मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७८ बैशाख २८ मंगलबार ०३:५८:००
Read Time : > 11 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

५८ अर्ब बजेटमा ३९६ अस्पताल बनाउने घोषणा, शिलान्यासमा खनिएका खाल्डामा हिलो र फोहोर

प्रधानमन्त्रीकै निर्वाचन क्षेत्र झापाको कमल गाउँपालिकामा १८ करोड ६ लाख ८२ हजार बजेट, प्रगति यस्तो छ

Read Time : > 11 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७८ बैशाख २८ मंगलबार ०३:५८:००
झापाको कमल गाउँपालिका– २ क्याम्पास्थित गाउँपालिकाको कार्यालयपरिसरमै आधारभूत अस्पताल बनाउने भनी गत १५ मंसिरमा धुमधामसँग शिलान्यास भयो । तर, अस्पताल निर्माण अघि बढेन । शिलान्यास गरिएको ठाउँ अहिले ‘डम्पिङसाइट’ बनेको छ । तस्बिर : चिरञ्जीवी घिमिरे

सरकारका लागि विश्वासको मत माग्दै प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्मा पनि आफ्नो कार्यकालमा भएका शिलान्यास र उद्घाटनको फेहरिस्त प्रस्तुत गरे । तर, कागज र वास्तविकताबीच कति ठूलो अन्तर छ भन्ने प्रस्ट पार्न यी खाल्डाका तस्बिर पर्याप्त छन् । सानोतिनो होइन, ५८ अर्ब बजेट खर्च हुने भन्दै सरकारले गत १५ मंसिरमा एकै दिन सातै प्रदेशमा तीन सय नौ आधारभूत अस्पताल शिलान्यास गरेको थियो । तर, स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउन भनेर शिलान्यासका लागि खनिएका खाल्डामा कति पानी भरिएको छ कतै फोहोर । यति ठूलो बजेटको महत्वांकाक्षी परियोजना पनि ‘प्रोपगाण्डा’ मै सीमित भएको छ । 

सात सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अहिले पनि अस्पताल छैनन् । तीमध्ये पहिलो चरणमा तीन सय ९६ स्थानीय तहमा अस्पतालको भवन बनाउने योजना रहेको थियो । तर, अन्तिम दिन तीन सय ९ अस्पताल शिलान्यास गरिको थियो । 

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भनेका थिए, ‘यसलाई स्वास्थ्य क्षेत्रको क्रान्ति भन्नुपर्छ, उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको छैन ।’ पाँच शड्ढयाका ५२, १० शड्ढयाका एक सय नौ र १५ शड्ढयाका ३५ अस्पताल बनाइने योजना सरकारको छ । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ । तर, शिलान्यास गरेर सरकार निदाएको छ ।

अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको मापदण्ड पनि तयार भएको थियो । पाँच शड्ढयाको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शड्ढयाको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शड्ढयाको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटाउने योजना छ । तर, भवन निर्माणकै काम अहिलेसम्म अलपत्र छ ।

......

झापामा शिलान्यास भएको ठाउँ ‘डम्पिङसाइट’

झापाको कमल गाउँपालिका– २ क्याम्पास्थित गाउँपालिकाको कार्यालयपरिसरमै आधारभूत अस्पताल बनाउने भनी गत १५ मंसिरमा धुमधामसँग शिलान्यास भयो । तर, अस्पताल निर्माण अघि बढेन । शिलान्यास गरिएको ठाउँ अहिले ‘डम्पिङसाइट’ बनेको छ । 
अस्पताल बनाउन भनी भूमिपूजन गरिएको ठाउँमा अहिले गाउँपालिकाबाट निस्किएका फोहोर फाल्ने गरिएको छ । गत १५ मंसिरमा प्रदेश– १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले यहाँ अस्पताल बनाउने भनी शिलान्यास गरेका थिए । ६ महिना हुन लाग्दा भौतिक संरचना निर्माण हुनु त कता हो कता, शिलान्यासका लागि खनिएको खाल्डो फोहोरले पुरिन लागेको छ ।

