मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
यम बम काठमाडौं
२०७८ जेठ ३ सोमबार ०३:२७:००
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

५,००१ अमूल्य जीवन : एक वर्षसम्म प्रधानमन्त्रीले महामारीलाई मजाक मात्र बनाए

Read Time : > 8 मिनेट
यम बम, काठमाडौं
२०७८ जेठ ३ सोमबार ०३:२७:००

अघि : कोरोना रुघाखोकीजस्तै हो । हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ ।

पछि : कोरोना यसरी बढ्ला भन्ने मलाई लागेन, त्यसैले सरकारी समन्वयमा समस्या भयो

......

एक वर्षसम्म प्रधानमन्त्रीले महामारीलाई मजाक मात्र बनाए

- 'भाइरसमा बोसिय, फ्याटिय तत्व हुन्छ, तातोपानी अथवा मनतातोपानीले धोएपछि समाप्त हुन्छ ।'

- 'कोरोना भनेको रुघाखोकीजस्तै हो । लागिहाल्यो भने  हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ ।'

- 'कोरोना भाइरस नाकमा आयो भने सिनित्तै फ्यालिदिनुपर्छ, केही गरी घाँटीमा पुगिहाल्यो भने खाकखुक गर्नुपर्छ, खोकेर फाल्नुपर्छ ।'

- 'हाम्रो भान्सामा बेसार, लसुन, प्याज र टिमुर हुन्छ, त्यसले प्रतिरोधी क्षमता बलियो बनाउँछ, कोरोनाले हामीलाई केही गर्दैन ।'

- 'नेपालीको प्रतिरोधी क्षमता बलियो छ भनेर कसले भनेको भनेर सोध्नुभयो, मैले भनेको, मैले । भर्खरै सुन्नुभएन । मैले भनेको हो ।'

- 'हावापानीले पनि हाम्रो क्षमता बलियो बनाएको छ । मरूभूमिजन्य ठाउँहरूबाट तातो हावा आयो भने हिमालको नजिक पुग्नुभन्दा पहिला त्यो चिसो भइसक्छ । कायल भइसक्छ ।'

- 'अन्य बिमारीका जटिलताले केही मान्छेको निधन भएको छ, तर विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कोरोनाले भएको भन्ने मान्नुपर्ने अवस्था छ ।'

- 'नेपालमा कोभिड यस रूपमा बढ्छ भन्ने लागेकै थिएन, त्यसैले सरकारका थुप्रै कामहरूमा समन्वयको अभाव देखियो ।'

......

प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीको विषयमा आफ्नो विश्लेषण र प्रक्षेपण गलत भएको स्वीकार गरेका छन् । हचुवा प्रक्षेपणका कारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव भएको पनि उनले सुनाएका छन् । 

‘नेपालमा यस रूपमा कोभिड बढ्छ भन्ने मलाई लागेकै थिएन । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम राम्रो छ, त्यसैले अलिअलि सर्ला, तर यो तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो मलाई लागेको थियो । त्यसकारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव देखियो,’ प्रधानमन्त्री ओलीले शनिबार साँझ सरोकारवालाहरूसँगको अन्तक्र्रियामा भनेका छन् ।

कोभिड महामारीको दोस्रो लहर भयावह भएको एक महिनापछि मात्र उनले शनिबार सरोकारवालासँग छलफल गरे । यसअघि भने उनी धार्मिक जमघट र राजनीतिक भेटघाटमा व्यस्त थिए । 

कोभिड महामारीले संसार थला परेको वेला हाम्रा प्रधानमन्त्रीले ‘खाकखुक खोकेर थुकेपछि कोरोना–सोरोना भाग्ने’ दाबी गर्दै आएका थिए । नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले कोरोनाले केही नगर्ने भन्दै उनले संसद्मै भाषण गरेका थिए । कोरोनाबारे पहिलोपटक संसद्मा ६ जेठ ०७७ मा गैरजिम्मेवार टिप्पणी गरेदेखि दर्जनौँपटक उस्तै गैरजिम्मेवार दाबी दोहो¥याउँदै आएका प्रधानमन्त्रीले एक वर्षपछि मात्र कोरोनालाई गम्भीर मानेका छन् । तर, यो ३६२ दिनको बीचमा देशमा ठूलो मानवीय क्षति भएको छ, साथै कोरोना अझै अनियन्त्रित छ । 

