‘लमहाें ने खता कि थी, सदियों ने सजा पाइ है’
(कसैको केही सेकेन्डको गल्तीले हजारौँ वर्षसम्म सजाय भोग्नुपर्याे ।) – मलाई यी शब्दहरू याद आइरहेछन् । शब्दहरू हिन्दी छन्, तर अहिलेको नेपालको विवशता, दुुःख, मानसिक तनाव र आँसुु देखेर लाग्छ, यो हामीलाई नै इंगित गरेर भनिएको हो । राजनीतिक नेताहरूले एक सेकेन्ड मनपरी गर्छन् वा बोल्छन् र हजारौँ नेपालीले लामो समय दुःख पाउँछन् ।
पाँच हजारभन्दा धेरै मानिसको कोरोना र कोरोनासिर्जत जटिलताबाट मृत्यु भएपछि ओली बालाई ज्ञान फुरेको छ– ‘मैले कोरोना भनेको केही होइन, नेपालीको रोगसँग लड्ने शक्ति धेरै छ, त्यसैले कोरोनाले छुँदैन भनेको गलत रहेछ ।’
जनस्वास्थ्यविज्ञले भनेकोलाई बेवास्ता गर्दै ‘कोरोना केही होइन’ भन्दा नेपाली समाजमा मच्चिएको हाहाकारले सायद अझै नेताहरूलाई छुन सकेको छैन । पाँच हजारभन्दा बढीको मृत्यु अस्पतालहरूबाट आएको तथ्यांक हो । अस्पताल नै आउन नपाएर, अस्पताल नभएर, पैसा नभएर, सडक नभएर घरमा नै कोरोनाको कारणले जटिलता भएर मरेका मानिसको तथ्यांक हामीसमक्ष कहिल्यै आउनेछैन । घोडाको आँखामा पट्टी बाँधेपछि केवल सीधा बाटो हिँड्छ, वरिपरि केही देख्दैन, त्यसैले प्रधानमन्त्रीले केवल ‘बेसार खाऊ, बेसार खाऊ’ भनिरहे । उनले कोरोनाको संक्रमण र जटिलतापछि बिरामीलाई के आवश्यक पर्छ भन्ने जनस्वास्थ्यविज्ञबाट सुन्न चाहेनन् ।
कोरोनाको पहिलो लहर केही सहज भएपछि प्रम ओलीलाई लाग्यो, ‘अब त जितियो’ । अनि उनी ‘भगवान्’ खुसी पार्नतर्फ लागे । ५१ करोडको सुनको जलप पशुुपतिलाई चढाए । भगवान्ले ‘नेपाली जनतालाई कोरोनाबाट मुक्ति दिलाउँछन्’ भन्ने उनलाई लागेको थियो सायद । प्रमले विज्ञानलाई पर धकेले, विज्ञको विचार सुनेनन् । बरु ‘रामलीला’लाई स्वागत गर्न लागे । उनले नेपालीहरू प्राणवायु अक्सिजनको कमी भएर एक अस्पतालबाट अर्को अस्पताल भौँतारिँदा पनि ‘सबै ठीक छ’ भन्ने सन्देश दिइरहे । तराईका दलितहरू कोरोनाको जटिलता भएर अस्पताल नै जान नसक्दा घरमा नै मरेको समाचार सुन्न उनले भ्याएका छैनन् । सुदूरपश्चिम र कर्णालीमा गर्भवतीहरू कोरोनाको कारण घरमै मरेको समाचार पढ्न पनि उनले भ्याएका छैनन् । त्यसैले उनलाई लाग्छ, विज्ञ र आमसञ्चारले बढाइचढाई भन्छन् । त्यसैले उनी भन्छन्, ‘मलाई सुन, मलाई सब थाहा छ ।’
सही समाचार दिने पत्रकारसँग उनी रिसाउँछन्, तथ्य–सत्य बोल्ने विज्ञलाई उनी बहिष्कार गर्छन् । उनलाई आफैँ ‘कोरोनाविज्ञ’ हुने लोभ चढेको किन हो ? उनको पालामा एकैचोटि ३९६ अस्पताल खोलिने भनेर शिलान्यास भए, अर्बौं रुपैयाँ त्यसका लागि छुट्याइयो भनिएको छ । तर, अस्पतालको शिलान्यास गरेर ‘पूजा’ गरेको खाल्डोमा अहिले फोहोर र पानी भरिएको छ भनेर उनलाई भन्ने साहस सायद कसैले गर्नेछैन ।
नेपालका जनस्वास्थ्यविज्ञले बुझेको के हो भने ‘नेपाली महिलाहरू कुपोषण र रक्तअल्पताले ग्रस्त छन्, त्यसैले सुत्केरी हुँदा मर्छन् । बालबालिकाहरू कुपोषणले गर्दा पुड्का छन्, कुपोषणले उनीहरूको रोगसँग लड्ने शक्ति क्षीण गराएको छ ।’
