोमै किशोरीको मृत्यु भइसकेको बताए । उपचार अभावमा किशोरीको मृत्यु भएको भन्ने खबरले आफू स्तब्ध भएको एनएमसी कोभिड अस्पतालका चिकित्सक डा. प्रवेज आलमले बताए । 

मिर्गौला बिरामीमा कोरोना संक्रमण देखिएपछि निजी अस्पतालहरूले डायलाइसिस गर्न नमानेको पीडितहरू बताउँछन् । जसले गर्दा कतिपय बिरामीले अकालमा ज्यान गुमाउनुपरेको छ । एनएमसीले भने मिर्गौला बिरामीको नियमित डायलाइसिस गरिरहेकोे दाबी गरेको छ । अस्पतालमा रहेका ११ वटा डायलाइसिस मेसिनलाई २४सै घन्टा सञ्चालनमा राखेर सेवा दिँदै आएको अस्पतालका निर्देशक डा. प्रमोद सर्राफले बताए । अहिले ५० बिरामीको नियमित डायलाइसिस भइरहेको उनको भनाइ छ । 

कोरोना संक्रमण देखिएका मिर्गौलाका बिरामीलाई स्थानीय प्रशासनकै सहमतिमा नारायणी अस्पतालमा डायलाइसिसका लागि पठाइँदै आएको डा. सरार्फले बताए । तर, संक्रमण देखिएका बिरामीलाई नारायणीमा पठाउँदा त्यहाँ पनि डायलाइसिस गर्नेको चाप बढेको छ । ‘बिरामी थपिएपछि स्वाभाविक रूपमा चाप बढेको छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधानले भने । 

अस्पतालमा भौतिक संरचना, जनशतिm र उपकरण नहुँदा उपचारका लागि आउने बिरामीहरूलाई समस्या हुन थालेको छ । सरकारले मिर्गाैलाका बिरामीलाई डायलाइसिस निःशुल्क गराए पनि चापअनुसारको उपकरण नभएको अस्पतालले जनाएको छ । 

गत वर्षदेखि ६ वटा डायलाइसिस मेसिन सञ्चालनमा ल्याएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरज सिंहले बताए । उनका अनुसार दुईवटा मेसिन कोरोना संक्रमितलाई डायलाइसिस गर्न छुट्याइएको छ । त्यसमा एउटा मेसिन बन्द छ । सामान्य बिरामीका लागि छुट्याएको चारमध्येका तीनवटा मात्र सञ्चालनमा छन् । डा. सिंहका अनुसार बन्द रहेको मेसिन सञ्चालनमा ल्याउन उपकरण खरिदको प्रक्रिया अगाडि बढाइएको छ ।