प्रदेश सभामा विचाराधीन अविश्वास प्रस्ताव असफल बनाउने योजनाअन्तर्गत गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई बिहीबार युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको हो ।
मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय टुक्र्याएका हुन् । अविश्वासको प्रस्तावमा मतदान हुने दिन बुधबार एकाएक सम्पर्कविहीन भई सदनमा अनुपस्थित रहेका मनाङेले भोलिपल्टै मन्त्री उपहार पाएका छन् । उनी आफैँले पनि ‘सरकार टिकाउन मद्दत गरेकाले मन्त्री पद पाएको’ प्रतिक्रिया दिएका छन् ।
यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि खाली भएका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा भने अझै रिक्त छन् ।
मनाङ ‘ख’बाट स्वतन्त्र उम्मेदवार बन्दै प्रदेश सभामा निर्वाचित भएका मनाङे केही समयपछि तत्कालीन एमालेमा प्रवेश गरेका थिए । तर, पछिल्लो समयमा उनले आफू स्वतन्त्र सांसद भएको भन्दै प्रदेश सभामा छुट्टै कुर्सीको व्यवस्था गर्न माग गरेका थिए । त्यति मात्र नभएर उनले पार्टीलाई बुझाएको लेबी पनि फिर्ता हुनुपर्ने माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए ।
मनाङेको शपथग्रहण कार्यक्रममा सभामुख र विपक्षी दलका नेताहरू उपस्थित भएनन् । सामाजिक विकास मन्त्रालयलाई फुटाएर बनाइएको युवा तथा खेलकुद मन्त्रालय कहाँ रहन्छ भन्ने टुंगो लागेको छैन । जसका कारण उनले सामाजिक विकास मन्त्रालयको सभाहलमै पदभार ग्रहण गरे ।
राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले अविश्वासको प्रस्तावमा मतदान गर्न सदनमा जान तयारी हुँदा अचानक बिरामी भई अस्पताल लैजाँदै गर्दा बेहोस भएको प्रस्टीकरण दिएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले आफू पार्टी निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत शाहीले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेका कारण ती निर्णयप्रति सहमति रहेको जनाएका हुन् । उनले बुधबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल र मतदान हुने दिन सदनमा जाने तयारी गरेको अवस्थामा अचानक बिरामी भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
राजमोले बनायो छानबिन समिति
राष्ट्रिय जनमोर्चाले सांसद शाही बिरामी प्रकरणबारे छानबिन गर्न महासचिव मनोज भट्टको संयोजकत्वमा समिति बनाएको छ । समितिले बिहीबार पोखरा आएर छानबिन थालिसकेको छ ।
समितिले दिएको प्रतिवेदनका आधारमा यो प्रकरणमा के भएको हो भन्ने सार्वजनिक गर्ने र कमजोरी भएको भए सांसद शाहीमाथि कारबाही हुने राजमोका एक नेताले बताए । जनमोर्चाले यसअघि सांसद शाहीलाई सरकारले बन्दी बनाएको आरोप लगाएको थियो ।
अस्पतालमा शाहीलाई भेट्न नदिएको भन्दै जनमोर्चाले राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएकोमा पुनः कसरी पजिटिभ आयो भन्दै प्रश्न गरेको थियो । यसैबीच, जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले बिहीबार बिहान भेटेका छन् । ‘मैले उहाँलाई टाढैबाट भेटेँ, चरककै कोभिड वार्डमा हुनुहुँदोरहेछ, सामान्य कुराकानी भयो,’ उनले भने ।