१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २३ बिहीबार
  • Wednesday, 02 July, 2025
२o७८ बैशाख २३ बिहीबार १२:१८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

रसुवामा एकै गाउँका ४३ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख २३ बिहीबार १२:१८:oo

रसुवामा एकै गाउँका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका– ५ भोर्लेका एकै गाउँका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  नौकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलका अनुसार गएको सोमबार सोही गाउँका ५३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएपछि कन्ट्रयाक्ट ट्रेसिङको आधारमा ४६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि त्रिशूली अस्पताल नुवाकोट पठाइएको थियो । पछि पुनः तीनजनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

४६ जनाको स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना पजिटिभ देखिएको र पुनः तीनजनाको स्वाब परीक्षण गर्दा तीनैजनामा कोरोना पजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।  कोेरोना संक्रमितहरू अहिले होम क्वारेन्टिनमा रहेको उनले बताए । उनका अनुसार संक्रमितहरूमा हालसम्म कुनै लक्षण देखिएको छैन । 

कोरोना संक्रमित बढेसँगै गाउँपालिकाले वैशाख २९ गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको छ ।  कोरोनाको जोखिम बढ्दै गएको र अझै तीव्र रूपमा फैलन सक्ने भएकाले स्वास्थ्य सेवा, विपत् तथा आकस्मिक सेवाबाहेकका सेवा आजदेखि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचना जारी गरेर विवाह, व्रतबन्ध, घेवा, सभा, भेला सम्मेलनलगायतका भिडभाड हुने कार्य नगर्न–नगराउन अनुरोध गरेको छ । 

योसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ९८ पुगेको छ । स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १५, कालिकामा २५, उत्तरगयामा ११, नौकुण्डमा ४३ र बाहिरी जिल्लाका चारजना रहेका छन् । कोरोना संक्रमितहरू  आठजना संस्थागत र ९० जना होम आइसोलेसनमा बसेका छन् । जिल्लामा हालसम्म दुई सय ८७ जनामा कोरोना पुष्टि भएको थियो । जसमा एक सय ८८ जना निको भएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका छन् ।