१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
ठुलीमाया थोकरको बारीमा मकै गोड्दै । इन्द्रबहादुर थापा/नयाँ पत्रिका
२०७८ बैशाख २२ बुधबार १६:०५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सहरियालाई लकडाउन, गाउँका किसानलाई मकै गोड्ने चटारो

Read Time : > 1 मिनेट
२०७८ बैशाख २२ बुधबार १६:०५:००

काभ्रेमा पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । काभ्रेको बजार क्षेत्रमा निषेधाज्ञा छ । सहरमा सबै मानिस घरमै भेटिन्छन् । तर, गाउँघरमा जाने हो भने कुनै पनि मानिस घरमा भेटिँदैनन् । यतिवेला सबै बारीमा मकै गोडिरहेका भेटिन्छन् ।

जिल्लाको दुर्गम मानिने डाँडापारीको महाभारत गाउँपालिका र खानीखोलाका किसानलाई कोरोना भाइरसबारे सोच्ने फुर्सद पनि छैन । उनीहरू मकै गोड्नमै व्यस्त छन् । उनीहरूलाई भेट्नुपर्ने भो भने घरमा होइन खेतबारीमा पुग्नुपर्छ । उनीहरू सबै मकै गोड्ने चटारोमा छन् ।

महाभारत गाउँपालिका– ८ का गणेशबहादुर अस्तानी मगर खेतमा भेटिए । उनी खेतमा मकै गोड्न आएका हुन् । खेतालासहित भेटिएका अस्तानीले आजभोलि मकै गोड्ने चटारो भएको बताए । ‘सहरबजारमा लकडाउन छ भन्छन्, हाम्रो यता त आजभोलि मकै गोड्ने चटारो छ हजुर ।’ पसिना पुछ्दै मगरले भने, ‘काम नगरी खान पुग्दैन, त्यसैले मकै गोड्न आएका हौँ ।’

गाउँघरमा काम गर्न छिमेकीहरूमा आलोपालो चल्ने गरेको अस्तानी मगरले बताए । उनीहरू छरछिमेकमा पालैपालो मकै गोड्नेदेखि अन्य काम गर्ने गर्छन् । ‘हाम्रो गाउँघरमा त अर्मपर्म चल्छ हजुर, आज हाम्रो मकै गोड्यौँ, भोलि अर्को साथीको गोड्छौँ ।’ अर्को साथीतिर इंगित गर्दै उनले भने, ‘भोलि वाइबा माइलाको गोड्न जानुपर्नेछ ।’ 

त्यस्तै खानीखोला गाउँपालिकाका किसान पनि मकै गोड्नमै व्यस्त छन् । अस्तानीजस्तै खानीखोला गाउँपालिका– ६ की ठुलीमाया थोकरलाई पनि मकै गोड्न भ्याइनभ्याई छ । बारी धेरै भएकाले थोकरले मकै गोड्न खेताला लगाएर चाँडै सकाउने निधो गरिन् । खेतालासहित बारीमा मकै गोड्दै गरेकी थोकरलाई रोगको भन्दा भोकको चिन्ता छ । कोरोना त भिडभाडमा नगई घरमै बसेर आराम गर्दा नि लाग्दैन, यदि लागिहाले पनि मर्दैन भनेर भन्छिन् थोकर । उनले अघि थपिन्, ‘लकडाउन र कोरोना भनेर बस्यो भने हातमुख जोड्न मुस्किल छ ।’ 

‘कोरोनाको डरभन्दा पनि भोलि भोकभोकै मर्नुपर्ला भनेर डर लाग्छ के गर्नु,’ उनले भनिन्, ‘गाउँघरतिर त त्यति कोरोना पनि आ’को छैन । त्यसैले मकै गोड्न खेताला लगाएको हो ।’
खेतमा मकै गोडिसकेर बारीमा गोड्न लागेको थोकरले बताइन् । खेतमा धान रोप्नुपर्ने भएकाले बारीमा भन्दा छिटो मकै रोपेको र छिट्टै गोडेको उनको भनाइ छ । मकै गोडेर करिबकरिब सकिन लागेको उनले बताइन् । 

मकैको बिरुवा किराले खायो
महाभारत गाउँपालिकामा पानी नपरेकाले मकै चोर्ने भन्ने किराले खाएर सखाप पारेको महाभारत गाउँपालिका– ८ का किसान गणेशबहादुर अस्तानी मगरले बताए । चोर्ने किराले मकैको बिरुवाको पात खाएकाले केही हुर्कन्छ कि भनेर मल छरेको उनले बताए । ‘पानी नपरेर हो कि के भएर हो, यसपालि चोर्ने किराले मकैको पात खाएर सखाप पा¥यो, केही आउँछ कि भनेर मल छरेको छु,’ उनले भने, ‘पानी पर्लाजस्तो भएको छ, प¥यो भने मकै आउला कि ।’

महाभारत गाउँपालिकामा उनको मात्र मकै किराले खाएको होइन, उनको जस्तै सबैको मकैको बिरुवाको पात किराले खाएको छ । यस भेगका किसानको मुख्य पेसा खेती हो । त्यसमा पनि मकै प्रमुख खेती हो । काभ्रेमा खेतीयोग्य जमिन ६१ हजार ५ सय ९८ हेक्टर रहेको कृषि ज्ञान केन्द्र धुलिखेलले जनाएको छ ।