मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख २३ बिहीबार १०:३२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मेलिन्डा गेट्स फाउन्डेसनको भविष्य 

Read Time : > 2 मिनेट
२०७८ बैशाख २३ बिहीबार १०:३२:००

गेट्स फाउन्डेसन आजको दिनमा विश्वको सबैभन्दा महत्वपूर्ण र प्रभावशाली परोपकारी संस्था हो । सम्बन्धविच्छेदले फाउन्डेसन र यसको विश्वव्यापी काममा गम्भीर असर पार्न सक्छ ।

विश्वको सबैभन्दा धनी दम्पतीमा गणना हुने बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका छन् । सम्बन्धविच्छेदपछि दम्पतीले मिलेर स्थापना गरेको ‘द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’को भविष्यमा प्रश्न उठेको छ । दशकौँदेखि फाउन्डेसनले ठूलो रकम खर्च गरेर परोपकार तथा जनस्वास्थ्य क्षेत्रलाई नयाँ आकार दिएको छ । द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले विश्व स्वास्थ्य, बालशिक्षा क्षेत्रमा उल्लेख्य प्रभाव पारेको छ भने फाउन्डेसनको कामले मलेरिया र अन्य संक्रमणकारी रोगबाट हुने मृत्यु उल्लेख्य घटेको छ । कोभिड–१९ विरुद्धको लडाइँमा समेत फाउन्डेसनले विगत वर्ष एक अर्ब डलर खर्च गर्‍यो । 

बिल गेट्सले मे ४ बिहानै ट्विटरमा एक पोस्ट गर्दै दुईजनाले विवाह अन्त्य गर्ने निर्णय गरेको लेखेका थिए । ‘लामो सोचविचारपछि हामीले हाम्रो विवाह टुंग्याउने निर्णय गरेका छौँ ।’ ट्विटमा फाउन्डेसनबारे पनि उल्लेख गरिएको छ । ‘विगत २७ वर्षको अवधिमा हामीले तीन असाधारण सन्तान हुर्कायौँ भने एक फाउन्डेसन विकास गर्‍यौँ । फाउन्डेसनले सबै मानिसका लागि स्वास्थ्य र उपलब्धिमूलक जीवन निर्माण गर्न विश्वभर काम गर्ने गर्छ । ...यस उद्देश्यमा आगामी दिनमा पनि हामी सँगै रहनेछौँ ।’ ट्विटमा लेखिएको छ । 

बिल र मेलिन्डा गेट्स फाउन्डेसनले एउटा विज्ञप्ति जारी गर्दै सम्बन्धविच्छेदपछि दम्पतीले सह–अध्यक्ष तथा संरक्षकको भूमिका निभाउने र संगठनमा कुनै परिवर्तन नहुने बताएको छ । तर, विज्ञले भने बिल र मेलिन्डाको सम्बन्धविच्छेदले दुईजनाबीच सम्पती बाँडफाँटसम्बन्धी नयाँ प्रश्न उठाउने र त्यसले फाउन्डेसनको आगामी काममा ठूलो प्रभाव पार्ने बताएका छन् । फोर्ब्सको विश्वको सबैभन्दा धनीको सूचीमा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स १२४ अर्ब डलरसहित चौथो स्थानमा छन् । उनले आफ्नो सम्पत्तिको उल्लेख्य रकम फाउन्डेसनमा दान गरेका छैनन् । ‘गेट्स फाउन्डेसन आजको दिनमा विश्वको सबैभन्दा महत्वपूर्ण र प्रभावशाली परोपकारी संस्था हो । सम्बन्धविच्छेदले फाउन्डेसन र यसको विश्वव्यापी काममा गम्भीर असर पार्न सक्छ,’ स्ट्यानफोर्ड युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक रव राइसले भने । विश्वभर १६ सय स्टाफ भएको गेट्स फाउन्डेसनले जनस्वास्थ्य तथा विकासजस्ता क्षेत्रमा प्रत्येक वर्ष पाँच अर्ब डलर खर्च गर्छ । स्थापनाको दुई दशकभन्दा लामो समयमा फाउन्डेसनले विकासोन्मुख मुलुकका खोप अभियानलाई सघाउँदै आएको छ । साथै, फाउन्डेसनले औषधि निर्माताहरूसँग मिलेर सो क्षेत्रको रूपान्तरणमा काम गरेको छ । 