त्यसवेला झापाका ११ पालिकामा आधारभूत अस्पताल शिलान्यास गरिएको थियो । अधिकांशमा काम अघि बढेको छैन । कमल, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, मेचीनगर नगरपालिका, कन्काई नगरपालिका र शिवसताक्षी नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकाले ठेक्का आह्वान गरेका छन् । कमल, हल्दिबारी, मेचीनगर, कन्काइ, शिवसताक्षी, गौरादह नगरपालिका र कचनकवलका लागि १८ करोड ६ लाख ८२ हजारका दरले तथा बुद्धशान्तिका लागि १० करोड ८३ लाख ३६ हजार विनियोजन गरिएको थियो । गौरीगन्ज गाउँपालिका, बिर्तामोड नगरपालिका र झापा गाउँपालिको भौतिक प्रगति पनि शून्य छ ।

संखुवासभामा निर्माण सुरु नै भएनन्

पूर्वी पहाडी जिल्ला संखुवासभाका सातवटा स्थानीय तहमा तामझामका साथ आधारभूत अस्पतालको शिलान्यास गरिए पनि अझसम्म निर्माण कार्य भने सुरुवात हुन सकेको छैन । चैनपुर, पाँचखपन, धर्मदेवी र मादी नगरपालिका तथा भोटखोला, सभापोखरी र चिचिला गाउँपालिकामा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । चैनपुर नगरपालिकामा १५ बेडको आधारभूत अस्पताल निर्माण गर्न १८ करोड ६ लाख ८२ हजार बजेट विनियोजन भएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने यो अस्पतालका लागि अहिले तीन करोड २५ लाख रुपैयाँ क्रमागत बजेटको रूपमा निकासा भएको चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण ढकालले जानकारी दिए । तर, निर्माण कार्य भने सुस्त छ । नगरपालिकाले आइतबार मात्र भवन निर्माणका लागि सूचना प्रकाशन गरेको छ । 

पाँचखपन नगरमा १० करोड ८३ लाख ३६ हजारको लागतमा, धर्मदेवी नगरपालिकामा सात करोड ११ लाख ९८ हजार लागतमा बन्ने अस्पतालको काम अघि बढ्नै सकेको छैन । मादी नगरपालिकाको हाल पनि उस्तै छ । चिचिला गाउँपालिकाले भने सात करोड ११ लाख ९८ हजार लागतमा भवन निर्माणका लागि एक साताअघि सूचना निकालेको गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पाले जानकारी दिए । सभापोखरी गाउँपालिकाले पनि भर्खरै सूचना प्रकाशन गरेको अध्यक्ष रत्न सुब्बाले बताए । भोटखोला गाउँपालिकामा निर्माण कार्यको सुरसार नै नभएको अध्यक्ष तेम्बा भोटेले जानकारी दिए । 

सोलुखुम्बुमा पनि निर्माण हुन सकेन

सोलुखुम्बुमा शिलान्यास गरिएका पाँचवटा प्राथमिक स्वास्थ्य केन्द्रको पनि निर्माण सुरु भएको छैन । माप्य दूधकोसी, खुम्बु पासाङ ल्हामु, लिखुपिके, सोताङ र महाकुलुङ गाउँपालिकामा स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको थियो । 

६ महिनामा स्थानीय तहहरूले जग्गा खरिदको प्रक्रिया मात्र पूरा गरेका छन् । सोताङ गाउँपालिकाले प्राथमिक अस्पताललाई नै स्तरोन्नति गरेर सेवा प्रवाह गरिरहेको भए पनि भवन बनाउन बाँकी छ । १५ शड्ढयाको भवन निर्माणका लागि तीन करोड २० लाख बजेट प्राप्त भएको, तर जनशक्ति थप नभएको स्वास्थ्य शाखा संयोजक श्रीध्वज राईले बताए । 

