१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:२६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

प्यालेस्टिनी जीवनको अवमूल्यन किन ? 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२६:oo

इजरायलले प्यालेस्टिनीमाथि गरिरहेको ज्यादती हेर्दा अमेरिका उसलाई नियन्त्रण गर्न चाहँदैन भन्ने प्रस्टिन्छ

शनिबार इजरायलले गाजा स्ट्रिपको एक १३ तले भवनलाई बमबारी गरेर ध्वस्त बनायो । उक्त भवनमा हमासको जासुसी निकायका सामग्री राखिएको उसको दाबी छ । भवनमा एसोसियट प्रेस (एपी) र अलजजिरालगायत समाचार संस्थाका कार्यालय थिए । इजरायलले सो भवनमा रहेकाहरूलाई भवनबाट भाग्न एकघन्टे पूर्वचेतावनी दिएको थियो । उसको यो कदमको विश्वभर विरोध भएको छ ।

एपीका अध्यक्ष तथा सिइओ गारी प्रुइटले भनेका छन्, ‘हामी स्तब्ध र त्रसित भएका छाैँ ।’ अलजजिरामा प्रकाशित वक्तव्यमा भनिएको छ, ‘हामी इजरायललाई उसको कर्तुतका लागि जिम्मेवार बनाउन हरेक उपलब्ध बाटो अवलम्बन गर्ने प्रतिज्ञा गर्छौं ।’ 

पछिल्लो समय हमास–इजरायलबीचको द्वन्द्वले तीव्रता लिएको छ । द्वन्द्व कसरी सुरु भयो भन्नेमा दुवै पक्षका आ–आफ्ना तर्क छन् । यो निकै जेलिएको र जटिल विषय हो, तर पनि अन्तर्राष्ट्रिय समुदाय यो तनाव सुरु कसरी भयो भन्नेमा पूरापूर जानकार छ । मुख्यतः प्यालेस्टाइन मुद्दा निष्पक्ष ढंगले निवारण नहुनु, युएन प्रवर्तित दुई मुलुकको अवधारणाको समाधान कार्यान्वयन नहुनु नै यो समस्याको मूल जड हो । यो समस्या समाधानको आशा पातलिँदै गएको छ । यो क्षेत्रको शान्ति र स्थायित्वलाई कुनै पनि झिल्कोले खलल पारिरहनेछ ।


आज विश्वमा कुनै ठाउँमा मानवअधिकारको सबैभन्दा बढी हनन भइरहेको छ भने त्यो मध्यपूर्वमा हो र यसका लागि कहीँ न कहीँ अमेरिका नै जिम्मेवार छ । 

प्यालेस्टाइनको मुद्दा बिस्तारै अरब जगत्भित्रै पनि पाखा लाग्दै गएको छ । थुप्रै अरब मुलुकले इजरायलसँगको सम्बन्धमा न्यानोपन विकास गर्दै लगेका छन् । कतिपयले कूटनीतिक सम्बन्धसमेत स्थापित गरेका छन् । उनीहरूको प्यालेस्टिनीलाई दिइने औपचारिक सहयोग खुम्चिँदै गएको छ । जब ट्रम्प प्रशासनले अमेरिकी दूतावास तेलअभिभबाट जेरुसलेम सार्‍यो, त्यसलाई अरब मुलुकले सहर्ष स्विकारे, खासै विरोधको स्वर उछालेनन् । यसले प्यालेस्टिनीका अधिकारहरू संकुचित गर्ने बलजफ्तीपूर्ण व्यवहारविरुद्ध लड्ने शक्ति गुमिरहेको देखाउँछ ।

यद्यपि, मानव हृदय नैतिकता र न्यायसँग गाँसिएको हुन्छ । खुलस्त भन्दा प्यालेस्टिनीहरू प्रताडनमा परेका छन् । उनीहरूका अधिकार कुल्चिइएका छन्, अधिकांशको जीवन नर्क बनेको छ । इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे अन्तर्राष्ट्रिय समुदायको आधारभूत बुझाइ यही हो । यसमा अहिले पनि कुनै परिवर्तन छैन । विश्व समुदायमा प्यालेस्टाइनप्रतिको करुणापूर्ण भावनाले युरोपलगायत केही मुलुकको मध्यपूर्वलाई हेर्ने दृष्टिकोणलाई प्रभावित गरिरहेको छ ।