प्रधानमन्त्रीले रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले नेपालीलाई केही पनि हुँदैन भनेर दाबी गर्दा गत ६ जेठमा देशभर कोरोनाबाट कुल संक्रमितको संख्या चार सय दुई पुगेको थियो । त्यसमध्ये तीन सय ६३ सक्रिय संक्रमित थिए भने दुईजनाको मृत्यु भएको थियो । कोरोना केही होइन भन्ने मानसिकताले उचित रोकथाम तथा उपचार र अक्सिजनको समेत प्रबन्ध नहुँदा यस महामारीबाट अहिलेसम्म पाँच हजार एकजनाको ज्यान गएको छ । अहिलेसम्म चार लाख ५५ हजार २० संक्रमित भइसकेका छन् भने एक लाख १० हजार दुई सय ३६ जना अहिले पनि कोरोना भाइरससँग संघर्ष गरिरहेका छन् । 

कोभिड महामारी आएपछि प्रधानमन्त्रीले विज्ञका विचार सुन्ने र रोकथामको उपाय अवलम्बन गर्नेभन्दा पनि विज्ञहरूलाई नै पढाउने रणनीति लिए । गत वर्ष २९ चैतमा मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्रीले कोरोनामा ‘फ्याटीय’ तत्व हुने भएकाले तातोपानीले हात धोएमा जाने दाबी गरेका थिए । ‘भाइरस निर्जीव तत्व हो । त्यसमा बोसीय, बोसोजस्तो फ्याटीय तत्वले भाइरसलाई एउटा जीवित तत्वका रूपमा सक्रिय गराइदिन्छ । यसकारणले तातोपानीले हात धोएमा त्यसलाई मार्छ । हात धुँदा, सकिन्छ भने तातोपानीले धुने । मुख धुँदा अलिकति तातोपानी, मनतातो पानीले धुने । यो ठूलो विधि हो । जहाँ भाइरस छ भने पनि तातोपानीले हात धुनेबित्तिकै त्यो भाइरसको, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि समाप्त हुन्छ त्यहीँ’ प्रधानमन्त्रीले भाइरसलाई निर्जीव तत्व भनेकोमा पनि विज्ञहरूले आश्चर्य व्यक्त गरेका थिए । उनीहरूले यस्तो अभिव्यक्ति आफूहरूले कुनै पनि विश्वविद्यालयमा नसुनेको टिप्पणी पनि गरेका थिए । 

त्यसपछि ६ जेठमा राष्ट्रिय सभाको बैठकमा ओलीले भनेका थिए, ‘कोरोना–सोरोनाले नेपालीलाई केही असर गर्दैन किनकि नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ । नेपालीको भान्सामा मानिस निरोगी हुने तत्व हुन्छन् । भान्सामा हुने बेसार, लसुन, प्याजदेखि टिम्बुर, अदुवासम्मका चिजबिजले नेपालीलाई निरोगी राख्छ ।’ 

त्यसो त त्यो वेलासम्म भएको मृत्युलाई पनि उनले कोरोनाबाटै भएको हो भन्नेमा शंका व्यक्त गरेका थिए । ६ जेठसम्म कोरोनाका कारण दुईजनाको मृत्यु भएको थियो । तर, प्रधानमन्त्रीले राष्ट्रिय सभामा बोल्दै भनेका थिए, ‘कोरोनाबाट अहिलेसम्म नेपालमा दुईजनाको निधन भएको छ । कोरोनाभन्दा अन्य बिमारीको जटिलताले निधन भएको हुन सक्छ । तर, विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना लागेको छ भने अरू जुन कारणले भए पनि त्यो कोरोनाकै कारणले मृत्यु भएको मान्नुपर्छ ।’

उनले १२ जेठमा देशवासीको नाममा सम्बोधन गर्दा पनि नेपालीको प्रतिरोधी क्षमता बलियो रहेको ठोकुवा गरेका थिए । नेपालीको भान्सा नै वैज्ञानिक रहेकाले प्रतिरोधी क्षमता पनि उच्च रहेको उनको भनाइ थियो । ‘हाम्रा पूर्वजहरूले हजारौँ वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्सामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोधात्मक क्षमता बढाउन बल पु¥याइरहेका छन्,’ प्रधानमन्त्रीको भनाइ थियो । 