खुम्बु पासाङ ल्हामु गाउँपालिकामा जग्गा विवाद भएको छ । त्यस्तै, महाकुलुङ गाउँपालिकाले तीन करोड ३० लाखको लागतमा बन्ने आधारभूत अस्पताल चाँडै टेन्डर आह्वान गर्ने जनाएको छ । १५ शड्ढयाको अस्पताल निर्माणका लागि बुङमा जग्गा व्यवस्थापन गरिएको छ । लिखुपिके गाउँपालिकाको ३ नम्बर वडामा अस्पताल निर्माणका लागि जग्गा प्राप्त भइसकेको छ भने माप्य दूधकोसी गाउँपालिकाले बासा स्वास्थ्यचौकीलाई नै स्तरोन्नति गर्ने तयारी गरेको छ । 

सप्तरीमा पनि टेन्डर मात्र

सप्तरीमा एकसाथ तीनवटा आधारभूत अस्पताल भवनको शिलान्यास भएको थियो । ६ महिना बित्दा ती भर्खर टेन्डर प्रक्रिया अघि बढेको छ । कञ्चनरूप, सुरुंगा र तिरहुत गाउँपालिकामा भर्खर टेन्डर प्रक्रिया सुरु भएको छ । तिरहुत गाउँपालिका– ५ लोहजरमा निर्माण हुने अस्पतालका लागि हामी यही साता टेन्डर गर्दै छौँ,’ गाउँपालिका अध्यक्ष हेमन्त बहडखेर मनोजले नयाँ पत्रिकासँग भने, ‘जग्गा व्यवस्थापन गर्न समय लागेकाले ढिलो भएको हो ।’ 

कञ्चनरूपमा पनि टेन्डर प्रकाशित गर्ने निर्णय भएको छ । कञ्चनरूप– ८ का अध्यक्ष राजकुुमार साहले जग्गा कमी भएकाले प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक बस्ने आवास भत्काएर भए पनि निर्माण गर्ने निर्णयमा पुुगेको बताए । सुरुंगा नगरपालिका पनि टेन्डर प्रक्रियामा छ । अस्पताल निर्माणका लागि चालू आर्थिक वर्षमा तीन करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जानकारी गराए ।

सिराहामा पाँच महिनादेखि साइनबोर्ड ठडियो, अस्पताल ठडिएन

तस्बिर : सुरेन्द्रकुमार कामती

सिराहाको विष्णुपुर गाउँपालिकामा १० शड्ढयाको आधारभूत अस्पताल बनाउने भनी २८ मंसिरमा भवन निर्माणको शिलान्यास भयो । पाँच महिनाअघि शिलान्यासको क्रममा खेतमा गाडिएको साइनबोर्ड अहिले पनि उसैगरी ठडिएको छ । १८ करोड ६ लाख ८२ हजार वजेट विनियोजन गरिएको भएपनि टेन्डर आह्वानदेखि भवन निर्माणको काम एक पाइला अघि बढेको छैन । बरु, अस्पताल कहाँ बनाउने भन्ने विवाद चर्किँदै गएको छ । त्यसो त २८ मंसिरमै एउटै अस्पतालका लागि विष्णुपुर १ र ५ मा गरी दुई ठाउँमा शिलान्यास गरिएको थियो । त्यो विवाद अहिले पनि मिलेको छैन । 

विवाद नै नभएका अन्य पालिकामा पनि काम उस्तै सुस्त छन् । औरही गाउँपालिकामा १५ बेड क्षमताको आधारभूत अस्पताल शिलान्यास गरिएको थियो । यहाँका लागि १८ करोड ६ लाख ८२ हजारका बजेट छुट्याइएको थियो । डिपिआर निर्माण र तीन कट्ठा जग्गा खरिदको प्रक्रियाबाहेक अरू प्रगति भएको छैन । औरही गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उपेन्द्र यादवले शिल्यानास गरे पनि पूर्वाधार निर्माणको काम अगाडि बढ्न नसकेको बताए ।