हमासविरुद्धको प्रत्येक आक्रमणमा इजरायलले बडो जोडका साथ अघि सार्ने एउटा तर्क छ– हमासको आक्रमणको प्रत्याक्रमण । तर, अहिलेसम्मका कुनै पनि जवाफी आक्रमणबाट प्यालेस्टिनी सर्वसाधारण मरिरहेका छैनन्, उनीहरूकै क्षति भइरहेको छ । यो अतिशयपूर्ण यातना सम्पूर्ण प्यालेस्टिनीहरूलाई तर्साउन नै हो भन्ने पर्याप्त आधार छन् । युएन रिजोलुसन उल्लंघन गरेर कब्जा गरेको भूमिमा बसोवास भएका प्यालेस्टिनीहरूको अधिकार खोस्न प्रयोग गरिरहेको स्वेच्छाचारी बल प्रयोग र व्यवहारविरुद्ध संघर्ष गर्ने प्यालेस्टिनीहरूको क्षमता र इच्छाशक्ति नामेट गर्ने मनसायले उनीहरूमाथि इजरायल अत्याचार गरिरहेको छ । 

प्यालेस्टाइन मुद्दाले अमेरिकाको मुस्लिमप्रतिको व्यवहारलाई सटिक रूपमा बिम्बित गर्छ । प्यालेस्टाइन–इजरायल द्वन्द्वस्थल पश्चिमी र इस्लामिक सभ्यताको इतिहास प्रतिछेद (ओभरल्याप) भएको भूमि हो । यसकारण पनि इजरायलको पूर्वी जेरुसेलम अतिक्रमणलाई बृहत्तर इस्लामिक विश्वले स्विकार्ने देखिँदैन । केही मुस्लिम मुलुकले व्यावहारिक राजनीतिक दृष्टिले इजरायलप्रति आफ्नो दृष्टिकोण नरम बनाए पनि त्यो क्षणिक हो । इस्लामिक नागरिक समाजमा बहिष्कार जारी रहनेछ । प्यालेस्टाइन–इजरायल शान्तिवार्ताको प्रवर्द्धन गर्ने अमेरिका जहिले पनि इजरायलको पक्षमा उभिने गर्छ । वासिंटन हमासले इजरायली निसानामा गरेको आक्रमणको कडा निन्दा गर्छ, तर कैयाैँ गुणा बढी हताहती र व्यापक क्षति गर्ने इजरायली आक्रमणको निन्दा गर्न हिचकिचाउँछ । यसले अमेरिका कति पाखण्डी छ भन्ने देखाउँछ । चीनको सिनजियाङ मामलामा अमेरिकी उच्चाधिकारीहरूको मनगढन्त आरोप र मुसलमानहरूको मानवअधिकार रक्षाप्रतिको उसको प्रतिबद्धतालाई एक फेर हेर्‍याैँ र मध्यपूर्वमा अमेरिका सञ्चालित ठूलो संख्यामा आममुसलमान मारिरहेको युद्धलाई हेर्‍याैँ भने त्यसले प्यालेस्टिनी मुसलमानहरूलाई दबाउने र मार्ने इजरायली कदममा अमेरिकाको मिलेमतो प्रस्टिहाल्छ । वासिंटनको पाखण्डीपन लुकाएर लुक्दैन । 

इजरायललाई साँच्चै प्रभावित गर्न सक्ने एक मात्र मुलुक अमेरिका हो । तर, इजरायलले जुन स्तरमा प्यालेस्टिनीमाथि ज्यादती गरिरहेको छ, त्यो हेर्दा अमेरिकाले उसलाई नियन्त्रण गर्न नचाहेको देख्न सकिन्छ । आज विश्वमा कुनै ठाउँमा मानवअधिकारको सबैभन्दा बढी हनन भइरहेको छ भने त्यो मध्यपूर्वमा हो र यसका लागि कहीँ न कहीँ अमेरिका नै जिम्मेवार छ । वासिंटन कथित मानवअधिकारको रट त लगाइरहन्छ, तर यथार्थमा विश्वभरमा मानवअधिकारका हननमा सबैभन्दा बढी जिम्मेवार ऊ नै छ ।

इजरायल–प्यालेस्टाइन द्वन्द्वको दुःखद स्थितिको सक्दो छिटो अन्त गर्न हमास र इजरायल दुवैले संयमता राख्ने आशा गरौँ । साथै, विश्वले प्यालेस्टिनीहरूको जीवन पनि समान रूपले मूल्यवान् भएकोमा ध्यान दिने आशा गराैँ । अमेरिका र पश्चिमी मुलुकहरू प्यालेस्टिनीहरूको जीवनलाई बेहत्तर बनाउन सक्षम छन्, यसो गर्नबाट उनीहरू विमुख हुनुहुँदैन । 

ग्लोबल टाइम्सको सम्पादकीयबाट

ad
ad