हिमालमा ठोक्किएर फर्कने चिसो हावाका कारण पनि नेपालीको प्रतिरोधी क्षमता बलियो भएको उनको दाबी थियो । ‘आधा नेपाली हिमाली भेगतिरै स्वच्छ हावा, स्वच्छ पानी, उकाली–ओराली हिँडेर पहाडी जनजीवनमा बसेका छन् र इस्टामिना बलियो छ । तराईमा बस्नेहरूले पनि हिमालबाट ठोक्किएर आएको हावामा सास फेरेका छन् । हामीले थाहा पाउनुपर्छ नेपालको भूगोल । यदि मरुभूमिजन्य ठाउँबाट तातो हावा आयो भने हिमालको नजिक पुग्नुभन्दा पहिला त्यो चिसो भइसक्छ । कायल भइसक्छ,’ उनको भनाइ थियो । 

प्रधानमन्त्रीको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो । तर, उनले २८ जेठमा प्रतिनिधिसभामा पनि यस्तै अभिव्यक्ति अझ जोडजार रूपमा दोहो¥याए । ‘यहाँ दाल, चामल, मकै, भटमास, यी अनेक चिज हुन्छन् र त्यसमा बेसार, नुन, खुर्सानी अनिवार्य हुन्छ । त्यहाँ बेसार, जिरा, धनियाँ, प्याज, लसुन हुन्छ । यी सबै औषधि हुन् । हरेक दिन औषधि खाएर प्रतिरोध क्षमता बढाएको नेपालीको प्रतिरोधी क्षमता माथि हुन्छ,’ उनको दाबी थियो । उनले बेसारको विषयमा पनि लामै मन्तव्य दिएका थिए । 

कांग्रेस सांसद गगन थापाले महामारी सामना गर्न वैज्ञानिक रणनीति चाहिने भन्दै नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कुन अध्ययनले भनेको हो भनेर सोध्दा प्रधानमन्त्रीको जवाफ थियो, ‘कसले भनेको भनेर सोध्नुभयो, मैले भनेको, मैले । भर्खरै सुन्नुभएन । मैले भनेको हो ।’ 

प्रधानमन्त्रीको बेसार बयानबारे सार्वजनिक आलोचना भएपछि उनी हच्किएनन् । उनले ४ असारमा राष्ट्रिय सभामा यसरी आक्रोश पोखे, ‘बेसारको महत्वको विषयमा मैले बोल्दा सडकमा हल्काफुल्का टिप्पणी भए । बेसार एउटा एन्टिबायोटिक तत्व भएको औषधीय गुण भएको तत्व हो, त्यसैले त्यसको अर्थ छ भनेको हु“,’ उनले भने । तर, एन्टिबायोटिक गुण भएकाले बेसारले ब्याक्टेरियालाई मार्ने भए पनि कोरोना भने भाइरसबाट फैलिएको भन्ने तथ्यमा प्रवेश नै गर्न चाहेनन् । 

ठीक ढंगले भनिएको कुरालाई पनि नकारात्मक ढंगले लिने र त्यसको वास्तविक अर्थलाई उडाउन खोज्ने प्रवृत्ति बढेर गएको भन्दै उनले असन्तुष्टि पोखेका थिए ।

राष्ट्रिय सभामा बोल्दै फागुनसम्ममा कोरोना नियन्त्रणमा आउने बताए । उनको भनाइ थियो, ‘साउनको अन्त्य वा भदौको सुरुतिर पिकमा पुग्ने अनुमान गर्छौँ । त्यसपछि यो ओरालो लाग्छ । र, यसलाई हामी क्रमशः नियन्त्रण गर्न सक्छौँ ।’ 

उनले हाच्छिउँसाच्छिउँ गरेर कोरोना उडाउन सकिने दाबी पनि प्रस्तुत गरे । ‘कोरोना भनेको रुघाखोकीजस्तै हो । लागिहाल्यो भने हाच्छिउँसाच्छिउँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ,’ जनतालाई उनको सुझाब थियो । 

४ असारसम्म २० जनाको निधन भएको थियो । तब पनि कारण कोरोना हो भन्न उनले अस्वीकार नै गरेका थिए । ‘अहिलेसम्म २० जनाको मात्रै ज्यान गएको छ । त्यो पनि अन्य रोगले गर्दा भएको हो । तर, डब्लुएचओको मान्यताअनुसार कोरोना देखिएपछि त्यो कोरोनाकै कारणले मृत्यु भएको मान्नुपर्छ ।’