अर्नामा गाउँपालिकाले दुई दिनअघि मात्र १५ टेन्डरका लागि सूचना प्रकाशित गरेको छ । यहाँका लागि १८ करोड ६ लाख ८२ हजारका बजेट छुट्याइएको थियो । सुखीपुर नगरपालिकामा १० शड्ढयाको अस्पताल बनाउन १० करोड ८३ लाख ३६ हजार विनियोजन गरिएको थियो । शिलान्यास भए पनि यहाँ निर्माणको कुनै सुरसार छैन । गोलबजार नगरपालिकामा १५ शड्ढयाको आधारभूत अस्पतालको लागि डिपिआर बनेको छ, टेन्डरलगायतका प्रक्रिया सुरु भएको छैन । १८ करोड ६ लाख ८२ हजार बजेट छुट्याएको थियो ।  सिराहा नगरपालिका– १९ मा बनाउने भनिएको १५ शड्ढयाको अस्पतालका लागि पनि १८ करोड ६ लाख ८२ हजार विनियोजन गरिएको थियो । तर, यहाँको प्रगति पनि दयनीय छ । दोस्रो चरणमा बरियारपट्टी गाउँपालिकामा १५ बेड क्षमताको अस्पताल छनोटमा परेको थियो । जग्गा प्राप्तिको प्रक्रिया पूरा गरी मन्त्रालयलाई पत्राचार गरिए पनि बजेट नआएको गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले बताए ।

महोत्तरीका ६ स्वास्थ्य केन्द्रको निर्माण अझै सुरु भएन

महोत्तरीका ६ स्थानीय तहमा शिलान्यास गरिएका प्राथमिक स्वास्थ्य केन्द्रहरूको निर्माण अझै सुरु हुन सकेको छैन । मनरासिस्वा, लोहारपट्टी, मटिहानी र गौशाला नगरपालिकामा १५–१५ शड्ढयाका तथा एकडारा गाउँपालिकामा र भंगहा नगरपालिकामा १०–१० शड्ढयाको अस्पताल निर्माण गर्न शिलान्यास गरिएको थियो । 

मनरासिस्वा नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र बनाउन आवश्यक ११ कट्ठा १६ धुर जग्गा नपाएपछि मेयर सञ्जयकुमार सिंहले आफ्नै १३ कट्ठा जग्गा दान गरी शिलान्यास गरेका थिए । १८ करोड ६ लाख ८२ हजार बजेट छुट्याइएको भए तापनि अहिलेसम्म तीन करोड २२ लाख मात्रै प्राप्त भएको मेयर सिंहले बताए । भवन बनाउन टेन्डर गरिसकेको र यसै महिनाको अन्तिमसम्म काम सुरु भइसक्ने उनको भनाइ छ । 

मटिहानी, भंगहा, लोहारपट्टी र गौशाला नगरपालिका तथा एकडारा गाउँपालिकाले पनि टेन्डर प्रक्रिया चलिरहेको र चाँडै निर्माण सुरु हुने बताएको छ । ६ महिना हुन लाग्दा पनि शिलान्यास गरिएको ठाउँमा इँटासमेत नदेख्दा स्थानीय निराश देखिएका छन् ।

पर्सामा अघि बढेन निर्माण कार्य

पर्साका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्यसेवा विस्तार गर्ने उद्देश्यले शिलान्यास गरिएका आधारभूत अस्पतालको निर्माण अघि बढ्न सकेको छैन । शिलान्यास भएको लामो समय हुँदा टेन्डर आह्वान गर्नेबाहेक अस्पताल निर्माणको काममा प्रगति देखिएको छैन । संघीय सरकारको लगानीमा आधारभूत अस्पताल बनाउने योजनासहित गत मंसिरमा यहाँका चार स्थानीय तहमा अस्पतालको शिलान्यास भएको थियो । पटेर्वासुगौली गाउँपालिका र जिराभवानी गाउँपालिकामा १० शड्ढया, ठोरी गाउँपालिका र धोबिनी गाउँपालिकामा १५ शड्ढयाको आधारभूत अस्पताल बनाउने योजना छ । तर, शिलान्यासको ६ महिना हुनलाग्दा उल्लेख्य प्रगति हुन सकेको छैन । 

धोबिनी गाउँपालिकाका अध्यक्ष सुरेशप्रसाद कुर्मीले यस अवधिमा टेन्डर आह्वान, बजेट विनियोजनको काम पूरा भएको बताए । पटेर्वासुगौलीका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र यादवले ठेकेदार कम्पनीले निर्माण कार्य अघि बढाए पनि कति प्रगति भयो भन्नेबारे अहिलेसम्म आफूहरूलाई थाहा नभएको बताए । 

