मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
यम बम काठमाडाैं
मञ्जु टेलर काठमाडाैं
अर्जुन अधिकारी काठमाडाैं
२०७८ बैशाख ३० बिहीबार ०४:१७:००
Read Time : > 9 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मृत्युको कबुलियतनामा : ‘मेरो बिरामीले अक्सिजन नपाएर मृत्यु भएमा जवाफदेही कोही पनि हुनेछैन’

देशैभर सरकारी अस्पतालले समेत बिरामीका आफन्तलाई यस्तो कागज गराउन थालेका छन्

Read Time : > 9 मिनेट
यम बम, काठमाडाैं
मञ्जु टेलर, काठमाडाैं
२०७८ बैशाख ३० बिहीबार ०४:१७:००

३५ वर्षका बिरामी गम्भीर भएपछि भक्तपुर अस्पतालमा उपचार भइरहेको थियो । तर, अक्सिजन नभएर अस्पतालको अवस्था झन् गम्भीर भयो । बुधबार बिहान ११ः१५ बजे बिरामीको दाजुलाई बोलाएर अस्पतालले यस्तो कागज गरायो– ‘कोभिड संक्रमित बिरामीका लागि अत्यधिक अक्सिजन आवश्यकता परेको, तर यस विषम परिस्थितिमा राज्यले प्रशस्त अक्सिजनको व्यवस्था मिलाउन नसकी अक्सिजनको चरम अभाव भएको हुँदा अस्पतालले पनि अक्सिजनको पर्याप्त मात्रामा व्यवस्थापन गर्न नसकेको, वार्ड तथा इमर्जेन्सीमा भएको बिरामीहरूलाई चाहिने मात्रामा अक्सिजन दिन नसकिरहेको अवस्थामा बिरामीहरूको ज्यान तल–माथि भएमा अस्पताल तथा कुनै पनि कर्मचारीहरू जवाफदेही हुनेछैन । जे–जस्तो छ, त्यसैमा उपचार गर्न तयार छु भनी सहीछाप गर्न मञ्जुर छु ।’ 

भक्तपुर मात्र होइन, देशैभरका सरकारी अस्पतालले बिरामीका आफन्तलाई यस्तै कागज गराउन थालेका छन् । ‘मेरो बिरामीले अक्सिजन नपाएर मृत्यु भएमा जवाफदेही कोही पनि हुनेछैन’ भन्ने कागजमा औँठाछापसमेत लगाउन बिरामीका आफन्त बाध्य भएका छन् । यहीबीच अक्सिजन रोकिएर बुधबार मात्रै रुपन्देहीमा नौजना र नेपालगन्जमा ६ जना बिरामीको मृत्यु भएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को हस्तक्षेपले अस्पतालमा अक्सिजन आपूर्ति झन् जटिल बनाएको छ । सिसिएमसीको हस्तक्षेपले अक्सिजनको आपूर्ति बढाएको छैन, उल्टै अस्पतालमा आपूर्ति भइरहेको अक्सिजनसमेत घटाएर संक्रमितको जीवनमाथि झन् ठूलो खेलबाड गरिरहेको छ । 

महामारी सुरु भएको एक वर्षसम्म अक्सिजन आपूर्ति बढाउन कुनै पहल नगरेको सिसिएमसी अहिले अक्सिजन व्यवस्थापनमा उत्रिएको छ । तर, वीर, पाटन, पोखरा र धरानजस्ता देशका प्रमुख अस्पतालमा एक वर्षअघि नै बिग्रिएका अक्सिजन प्लान्ट मर्मत गर्नसमेत सिसिएमसीले कुनै पहल गरेको थिएन । नयाँ प्लान्ट बनाउन र अक्सिजनको उत्पादन तथा आपूर्ति बढाउन पनि सार्थक तयारी भएन । अहिले हाहाकार भएपछि हस्तक्षेपमा उत्रिएर समस्या झन् बढाएको छ । 