यसबीचमा एकपटक मात्र होइन, दर्जनौँपटक प्रधानमन्त्री ओलीले आफूखुसी बयान दिँदै आएका थिए । राजनीतिक दलहरूले पनि अहिलेको जटिल परिस्थित सिर्जना हुनुमा सरकारको कमजोर तयारीलाई नै मुख्य जिम्मेवार ठानेका छन् । 

‘सरकारले जुन काम गर्नुपर्ने हो, त्यो गरेको छैन । सरकार जनताको स्वास्थ्यप्रति पूर्ण रूपमा गैरजिम्मेवार र अनुत्तरदायी छ, भाषण मात्रै गर्छ, काम गर्दैन, काम नगर्ने प्रवृत्तिको नतिजास्वरूप अहिले महामारीले यो रूप लिएको छ,’ कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक कार्यक्रममा भने । उनले मान्छे मरिरहेको वेला पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप पनि लगाए । ‘एकातिर मान्छे मरिरहेका छन्, अर्कोतिर सरकार भ्रष्टाचारमा लिप्त छ, महामारी रोकथाम र नियन्त्रणमा सरकारी लापरबाहीकै कारण जनताले दुःख पाइरहेका छन्,’ देउवाले भने । 

कोरोनाबाट नागरिकहरू आक्रान्त भएको अवस्थामा सरकारले जिम्मेवारीपूर्वक आपत्कालीन व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको जसपाको आरोप छ । ‘अस्पतालहरूमा कोभिडका बिरामीका लागि बेड, अक्सिजन, आइसियू, भेन्टिलेटर र औषधिको समेत अभावले जनताको अकाल मृत्युवरण भइरहेको छ,’ जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा आइतबार जारी विज्ञप्तिमा छ । जसपाले स्वास्थ्यकर्मी, डाक्टर अर्थात् आवश्यक जनशक्ति, बेड, अक्सिजन, आइसियू, भेन्टिलेटर र औषधिको यथाशीघ्र व्यवस्था गर्नसमेत माग गरेको छ ।

......

सर्वोच्च बारले भन्यो– उपचारसुविधा नपाई भएको मृत्यु हत्याबराबर हो, सरकारले जिम्मेवारी लिनुपर्छ

मृत्युको जिम्मेवार सरकार ः महामारीको यो समयमा संविधान, कानुन र सम्मानित सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तको परिपालना नै नगरी सरकारले समयमा उच्च सतर्कता नअपनाई लापरबाहीपूर्ण क्रियाकलाप गरेका कारण नागरिकले मृत्युवरण गर्नुपरेको कटु यथार्थ रहेकाले सरकारका यस्ता क्रियाकलापप्रति यो बार एसोसिएसन घोर भत्र्सना गर्दछ । महामारीको संक्रमणबाट हालसम्म ज्यान गुमाउन पुगेका व्यक्तिमध्ये अधिकांश सरकारकै अकर्मण्यताका कारण मृत्युवरण गर्न बाध्य भएका छन् । यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनैपर्छ ।

सरकारले नै जनताको हत्या गरेसरह ः नेपालको संविधान, जनस्वास्थ्य सेवा ऐन, २०७५ र संक्रामक रोग ऐन, २०२० ले गरेका स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयन सरकारले जुनसुकै अवस्थामा पनि गर्नुपर्ने हुन्छ । त्यस्ता हकको उपभोग गर्न नपाई नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउँछ भने सरकारले नै जनताको हत्या गरेसरह हुन्छ । यसै सन्दर्भमा भारतका अदालतहरूले हालै मात्र त्यहाँका सरकारको ध्यानाकर्षण गराएका छन् । यथार्थमा आधारित यस्ता प्रकारका ध्यानाकर्षण जुनसुकै देशका सरकारलाई अनुकरणीय हुन्छन् । 

अब स्वास्थ्य संकटकाल घोषणा ः महामारीको यस अवस्थालाई ध्यानमा राखी स्वास्थ्य संकटकाल घोषणा गरियोस् । अक्सिजन अभावका कारण कतिपय अस्पताल बन्द भएकाले नागरिकले ज्यान गुमाउनुपरेको यथार्थलाई मनन गरी बन्द भएका अस्पताल सुचारु गराई हरेक अस्पतालमा यथेष्ट मात्रामा अक्सिजन उपलब्ध गराइयोस् । कोभिड– १९ को संक्रमणको समयमा अक्सिजन, रेम्डेसिभिर इन्जेक्सन, खाद्यान्नलगायत कुनै पनि सामग्रीमा कालोबजारी गर्ने व्यक्ति तथा निकायका विरुद्ध कडाभन्दा कडा कानुनी कारबाही गरियोस् । 