टेन्डरमै रोकिए चितवनका अस्पताल

तस्बिर : विवेक पोख्रेल

चितवनका राप्ती र खैरहनी नगरपालिकामा सरकारले आधारभूत अस्पताल बनाउने योजना बनाएको छ । राप्तीको भण्डारा स्वास्थ्यचौकीलाई विस्तार गरी १० बेडको अस्पताल बनाउने र खैरहनी नगरपालिकाको खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पताल बनाउने सरकारको लक्ष्य छ । तर, यी अस्पतालका लागि टेन्डर प्रक्रिया मात्र सुरु भएको छ । राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले संघीय सरकारबाट ८५ लाख बजेट प्राप्त भएसँगै टेन्डर प्रक्रिया सुरु गरिएको बताइन् । अस्पताल बनाउन १७ करोड खर्च हुने नगरपालिकाको अनुमान छ । 

खैरहनी नगरपालिकामा भने जग्गा अभावले तोकिएको दिनमा अस्पताल शिलान्यास नै हुन सकेन । १३ कट्ठा जमिन चाहिने भए पनि हालको स्वास्थ्य केन्द्र १० कट्ठामा मात्र भएकाले त्यहाँको संरचनालाई नै प्रयोगमा ल्याउने गरेर नयाँ भवनको डिपिआर तयार गरिएको छ । नगरप्रमुख लालमणि चौधरीले चार करोड ७६ लाख रुपैयाँ बजेट आएसँगै टेन्डर गरिएको बताए । चौधरीका अनुसार अस्पताल निर्माण पूरा गर्न १६ करोड लाग्ने अनुमान छ । सरकारले दुई वर्षभित्र यी अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेको छ । तर, अहिलेसम्म टेन्डर सम्झौतासमेत हुन सकेको छैन ।

काभ्रेमा अलमलमै निर्माण कार्य

तस्बिर : इन्द्रबहादुर थापा

काभ्रेमा शिलान्यास गरिएका अस्पताल भवनको पनि निर्माण कार्य सुरु हुन सकेको छैन । स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउन धुलिखेल नगरपालिकाको काभ्रे स्वास्थ्यचौकी, भुम्लु गाउँपालिकाको भुम्लु स्वास्थ्यचौकी, रोशी गाउँपालिकाको खहरे स्वास्थ्यचौकी, महाभारत गाउँपालिकाको घर्तीछाप स्वास्थ्यचौकी र खानीखोला गाउँपालिकाको तालढुंगा स्वास्थ्यचौकी छनोट गरी गत १५ मंसिरमा शिलान्यास गरिएका थिए ।

घर्तीछाप स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १० शड्ढयाको अस्पताल निर्माण गर्न जग्गा खरिद गरेर भवन निर्माणका लागि टेन्डर आह्वान गर्ने तयारी भइरहेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । ‘टेन्डर आह्वानका लागि मन्त्रालयमा चिठी पठाएका छौँ, स्वीकृति भएर आएपछि चाँडै काम गर्छौँ,’ उनले भने । खहरे स्वास्थ्यचौकी स्तरोन्नति गरी १० शड्ढयाको अस्पताल बनाउन ठेक्का सम्झौता भए पनि कोरोनाका कारणले सामान ल्याउन नसकेर काम रोकिएको रोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु दाहालले बताए । 

त्यस्तै, भुम्लु गाउँपालिकामा रहेको भुम्लु स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १० शड्ढयाको अस्पताल बनाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिए । १२ करोडमा बोलपत्र आह्वान गरी सम्झौता हुने काम बाँकी रहेको उनले बताए । तालढुंगा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १० शड्ढयाको अस्पताल बनाउने भनेर छनोट गरिए पनि पाँच बेडको मात्र निर्माण गर्ने तयारी भइरहेको खानीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद अधिकारीले बताए । 

