नेपाल सरकारले दिल्लीस्थित सेरम इन्स्टिच्युट इन्डियालाई २० लाख डोज खोपका लागि सुरुमै ८० प्रतिशत रकम अग्रिम भुक्तानी दिएकोमा अहिलेसम्म नेपालले १० लाख डोज खोप ल्याइसकेको छ । सेरमबाट १० लाख डोज सरकारले प्राप्त गर्न बाँकी छ ।
सरकारले सेरमलाई झन्डै एक अर्ब भुक्तानी गरिसकेको छ । तर, अमेरिकाबाट कच्चा पदार्थ नआएका कारण खोप उत्पादन बन्द भएको भन्दै सेरमले नेपाल, बंगलादेशलगायतका देशलाई खोप दिन सकेको छैन ।
खोप नआएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २७ चैतमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग टेलिफोन संवाद गरेर दोस्रो चरणको खोपका लागि सहजीकरण र सहयोग गरिदिन आग्रह गरेका थिए । भारतबाट खरिद भएको खोप नआए दोस्रो चरणको खोप कार्यक्रम नै प्रभावित हुने र नेपाललाई अत्यन्त अप्ठ्यारो पर्ने भन्दै सहजीकरणका लागि आग्रह गरेका थिए ।
भारतीय विदेशमन्त्री जयशंकरले नेपाललाई खोप उपलब्ध गराइदिने आश्वासन दिएका थिए । त्यसपछि वैशाख १५ सम्म खोप आउने अपेक्षा नेपालको थियो । तर, सेरमबाट खोप आउने अझै निश्चित नभएको सरकारी अधिकारीहरू बताउछँन् ।
भारतले नेपाललाई ८ माघमा अनुदानका रूपमा दिएको १० लाख डोज कोभिसिल्ड खोप अग्रमोर्चामा खटिएकाहरूलाई लगाएको थियो । त्यसपछि सरकारले खरिद गरेर १० लाख डोज खोप ल्याएको थियो ।
भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई एक लाख डोज खोप पनि हस्तान्तरण भइसकेको छ । भारतबाट नेपालले अहिलेसम्म जम्मा ११ लाख डोज खोप अनुदानमा पाएको छ । चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आइसकेको छ । खोपको अभावमा खोप अभियान नै प्रभावित भएको छ ।