काठमाडौं/ सर्वोच्च अदालत बार एसोसिएसनले कोरोना महामारी नियन्त्रणलाई लिएर सरकारले समयमा उच्च सतर्कता नअपनाई लापरबाहीपूर्ण क्रियाकलाप गरेका कारण नागरिकले मृत्युवरण गर्नुपरेको बताएको छ । आइतबार विज्ञप्ति निकाल्दै सर्वाेच्च बारले सरकारकै अकर्मण्यताका कारण कोरोना संक्रमितमध्ये अधिकांशले ज्यान गुमाएको आरोप लगाएको छ । 

‘महामारीको यो समयमा संविधान, कानुन र सम्मानित सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तको परिपालना नै नगरी सरकारले समयमा उच्च सतर्कता नअपनाई लापरबाहीपूर्ण क्रियाकलाप गरेका कारण नागरिकले मृत्युवरण गर्नुपरेको कटु यथार्थ रहेकाले सरकारका यस्ता क्रियाकलापप्रति यो बार एसोसिएसन घोर भत्र्सना गर्दछ,’ सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेद्वारा आइतबार जारी विज्ञप्तिमा छ । कोरोना संक्रमणका कारण अधिकांशले सरकारकै अकर्मण्यताका कारण ज्यान गुमाएकाले सरकारले नै यसको जिम्मा लिनुपर्ने सर्वोच्च बारले जनाएको छ । ‘महामारीको संक्रमणबाट हालसम्म ज्यान गुमाउन पुगेका व्यक्तिमध्ये अधिकांश सरकारकै अकर्मण्यताका कारण मृत्युवरण गर्न बाध्य भएका छन् । यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनैपर्छ,’ बारको विज्ञप्तिमा छ । 

सरकारले कानुनको कार्यान्वयन नगरेको र यस्ता हकबाट वञ्चित भई नागरिकले ज्यान गुमाउनुको अर्थ सरकारले जनताको हत्या गरेसरह रहेको बारले बताएको छ । महामारीको यस अवस्थालाई ध्यानमा राखी स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने र कोभिड– १९ लाई नियन्त्रण र निवारण गर्नका लागि विशेष कानुन जारी गर्नुपर्ने सर्वोच्च बारको माग छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको समयभित्र कोरोनाविरुद्धको खोपको दुवै डोज अनिवार्य लगाउनुपर्ने प्रबन्ध मिलाउन माग गरिएको छ । 

......

जनताको स्वास्थ्यप्रति सरकार पूर्ण रूपमा गैरजिम्मेवार र अनुत्तरदायी : देउवा

कार्यकर्तालाई कांग्रेसको निर्देशन– आफू सुरक्षित रहेर जनताको सुरक्षामा खटिनू

कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड– १९ महामारी रोकथाम र नियन्त्रणमा सरकारले लापरबाही गरेका कारण जनताले दुःख पाएको बताएका छन् । जनताको स्वास्थ्यप्रति सरकार पूर्ण रूपमा गैरजिम्मेवार र अनुत्तरदायी बनेको देउवाको आरोप छ । 

‘सरकारले जुन काम गर्नुपर्ने हो, त्यो गरेको छैन । जनताको स्वास्थ्यप्रति पूर्ण रूपमा गैरजिम्मेवार र अनुत्तरदायी छ, सरकार भाषण मात्रै गर्छ, काम गर्दैन, काम नगर्ने प्रवृत्तिको नतिजा अहिले महामारीले यो रूप लिएको छ,’ कोभिड– १९ अनुगमन समितिको संयोजनमा आइतबार लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका नेता–कार्यकर्तासँगको छलफलमा देउवाले भने, ‘एकातिर मान्छे मरिरहेका छन्, अर्कोतिर सरकार भ्रष्टाचारमा लिप्त छ, महामारी रोकथाम र नियन्त्रणमा सरकारी लापरबाहीकै कारण जनताले दुःख पाइरहेका छन् ।’