अर्कोतिर उपत्यकाका कोभिड अस्पतालहरूले अक्सिजनको अभावका कारण देखाएर थप बिरामी भर्ना गर्न नसकिने भन्दै विज्ञप्ति निकाल्न थालेका छन् । प्लान्ट उपलब्ध केही सरकारी अस्पतालले अक्सिजनको माग थामिरहे पनि निजी अस्पतालले अक्सिजन नै उपलब्ध नभएकाले बिरामीको उपचार गर्न नसकिने बताएका छन् । बिरामीको माग थेग्नै नसक्ने गरी बढेपछि अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । 

अस्पताल प्रशासनका अनुसार आइसियू र भेन्टिलेटरमा राखिएका बिरामीबाहेक अन्य संक्रमितलाई डिस्चार्ज गरिएको थियो । यस्तै, मेडिसिटी, ह्याम्स र स्टार अस्पतालमा पनि अक्सिजनको अभावका कारण परिपूर्ति गर्न नसकिएको बताइएको छ । अक्सिजनको माग दिनानुदिन बढिरहे पनि सिसिएमसीले पाइरहेको अक्सिजन पनि कटौती गर्दा अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । 

 

अस्पतालको मागभन्दा आधा सिलिन्डर पठाउँदै सरकार

वीर अस्पताल- बिरामी संख्या : १६० जना, आवश्यक अक्सिजन : ३०० सिलिन्डर, सिसिएमसीको कोटा : ३०० सिलिन्डर, अक्सिजन प्लान्ट : दैनिक १५० सिलिन्डर, आपूर्ति : ३० सिलिन्डर

त्रि.वि शिक्षण अस्पताल- बिरामी संख्या : ३४५ जना, आवश्यक अक्सिजन : ३०० सिलिन्डर, सिसिएमसीको कोटा : १५० सिलिन्डर, आपूर्ति : १०० सिलिन्डर

सिभिल अस्पताल- बिरामी संख्या : ८४ जना, आवश्यक अक्सिजन : १०० भन्दा बढी, सिसिएमसीको कोटा : ६० सिलिन्डर, आपूर्ति : ३० सिलिन्डर

नेपाल प्रहरी अस्पताल- बिरामी संख्या : २६३ जना, आवश्यक अक्सिजन : २५० सिलिन्डर,  सिसिएमसीको कोटा : १०० सिलिन्डर,  अक्सिजन प्लान्टबाट उपलब्ध : ८०–१४ सिलिन्डर,  आपूर्ति : ७० सिलिन्डर

भक्तपुर अस्पताल-  बिरामी संख्या : ७४ जना, आवश्यक अक्सिजन : २०० सिलिन्डर, सिसिएमसीको कोटा : ५० सिलिन्डर, आपूर्ति : 

राष्ट्रिय आयुर्वेद अस्पताल-  बिरामी संख्या : १४३ जना,  आवश्यक सिलिन्डर : १०० भन्दा बढी,  सिसिएमसीको कोटा : २५ सिलिन्डर, आपूर्ति : २०–२५ सिलिन्डर 

 

त्रिवि शिक्षण अस्पताल

शिक्षण अस्पतालमा हाइफ्लो अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या धेरै भएकाले अक्सिजन परिपूर्ति गर्न मुस्किल भइरहेको छ । अस्पतालमा रहेका बिरामीको संख्याका आधारमा हाल प्रत्येक दिन करिब तीन सय सिलिन्डर अक्सिजन थप आवश्यक हुन्छ । तर, सिसिएमसीले हाल जम्मा एक सय ५० मात्रै सिलिन्डर उपलब्ध गराइरहेको छ । 

शिक्षण अस्पतालले काभ्रेको नवज्योति अक्सिजन कम्पनीसँग सम्झौता गरेर दैनिक तीन सय सिलिन्डर ल्याइरहेको थियो । अक्सिजन अभाव हुन थालेपछि सिसिएमसीले दैनिक एक सय ५० सिलिन्डर मात्रै दिने सम्झौता गरेको छ । 