हेटौँडामा पाँच महिना बित्यो, ठेक्का प्रक्रियामै सीमित

मकवानपुरका पाँच स्थानीय तहमा पाँचदेखि १५ शड्ढयासम्मका स्वास्थ्य केन्द्र निर्माण गर्न शिलान्यास गरिएका थिए । तर, राक्सिराङ, कैलाश र मनहरी गाउँपालिका तथा थाहा नगरपालिकाले मात्रै ठेक्का प्रक्रिया अघि बढाएका छन्, इन्द्रसरोवर गाउँपालिका अझै जग्गा खोजीमै अल्झिएको छ ।

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टका अनुसार वडा नम्बर–४ चौकीडाँडामा ३३ रोपनी जग्गामा १५ शड्ढयाको अस्पताल निर्माण गरिनेछ । यसको लागत १८ करोड अनुमान गरिएको छ । जग्गा खोजी र डिपिआर बनाउन समय खर्चिनुपरेकाले ठेक्का प्रक्रिया अघि बढाउन ढिलाइ भएको उनले बताए । मनहरी गाउँपालिकाले १९ करोड लागतमा निर्माण गरिने १५ शड्ढयाको अस्पतालका लागि १५ दिनअघि ठेक्का आह्वान गरेको अध्यक्ष एकराज उप्रेतीले बताए । 

१० शड्ढयाको अस्पताल निर्माणका राक्सिराङ गाउँपालिकाका लागि हालै १० करोडको टेन्डर आह्वान गरेको छ । कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले पनि ठेक्का प्रक्रिया अघि बढाइएको बताए । इन्द्रसरोवर गाउँपालिका पाँच महिना बितिसक्दा पनि जग्गा खोजीमै छ । ८० लाख लागतमा पाँच शड्ढयाको अस्पताल निर्माण गर्ने गाउँपालिकाको योजना छ । 

लमजुङमा डिपिआर र सम्झौताकै चरणमा 

लमजुङका मध्यनेपाल, सुन्दरबजार, राइनास नगरपालिका, दूधपोखरी, दोर्दी, क्व्होलासोंथर र मस्र्याङ्दी गाउँपालिकामा आधारभूत अस्पताल बनाउने योजना छ । अहिलेसम्म डिपिआर र सम्झौता पूरा हुन सकेको छैन । सुन्दरबजार डिपिआर तयार गरी टेन्डरको प्रक्रियामा छ । राइनास नगरपालिका पनि डिपिआर निर्माणपछि टेन्डरमा जाँदै छ । मध्यनेपालले टेन्डर निकालिसकेको छ । दोर्दीमा टेन्डर प्रक्रिया अघि बढेको छ । दूधपोखरीमा डिपिआर र टेन्डरको काम सकिएकोे छ । क्व्होलासोंथरमा निर्माण सम्झौताको तयारीमा गाउँपालिका जुटेको छ । मस्र्याङ्दी पनि टेन्डर प्रक्रियामा छ । 

पोखरामा जग्गा प्राप्ति नहुँदा रोकियो प्रक्रिया

कास्कीको मादी गाउँपालिकामा १५ शड्ढयाको अस्पताल निर्माण गर्न गत मंसिरमा शिलान्यास गरिए पनि अझैसम्म जग्गा प्राप्ति हुन सकेको छैन । निजी जग्गा खरिद गर्नुपर्ने, त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गरेर मुआब्जा समितिले मुआब्जा निर्धारण गर्नुपर्नेलगायतका कारण काम अगाडि बढाउन नपाइएकोे गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बताए । यद्यपि, अस्पताल भवनको डिपिआर तयार भने भइसकेको छ । 

रूपमा गाउँपालिकामा जग्गा प्राप्तिपछि टेन्डर प्रक्रिया अन्तिम चरणमा प्रवेश गर्न लागेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकामा १० प्रतिशत काम सम्पन्न भएको छ । यो आर्थिक वर्षमा पहिलो तला थप्ने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । 

