वीर र शिक्षणका अत्याधुनिक भवनमा तत्काल चलाउन सकिने ४७० बेड अलपत्र
दुई अर्ब २६ करोडमा वीरमा ६५० बेडको सर्जिकल भवन बनेको छ । त्यस्तै, शिक्षणमा पनि आठ तलाको क्यान्सर भवन बनेको छ । वीरमा तत्काल २७० र शिक्षण दुई सय बेड सञ्चालन गर्न सकिने भए पनि सरकारले ध्यान दिएको छैन ।
सामाजिक संस्थाले बनाएको आइसोलेसन केन्द्रमा रिबन काट्न पुगे उपप्रधानमन्त्री
मारवाडी सेवा समितिले गौशालामा बनाएको ५१ बेडको आइसोलेसन केन्द्र उद्घाटन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल
......
१. अक्सिजनसहित वीर र शिक्षण अस्पतालका बेड चलाउन चिकित्सकहरूको माग, सरकार मौन
२. महामारीबीच पनि प्रमुख अस्पतालमा अक्सिजन प्लान्ट एक वर्षसम्म किन बनेनन् ? जवाफदेहिता शून्य
३. भैरहवा, बुटवल, नेपालगन्ज, टीकापुर र ट्रमा सेन्टरमा अनाहकमा जीवन गए, जिम्मेवार को हो ? अबको प्रत्याभूति के हो ?
४. ३० अर्बमा चुनाव गराउन तयार सरकारले अस्पतालमा जनरल बेडसमेत किन थपेन ?
......
कोभिडविरुद्ध दुनियाँले संघर्ष थालेको १७ महिना भयो, नेपालले पनि तयारी थालेको १५ महिना भयो । कोभिड शीर्षकमा गत वर्ष १२ अर्ब खर्च गरेको सरकारले यो वर्षको बजेटमा पनि ६ अर्ब विनियोजन गरेको छ । पर्याप्त समय र स्रोत भएर पनि तयारीमा सरकार कति संवेदनशील थियो भन्ने बुधबारको एउटा तस्बिरले प्रस्ट पार्छ । राज्यको ढुकुटीको दुई अर्ब २६ करोड खर्च गरेर वीर अस्पतालमा ६ सय ५० बेडको अत्याधुनिक सर्जिकल भवन बनेको छ । शिक्षण अस्पतालमा पनि सुरेश वाग्ले स्मृति क्यान्सर भवनको नाममा दुई सय बेड क्षमताको अत्याधुनिक पूर्वाधार खडा भएको छ । वीरको नयाँ भवनमा दुई सय ७० र शिक्षणमा दुई सय बेड तत्कालै सञ्चालन गर्न सकिने भनेर स्वास्थ्य मन्त्रालयले प्रतिवेदनसमेत दिएको छ । बिरामीलाई भुइँमा राखेर उपचार गर्न बाध्य चिकित्सकहरूले पनि यी बेड सञ्चालन गर्न र त्यसका लागि अक्सिजन व्यवस्था गर्न सरकारलाई पटक–पटक अनुरोध गर्दै आएका छन् । तर, सरकारी पूर्वाधार अलपत्र नै राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार मारवाडी समाजले स्वतस्फुर्त तयार पारेको ५१ बेडको आइसोलेसन केन्द्र उद्घाटन गरेका छन् । स्मरणीय छ, कोभिड संकट व्यवस्थापन केन्द्रको संयोजक पोखरेल नै हुन् ।
कैलालीको टीकापुर अस्पतालमा गत २७ र २८ वैशाखमा अक्सिजन सकिएर १२ जना संक्रमितको ज्यान गयो । भोलिपल्ट २९ वैशाखमा महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा पनि अक्सिजन सकिएर पाँचजनाको मृत्यु भयो । सोही दिन अक्सिजन अभावकै कारण नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ६ संक्रमितले ज्यान गुमाए । बिहान आठ बजेदेखि करिब आधा घन्टा अक्सिजन आपूर्ति बन्द हुँदा छटपटिँदै बिरामीको जीवन समाप्त भयो । त्यही दिन अक्सिजन आपूर्ति बन्द भएपछि रुपन्देहीमा नौजनाले ज्यान गुमाए । बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा पाँच