शिक्षणको कोभिड युनिटका प्रमुख डा. सन्तकुमार दास भन्छन्, ‘मंगलबार अक्सिजन नै नआएकाले व्यवस्थापन गर्न निकै गाह्रो भइरहेको थियो । बेलुका मात्र अक्सिजन आएर अलि सहज भएको छ । तर, अस्पतालमा रहेका ५० प्रतिशतभन्दा बढी बिरामीलाई हाइफ्लो अक्सिजन चाहिन्छ । वार्डमा मात्रै २२ जना बिरामी आइसियू राख्नुपर्ने अवस्थामा छन् । तर, आइसियू खाली छैन । इमर्जेन्सीमा बिरामीको मृत्यु भइरहेको छ ।’ 

सिभिल अस्पताल

सिभिल अस्पतालमा कोभिडका ८४ जना संक्रमित छन् । वार्डमा ठाउँ नभएर इमर्जेन्सीमा राखिएका बिरामीको लेखाजोखा छैन । अस्पतालमा दैनिक सयभन्दा बढी अक्सिजन सिलिन्डर आवश्यक छ, तर अक्सिजन आपूर्ति नहुँदा वार्डमै बिरामीको मृत्यु भइरहेको छ । 

१० घन्टा अक्सिजन चाहिने बिरामीलाई दुईदेखि तीन घन्टा मात्रै अक्सिजन दिएर जसोतसो प्राण मात्रै धानिदिने व्यवस्था गरिएको अस्पतालका कोभिड संयोजक डा. दिनेशकुमार लम्साल बताउँछन् । ‘अक्सिजनको आपूर्ति एकदमै कम छ । एक साताअघि हामीले बजारबाट २६ सिलिन्डर खोजेर ल्याएका थियौँ, अहिले बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । तर, अक्सिजन नभएरै वार्डमा संक्रमितको मृत्यु भइरहेको छ । अस्पतालको आइसियूमा अक्सिजन नपाएर बिरामीको मृत्यु हुनु निकै दुःखदायी अवस्था बनेको छ,’ उनी भन्छन् । 

वीर अस्पताल 

बिरामीको चाप बढ्दै गएपछि वीर अस्पतालमा सय बेड मंगलबारदेखि सञ्चालनमा ल्याउने तयारी थियो । तर, अक्सिजन अभाव भएकाले बेड सञ्चालनमा आएनन् । कोभिडका लागि नयाँ भवनमा तयार गरिएको वार्डमा मात्रै दैनिक कम्तीमा सय सिलिन्डर अक्सिजन आवश्यक हुन्छ, तर सिसिएमसीले जम्मा ३० सिलिन्डर मात्र उपलब्ध गराएको अस्पतालका कोभिड संयोजक डा. अच्युत कार्की बताउँछन् । 

‘बिहानैदेखि स्वास्थ्य मन्त्रालय र सिसिएमसीलाई आग्रह गरिरहेका थियौँ, कम्तीमा सय सिलिन्डर पठाइदिन्छौँ भने पनि जम्मा ३० मात्र आएको छ । यो अक्सिजनले इमर्जेन्सी वार्डलाई पनि पुग्दैन,’ उनले भने । 

नेपाल प्रहरी अस्पताल 

नेपाल प्रहरी अस्पतालमा दैनिक दुई सय ५० सिलिन्डरभन्दा बढी अक्सिजन आवश्यक हुन्छ । अस्पतालका कोभिड संयोजक डा. दामोदर पौडेल भन्छन्, ‘अस्पतालमा भर्ना भएका लगभग ९५ प्रतिशत बिरामीलाई अक्सिजन चाहिन्छ । अस्पतालमा अक्सिजन प्लान्ट भए पनि हाइफ्लो अक्सिजन आवश्यक पर्ने संक्रमित बढी भएकाले माग पुर्‍याउन हम्मेहम्मे छ ।’

कतिपय बिरामीलाई एक घन्टामा एउटा अक्सिजन सिलिन्डर आवश्यक पर्ने अवस्था भएको उनी बताउँछन् । ‘यस्ता बिरामीलाई प्रतिमिनेट ८० लिटर अक्सिजन आवश्यक हुन्छ । यही वेला सिसिएमसीले सिलिन्डरमा कटौती गरिदिएको छ । हामीसँग बेड भएर पनि बिरामी भर्ना गर्न सकेका छैनौँ,’ उनले भने । 

