
सोलुखुुम्बु जिल्लाका दर्जनौँ स्थानमा लाग्ने हाटबजार बन्द गरिएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै स्थानीय तहले हाटबजार बन्द गर्ने निर्णय गरेका हुन् । माप्य–दूधकोसी गाउँपालिकाको बासा र काँकुमा लाग्दै आएको सोमबारे र आइतबारे हटिया अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिका उपाध्यक्ष जुनितामाया मगरले बताइन् ।
जिल्लाको नेचासल्यान गाउँपालिकाले सूचना जारी गर्दै बिहीबारे हटिया र बुधबारे हटिया पनि बन्द गरेको छ । तर, थुलुङ दूधकोसी गाउँपलिकाले भने स्थानीय उत्पादन, फलफूललगायत अत्यावश्यक सामग्रीहरू भिडभाडरहित सुरक्षाका सबै उपाय अपनाएर बिक्री–वितरण गर्न पाउने निर्णय गरेको छ ।
सोताङ गाउँपालिकाले पनि बिहान–बेलुकाको समयमा किनमेलका लागि समय निर्धारण गरी शुक्रबारे हटिया बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । महाकुलुङ गाउँपालिकाको बुङमा लाग्ने साप्ताहिक शनिबारे हटिया अर्को हप्तादेखि बन्द गरिने गाउँपालिका उपाध्यक्ष विपना कुलुङले बताइन् ।
लिखुपिके गाउँपालिकामा लाग्ने सबै हाटबजार कोरोना महामारी सुरु भएदेखि नै पूर्ण रूपमा बन्द गरिएको र आवश्यक सावधानी अपनाउँदै होटेल, पसल खुला गरिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले बताए ।
जिल्लाको एक मात्र नगरपालिका सोलु–दूधकुण्ड नगरपालिकाले स्थानीय तरकारी तथा दैनिक उपभोग्य सामग्री किनबेच गर्न पाउने गरी हाट खुला गरेकोे छ । शनिबारको हटियामा कृषिउपज मात्र बिक्री गरिएको थियो । खुम्बु–पासाङल्हामु गाउँपालिकामा भने मानिसको उपस्थिति पातलो हुने भएकाले हटिया लागिरहेको छ ।