भैरहवामा बजेट आयो, तर कोरोनाले काम रोक्यो

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १५ शड्ढयाको अस्पताल बनाउन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका थिए । अर्थमन्त्रीले शिलान्यास गरेको अस्पतालको समेत अहिलेसम्म भवन निर्माण सुरु भएको छैन । शिलान्यासलगत्तै आवश्यक बजेट प्राप्त भएकाले टेन्डर प्रक्रिया पनि पूरा भएको, तर निर्माण सुरु हुन लाग्दा कोरोनाको मार खेप्नुपरेको भवन निर्माण समितिका अध्यक्ष शुकदेव न्यौपानेले बताए । सोही स्थानमा रहेको आनन्दवन हेल्थ पोस्टलाई स्तरोन्नति गरी १५ शड्ढयाको अस्पताल बनाउन लागिएको हो । अहिले अस्पताल बनिनसके पनि सोही स्थानको हेल्थ पोस्टबाट कोभिडका बिरामीलाई सेवा दिइएको न्यौपानेले बताए । 

बाँकेमा डिपिआर र सम्झौतामै सीमित

तस्बिर : विश्वराज पछल्डङ्ग्या

शिलान्यासको आधा वर्ष हुन लाग्दा पनि बाँकेका स्थानीय तहमा १५ शड्ढयाका अस्पताल निर्माण अगाडि बढ्न सकेको छैन । डिपिआर नै नबनाई हचुवामा अस्पताल शिलान्यास भएकाले काम अघि बढ्न नसकेको हो । १८ करोड ६ लाख ८२ हजार वजेट छुट्याइएको भएपनि राप्तीसोनारी गाउँपालिकामा अहिलेसम्म निर्माणको काम अगाडि बढ्न नसकेको उपाध्यक्ष धनीकुमारी खत्रीले बताइन् । 

खजुरा गाउँपालिकामा अस्पताल निर्माणका लािग १८ करोड ६ लाख ८२ हजार विनियोजन गरिएको थियो । तर, अहिलेसम्म ठेक्का सम्झौता मात्रै भएको छ । गाउँपालिका उपाध्यक्ष एकमाया विकले अहिले भने कोरोनाले सबै काम लथालिंग पारिदिएको बताइन् । त्यस्तै, कोहलपुरका लागि पनि १८ करोड ६ लाख ८२ हजार वजेट विनियोजन गरिएको छ । 

हिमाली जिल्ला हुम्लामा शिलान्यास भयो, काम अघि बढेन

विकट हिमाली जिल्ला हुम्लाका सातमध्ये चार स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भनी गत मंसिरमा एकसाथ शिलान्यास गरिए । तर, अपेक्षित रूपमा निर्माण कार्य अगाडि बढ्न सकेन । १५ शय्याको अस्पताल बनाउने भनिएका अदानचुली गाउँपालिका, सर्केगार्ड र नाम्खा गाउँपालिकामा अस्पताल निर्माणको कुनै सुरसार छैन । १० शय्याको अस्पताल बनाउने भनिएको ताजाँकोट गाउँपालिकामा भने केही काम अघि बढेको छ ।

त्यसो त हुम्लावासीले भौगोलिक विकटताका कारण सातवटै स्थानीय तहमा स्वास्थ्यसेवाको माग गर्दै आएका छन् । भौगोलिक विकटताका कारण स्वास्थ्यको सहज सुविधा उनीहरूको माग रहँदै आएको छ । तर, संघीय सरकारको बजेटमा निर्माण गर्ने भनिएको आधारभूत अस्पताल छनोट भएका स्थानमा समेत समयमै कार्यप्रगति हुन नसक्दा उनीहरूको असन्तोष अझ बढेको छ । 

जुम्लामा पनि प्रगति छैन

जुम्लाको तिला गाउँपालिका– ३ कुडारीमा सुविधायुक्त १० शय्याको अस्पताल निर्माण गर्न गत वर्षको २२ मंसिरमा शिलान्यास भयो । कर्णाली प्रदेशका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले ठूलै तामझामसहित शिलान्यास गरे । तर, निर्माण कार्यमा भने उल्लेख्य प्रगति हुन सकेन । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार आधारभूत अस्पतालका लागि संघीय सरकारले १२ करोड बजेट विनियोजन गरेको छ । र, अहिले टेन्डर प्रक्रिया अघि बढेको छ । 

कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजामा पनि १५ शय्याको अस्पताल बन्दै छ । यहाँ गत वर्षको २ माघमा शिलान्यास गरिएको थियो । हाडसिंजामा पनि १५ शय्याको अस्पताल शिलान्यास गरिएको थियो । हाडसिंजा स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार केही समयअघि भवन डिभिजनका प्राविधिक आएर नापजाँच गरेर गएका छन् । अरू खासै प्रगति भएको छैन । 

मुगुमा पनि ढिलाइ 

मुगुका मुगम कार्मारोङ र सोरु गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि शिलान्यास गरिएको थियो । तर, दुवै ठाउँको निर्माण कार्यमा प्रगति भएको छैन । 

मुगम कार्मारोङ गाउँपालिकाको रिउस बगरमा रहेको ६ शय्याको सामुदायिक अस्पतालको स्तरवृद्धि गरेर १५ शय्याको बनाउन प्रक्रिया अघि बढेको गाउँपालिकाले जनाएको छ । त्यस्तै, सोरु गाउँपालिकाले तारापानीमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि आर्थिक प्रस्तावना अगाडि बढाइएको अध्यक्ष लोकबहादुर शाहीले बताए । भवन निर्माणका लागि १० करोड बजेट आएको उनले बताए ।

कञ्चनपुरमा बल्ल टेन्डर आह्वान

कञ्चनपुरका विभिन्न स्थानीय तहमा बनाउने भनी एकसाथ शिलान्यास भएका अस्पतालले ६ महिनामा खासै प्रगति गर्न सकेका छैनन् । दोधाराचाँदनी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकाले टेन्डर आह्वान गरेका छन् । बेलडाँडी गाउँपालिका र बेलौरीले टेन्डरसमेत आह्वान गर्न सकेका छैनन् । बेदकोट नगरपालिका भने सम्झौताको चरणमा छ । 

दोधाराचाँदनी नगरपालिका स्वास्थ्य संयोजक लोकेन्द्र भट्टले १५ शड्ढया अस्पताल निर्माणका लागि टेन्डर भएर छनोट प्रक्रियामा रहेको बताए । कृष्णपुर नगरपालिका स्वास्थ्य संयोजक नन्दलाल बोहराले नगरपालिकाको साबिक स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १५ शड्ढया र रैकबारबिचुवामा समेत १५ शड्ढयाका लागि टेन्डर आह्वान भएको बताए । बेलौरी नगरपालिकाका स्वास्थ्य संयोजक मानबहादुर चन्दले स्वास्थ्य शाखाबाट योजना निर्माण भएर नगरपालिकाको प्रशासन शाखामा काम रोकिएको जानकारी दिए । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य संयोजक प्रमानन्द भट्टले साबिक पिपलाडी स्वास्थ्यचौकीमै अस्पताल निर्माण गर्न टेन्डर आह्वान भएको बताए । बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापाले अस्पताल निर्माण गर्न तामझामका साथ शिलान्यास गरे पनि ६ महिनामा खासै प्रगति हुन नसकेको बताए ।

......

झापामा चिरञ्जीवी घिमिरे, संखुवासभामा नवीन गुरुङ, सोलुखुम्बुमा सोनी राई, सप्तरीमा भोला पासवान, सिराहामा सुरेन्द्रकुमार कामती, महोत्तरीमा रञ्जन भण्डारी, वीरगन्जमा तिवारी यादव, चितवनमा विवेक पोख्रेल, काभ्रेमा इन्द्रबहादुर थापा, हेटौँडामा सुदीप सिवाकोटी, लमजुङमा शान्ता कमली, पोखरामा गोविन्द सुवेदी, भैरहवामा दिपेश पछाई, बाँकेमा विश्वराज पछल्डङ्ग्या, हुम्लामा नरजन तामाङ, जुम्लामा मानदत्त रावल, मुगुमा अच्युतराज भण्डारी र कञ्चनपुरमा मोहन विष्ट