नेपाल ट्रान्जिट बनाउन प्रतिबन्ध, अब भारतीयहरू नेपालको बाटो साउदी जान नपाउने

बुधबार, १५ बैशाख, २०७८
डिजिटल संस्करण

सरकारले तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने विदेशी नागरिकको आवागमनमा रोक लगाएको छ । अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण बुधबार (१५ वैशाख) राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको जनाएको छ ।

विभागले नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट बाहिरिने यात्रुले पाउँदै आएको सेवा भने नियमित रहने जनाएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहरले हरेक दिन रेकर्ड तोडिरहेको वेला नयाँदिल्लीबाट नेपालमा सीधा उडानबाट दैनिक सयौँ भारतीय विनारोकतोक भित्रिरहेका थिए ।

नेपाल घुम्न आएका विदेशीभन्दा पनि भारतबाट साउदीतर्फ सीधा उडान रोकिएपछि साउदीमा काम गर्ने भारतीय नेपालको बाटोबाट साउदीतर्फ गइरहेका छन् । नेपालमा आउँदा क्वारेन्टिन र स्वास्थ्य मापदण्डमा लापरबाही गर्दा नेपालसमेत उच्च जोखिममा परेको भन्दै विरोध भइरहेको थियो । नेपालमा एयर इन्डिया र नेपाल वायुसेवा निगमले दैनिक एक–एक उडान गरिरहेका छन् । दुवै उडानमा ८० प्रतिशतभन्दा बढी भारतीयले भरिने गरेका छन् । 

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुवरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सीधा उडान रोकेपछि भारतीयले नेपालको बाटो रोजेका थिए । 

सुझावित समाचार