सभापति देउवाले भारतलगायत विदेशबाट नेपाली आउने क्रम अहिले पनि नरोकिएकाले ती नागरिकको व्यवस्थापनमा सरकारले ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरे । ‘सीमाबाट नेपाली दाजुभाइ–दिदीबहिनी आउने क्रम रोकिएको छैन । उनीहरू विनारोकटोक नेपाल आउन पाउनुपर्छ । तर, आइसकेपछि उनीहरूको परीक्षण र उपचारको व्यवस्था सरकारले गर्नुपर्छ,’ उनले भने । देउवाले आफू सुरक्षित रहेर जनताको स्वास्थ्य सुरक्षामा खटिन कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । 

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वेलैमा पूर्वतयारी नगरेका कारण कोरोना भाइरसको दोस्रो चरणको संक्रमण असाधारण रूपमा फैलिरहेको बताए । पौडेलले पूर्वतयारीमा सरकारले ध्यान नदिँदा समस्या आएको सुनाए । ‘डेढ महिनाअघि नै सर्वदलीय बैठकमा मैले महामारी फैलिँदै छ, भारतबाट सजिलै नेपालमा पनि संक्रमण फैलिन्छ । यसको पूर्वतयारीमा लागौँ भनेर सुझाब दिएको थिएँ, तर सरकारले टेरेन,’ पौडेलले भने । 

पौडेलले सरकारले जनताको जीवन संकट परेका वेला अन्तर्राष्ट्रिय समन्वय गरेर सहयोग लिन नसकेको टिप्पणी गरे । ‘तपाईंहरू तुलना गरेर हेर्नुस्, भूकम्पका वेला कांग्रेसको सरकार थियो, अहिले कम्युनिस्टको सरकार छ, कांग्रेस र कम्युनिस्टको सरकारमा कति फरक रहेछ ? यहीँबाट प्रस्ट हुन्छ, यो सरकारको हैसियत के हो थाहा हुन्छ,’ उनले भने । पौडेलले केपी ओली नेतृत्वको सरकारले चीन र भारतबाट बाहेक कुनै पनि उल्लेख्य सहयोग जुटाउन नसकेको बताए । 

छलफलमा कांग्रेसका सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेश सभाका सांसद, प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ–नगरपालिका कार्यसमितिका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र कोभिड– १९ जिल्ला अनुगमन समितिका संयोजक सहभागी थिए । समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार सातै प्रदेशमा कोभिड– १९ को अवस्था र कांग्रेसको भूमिकाका सन्दर्भमा छलफलपछि कांग्रेसले त्यसलाई सार्वजनिक गर्ने बताए । 

सबै नागरिकलाई खोपको व्यवस्था गर्न कांग्रेसको माग

कांग्रेसले कोभिड– १९ रोकथाम तथा न्यूनीकरणका लागि सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले विदेशबाट द्रुतमार्गबाट खोप आयात गरी सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाई जीवन रक्षा गर्न माग गरेको हो । 

कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई फोन गरेर कोभिड– १९ रोकथाम, न्यूनीकरण तथा उपचारका लागि ध्यानाकर्षण गराएका हुन् । प्रमुख सचेतक खाणले आवश्यक खोप यथाशीघ्र आयात गरी समयमा नै सबै नागरिकलाई खोप दिने व्यवस्था गर्न माग गरेका हुन् । ‘ज्येष्ठ नागरिकलाई पहिलो खोप दिए पनि हालसम्म दोस्रो डोज पाएका छैनन् । अरू धेरैले खोप नपाएका कारण ज्यान गुमाउनुपर्ने अवस्था छ,’ खाणले भनेका थिए । 

प्रमुख सचेतक खाणले देशभर अक्सिजन अभावमा संक्रमितले अकालमा ज्यान गुमाउनुपरिरहेकोबारे समेत मन्त्री त्रिपाठीलाई ध्यानाकर्षण गराएका थिए । ‘अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन आवश्यक पर्ने अक्सिजन सिलिन्डर आयात गर्नेदेखि अक्सिजन उत्पादक कम्पनीलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गरेर आवश्यक व्यवस्थापनमा सरकार चुक्न हँुदैन,’ खाणले भनेका थिए । 

नेता खाणले हाल स्वास्थ्य सामग्री र उपकरण अभाव हुँदै गएको अवस्थाले गर्दा संक्रमित र अन्य रोगका बिरामीको समेत उपचारमा कठिनाइ बताए । ‘यस विषयमा सरकार संवेदनशील र जिम्मेवार हुनुप¥यो । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण विदेशबाट ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण वेलामा गर्नुप¥यो,’ उनले भनेका थिए ।