मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २७ सोमबार ०७:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निषेधाज्ञाले कामविहीन भएपछि फेरि सडकमा मजदुर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २७ सोमबार ०७:००:००

आइतबार बिहान थापाथलीपछाडि युएन पार्कको छायाँमा सुस्ताउँदै थिइन् मीना कार्की । उनी भर्खरै सडकमा ‘हाम्रो टिम नेपाल’ले बाँडिरहेको खाना खाएर फर्केकी थिइन् । चोटका कारण खुट्टामा लागेको घाउ निको भइसकेको थिएन । लठ्ठीको सहारामा उनी सानेपाबाट खाना पाउने आशामा दिनहुँ थापाथली पुग्ने गर्छिन् । उपचार नपाएर केही दिनदेखि खुट्टाका घाउमा पिप जमेको थियो । ‘हाम्रो टिम नेपाल’ले दिएको औषधि लिइरहे पनि घाउ निको नभएपछि उनलाई अस्पताल नै लगिएको थियो । उपचारपछि घाउ बिस्तारै पुरिँदै गए पनि उनी लठ्ठीकै सहारामा हिँडिरहेकी छिन् । 

३५ वर्षीया मीना सानेपाकै एक पार्टी प्यालेसमा भाँडा माझेर जीवन चलाउने मजदुर हुन् । पार्टी प्यालेसले भाँडा माझेमार्फत उनलाई मासिक पाँच हजार रुपैयाँ दिँदै आएको थियो । काम गर्ने ठाउँमा चिप्लेर खुट्टामा घाउ भए पनि मीना चैतदेखि नै काममा गएकी थिइनन् । निको भएपछि पार्टी प्यालेसले काममा फर्किनु भने पनि बीचैमा लकडाउन हुँदा काम ठप्प भयो । सुरुमा मेडिकलबाट औषधि ल्याएर खुट्टाको उपचार गरिरहेकी उनीसँग भएको सबै पैसा सकियो ।

अहिले उनी सडकमा खाना खाँदै बाँचिरहेकी छिन् । उनी सानेपाको एक पुरानो घरमा मासिक १५ सय भाडा तिरेर छोरीसँगै बसिरहेकी थिइन् । श्रीमान्ले अर्को बिहे गरेपछि नाबालक छोरी लिएर मजदुरी गर्दै आएकी मीना आफैँ बिरामी भएपछि अहिले सडकमा पुगेकी छिन् । लकडाउन भएपछि स्याहार गर्न सक्ने अवस्था नभएकाले उनले छोरीलाई चिनजानको आफन्तकहाँ पठाइदिइन् । अहिले उनको दैनिकी बिहानै थापाथली आउने, समूहमा बाँडिरहेको खाना खाने, दिउँसो युएन पार्कमा सुस्ताउने र बेलुका फेरि खाना खाएर कोठा फर्किनेमा बितिरहेको छ । 

हाम्रो टिम नेपालले बाँडिरहेको खाना खानेहरूको लाइनमा अंशु परियार र रोशनी परियार पनि थिए । दैनिक ज्याला मजदुरी गरेर जीवन धानिरहेका परियारदम्पती लकडाउनसँगै काम पाइन छाडेपछि सडकमा आइपुगेका हुन् । उनीहरूको बस्ने ठेगान छैन, जता काम पायो त्यतै बस्दै आएका परियारदम्पती अहिले पुल्चोकको पाटीमा सुत्छन् । बिहानै उठेर थापाथली आउँछन्, दिउँसो विष्णुमती खोला किनारमा डुल्छन्, बेलुका फेरि खाना खाएर पाटीमा सुत्न जान्छन् । उनीहरूसँगै अन्य आठजना पनि छन्, जो राति पाटीमा सुत्ने र दिउँसोको समयमा ज्याला मजदुरी गर्ने गर्छन् । 

दिउँसो कमाएको पैसाले दैनिक छाक टार्दै आएका मजदुरहरू निषेधाज्ञासँगै फेरि बिचल्लीमा परेका छन् । रोशनी परियार भन्छिन्, ‘अहिले काम पाइन्छ कि भनेर डुलिरहेका छौँ, कोभिड सर्छ भन्दै कसैले काम दिन मान्दैनन् ।’ ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाइरहेकाहरू निषेधाज्ञा लागेसँगै सडकमा आउन थालेका छन् । खासगरी सुकुम्बासी बस्तीमा बस्दै आएका, पाटीपौवामा बस्दै आएका बढी पीडित भएका छन् । 

सडकमा मजदुरलाई सामूहिक रूपमा खाना खुवाइरहेको थाहा पाएपछि थापाथली पुगेकी ओखलढुंगा घर बताउने राधा घिसिङको अवस्था पनि उस्तै छ । बागमती खोला किनारको सुकुम्बासी बस्तीमा बस्दै उनी पनि श्रीमान्सँगै ज्यामीको काम आएकी थिइन् । श्रीमान् मानसिक रोगी भएकाले पछिल्लो केही वर्षदेखि उनी आफैँले काम गरेर जीवन चलाउँदै आएकी थिइन् । तर, १५–१६ दिन भयो उनका श्रीमान् हराइरहेका छन् । कोभिडको जोखिम रोक्न जारी गरिएको निषेधाज्ञा सुरु भएसँगै असंगठित क्षेत्रका मजदुर भोक मेटाउन सडकमा आउन थालेका छन् । थापाथली अस्पताल पछाडि बिहानको समयमा झन्डै दुई सयदेखि तीन सय मजदुर खानाकै लागि भेला हुन थालेका छन् ।