फाउन्डेसनले आफ्नो दक्षता र सञ्जालको प्रयोग गरेर कोरोना भाइरसविरुद्धको विश्वव्यापी लडाइँ र सुरुका खोप विकासमा महत्वपूर्ण भूमिका निभायो । त्यसका अतिरिक्त फाउन्डेसनले विश्वका ९२ विपन्न मुलुकहरूका लागि खोप दिन गठन गरिएको कोभ्याक्सको निर्माणमा पनि उल्लेख्य सहयोग गरेको थियो । बिल र मेलिन्डाले परोपकारी कामका लागि उल्लेख्य प्रशंसा पाउने गरेका छन् । तर, निजी कम्पनीको बौद्धिक सम्पत्ति अधिकार संरक्षणका लागि काम गरेकोमा भने तिनको आलोचना पनि हुने गर्छ । कैयौँ मुलुकले कोभिड खोपको सर्वाधिकार खुला राख्न दबाब दिइरहेका वेला यो कुराले झन् चर्चा पाएको छ । 

गेट्स दम्पती छुटिएपछि दुईबीच सम्पत्तिको बाँडफाँट कति सौहाद्र्रपूर्ण हुन्छ र उनीहरू भावी सहकार्यका लागि कति तयार हुन्छन् भन्नेले फाउन्डेसनको भविष्य निर्धारण गर्छ । ‘निश्चित रूपमा हाम्रा दुई सह–अध्यक्षको व्यक्तिगत जीवन कठिनाइको अवधि आउँदै छ, तर दुवैजनाले मसँगको कुराकानीमा फाउन्डेसनप्रतिको तिनको निरन्तरताको प्रतिबद्धतामा विश्वस्त गराएका छन् । आखिर फाउन्डेसनमा उनीहरू दुवैको २० वर्षको लगानी छ,’ गेट्स फाउन्डेसनका प्रमुख कार्यकारी मार्क सुजम्यानले सोमबार न्युयोर्क टाइम्सलाई पठाएको इमेलमा बताए । सुजम्यानले आफूसँगको कुराकानीमा दुवैजनाले फाउन्डेसनको बैठकमा भाग लिने बताएको जनकारी दिए । 

बिल गेट्स र मेलिन्डासँग नजिक रहेका दुई व्यक्तिका अनुसार विगत केही वर्षदेखि दम्पतीले सम्बन्धमा कठिनाइ सामना गरिरहेका थिए । यसअघि पनि विभिन्न समयमा उनीहरूको सम्बन्ध टुट्न लागेको तर दम्पतीको सुझबुझका कारण त्यसो हुन नपाएको ती व्यक्तिले बताए । माइक्रोसफ्ट र बर्कसायर हाथावेको बोर्डबाट हट्ने बिल गेट्सको निर्णयमा उनको परिवारसँग बढी समय बिताउने चाहनाले पनि भूमिका खेलेको तिनले बताए । 

‘बिलले विवाह गर्ने विषयमा निर्णय गर्न नसकिरहँदा उनी सो कठिनाइ मलाई लिएर थिएन भन्नेमा स्पष्ट थिए । खासमा उनी आफ्नो काम र पारिवारिक जीवनलाई सन्तुलनमा राख्न सकिन्छ भन्नेमा विश्वस्त थिएनन्,’ सन् २०१९ मा द सन्डे टाइम्ससँगको अन्तर्वार्तामा मेलिन्डाले बताएकी थिइन् । ‘र, मलाई विश्वास गर्नुस्, हाम्रो विवाहमा यस्ता कठिन दिनहरू आएका छन्, जब तपाईंलाई अब सकिँदैन भन्ने सोच आउन थाल्छ ।’ अन्तर्वार्तामा मेलिन्डाले भनेकी थिइन् ।