भक्तपुर अस्पताल

भक्तपुर अस्पतालमा अक्सिजन सकिएपछि अस्पतालमा भर्ना भएका बिरामीको जीवन जोखिममा छ । अस्पतालकी मेसु डा. सुमित्रा गौतमका अनुसार अस्पतालले यसअघि सम्झौता गरेका उद्योगबाट अक्सिजन ल्याउन पाएको छैन, किनकि सिसिएमसीले कोटा तोकेको छ । तर, सिसिएमसीले तोकेको कोटाले नपुगेपछि जनकपुरबाट मगाइएको छ । 

‘सिसिएमसीको निर्देशनविना उद्योगले अक्सिजन दिन मानिरहेका छैनन्, अस्पतालमा अक्सिजन छैन । आइसियूमा रहेका बिरामीलाई बचाउनै मुस्किल छ । अक्सिजनका लागि स्वास्थ्य मन्त्रालयदेखि सिसिएमसी र सबै उत्पादन कम्पनीसँग आग्रह गरिसक्यौँ, कहीँबाट उपलब्ध हुन सकेको छैन,’ उनले भनिन् । 

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र

राष्ट्रिय आयुर्वेद अनुसन्धान अस्पतालमा एक सय ३२ जना बिरामी छन् । उनीहरूका लागि दैनिक सयभन्दा बढी सिलिन्डर अक्सिजन आवश्यक हुन्छ । ‘सिसिएमसीले हिमाल ग्यासबाट अक्सिजन लिएर आउनू भनेको रहेछ, आज बल्ल १६ वटा सिलिन्डर ल्याइएको छ । यसले अस्पतालमा रहेका पाँच प्रतिशतलाई पनि पुग्दैन । त्यही पनि दैनिक उपलब्ध हुँदैन । अब कसरी बिरामी बचाउने भन्ने समस्या भएको छ,’ अस्पतालका कोभिड संयोजक डा. जितेन्द्र श्रेष्ठ भन्छन् ।

कुमा अक्सिजन आपूर्ति छ, तर बेड छैन 

कोभिड संक्रमणको उपचार भइरहेको टेकु अस्पतालमा भने अक्सिजन प्लान्ट सञ्चालनमा रहेकाले अक्सिजन आपूर्ति अहिलेसम्म सहज नै छ । तर, बेड नभएकाले बिरामी बाहिरै राखिएको छ । उनीहरूका लागि सिलिन्डरबाट अक्सिजन दिनुपर्छ, तर आपूर्ति सहज छैन । ‘पाँच मात्रै बेड भएको इमर्जेन्सी वार्डमा अहिले दैनिक कम्तीमा ४० बिरामीको उपचार भइरहेको छ । बिरामीलाई कुर्सीमा राखेर बाहिरै अक्सिजन दिनुपरेको छ,’ प्रवक्ता नवराज गौतम भन्छन् । 

इमर्जेन्सी वार्ड प्रमुख लीलानाथ भण्डारीका अनुसार अहिले आँगनमै राखिएका सबैजसो बिरामी आइसियू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका छन् । तर, भित्र ठाउँ नै नभएकाले अस्पताल विवश छ ।

......

सिसिएमसीले कोटा प्रणाली लागू गरेपछि अक्सिजन आपूर्तिमा थप समस्या

उपत्यकासहित देशभरिका अस्पतालमा अक्सिजन संकट गहिरिँदै गएको छ । काठमाडौं उपत्यकाका धेरै निजी अस्पतालले अक्सिजन अभावकै कारण कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् भने केहीले उपचाररत बिरामी पनि डिस्चार्ज गर्न थालेका छन् । 

सरकारले उपत्यकाका अस्पतालमा अक्सिजन वितरणको कोटा प्रणाली लागू गरेपछि समस्या थप बल्झिएको अस्पतालहरूको भनाइ छ । कोरोनाका गम्भीर बिरामीले अक्सिजन नपाउने अवस्था भएपछि दर्जनभन्दा बढी अस्पतालले सूचना जारी गर्दै ‘नयाँ बिरामी भर्ना गर्न नसकिने’ भन्दै हात उठाएका छन् । 

