![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/vet2021-05-20-04-08-12.jpeg)
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी अर्थमन्त्री ओमर अयुव खानसँग बिहीबार शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा दुई देशबीच सम्भावित सहकार्य, कोभिड– १९ को अवस्था, द्विपक्षीय सम्बन्धबारे छलफल भएको थियो ।
राजदूत अधिकारीका अनुसार भेटमा द्विपक्षीय सम्बन्ध, अर्थमन्त्रीस्तरीय नेपाल–पाकिस्तान संयुक्त आयोग तथा कोरोना महामारीका विषयसहित सहकार्यका सम्भावित क्षेत्रमा कुराकानी भएको छ । अधिकारीले दुई देशबीच अर्थमन्त्रीस्तरीय बैठक नेपालले आयोजना गर्ने पूर्ववत् सहमतिअनुसार अर्थमन्त्री खानलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका छन् ।
दुई महिनापछि आयोगको बैठक बस्ने विषयका दुई देशबीच छलफल भइरहेको छ । पाकिस्तानी मन्त्रीले नेपालप्रति सद्भाव व्यक्त गर्दै सकेको सहयोग गर्ने आश्वासनसमेत दिएका छन् ।