मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १६ बिहीबार
  • Saturday, 21 December, 2024
२o७८ बैशाख १६ बिहीबार १६:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी सुस्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख १६ बिहीबार १६:२६:oo

कोरोना महामारीको दोस्रो लहरले तीव्रता लिइरहेका वेला सिराहामा संक्रमितको उपचारका लागि गरिनुपर्ने तयारी सुस्त देखिएको छ । छिमेकी मुलुक भारतसँग खुला सीमानाका रहेको सिराहामा दैनिक विनाजाँच भारतबाट नेपाल भित्रिरहेकाहरूबाट समुदायमा संक्रमण फैलिन सक्ने जोखिम भए पनि स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायले गम्भीरता नदेखाएको भगवानपुरका रविलाल पासवानले बताए । ‘छिमेकी जिल्ला सप्तरीमा एकै परिवारका १३ जना संक्रमित भए पनि प्रवेश बिन्दुमा सावधानी अपनाइएको छैन,’ उनले भने, ‘भारत हुँदै नेपाल आउनेबाट संक्रमण फैलिने जोखिम उस्तै छ ।’

६ स्थानीय तहले देखाएनन् चासो 
महामारी मत्थर भएका वेला करिब संघीय सरकारले हरेक स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल सञ्चालन गर्न अनुदान दिएको भए पनि जिल्लाका ६ स्थानीय तहले अझै तयारी नगरेको स्वास्थ्य कार्यालय सिराहाका निमित्त प्रमुख कृष्णदेव यादवले बताए । उनका अनुसार सुखीपुर, सिराहा, लहान नगरपालिका, नवराजपुर, अर्नमा र नरहा गाउँपालिकाले कुनै तयारी गरेका छैनन् । 

जिल्लाको धनगढीमाई, गोलबजार, मिर्चैया, कर्जन्हा, कल्याणपुर नगरपालिका र औरही, भगवानपुर, सखुवानन्कारकट्टी, बरियारपट्टि, विष्णपुर र लक्ष्मीपुर पतारी गाउँपालिकाले पाँच शय्या क्षमताको आइसोलेसन सञ्चालन गर्न भौतिक पूर्वाधारको तयारी गरी सञ्चालनको तयारीमा रहेको उनले बताए । 

जनशक्ति अभाव 
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका अनुसार संक्रमणको तीव्रतालाई मध्यनजर गर्दै तत्काल जिल्ला सदरमुकाम सिराहास्थित अस्पताल र लहान अस्पताललाई संक्रमितको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । केन्द्रका संयोजकसमेत रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि सिराहा अस्पतालमा पाँच शय्या आइसियू र दुईवटा भेन्टिलेटरसहित ३५ शय्या आइसोलेसन तयारी अवस्थामा राखिएको छ । 

लहान अस्पतालमा एक आइसियू शय्या, एक भेन्टिलेटर, शव राख्ने रेफ्रिजेरेटरसहितका उपकरणहरू खरिदका लागि टेन्डर प्रक्रियामा गइसकेको र वैशाखको चौथो हप्तादेखि प्रयोगमा ल्याइने तयारी गरिएको कँडेलले बताए । उनका अनुसार सिराहा अस्पतालमा ५० शय्याको आइसोलेसन सञ्चालनका लागि फिजिसियन, मेडिकल अधिकृत, बिएस्सी नर्सिङ, स्टाफ नर्स, अनमि, स्वास्थ्य सहायक, अहेव, कम्प्युटर अपरेटरसहित ३५ जना जनशक्ति पठाउन प्रदेश सरकारलाई केन्द्रको निर्णयसहित अनुरोध गरिएको छ । 

लहान अस्पतालका लागि जनरल फिजिसियन, एनेस्थेसियोलोजिस्ट, एनेस्थेसिया सहायक, आइसियू नर्स, कार्यालय सहायक स्विपरसहित २२ जना जनशक्तिको व्यवस्था गर्न प्रदेश सरकारलाई पत्राचार गरिएको केन्द्रले जनाएको छ ।