राजधानीमा रहेका ग्रान्डी इन्टरनेसनल, नेपाल मेडिसिटी, मेडिकेयर, ओम, हेल्पिङ ह्यान्ड्स, नेपाल–भारत मैत्री, कोरिया मैत्री, दीर्घायु, करुणा, बयोधा, मध्यपुर, मनमोहन मेमोरियललगायतका अस्पताल र भैरहवाको युनिभर्सल मेडिकल कलेजले विज्ञप्ति जारी गरेर बिरामी भर्ना लिन नसकिने बताएका छन् । 

‘नेपाल सरकारको नियमअनुसार दैनिक एक सय सिलिन्डर मात्र अक्सिजन प्राप्त हुने भएकाले हामी चाहेअनुसार थप बिरामी भर्ना गर्न असमर्थ छौँ,’ बुधबार विज्ञप्ति जारी गर्दै ग्रान्डी इन्टरनेसनलले भनेको छ । त्यस्तै, नर्भिक अस्पतालले पनि ‘अक्सिजन आपूर्ति सहज नभए जुनसुकै वेला अकल्पनीय घटना हुन सक्ने’ चेतावनी विज्ञप्तिमार्फत दिएको छ ।

बयोधा अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै अक्सिजन अभावका कारण बुधबारदेखि कोरोना संक्रमितलाई भर्ना नलिने बताएको छ । अहिले उपचाररतलाई भने डिस्चार्ज नहुँदासम्मका लागि अक्सिजनको व्यवस्थापन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

उत्पादनले धान्नै नसक्ने अवस्था रहेका वेला सरकारले हचुवाको भरमा अक्सिजनमा कोटा प्रणाली लागू गरेपछि बिरामी भर्ना गर्न नसकिने अवस्था सिर्जना भएको एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का उपाध्यक्ष हरिप्रसाद रिजालले बताए । ‘अस्पतालको क्षमता र कोरोनाका बिरामीको संख्याका आधारमा न्यायोचित वितरण भएन,’ उनले भने, ‘अक्सिजन गम्भीर प्रकृतिका बिरामीलाई चाहिने हो । तर, अस्थायी अस्पताल र घरमा अक्सिजन राखिएको छ, जहाँ गम्भीर प्रकृतिको उपचार हुँदैन । अस्पतालको क्षमता र कोरोनाका बिरामीको संख्यालाई हेरेर अक्सिजनको न्यायोचित वितरण हुनुपर्छ ।’

अक्सिजनको उत्पादन, माग र आपूर्तिमा सहजीकरण गर्न कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा अक्सिजन कार्यदल बनाएको छ । यही कार्यदलको सिफारिसअनुसार उपत्यकाका अस्पतालले कोटा प्रणालीमार्फत अक्सिजन पाइरहेका छन् । अस्पतालको शय्या, आइसियू र भेन्टिलेटरको संख्या तथा उपचाररत बिरामी संख्याका आधारमा दैनिक १० देखि तीन सय सिलिन्डर अक्सिजनको कोटा तोकिएको संयोजक श्रेष्ठले बताए । 

तर, निजी अस्पतालले भने कोटा प्रणालीको विरोध गरिरहेका छन् । सरकारले अक्सिजन वितरण नियन्त्रणमा लिँदा समस्या बढेको उनीहरूको तर्क छ । ‘दैनिक साढे दुई सय सिलिन्डर आवश्यक पर्नेमा अहिले ७० सिलिन्डर मात्रै उपलब्ध गराएको छ,’ नेपाल मेडिकल कलेजका निर्देशक डा. राजेशकिशोर श्रेष्ठले भने । अक्सिजन अभावकै कारण अहिले नयाँ भर्ना लिन बन्द गरिएको उनले बताए । सिसिएमसीकै तथ्यांकअनुसार उपत्यकामा दैनिक १६ हजार सिलिन्डर अक्सिजनको माग छ । तर, मुस्किलले सात हजार सिलिन्डर आपूर्ति भइरहेको छ ।

