Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
वीर अस्पतालको कोभिड वार्डमा पिपिई लगाएर काममा खटिएका सरसफाइ कर्मचारी ।
मञ्जु टेलर काठमाडौं
२०७८ बैशाख २७ सोमबार ०६:३२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरसफाइ कर्मचारी : पिपिई नखोली आठ घन्टा सेवा

दिनरात संक्रमित उपचाररत अस्पतालको सरसफाइमा खटिने कर्मचारीमा कोरोना संक्रमणको जोखिम उच्च छ नै, जोखिम भत्तामा पनि विभेद छ

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ बैशाख २७ सोमबार ०६:३२:००

अस्पतालमा कोभिडका बिरामी बढ्न थालेपछि वीर अस्पतालको इमर्जेन्सी वार्डमा कार्यरत कविता बस्नेत दैनिक आठ घन्टासम्म पिपिई लगाएर काममा खटिँदै आएकी छिन् । २६ वर्षदेखि वीर अस्पतालमा सरसफाइ कर्मचारीका रूपमा काम गर्दै आएकी कवितालाई गर्मीमा दिनभरि पिपिईभित्र बस्न सकस मात्रै छैन, पिपिई खोलेर बस्दा संक्रमणको जोखिम पनि उत्तिकै छ । 

कविताका ४४ वर्षीय श्रीमान् कोरोना पजेटिभ भएपछि वीर अस्पतालमै उपचाररत छन् । श्रीमान्लाई उपचारका लागि आइसियूमा राखिएकाले उनी चार दिनदेखि अस्पतालमै छिन् । दिउँसो अस्पतालको ड्युटी गर्ने र राति श्रीमान्को कुरुवा बस्ने कविताको दैनिकी अस्पतालमै बितिरहेको छ । कविता भन्छिन्, ‘इमर्जेन्सी वार्डमा कोभिड परीक्षण नगरिएका बिरामी आइरहने भएकाले संक्रमणको डर बढी लाग्छ । अहिले बिरामीलाई बेड नपुगेर भुइँमा, कुर्सीमा र बाहिरै बेड राखेर पनि अक्सिजन दिइएको छ । इमर्जेन्सीमा कतिवेला पजेटिभ बिरामी आउने हो पत्तौ हुँदैन, त्यसैले दिनभरि पिपिई लगाएर बस्नुपर्छ ।’

इमर्जेन्सी वार्डमा बिरामीको फ्लो बढेसँगै भिडभाड पनि बढेको छ । योसँगै इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमणको जोखिम पनि बढेको छ । पछिल्लो समय अस्पतालमा कार्यरत कर्मचारीहरू पनि संक्रमित हुन थालेपछि कामको दबाब पनि बढी हुन थालेको छ ।

दिनभरि पिपिईमा बस्नुपर्ने भएकाले स्वास्थ्यकर्मीले ड्युटीको समयमा पानीसमेत खान पाउँदैनन् । कविता भन्छिन्, ‘पानी खान पिपिई खोल्नुपर्ने हुन्छ, ड्युटीको बीचमा कतिवेला पिपिई खोलेर पानी खान जानू ? कहिलेकाहीँ इमर्जेन्सीमा पन्जासमेत हुँदैन, लगाएको पन्जा खोलेर फाल्नैपर्छ, अर्को नभएपछि त्यही लगाइराख्नुपर्छ । अन्य वार्डभन्दा इमर्जेन्सीमा बढी एक्सपोज हुने भएकाले संक्रमणको डर हुन्छ । श्रीमान्लाई भइसक्यो, दुई तीन दिनदेखि सन्चो छैन । मलाई पनि पजेटिभ हुने हो कि भनेर डर लागिरहेको छ ।’ 

 गर्मीमा खलखली पसिना आए पनि पिपिईभित्र रहँदा सुरक्षित
सरुवा रोग अस्पताल टेकुको कोभिड वार्डमा कार्यरत सरसरफाइ कर्मचारी मीना खड्गी बिरामीको संख्या थपिँदै गएपछि संक्रमणको जोखिम बढ्दै गएको बताउँछिन् । स्वयम्भू घर भएकी मीना बिहान हिँड्दै अस्पतालको ड््युटी भ्याउँछिन् । गाडीमा आवतजावत गर्नुभन्दा अस्पतालमा पिपिईभित्र रहँदा सुरक्षित हुने ठान्छिन् उनी ।