र भैरहवाको भीम अस्पतालमा उपचाररत चारजनाले ज्यान गुमाएका थिए । भीम अस्पतालमा १५ मिनेटमा चारजनाको ज्यान गयो । विपत् त्यहीँ रोकिएन, राजधानीमा पनि देखियो । ३० वैशाखको राति राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन सकिएपछि बिरामी र कुरुवाको रुवाबासी मच्चियो । चिकित्सकहरू पनि भयभीत भए । सेन्टरका निमित्त निर्देशक डा. सन्तोष पौडेल अक्सिजनको खोजीमा रातभर उद्योग घुमे, तर पाएनन् । अन्ततः अक्सिजन अभावका कारण त्यो राति ट्रमा सेन्टर र वीर अस्पतालमा १४ बिरामीले ज्यान गुमाए । स्मरणीय छ, त्यसबीचमा अक्सिजन आपूर्ति तथा वितरणको सम्पूर्ण जिम्मेवारी सिसिएमसीले लिएको थियो । यसरी उन्नत उपचार होइन, न्यूनतम अक्सिजनसमेत नपाएर तीन दिनमा सयजनाको ज्यान गयो । यति ठूलो मानवीय क्षतिपछि पनि सरकारी तयारीको समीक्षा नगरी, पूर्वाधार निर्माण र परिचालनको विषयमा स्पष्ट रणनीति नबनाई उपप्रधानन्त्री पोखरेलले सामाजिक संस्थाले बनाएको आइसोलेसन केन्द्रलाई पनि उद्घाटन गर्न आवश्यक ठानेका छन् ।
महामारी सुरु हुनुअघि र पछि देशका प्रमुख अस्पताल वीर, पाटन, पोखरा र धरानमा अक्सिजन प्लान्ट बिग्रिए । तर, सरकारले एक वर्षसम्म बनाउन पहल गरेन । अहिले ती अस्पतालसहित देशैभरि अक्सिजनको चरम अभाव छ । अक्सिजन नपाएर जनता छटपटाउने र अनाहकमा ज्यान जाने स्थिति आयो । ती अस्पतालका प्लान्ट चलेको भए बाहिरका उद्योगको अक्सिजन अन्य अस्पतालमा पठाउन सकिन्थ्यो र जनताको जीवन जोगाउन सकिन्थ्यो । तर, भएका सरकारी पूर्वाधार सदुपयोग नगर्ने र यत्रो महामारीमा पनि पूर्वाधार थप्न पूर्वतयारी नगर्ने सामाजिक संस्थाले आफ्नो बलबुताले बनाएको आइसोलेसन केन्द्र उद्घाटन गर्न कैँची लिएर पुगेका छन् । संक्रमितहरू पाएसम्म अस्पताल जान्छन्, नपाए यस्तै आइसोलेसन केन्द्रमा जान्छन् । त्योभन्दा उच्चस्तरको तयारी गर्ने जिम्मेवारी पाएका सरकारका अगुवा आइसोलेसन केन्द्र उद्घाटन गर्न हिँडेका छन् ।
अक्सिजन अभाव भएको भन्दै गत साता मात्रै राजधानीकै मेडिसिटी, ओम, मेडिकेयर, नेपाल–भारत मैत्री, दीर्घायु, हेल्पिङ ह्यान्ड्स, मध्यपुर र नेपाल मेडिकल कलेज तथा भैरहवाको युनिभर्सल मेडिकल कलेजले सार्वजनिक विज्ञप्ति जारी गरेर बिरामी भर्ना बन्द गरेका थिए । यी अस्पतालले अक्सिजनको थप अभाव भएकाले बेडमा भएका बिरामीलाई पनि डिस्चार्ज गर्न दबाब पनि दिए । यो अवस्था ट¥यो भनेर अझै निश्चित भएको छैन ।
३० अर्ब खर्च गरेर चुनाव गराउन तयार सरकारलाई भेन्टिलेटर, आइसियू, एचडियूको व्यवस्था गर्न बजेटको कुनै कमी थिएन । तर, अस्पतालमा जनरल बेडसमेत नपाएर बिरामी बेन्चमा, बरन्डामा, शवगृहको पेटीमा समेत पल्टिनुपर्ने अवस्था आएको छ । भेन्टिलेटर त परैको कुरा, अस्पतालको बेडसमेत नदेखी र अक्सिजनसमेत नपाई बिरामीको ज्यान गइरहेको समाचार तस्बिरसहित प्रकाशित भइरहेका छन् । तर, यो विषयमा गम्भीर रणनीति बनाउन सरकारले फेरि पनि ढिलाइ गरेको छ ।