अफिनका उपाध्यक्ष रिजालले सरकारी पहुँचका आधारमा सिलिन्डर होल्ड गर्ने काम भएको बताए । ‘सिसिएमसीले पूर्वतयारी नगरी हचुवाका भरमा उपत्यकाका अस्पतालमा अक्सिजन वितरणमा कोटा प्रणाली लागू गर्दा आपूर्तिमा झनै समस्या भएको छ । पाउनुपर्ने मान्छेले अक्सिजन पाएका छैनन् । तर, सरकारी पहुँच, राजनीतिक शक्तिकेन्द्रका नाममा सिलिन्डर होल्ड गरिएका छन् । सामाजिक संघसंस्थाका नाममा पनि सिलिन्डर होल्ड गरिएको छ । सस्तो लोकप्रियताका लागि सिलिन्डर बाँड्ने काम भएको छ,’ उनले भने ।

हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालका अध्यक्ष डा. गुप्तबहादुर श्रेष्ठले उपचाररत ३२ बिरामीलाई घटाएर २४ जनामा झारेको बताए । ‘अक्सिजनको चरम अभाव छ । सेवाका नाममा क्षमताभन्दा बढी भर्ना गरेर सबैलाई मार्न नैतिकताले दिँदैन । त्यसैले अक्सिजनविना भर्ना नलिने भनेका छौँ,’ उनले भने । विगतमा दैनिक ९० सिलिन्डर खपत हुँदै आएको अस्पतालले अहिले ५० वटा मात्रै पाइरहेको उनले बताए  । 

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले आफ्नै अक्सिजन प्लान्ट भए पनि माग धान्न नसकेको बताए । ‘आफ्नै प्लान्टले दैनिक ३० सिलिन्डर अक्सिजन उत्पादन गर्छ, तर अहिले कोरोना संक्रमित धेरै भर्ना भएकाले त्यो संख्या अत्यन्तै न्यून भएको छ,’ उनले भने, ‘यसअघि दैनिक ४० सिलिन्डरले पुग्दै आएकोमा अहिले दुई सय सिलिन्डर आवश्यक परिरहेको छ ।’ सिसिएमसीले सय सिलिन्डर दिने भने पनि उपलब्ध नगराएको उनको भनाइ छ । 

महामारीका कारण विश्वबजार बन्द भएका वेला सरकारले अस्पतालहरूलाई अक्सिजन प्लान्ट जडान गर भन्नु जायज नभएको सिंहको भनाइ छ । ‘सरकारले प्लान्ट ल्याएर निजी क्षेत्रलाई दियो भने लगानी दिएर हामी जडान गर्छौँ,’ उनले भने ।

ओम अस्पतालका निर्देशक डा. हरिश जोशीले पनि अक्सिजन अभावले बिरामी भर्ना गर्न असमर्थ भएको बताए । ‘दैनिक सय सिलिन्डर खपत भइरहेको अस्पतालमा अहिले सिसिएमसीले ५० सिलिन्डर कोटा तोकेको छ । तर, त्यही पनि आउन सकेको छैन । अक्सिजन अभावले बिरामीको जीवन धान्न कठिन भएकाले हामीले भर्ना लिन बन्द गरेका हौँ,’ उनले भने । 

मेडिसिटी अस्पतालका निर्देशक डा. सुनील शर्माले सिसिएमसीले कोटा लागू गर्दा समस्या आएको बताए । ‘हामीलाई दैनिक पाँच सय सिलिन्डर आवश्यक पर्छ, तर सिसिएमसीले दुई सय ५० मात्रै दिएपछि अवस्था जटिल बनेको हो,’ उनले भने, ‘अक्सिजनविना कोरोनाका बिरामी भर्ना गर्नु उचित नभएकाले नयाँ भर्ना नगर्ने निर्णयमा पुगेका हौँ ।’ अस्पतालमा अहिले करिब एक सय ५० संक्रमित उपचाररत रहेको उनले बताए ।

