टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ५ बुधबार
  • Wednesday, 19 January, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ ४ मंगलबार ०७:२८:००
Read Time : > 2 मिनेट
Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ ४ मंगलबार ०७:२८:००

‘मुटु जलिरहेछ...’ नयाँ पत्रिकाको अनलाइन संस्करणमा प्रकाशित फोटो फिचरमा फोटो पत्रकार सतिश पोखरेलले दिएको शीर्षक हो यो । भक्तराज आचार्यको गीतबाट पैँचो लिएर दिइएको शीर्षकले मुटु जल्दै गरेको र मन गल्दै गरेको गीतको हृदयस्पर्शी भाव मनमा आउँछ । आफ्ना तस्बिरमा पोखरेलले बागमती किनारको पशुपति आर्यघाटमा जलिरहेका लास, त्यसबाट निस्किरहेको अग्निज्वाला र धुवाँको मुस्लो कैद गरेका छन् । पशुपति क्षेत्र परिसरमा रहेको विद्युतीय शवदाह गृहको अग्लो चिम्नीबाट भित्र जल्दै गरेको मान्छेको शरीरबाट निस्केको धुवाँ परपर गइरहेको छ, कता जाने हो कुनै निश्चित दिशा नभएको जस्तो । अन्धकार रातमा, परपर टिमटिम बलिरहेका बिजुलीका चिमहरू, नदीकिनारमा बलिरहेका चिताबाट आइरहेको आगोको मुस्लोले जलाइरहेका लासहरू र तिनको वरपर आफ्ना जल्दै गरेका मुटु र गलिरहेका मन लिएर बसेका आफन्तहरू ।

जनताको मुटु जलेको देख्दा पनि शासकको मुटु नजलेपछि जनताको पीडा, दुःख र मुटुको जलाइले केही अर्थ राख्दो रहेनछ
 

तस्बिरमा लहरै बलिरहेका आठवटा चिता समेटिएका छन् । यी शव कोरोना महामारीका कारण केही रोगसँग लड्न नसकेर अकालमा मृत्यु भएकाहरू छन्, केही सरकार र राज्य प्रणालीको असफलताका कारण अस्पतालमा सामान्य बेड पनि नपाएर या अक्सिजन र भेन्टिलेटर नपाएर दिन नआउँदै यो मृत्यु व्यहोर्न बाध्य पारिएकाहरू छन् । तिनका आफन्तका केही पिर निजी छन्, परिवारका या निकटका आफन्त गुमाउँदा मनमा आउने उदासी, मुटु भक्कानिएर निस्कन नसकेको पीडा ।

अर्को पिर छ, प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूबाट बेसार र अम्बाको पातले कोरोना फाल्न सकिने हचुवाका अभिव्यक्ति दिँदै आवश्यक पूर्वतयारीमा फिटिक्कै ध्यान नदिँदा नआएको कालबाट आफन्तको ज्यान जानु । सबैभन्दा बढी पीडा नै यही छ कि नेपाल सरकारले चाहेको भए गर्न सक्ने प्रतिकारात्मक र उपचारात्मक उपायहरू अवलम्बन नगर्दा नै यो अवस्था आएको हो । आइतबार मात्रै प्रधानमन्त्रीले आफू नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले कोरोनाले केही गर्न सक्दैन भन्ने विश्वासमा परेको स्वीकार गरेका छन् । आरम्भदेखि नै उनले विज्ञानले प्रमाणित नगरेका उडन्ते कुरा गर्नमा जोड दिए । बेसार पानी र अम्बाको पातको रसले कुला गर्ने गफ दिएरै उनले दुनियाँलाई उल्लु बनाउने प्रयास गरिरहे । जब कि उनले वडा र पालिकास्तरका अस्पतालको क्षमता वृद्धि गर्ने, दरबन्दी थप्ने, चिकित्सक र अन्य स्वास्थ्यकर्मी पठाउने, औषधिजन्य उपकरण पठाउने तथा स्थानीय तह र प्रदेश सरकारलाई आवश्यक पूर्वतयारी अपनाउन आवश्यक आर्थिक सहयोग पठाउने काम तदारुकतासाथ गर्नुपर्ने थियो । परीक्षणको दायरा बढाउने, संक्रमितसँग सम्पर्कमा आएकालाई खोजेर परीक्षण गराउने, संक्रमितलाई संस्थागत आइसोलेसनको व्यवस्था गर्ने र संक्रमणको जुन चक्र छ, त्यसलाई तोड्ने उपायहरू स्थानीय तह र समुदायस्तरमै गर्न सकिने व्यवस्था मिलाउनु थियो । गएको नोभेम्बरबाटै खोप उत्पादन र प्रयोग सुरु भइसकेको थियो ।

चिनियाँ र रसियाली सरकार र उत्पादक कम्पनीहरू नेपाललाई आवश्यक खोप दिन तयार थिए, रसिया र चीनले त लबिङसमेत गरेका थिए नेपाल सरकारसँग । भारतले पनि खोप दिएर सहयोग गरेको थियो । पछिल्लो समय भारत आफैँ दबाबमा आएको भए पनि चीन र रसियाली खोप ल्याउन गाह्रो थिएन । अहिले पनि चीनले पठाउन चाहेको खोप नेपालकै कारण आएको छैन । अर्थात् खोप नल्याएर सरकार तेस्रो लहरको प्रतीक्षामा छ । अझै धेरै मानिसले आफन्तलाई घाट वा चिहानघारीमा जलेको या पुरिएको हेरेर मुटु जलाउनु र मन गलाउनु छ भन्ने पूर्वसन्देश सरकारले प्रसारित गरिरहेको छ । अन्यथा, नेपालले एकाध महिनाभित्रै थप १० लाख जनालाई खोप लगाउन सकिने सम्भावना पनि गुमाउँदै छ । जनताको मुटु जलिरहेको देख्दा पनि शासकको मुटु नजलेपछि जनताको पीडा, दुःख र मुटुको जलाइले केही अर्थ राख्दो रहेनछ ।