१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o७:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा नेताहरूको कम्युनिस्ट एकतामा जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:o४:oo

श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन कांग्रेस सभापति देउवाको माग

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विभिन्न कम्युनिस्ट पार्टीका नेताहरूले वामपन्थी पार्टीबीचको एकता र सहकार्यमा जोड दिएका छन् । नेताहरूले श्रमिकका अधिकार सुनिश्चित गर्न एवं कोरोनाका कारण जीवन निर्वाह गर्न कठिन भएकालाई उचित राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्तिमार्फत सरकारले प्रतिगमन गरेको भन्दै यसको प्रतिवाद गर्न आह्वान गरेका छन् । ‘श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार हुन् । श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन । यसै कारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको हो,’ प्रचण्डको विज्ञप्तिमा छ, ‘तर, श्रमजीवी वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको छ । पश्चगामी र परिवर्तनविरोधी तत्वहरू श्रमजीवी जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकताबद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।’

त्यसैगरी, एमाले वरिष्ठ नेता माधव नेपालले नेपालको कम्युनिस्ट आन्दोलनको एकता र रक्षाका लागि नेपाली श्रमिक वर्ग एकजुट भएर अगाडि बढ्ने आफूले विश्वास लिएको बताएका छन् । 

एमाले नेता तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले अहिलेसम्मका कमी–कमजोरीप्रति आत्मालोचित हुँदै पार्टी एकताको दिशामा अघि बढ्न सबैलाई आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै नेता गौतमले त्यस्तो आह्वान गरेका हुन् ।

‘आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामी सबै नेता–कार्यकर्ताका लागि आफ्ना गल्ती–कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो,’ गौतमले विज्ञप्तिमा भनेका छन्, ‘मबाट पनि यसबीच केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु । तिनलाई सच्याउन लागि परेको पनि छु । भविष्यमा सबै तथ्य क्रमशः स्पष्ट हुँदै जानेछन् ।’

श्रमजीवी वर्गका नेताहरूले सत्तास्वार्थप्रेरित क्रियाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई अहिले छियाछिया बनाइरहेको दाबी गर्दै गौतमले त्यस्तो क्रियाकलाप रोक्न नसके प्रतिगमन प्रतिस्थापित हुने र नेपालीको उज्ज्वल भविष्य जोडिएको समृद्ध समाजवादमा पचासौँ वर्षसम्म पर्दा लाग्ने बताएका छन् । 

यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले श्रमिक र साना व्यवसायीका लागि राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा शुभकामना सन्देश दिँदै देउवाले लकडाउनका कारण आर्थिक–सामाजिक मारमा परेका आमनागरिक, श्रमिक र साना व्यवसायीको जीवन कष्टकर बन्दै गएकाले आवश्यक राहत र सहयोगको कार्ययोजना अविलम्ब ल्याउन माग गरेका हुन् । 

सभापति देउवाले अहिले व्याप्त कोभिड– १९ को महामारी सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मण्यताको फल भएको उल्लेख गरेका छन् । ‘देश अहिले कोभिड– १९ महामारीको दोस्रो चरणमा छ । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ,’ देउवाले भनेका छन्, ‘बढ्दो संक्रमणसँगै आइसियू बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ । यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मण्यता जिम्मेवार छ ।’

ad
ad