उद्योग मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले भने उत्पादन न्यून तथा माग दोब्बर रहेको अवस्थामा आपूर्तिमा सहजीकरण गर्न मात्र कोटा प्रणाली लागू गरिएको बताए । यो प्रणालीलाई अझै चुस्त बनाउने काम भइरहेको उनको भनाइ छ । 

अस्पतालहरूले अक्सिजन अभावले बिरामी भर्ना गर्न नसक्ने तथा डिस्चार्ज गर्ने सूचना निकाल्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारणलाई त्रसित नबनाउन आग्रह गरेको छ । अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्षबाट प्रयास भइरहेकाले सकारात्मक भूमिका खेल्न सिडिओ कालीप्रसाद पराजुलीले आग्रह गरेका छन् । 

अक्सिजनमा ‘चुनावी राजनीति’ 

प्रहरी अधिकारीहरूका अनुसार अस्पतालमा अक्सिजन अभाव हुनुको एउटा कारण ‘चुनावी राजनीति’ पनि हो । ठूला नेताहरूले पहुँचका आधारमा माग नै नभई आफ्नो निर्वाचन क्षेत्रमा अक्सिजन सिलिन्डर लगेर राख्ने गरेका छन् । ठूलो संख्यामा त्यसरी सिलिन्डर ‘होल्ड’ गर्दा अक्सिजन व्यवस्थापनमा समस्या भएको छ । 

यसरी जिल्ला पठाइँदै गरिएको अक्सिजन बुधबार प्रहरीले थानकोट नाकामा रोकेको थियो । तर, ‘माथि’को ठूलो दबाब आएपछि छाडिएको छ । सिसिएमसीको स्वीकृतिविना नै लैजान लागिएको भन्दै प्रहरीले रोकेको थियो ।

स्रोतका अनुसार ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ती अक्सिजन सिलिन्डर आफ्नो गृहजिल्ला अर्घाखाँची पठाएका थिए । ‘अक्सिजन सिलिन्डर झारेर गाडी फिर्ता गरिएको थियो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘पछि यति ठूलो दबाब आयो कि फिर्ता गर्न बाध्य भयौँ ।’ कति सिलिन्डर थिए भन्ने प्रहरीले खुलाएको छैन ।

प्रहरी स्रोतका अनुसार धेरै नेताले आफ्नो निर्वाचन क्षेत्रमा यसअघि नै अक्सिजनसहितका सिलिन्डर जम्मा गरेका छन् । जसमध्ये धेरै प्रयोग हुन सकेको छैन । जसले गर्दा एकातर्फ अक्सिजनको चरम अभाव हुने र अर्काेतर्फ होल्ड हुने अवस्था सिर्जना भएको छ । 

गृह मन्त्रालयले सिसिएमसीको स्वीकृतिविना अक्सिजन सिलिन्डरको समेत ओसारपसार रोक्न देशभरि सर्कुलर गरेको छ । नेपाल प्रहरीमार्फत आवश्यकताभन्दा धेरै होल्ड गरिएका सिलिन्डर संकलन भइरहेको छ । मंगलबार र बुधबार मात्र यस्ता पाँच सय ४७ सिलिन्डर प्रहरीले संकलन गरेको छ । 

चिकित्सक संघद्वारा देशभर ‘रेड अलर्ट’ घोषणा

कोरोना महामारी तीव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर ‘रेड अलर्ट’ घोषणा गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै नेपालको स्वास्थ्य प्रणाली गम्भीर अवस्थामा पुगेको भन्दै महामारीमा सबै एक भएर जुट्न अपिल गरेको छ ।

संघका अध्यक्ष डा. लोचन कार्कीले संक्रमण देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको बताए । ‘कोरोनाको दोस्रो छाल सुरु हुँदै जाँदा आन्दोलन, सभा–समारोह बढ्दै गए । आगामी दिनमा कसरी तयारी गर्ने भन्ने योजनासमेत भएन । त्यसैले स्वास्थ्य क्षेत्र अहिलेको अवस्थामा पुग्यो,’ उनले भने । अहिले राजनीतिक जोडघटाउमा नलागेर सबै दललाई एकै ठाउँमा उभिएर महामारीविरुद्ध जुट्न संघले अपिल गरेको छ ।