मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख २७ सोमबार १६:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाको जोखिममा लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

Read Time : < 1 मिनेट
२०७८ बैशाख २७ सोमबार १६:२६:००

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कैदीबन्दीलाई समस्या भएको छ । ३५ जनाको क्षमता रहेको कारागारमा १० जना महिला र ८१ जना पुरुष गरी हाल ९१ जना कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना संक्रमणको जोखिम बढेको कारागारका सूचना अधिकारी रमेश विश्वकर्माले जानकारी दिए । उनले भने– कारागारमा सुरक्षा सतर्कता अपनाइएको छ, तर क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनामा समस्या भएको छ । 

जिल्लामा आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटक–पटक अनुरोध गरे पनि कुनै प्रक्रिया अगाडि नबढ्दा दिन प्रतिदिन समस्या बढ्दै गएको छ । पछिल्लो समय कोरोना महामारीका कारण चुनौती झनै थपिएको विश्वकर्माको भनाइ छ । कैदीबन्दीले पिउने पानी, चर्पी, आरामदायी बसाइलगायतका समस्या झेल्दै आएका छन् । अहिले नयाँ आउने कैदीबन्दीका लागि आन्तरिक प्रशासनले छुट्टै राख्ने व्यवस्थाअनुरूप चर्पी, वासस्थानसहितको सामान्य व्यवस्था गरेको भए पनि त्यो दीर्घकालीन छैन । कारागारका एक कैदीबन्दीले कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा आफूहरूलाई सुत्नेदेखि शौचालय जानसमेत समस्या भएको बताए । 

०२८ सालमा स्थापना भएको कारागार ०७२ कोे भूकम्पका कारण जीर्ण छ भने कोरोना महामारीको समयमा झनै संकट पैदा भएको छ । हालसम्म लमजुङ कारागारका कैदीबन्दीमा कोरोना देखिएको छैन । कैदी तथा थुनुवालाई भेटघाट गर्न दिँदा संक्रमणको जोखिम हुने भएकाले भेटघाट बन्द गरिएको छ । जिल्लामा शनिबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।