गर्मीको समयमा दिनभरि पिपिई लगाएर बस्दा भित्रै खलखली पसिना बगिरहेको हुन्छ, ड्युटीको समयमा पिपिई खोल्न मिलेन, तर बाहिर खुला हिँड्नुभन्दा अस्पतालमा पिपिई लगाएर बस्दा संक्रमण हुँदैन जस्तो लाग्छ । मिना खड्गी, टेकु अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी

भन्छिन्, ‘गर्मीको समयमा दिनभरि पिपिई लगाएर बस्दा भित्रै खलखली पसिना बगिरहेको हुन्छ, ड्युटीको समयमा पिपिई खोल्न मिलेन, तर बाहिर खुला हिँड्नुभन्दा अस्पतालमा पिपिई लगाएर बस्दा संक्रमण हुँदैन जस्तो लाग्छ ।’ तर मीनासँगै काम गर्ने अन्य कर्मचारी कोरोना संक्रमण भएर आइसोलेसनमा छन् । टेकुमा कर्मचारीले जोखिम भत्ता पाएका छन्, सुरक्षाका मापदण्ड अपनाइएको छ, तर कर्मचारीहरू संक्रमित हुँदै गएकाले अन्य कर्मचारीहरूले पिपिईभित्र डबल ड्युटी गर्नुपर्ने बाध्यता उस्तै छ । 

उपत्यकाका ठूला सरकारी अस्पतालमा कार्यरत अस्थायी कर्मचारीहरूले योजनाबमोजिम जोखिम भत्ता पनि पाएका छैनन् । महामारीको समयमा जोखिम मोलेरै संक्रमणविरुद्ध काम गरिरहेका कर्र्मचारीहरूले अस्पतालैपिच्छे स्थायीको तुलनामा अस्थायी कर्मचारीको जोखिम भत्ता निकै कम छ । वीर अस्पतालमा कार्यरत कल्पना कटुवाल भन्छिन्, ‘हामीले एक वर्षमा जोखिम भत्ता जम्मा ३५ सय पायौँ । तर, हामीसँगै काम गर्ने कर्मचारीको भत्ता व्यक्तिपिच्छे फरक छ ।’ 

कल्पना वीर अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत अस्थायी सरसफाइ कर्मचारी हुन् । भक्तपुरको ठिमी बस्दै आएकी कल्पना पछिल्लो समय अस्पतालले डबल ड्युटी मिलाइदिएकाले बिहान ८ देखि बेलुका ७ बजेसम्म कोभिड संक्रमितसँग रहेर काम गर्छिन् । उनी मात्र नभई ठेकेदार कम्पनीमार्फत अस्पतालमा कार्यरत सरसफाइ कर्मचारीले सरकारले तोकेबमोजिमको जोखिम भत्ता पनि पाएका छैनन् । 

मासिक ११ हजार तलबमा दैनिक जोखिम लिएर काम गरिरहेका कर्मचारीहरूको जोखिम भत्तामा पनि विभेद छ । अस्पतालसम्म आइपुग्न कतिपय कर्मचारी दुई घन्टासम्म हिँडेर आउने गरेका छन् । कल्पना भन्छिन्, ‘वार्डभित्र सरसफाइका लागि बारम्बार जानुपर्ने हुँदा संक्रमणको डर पनि उत्तिकै बढेको छ । हामीसँगै काम गरिरहेका साथीहरू संक्रमित भएर आइसोलेसनमा छन् । सुरक्षाका सबै मापदण्ड अपनाइए पनि संक्रमणको डरले उत्तिकै सताइरहेको हुन्छ ।’ 

सरकारले गत वर्ष नै कोरोना भाइरसको उपचार तथा रोकथाममा खटिने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई शतप्रतिशतसम्म प्रोत्साहन गर्ने ‘कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश–२०७७’ ल्याएको थियो । जसमा कोरोनाविरुद्ध खटिनेलाई जोखिम भत्ता उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

आदेशअनुसार अस्पतालमा कोभिड आइसोलेसन वार्डमा कार्यरत सरसफाइ कर्मचारीले प्रत्येक तीन महिनामा प्रतिमहिनाको तलबको ५० प्रतिशत जोखिम भत्ता पाउनुपर्ने हो । तर, अस्पतालमा दिनरात सरसफाइमा खटिएका कर्मचारीहरूले जोखिम भत्ता पाएका छैनन् ।