हो, कोरोनाको संक्रमण भएर जटिलता भएका सबैलाई बचाउन अवश्य सकिँदैनथ्यो । तर, झिंगा मरेझैँ नेपाली जनताले मर्नुुपर्ने अवस्थाचाहिँ पक्कै हुने थिएन । मृत्यु यति सस्तो र पीडादायी हुने थिएन, गरिब नेपाली जनको आँसुले विश्वलाई द्रवीभूत गराउने थिएन, विश्वको आमसञ्चारमा नेपाली जनताको मूल्यहीन मृत्युको कथा लेखिनुपर्ने थिएन सायद ।
‘नेपाली जनताको रोगप्रतिरोधात्मक शक्ति धेरै छ’ भनेर ओलीलाई कुन विज्ञले भने होलान् ? कुन चिकित्साविज्ञान पढ्ने कलेजमा यस्तो ज्ञान पढाइन्छ होला ? यो हामीलाई थाहा हुन सकेन । नेपालका जनस्वास्थ्यविज्ञले बुझेको के हो भने ‘नेपाली महिलाहरू कुपोषण र रक्तअल्पताले ग्रस्त छन्, त्यसैले सुत्केरी हुँदा मर्छन् । बालबालिकाहरू कुपोषणले गर्दा पुड्का छन्, कुपोषणले उनीहरूको रोगसँग लड्ने शक्ति क्षीण गराएको छ । त्यसैले निमोनिया, श्वासप्रश्वास र झाडापखालाले पीडित हुन्छन्, कति मर्छन् पनि । नेपालमा क्षयरोगबाट मर्ने मानिसको संख्या धेरै छ । जसको प्रमुख कारण कुपोषण र रोगप्रतिरोधात्मक शक्ति कम हुनु हो । नेपालमा औलोबाट पीडित भएर रगतको कमी हुन्छ, औलोको औषधि नपाएर पनि कैयौँ मर्छन् ।’ यिनै हुन् वैज्ञानिक तथ्य । यी तथ्य र तथ्यांक पनि स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविज्ञले नै निकाल्छन्, तर ओलीले यस्ता वैज्ञानिक तथ्यांकमाथि ध्यान दिन सक्दैनन् वा चाहँदैनन् र चुट्की बजाएर भन्छन्, ‘भो पर्दैन, नेपालीलाई कोरोनाले संक्रमण गर्दैन, किनभने नेपालीको रोगसँग लड्ने शक्ति छ ।’
ओलीलाई कसैले त भनिदिनुपर्ने कि रगतको कमी भएपछि रोगसँग लड्ने शक्ति कम भइहाल्छ, त्यसैले सुत्केरी आमा मर्छन् । रोगसँग लड्ने शक्ति कम भएपछि ‘क्षयरोग’ले आक्रमण गर्छ, रोगसँग लड्ने शक्ति कम भएकैले बच्चा बिरामी हुन्छन् र मर्छन् पनि । यस्ता समाचार सायद बालुवाटारसम्म आइपुग्दैनन् क्यारे । त्यसैले बालुवाटारका नेताले ‘सबैतिर सुन्दर नै देख्छन्, स्वस्थ नै देख्छन् र भनिदिन्छन्, ‘नेपालीको प्रतिरोधात्मक शक्ति बढी छ । बेसार खाऊँ, कोरोना भगाऊँ ।’
नेपाल र भारतमा सरकार प्रमुखहरू जिम्मेवार भएनन् । उनीहरूले वैज्ञानिक र जनस्वास्थ्यविज्ञलाई सुनेनन् । भेला, सभा, समारोह नगर्नू भन्दाभन्दै पालना गरेनन् । भारतमा महामारीले त्यत्रो बिकराल रूप लिइसक्दा पनि नेपालमा प्रधानमन्त्री ओलीले मानिसहरूको भिड जम्मा गर्न छोड्नुभएन । जसका कारण आममानिसमा संक्रमण तीव्र गतिमा फैलियो । भारतमा पनि त्यहाँका प्रधानमन्त्री मोदीले यस्तै गरेका थिए । कुम्भमेलालगायत मानिस भेला हुने गतिविधि नगर्न जनस्वास्थ्यविज्ञहरूले पटक–पटक गरेको आग्रह र चेतावनीलाई मोदीले सुन्नै चाहेनन् । त्यसैले भारत र नेपालमा अहिलेको अवस्था आयो । भारतमा त्यत्रो संकट सिर्जना भएको थाहा पाउँदापाउँदै पनि नेपालका प्रधानमन्त्री सार्वजनिक कार्यक्रम गर्दै र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको उल्लंघन गर्दै हिडिँरहनुभएको थियो । मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्ति नै गैरजिम्मेवार बनेपछि आमसर्वसाधारणसँग मात्रै यी सबै अपेक्षा गर्न सकिँदैन । त्यसै पनि हाम्रोजस्तो मुलुकमा रोजिरोटीकै लागि मानिसहरू साँझबिहान दगुरिराख्नुपर्ने र्आिर्थक अवस्था हुन्छ । न्युजिल्यान्डलगायत केही मुलुकको उदाहरण हेर्न सकिन्छ, जहाँ राज्य अनुशासनमा बस्यो, राज्यले आमनागरिकका आधारभूत आवश्यकताका बारेमा ध्यान पु¥यायो । त्यसैले, त्यहाँका नागरिकले राज्यले गरेको आग्रहलाई सहजै स्वीकार गरे । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन राज्य निर्देशन दिएर मात्रै बसेन, नागरिकका आवश्यकता पनि बुझ्यो र जिम्मेवारी पनि पूरा ग¥यो । जबसम्म राज्य, सत्ता वा सरकारमा रहने व्यक्ति जिम्मेवार हुँदैनन्, उनीहरूले शासन गर्ने आममानिस पनि उनीहरूजस्तै गैरजिम्मेवार हुन पुग्छन् । यहाँ भएको यही हो । पहिलेदेखि नै यहाँ जनस्वास्थ्यमा सरकार कहिल्यै गम्भीर भएको छैन । जनस्वास्थ्यका लागि न्यूनतम मापदण्ड मात्रै राज्यले पूरा गरेको हुन्थ्यो भने आज उत्पन्न मानवसंकटलाई नियन्त्रण गर्न सकिन्थ्यो । यहाँ जुन तथ्यांक बाहिर आएको छ, क्षति त्यति मात्रै भइरहेको छैन । जति क्षति भइरहेको छ, त्यो सार्वजनिक भइरहेको छैन । र, यसका लागि प्रधानमन्त्री र सरकार सबैभन्दा बढी जिम्मेवार छन् ।
बेसार र अन्य परम्परागत औषधिको विश्वास हामी पनि गर्छौं । बेसारपानी हामी पनि पिउँछौँ । छालामा सानोतिनो संक्रमण हुँदा बेसार प्रयोग पनि गर्छौं, तर कोरोना भगाउन ‘बेसार प्रयोग’ गर्ने सल्लाहचाहिँ दिँदैनौँ । बेसार वा परम्परागत औषधि यति नै प्यारो छ भने प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयको आयुर्वेद विभागलाई अनुसन्धान गर्नु भनेको भए सायद नेपालका आयुर्वेदाचार्यहरूले अनुसन्धान गर्थे होलान् । केही नयाँ कुरा ल्याउँथे होलान् । तर, पशुपतिलाई ५१ करोड दिने र राम–सीताको मूर्ति माडीमा स्थापित गर्ने हतारोमा साँच्चै नै ‘परम्परागत ज्ञान, आयुर्वेद’को वैज्ञानिक अनुसन्धानमा ध्यान दिने फुर्सद कहाँ हुन्थ्यो र ? तर, के चाहिँ स्पष्ट छ भने अस्पतालहरूको यस्तो खराब हालत हुनुमा बिरामीले समयमा ‘प्राणवायु’ नपाउनुमा ओली बा जतिकै उनीअगाडिका थुप्रै सरकारी बाहरूको पनि दोष छ । अहिले कांग्रेसका नेताहरू ‘ओली’ सरकारको ‘खराब व्यवस्थापन’को आलोचना गरिरहेछन्, तर ०४६ सालपछि सबैभन्दा बढी सरकारमा बसेको कांग्रेसले कहिल्यै जनस्वास्थ्यको मुद्दा उठाएर वीर अस्पतालदेखि जिल्ला अस्पतालको व्यवस्थापन सुधार्नमा एक कदम चालेन । बिरामी वीर अस्पताल कांग्रेसको राजनीतिजस्तै ‘छलफल’ भएरै बसिरह्यो, ओरालो लागेको मृगजस्तै ।
वीर अस्पतालमा राम्रो व्यवस्थापन होस् भनेर सत्तामा बसेकाले कहिल्यै वास्ता गरेका छैनन् । त्यसको फल गरिब नेपाली जनताले भोगिरहेछन् । ‘वीर अस्पतालमा राम्रो उपचार हुँदैन, शौचालय राम्रो छैन’ भनेर ठूला नेता त्यहाँ जाँदैनन् । उनीहरू ‘निजी अस्पताल’मा दिनको ५० हजार पर्ने शड्ढयामा आराम फर्माउँछन् । अनि तिनै नेताहरू भन्छन्– ‘नेपालको जनस्वास्थ्य सुधार गर्नुपर्छ ।’ राम्रो व्यवस्थापन नगर्ने, विज्ञको सुझाब नलिने तर बदमासी गरिरहने हो भने नेपाली जनता ‘बेसारपानी’ खाएर मात्रै बसिरहनेछन् । ‘प्राणवायु’ नपाएर मरिरहनेछन् । नेताहरूलाई ‘प्राणवायु’ चाहियो भने ‘सात समुद्रपारि’बाट आउने नै छ । त्यसैले नेपाली जनताले ‘अब आफ्नो जोहो आफैँ गर्नु’ भन्ने सन्देश दिन व्यस्त छ, अहिलेको सरकार ।