१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नागरिक एपको औपचारिक शुभारम्भ

बैंक खाता खोल्ने, प्रहरी क्लियरेन्स, कर विवरण, बिमा तथा सञ्चय कोषको विवरण लिन मात्रै होइन, जग्गाको लालपुर्जा हेर्न र मालपोत तिर्न पनि एपबाटै सकिनेछ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o३:oo

सरकारले प्रदान गर्ने विभिन्न सेवाहरू डिजिटल माध्यमबाट दिने प्रयोजनका लागि बनाइएको ‘नागरिक एप’ को फुल भर्सन आइतबारदेखि शुभारम्भ भएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एपको शुभारम्भ गरेका हुन् । एपको बिटा भर्सन गत २ माघमै सार्वजनिक गरिएको थियो । 

एपको उद्घाटन गर्दै मन्त्री ओलीले नागरिक एपको प्रयोगले मुलुकलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन सकिने बताए । सूचना प्रविधिलाई अझ सशक्त बनाउन आगामी दिनमा सबै प्रदेशमा डेटा सेन्टर खोलिने उनले बताए । त्यस्तै, महामारीको समयमा सहजै अनलाइन शिक्षा लिन सबै विद्यार्थीलाई सिमकार्ड वितरण गरिने व्यवस्था गरिएको समेत उनले बताए । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समृद्ध नेपाल निर्माणका लागि प्रविधिको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । यस वर्षको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने नाराका साथ मनाइँदै छ । 

सरकारले सञ्चालन गरेको नागरिक एपबाट नै बैंक खाता खोल्न सकिने पनि मन्त्री गुरुङले जानकारी दिए । हाल नेपाल बैंक र सिद्धार्थ बैंकमा नागरिक एपबाट खाता खोल्न सकिनेछ । साथै, सबै स्थानीय तहको मोबाइल एपलाई नागरिक एपमा नै जोडिने भएको छ । सबै स्थानीय तहका शिक्षण संस्थामा समेत इन्टरनेट जडान गरिने उनले घोषणा गरे । आजैदेखि नेपाल टेलिकमबाट फाइभजीको परीक्षणको शुभारम्भ गरिएको समेत उनले जानकारी गराए । नेपाल टेलिकमको भ्रातृ कम्पनी डिजिटल पेमेन्ट कम्पनीले नमस्ते पेसमेत सुरुवात भएको उनले घोषणा गरे ।

सरकारी तथा सार्वजनिक अनलाइन सेवा एकीकृत रूपमा प्रदान गर्ने उद्देश्यसहित सरकारले ०७७ माघ २ गते नागरिक एपको बेटा संस्करण सार्वजनिक गरेको हो । बेटा संस्करणमा नै ५ लाख २५ हजारले नागरिक एप डाउनलोड गरेका थिए । १ लाख ९१ हजार प्रयोगकर्ताले आफूलाई दर्ता गराइसकेका छन् । ३ हजार प्रयोगकर्ताले नागरिक एपबाट नै पुलिस क्लियरेन्स रिपोर्ट प्राप्त गरेका छन् भने १० हजारले प्यान नम्बर लिएको मन्त्रालयले जनाएको छ । 

डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पनाअनुसार हाल सरकारी तथा सार्वजनिक निकायले अनलाइनबाट सेवा उपलब्ध गराउन थालेका छन् । तर, प्रत्येक निकायको छुट्टाछुट्टै वेबसाइट प्रयोग गर्दा हुने झन्झटलाई हटाई एकीकृत सेवा प्रदान गर्न सरकारले नागरिक एप सञ्चालनमा ल्याएको मन्त्री गुरुङले बताए ।

नागरिक एपमा प्रयोगकर्ताको नागरिकता, राहदानी, मतदाता कार्डजस्ता नागरिक प्रमाणित हुने विवरण उपलब्ध हुनेछन् । प्रयोगकर्ताले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोष भएको विवरण हेर्न सक्नेछन् । साथै, हेल्लो सरकारको सुविधा पनि यसमा जोडिएको छ ।

त्यस्तै, एपमा प्रयोगकर्ताको शैक्षिक (एसएलसी र प्लस टू) विवरण, स्वास्थ्य बिमाको विवरण, स्थायी लेखा नम्बर र पोलिसी क्लियरेन्स पनि लिन सकिनेछ । प्रयोगकर्ताले इमेल भेरिफाई गरी आफ्नो नागरिक एपमा लिंक गराउन सक्नेछन् । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमका जुनसुकै नम्बरबाट नागरिक एपमा आफ्नो खाता खोल्न सकिनेछ । तर, मोबाइल नम्बर भने आफ्नै नामको हुनुपर्नेछ । खाता खोल्ने वेलामा नागरिकता विवरण फेला नपरेको वा त्रुटि भेटिएमा नागरिक एपबाट नै सञ्चाउन अनुरोध गर्न सकिने व्यवस्था रहेको छ । 

एपबाट नै सवारीसाधनको राजस्व र नवीकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । साथै, आफ्नो लालपुर्जा तथा जग्गाको कित्ता अनलाइनमा हेर्न, प्रिन्ट गर्न र राजस्व तिर्न सकिनेछ । भूमिसुधारमा रहेको आफ्नो जग्गा रोक्का वा फुकुवा रहेको थाहा पाउन सकिनेछ । नागरिक एपबाटै स्थानीय तहको करसमेत भुक्तानी गर्न सकिनेछ । 

एपमा नागरिक पहिचान प्रमाणीकरण गर्न सकिने क्युआर कोड राखिएको छ, जसको सहयोगमा एपबाट नै बैंक खाता खोल्न सकिने सुविधा पनि राखिएको छ । यसलाई क्रमशः लोकसेवाको फाराम भर्न, सिम कार्ड खरिद गर्न, सरकारी तथा सार्वजनिक सेवा लिनलगायतका काम पनि प्रयोगमा ल्याइने सूचना तथा प्रविधि मन्त्रालयले जनाएको छ । मोबाइलमा मात्रै प्रयोग गरिने यस एपलाई अबदेखि वेबसाइटमा पनि प्रयोग गर्न सकिनेछ ।  त्यस्तै, पत्रकारहरूको प्रेस कार्ड नवीकरण पनि अनलाइनकै माध्यमबाट गर्न सकिने सञ्चारमन्त्री गुरुङले जानकारी दिए । 

ad
ad